भर्खरै :

तःमुंज्याको समय सान्दर्भिकता

चालीसौँ नेपालभाषा साहित्य तःमुंज्या बिहीबार सम्पन्न भयो । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी यो वर्षको तःमुंज्या अनलाइनमार्फत भयो । तःमुंज्याको चार दसकको इतिहासमा यो वर्षको सम्मेलन त्यसकारण पृथक बन्न पुग्यो । अनलाइन तःमुंज्यामा देशका विभिन्न जिल्ला र विदेशबाट समेत लेखक, कवि, कलाकार, राजनीतिक नेता, कार्यकर्ता, विभिन्न विषयका विज्ञहरू, किसान–मजदुर, युवा–विद्यार्थी, महिला, शिक्षक, प्राध्यापकलगायत सर्वसाधारण सहभागी बने ।
यो वर्ष तःमुंज्याको दबुमा विभिन्न क्षेत्रमा कार्यरत चिकित्सकहरूले विभिन्न स्वास्थ्य समस्या र रोगब्याधीबारे महत्वपूर्ण जानकारी दिनुभयो । कोभिड–१९ महामारीले समाजमा चिन्ता र चासो बढेको समयमा अनुभवी चिकित्सकहरूले स्वास्थ्य समस्याबारे दिनुभएको जानकारी तःमुंज्यामा सहभागीहरूलाई लाभदायक बनेको छ । कोभिड–१९ ले मानव स्वास्थ्य र समाजमा पार्ने विभिन्न प्रभावदेखि सरूवा र नसर्ने रोगहरूबारे चिकित्सकहरूका जानकारीले समाजमा स्वास्थ्य सचेतनाको तह वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।
महामारीको समयमा मानिसको सबभन्दा ठूलो चिन्ता नै स्वास्थ्य बनेको छ । स्वस्थ शरीरले मात्र सुन्दर विचार दिनसक्छ । स्वस्थ रहन सके समाजमा अझ धेरै योगदान पु¥याउन सकिन्छ । स्वस्थ समाज नै प्रगतिको आधार हो । समाजलाई अग्रगतिमा डो¥याउने प्रमुख आधार नै स्वस्थ समाजको निर्माण हो । संसारभर कोभिडको जगजगी मच्चिरहेको समयमा नेपालभाषा साहित्य तःमुंज्याको दबुलाई जनताको स्वास्थ्य चेतना वृद्धि गर्न उपयोग गर्नु जनताको सेवा हो ।
निःसन्देह तःमुंज्या राजनीतिक र साहित्यिक दबु हो । देश र विदेशमा भएका राजनीतिक घटनाक्रमबारे तःमुंज्याको दबुमा विश्लेषण र चर्चा हुने गरेको छ । श्रमिक जनताको पक्षमा यो ऐतिहासिक दबुले लगातार बोल्दै आएको छ । जनतालाई सबभन्दा घोचिरहेका विषयलाई नै तःमुंज्याले आवाज दिने गरेको छ । समाजको सबभन्दा प्रधान आवश्यकता सरसफाइ हुँदा तःमुंज्या सफाइ आन्दोलनबारे जनताको चेतना बढाउने दबु बन्यो । देशको सार्वभौमिकतामाथि विस्तारवादी शक्तिले नग्न हमला गर्दा तःमुंज्या देशभक्तिपूर्ण आन्दोलनको मोर्चा बन्यो । देशमा तानाशाही र निरङ्कुश शासन व्यवस्थाविरूद्ध जनता सङ्घर्षरत हुँदा तःमुंज्या आफै जनसङ्घर्षको उज्यालो झन्डा बन्यो । किसान आन्दोलन र वर्गसङ्घर्ष तःमुंज्याको अविछिन्न मुद्दा बन्दै आएको छ । यतिबेला समाजलाई महामारीबाट जोगाउनु प्रधान कार्यभार बनेको छ । सरकार आफ्नो दायित्वबाट भागिसकेको छ । नागरिक आफ्नो स्वास्थ्यको रक्षा आफै गर्ने अवस्थामा छन् । यस परिस्थितिमा तःमुंज्याले स्वास्थ्य सचेतना फैलाउनु प्रशंसनीय कार्य हो ।
तःमुंज्यामा वाचित अधिकांश साहित्यमा पनि कोरोनाको कहर नै अभिव्यक्त भयो । साहित्यलाई जनताको सेवा गर्ने हतियार मान्ने साहित्यकारहरूले तःमुंज्याको अनलाइन दबुमा वाचन गरेका कोभिड–१९ महामारी र त्यसका सामाजिक–आर्थिक आयामसम्बन्धी लेख रचना जनताको सेवाको माध्यम हो । कोरोनाको महामारी रोगमा मात्र सीमित छैन । यसका अनेकन सामाजिक र आर्थिक आयाम छन् । कोरोना पोजिटिभ भएका मानिस र परिवारमा विभेदका अनेकन अनुभव छन् । सरकारले गरेको लकडाउनको कारण काम गुमाउनुपर्दाका अनेकन कहर पनि छन् । सरकारको गैरजिम्मेवार व्यवहारको कारण जनताले भोग्नुपरेका समस्याका असीमित शृङ्खला छन् । समाजका त्यस्ता समस्यालाई यो वर्षको तःमुंज्याका साहित्य र विचारमा अभिव्यक्त भएका छन् । प्रगतिशील साहित्यले समाजको चित्रणमात्र गर्दैनन्, बरू समाजका समस्या समाधानको बाटो पनि देखाउने गरेको छ । आज तःमुंज्यामा वाचित साहित्यले समाजले भोगिरहेको समस्या समाधानको लागि बाटो पनि देखाएर प्रगतिशील जिम्मेवारी पूरा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *