भर्खरै :

भक्तपुर नपाका जनताको स्वास्थ्यप्रति अत्यन्त संवेदनशील छ

 

 (४० औँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन (कार्तिक १२ गते) नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य–सं)
भाषा र साहित्यको माध्यमबाट जनताको सेवा गर्ने उद्देश्यले स्थापना गरेको नेपालभाषा साहित्य तःमुंज्याले चालीस वर्षदेखि निरन्तर जनताबीच कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा पनि जनताको सेवामा अझ बढी समर्पित भएर लाग्न सकोस्, हार्दिक शुभकामना ¤
सचेत नागरिकहरू जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा ढाल्ने प्रयत्न गर्छन् । तःमुंज्या व्यवस्थापन समितिका साथीहरूले प्रविधिमार्फत तःमुंज्यालाई निरन्तरता दिएर आफूलाई समयअनुसार चल्न सक्षम सावित गर्नुभयो । उहाँहरू सबैलाई धेरै धन्यवाद छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण हामी आ–आफ्नो काम अत्यन्त सचेततापूर्वक गरिरहेका छौँ । कार्तिक ११ गतेसम्म भक्तपुर जिल्लामा ५,४७४ जना सङ्क्रमितहरू भएकोमा ३,४१४ जना निको भइसकेको र ६४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी भक्तपुर नगरपालिका क्षेत्रभित्र कन्ट्याक्ट ट्रेसिङ २,६०२ जनामा गरिएकोमा हालसम्म सङ्क्रमितहरूको सङ्ख्या १,३६४ पुगेको र १८ जनाको मृत्यु भएको रेकर्ड छ । सङ्क्रमितहरूमध्ये ४३० जना आ–आफ्नो घरमै एकान्तवासमा बस्नुभएको छ भने भक्तपुर नपाद्वारा निर्मित ब्रह्मायणी आइसोलेसन केन्द्रमा हालसम्म ७९ जनाले सेवा प्राप्त गरिसकेको र हाल त्यहाँ १८ जना सङ्क्रमित नगरवासीहरू हुनुहुन्छ ।
विश्वभर ४ करोड ४४ लाखभन्दा बढी सङ्क्रमित भएर ११ लाख ७१ हजारभन्दा बढीको ज्यान लिइसकेको यो रोगले नेपालमा १ लाख ६३ हजारभन्दा बढी पीडित र ८८० जनामा बढीको ज्यान लिइसकेको छ ।
जनस्वास्थ्यप्रति अत्यन्त संवेदनशील भई भक्तपुर नगरपालिकाले कोरोना सङ्क्रमणका सरुवाती चरणदेखि अत्यन्तै सतर्कतासाथ काम गर्दै आएको छ । घना बस्ती भएको भक्तपुर नगरमा कोरोना प्रवेश भएमा भयावह रूप लिनसक्ने सम्भावित अवस्थाप्रति चिन्तित हुँदै वडा वडामा किटनाशक औषधि छर्ने (क्लोरिन), जनचेतना फैलाउन माइकिङ गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था, छोटो दुरीका यातायात बन्द, नगर बाहिरका नागरिकहरू नगर प्रवेशको अभिलेख राख्नेलगायतका कार्यहरू ग¥यौँ ।
भक्तपुर नगर सांस्कृतिक नगर भएकोले यहाँ समय–समयमा हुने चाडपर्व, जात्राहरूमा हुने भीडभाड भएमा रोगको जोखिम बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी हामीले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा, गाईजात्रा, यन्याँपुन्ही, गुँला बाजा, पञ्चदान जात्रा, पर्वहरूलाई समेत सामान्य औपचारिकतामै सीमित गर्ने निर्णय गर्नुप¥यो । दसैँ सकिँदै छ । हाम्रो चुनौतीको एउटा विषय दसैँ पनि थियो । हामीले तलेजुमा हुने पूजामा बलि रोक्ने र पुजारीहरूलाई बाहेक प्रवेश नगराउने तथा टोल–टोलमा शक्ति पीठहरूमा पनि नवरातको बेला मन्दिर प्रवेश निषेध गर्ने तथा बलि रोक्ने निर्णयमा पुग्नु प¥यो । यी सबै कार्य हाम्रो रहर नभइ जनताको स्वास्थ्यलाई ध्यानमा राखेर गर्नुपरेको बाध्यात्मक कदम थियो । भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, महानगरीय प्रहरी परिसर, जात्रासँग सरोकार राख्ने सबैसँग छलफल गरी गरेको निर्णयहरूलाई अधिकांश नगरवासीहरूले पालना गर्नुभयो । त्यसको लागि भक्तपुर नगरवासीहरू धन्यवादका पात्र हुनुहुन्छ ।
नेपाल सरकारले विभिन्न देशमा गएर रोजगारी वा शिक्षा हासिल गरिरहेका नागरिकहरूलाई स्वदेश फर्काउने निर्णय गरेपश्चात् भक्तपुर नगरपालिकाले अनलाइनमार्फत नगर फर्किन चाहनेहरूको फाराम भर्न लगायो । नाम सङ्कलनपछि ती नागरिकहरूलाई होटल, घर वा नगरपालिकाको क्वारेन्टाइनमा गरी तीन थरीको क्वारेन्टिनको व्यवस्था ग¥यौँ । होटलमा बस्न नसक्ने र घरमा बस्न उपयुक्त नभएकाहरूलाई नगरपालिकाको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलायौँ । विभिन्न १७ वटा देशबाट भक्तपुर फर्किनु भएका १६५ जना भक्तपुरवासीहरूले क्वारेन्टिन सेवा लिनुभयो । विमानस्थलमा जहाज अवतरणपछि होल्डिङ सेन्टरमा ल्याउने र त्यसपछि क्वारेन्टिनमा राख्ने, ती सबै बन्दोबस्तको लागि हामीले ९ जना कर्मचारीको व्यवस्था गरेका थियौँ ।
काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रणको लागि गृहमन्त्री, सङ्घीय मामिला मन्त्रीले बोलाएका बैठकहरूमा उपत्यका छिर्ने नाकाहरू पूर्ण बन्द गर्न हामी उपत्यकाका नगर प्रमुखहरूले पटक–पटक आग्रह ग¥यौँ । मन्त्रीहरूले त्यसलाई बेवास्ता गर्नुभयो । उद्योगपति, व्यापारीहरूको दबाबमा लकडाउन खोल्यो । परिणाम आज काठमाडौँ उपत्यका कोरोनाको केन्द्र बन्दै छ ।
समुदायस्तरमा कोरोना फैलिएको आभास हुनासाथ भक्तपुरको खरिपाटीमा २०० शय्याको आइसोलेसन केन्द्रको निर्माण भयो । भक्तपुर अस्पताल कोभिड अस्पतालमा रूपान्तरण गरियो । तर, सङ्क्रमितहरूको बढ्दो सङ्ख्यालाई ध्यानमा राखी भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. ९ ब्रह्मायणीमा ७५ शय्याको आइसोलेसन केन्द्र निर्माण ग¥यो ।
आइसोलेसन केन्द्रमा दैनिक ४ पटक खाना खाजाको व्यवस्था, अक्सिजनको व्यवस्था, रक्तचाप नाप्ने, भिटामिन सी र सिटामोललगायतको व्यवस्था, दैनिक चिकित्सकको परामर्श तथा आर्युवेदिक औषधिको व्यवस्थासमेत गर्दै आएका छौँ । ब्रह्मायणी र घर–घरमा आइसोलेसनमा बस्नुभएका सबैको लागि अनलाइनमार्फत चिकित्सक, मनोचिकित्सक, आयुर्वेदिक चिकित्सक, नर्स, जनप्रतिनिधिहरूमार्फत नियमित परामर्श सेवाप्रदान गर्दै आएका छौँ ।
घरघरमा बस्नुभएका सङ्क्रमितहरूका लागि नियमित फोहर सङ्कलनको व्यवस्था, आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श सेवा तथा अन्य आवश्यक व्यवस्थाको लागि छुट्टै ५ जना कर्मचारीहरूको जिम्मेवारी दिई सोको व्यवस्थापन गर्दै आएका छौँ । ब्रह्मायणी आइसोलेसनमा चिकित्सक, नर्स र कर्मचारी गरी १३ जनाको टीमले काम गर्दै आएको छ ।
नगरपालिकाले वडा–वडामा राखेका व्यायामशालाहरू कोभिडको कारण बन्द गर्नुपर्ने अवस्था आएपछि अनलाइनमार्फत शारीरिक व्यायामसम्बन्धी तालिम सुरु ग¥याँै । हरेक दिन बिहान ६ः३० बजेदेखि अनलाइन शारीरिक व्यायाम भादगाउँ टेलिभिजनमार्फत प्रशारण भइरहेको छ । विभिन्न सङ्घ–संस्था र व्यक्तिगतरूपमा धेरैले आर्थिक, भौतिक सहयोग गर्नुभएको छ । यो आर्थिक वर्ष २०७७÷७८ को असोज र कार्तिक महिनामा मात्र ३३ लाख ६० हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । ती सबै सहयोगी संस्था र महानुभावहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनहरूमा पनि यस्ता सहयोग गर्नु हुने आशा व्यक्त गर्दछौँ ।
कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि भक्तपुरमै पीसीआर परीक्षण मेसिनको आवश्यकता महसुस भयो । हामीले पटक–पटक प्रदेश सरकारसँग लिखित र मौखिक आग्रह ग¥यौँ । भक्तपुर अस्पतालमा केही दिनअघि मेसिन आइपुग्यो तर त्यसको सम्पूर्ण पार्टपुर्जा नआएको कारण अहिले सञ्चालनमा आउन सकेको छैन । त्यसबारे प्रदेश सामाजिक विकास मन्त्रीलाई जानकारी दियौँ । उहाँले छिट्टै सञ्चालनमा आउने आश्वासन दिनुभएको छ ।
नेपाल सरकारले कार्तिक २ गतेदेखि लागू हुने गरी लक्षण देखिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गरिबहरूबाहेक अरू सबैले आ–आफ्नै पैसाले कोरोना परीक्षण र उपचार गराउनुपर्ने निर्णय गरेपछि केही अन्यौल भयो । सरकारी र निजी सबै अस्पताल र प्रयोगशालाहरूले जथाभावी मूल्य तोकेर उपचार खर्च निर्धारण गरेको सूचना टाँस गरे । भक्तपुर नगरपालिकाले निरन्तर परीक्षण गराउँदै आएको टेकु प्रयोगशालाले समेत प्रतिव्यक्ति २०००।– का दरले पैसा बुझाउन भन्यो । प्रदेशमन्त्रीले प्रदेशअन्तर्गतको प्रयोगशालामा निःशुल्क गर्ने भन्नुभएकोले धुलिखेलस्थित प्रदेश प्रयोगशालामा पनि सम्पर्क ग¥यौँ । त्यहाँको जवाफ थियो, “मन्त्रीले बोलेर मात्र हुन्छ । आवश्यक केमिकल पठाउनु प¥यो नि ¤” यसबारे पनि मन्त्रीजीसँग जिज्ञासा राख्यौँ । प्रदेश सरकारले पत्र पठाइसकेको र अब निःशुल्क हुने जानकारी पायौँ । भक्तपुरका जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर हामीले कामलाई निरन्तरता दिंदै आएका छौँ ।
निजी र सरकारी अस्पतालहरूले पनि बिरामी जाँच्न बन्द गरेका जस्ता समाचार आएपछि हामी झन् बढी सचेत भएर जनस्वास्थ्य केन्द्रहरूलाई समय मिलाएर भीडभाड नहुने गरी दैनिक २÷३ सय बिरामीलाई सेवा प्रदान गर्दै आएका छौँ । असोज महिनामा ८,५३५ जनाको र कार्तिक ११ गतेसम्म २,०९३ जना बिरामीलाई जनस्वास्थ्य केन्द्रमार्फत सेवा प्रदान ग¥यौँ । भनपा जनताको स्वास्थ्यप्रति अन्यन्त संवेदनशील छ ।
नेपाल सरकारले कोभिड परीक्षण र उपचारको खर्च नागरिक आफँैले व्यहोर्नुपर्ने निर्णय नेपालको संविधान, स्वास्थ्यसम्बन्धी कानुन र सर्वोच्च अदालतको आदेशसमेतको विपरीत छ । नेपालको संविधानको धारा १६ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रदान गरेको छ । धारा ३५ (१) ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने हक प्रदान गरेको छ । त्यस संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न संसदले स्वास्थ्यसम्बन्धी ऐन २०७५ पारित ग¥यो । त्यस ऐनले सरुवा रोगसम्बन्धी स्वास्थ्य सेवा निःशुल्क हुने हक प्रदान गरेको छ । यी सबै संविधान र कानुनको व्याख्या गर्दै सर्वोच्च अदालतले कोरोना भाइरससम्बन्धी परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्न सरकारको नाउँमा परमादेश जारी गरेको छ । तर, सरकारले बेवास्ता गर्दै आएको छ । अदालतको आदेशविपरीत काम गर्नु अदालतको अवहेलना हो ।
हालै प्रधानमन्त्री के.पी. ओलीले प्रदेशहरू सङ्घका एकाइमात्रै भएको बताउनुभएको समाचार सार्वजनिक भयो, कहिले स्थानीय तहहरू सङ्घको एकाइमात्रै भन्नुहुन्छ । यो सबै संविधानको भावनाविपरीत र आपत्तिजनक कुरा हो । संविधानले सङ्घ, प्रदेश र स्थानीयलाई छुट्टा छुट्टै अधिकार प्रदान गरेको छ । सङ्घलाई ३५ वटा, प्रदेशलाई २१ वटा र स्थानीयलाई २२ वटा अधिकार अनुसूचीमै उल्लेख गरेको छ । सङ्घ, प्रदेश र स्थानीयको साझा १५ वटा अधिकार दिइएको छ । ती अधिकारभित्र रहेर सबै तहहरू कानुन बनाउन स्वतन्त्र छन् । कोही कसैको मातहतमा बस्नुपर्ने छैन ।
नेपालको संविधानले नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गरे पनि शासकहरूले अझै एकात्मक भावना छाड्न सकेका छैनन् । सङ्घीयता कार्यान्वयनमा आएपछि अधिकांश बजेट प्रदेश र स्थानीयमा जानुपर्ने हो तर ७० प्रतिशत सङ्घमा र ३० प्रतिशतमात्रै प्रदेश र स्थानीयमा पठाउने गरेको छ । स्थानीय तहमा अधिकांश सःशर्त बजेट पठाइन्छ । स्थानीयको आवश्यकता सिंहदरबारलाई थाहा हुँदैन । प्रधानमन्त्रीको अभिव्यक्ति र बजेट विनियोजनले सरकार संविधानको भावनाअनुसार चल्न नसकेको स्पष्ट भएको छ ।
अन्त्यमा, नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले पार्टीको नीति र निर्देशनमा जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहनुभएको छ । हामी प्रचारको लागि होइन जनताको सेवाको भावनाले काम गर्छौँ । निर्वाचन घोषणापत्रलाई अक्षरसः पालना गर्ने हिसाबले काम गर्दै छौँ । जनप्रतिनिधिहरू ४६ जनामध्ये ८ जना र ९ जना कर्मचारीहरू सङ्क्रमित हुनुभएको छ । उहाँहरू कोही घरमा, कोही नपाद्वारा निर्मित आइसोलेसनमा हुनुहुन्छ भने कति साथीहरू भक्तपुर अस्पताल र सशस्त्र प्रहरीको हलचोकस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ । यस्तो अवस्थामा कुनै दिन नपाले दिनुपर्ने सेवा बन्द नगरी निरन्तर जनतालाई सेवा प्रदान गर्दै आइरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *