भर्खरै :

भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषण फाल्ने उद्योग स्थानान्तरणबारे राज्यमन्त्री दुगडसँग छलफल

काठमाडौँ, १६ कार्तिक । भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेका मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धुँवा प्रदूषण फैलाउने उद्योगहरू स्थानान्तरण गर्नेबारे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको सरकारी कार्यकक्ष सिंहदरबारमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर औद्यागिक क्षेत्र रहेको भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, ध्वनि र धुँवा पीडित जनता, औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालयका प्रतिनिधि, उद्योगीहरूका प्रतिनिधिबीच आइतबार छलफल भयो ।
सरोकारवालाहरूले स्वेटर बुन्ने तर्फबाट नेपो इन्डष्ट्रिजमा ध्वनि र धुँवा प्रदूषण पैmलाउने स्वचालित टेक्सटाइल मेसिन सञ्चालन गरिएको, गएको भदौ २० र २१ गते विनास्वीकृति थप टेक्सटाइल मेसिन ल्याई सञ्चालन गरी सरकारको राजस्वसमेत चुहावट भएको हुँदा तत्काल ध्वनि र धुँवा प्रदूषण फैलाउने उद्योग स्थानान्तरण गर्न राज्यमन्त्री दुगडसँग आग्रह गर्नुभयो
सरोकारवालाहरूले नेपाल सरकारको आ.व. २०७३÷७४ को प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्र काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्न राज्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
पीडित जनताका प्रतिनिधिहरूले साना औद्योगिक क्षेत्रबाट टेक्सटाइल र डाइङ्गजस्ता ध्वनि र धुँवा प्रदूषण गर्नेे ठूला उद्योगहरू हटाउनुपर्ने सिफारिस भक्तपुर नगरपालिकाबाट समेत भइसकेको हुँदा त्यसलाई कार्यान्वयन गर्न राज्यमन्त्री दुगडसँग आग्रह गर्नुभयो ।
छलफलमा उद्योग राज्यमन्त्री दुगडले भक्तपुर औद्योगिक क्षेत्रभित्रका ध्वनि र धुँवा प्रदूषण पैmलाउने उद्योग स्थानान्तरण गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरू समावेश एउटा समिति बनाई समस्या समाधान गर्ने र आफूले पनि सो उद्योग निरीक्षण गर्ने बताउनुभयो ।
उहाँले औद्योगिक क्षेत्रका ध्वनि र धुँवा प्रदूषण पैmलाउने उद्योगको कारण सांस्कृतिक र ऐतिहासिक महत्वका भक्तपुरका कला–सम्पदामाथि आँच आउन नदिने बताउनुभयो ।
जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितताको लागि मन्त्रालयले सकारात्मक कदम चाल्नेतर्फ आश्वस्त पार्दै मन्त्री दुगडले जनताको साथ र सहयोगले देश समृद्ध बनाउन सम्भव हुने बताउनुभयो ।
छलफलमा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले सरकारका अधिकारी र उद्योगी व्यापारीले जनताको पीडा आप्mनो पीडा ठानेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले साना औद्योगिक क्षेत्र भनी स्थापना भएको, मानव बस्तीबीचमा परेको क्षेत्रमा जस्तापाता मोडेको टहरामा ध्वनि र धुँवा प्रदूषण हुने टेक्सटाइल र डाइङ्ग उद्योग सञ्चालन गराउनु सम्बन्धित अधिकारीहरूको गल्ति भएको हुँदा अब सच्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यमन्त्री दुगडलाई भक्तपुर औद्योगिक क्षेत्रको ध्वनि र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्नेबारे पत्र हस्तान्तरण गर्दै यहाँका उद्योगी–व्यापारीले स्थानीय सरकार भक्तपुर नगरपालिकाको निर्देशन पालना गर्नुपर्ने र तोकिएबमोजिमको कर नगरपालिकालाई तिर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले केही उद्योगहरूबाट निस्कने धुँवा, धुलो, ध्वनि तथा रसायन प्रदूषणले वरपर बसोबास गर्ने पीडित नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको र विश्व सम्पदा क्षेत्रमा सूचिकृत भक्तपुर दरबार क्षेत्रसँग जोडिएको सो उद्योग क्षेत्र स्थानान्तरण गर्न आवश्यक पहल गरिदिन र सरकारले साना तथा हस्तकलामा आधारित उद्योग क्षेत्र विकास गर्ने उद्देश्य राखी अधिग्रहण गरेको सो क्षेत्रको उद्योग सोहीबमोजिम उपयोग गर्न भक्तपुर नगरपालिकालाई
जिम्मेवारी दिन राज्यमन्त्री दुगडसँग आग्रह गर्नुभयो ।
छलफलमा भक्तपुर औद्योगिक क्षेत्रका व्यवस्थापक बलराम बोगटीले केही उद्योगबाट निस्केको ध्वनि र धुँवा प्रदूषणबारे स्थानीय जनताको विरोध भएको तर नेपो इन्डष्ट्रिजले निजी संस्थाबाट प्रदूषण नभएको अध्ययन गरेको कागज पेश गरेको बताउनुभयो ।
नेपोका प्रशासक प्रमोद काफ्लेले प्रमुख बोगटीबाट सत्य कुरा सार्वजनिक नभएको, अहिले आधीमात्र टेक्सटाइल मेसिन चलेको र पूरा चलेपछि झन् आवाज बढ्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले जनताको स्वास्थ्यलाई ध्यान दिई भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि र धुँवा प्रदूषण फाल्ने उद्योगहरू अविलम्ब स्थानान्तरण गर्नुपर्ने र लकडाउनको बेला बाहिरका मानिस औद्योगिक क्षेत्रमा प्रवेश गराइँदा कोभिड सङ्क्रमण पैmलिएको बताउनुभयो ।
ध्वनि र धुँवा पीडित स्थानीय विनोदचरण रायले सरकारी प्रतिबद्धताअनुसार सो औद्योगिक क्षेत्र उपत्यकाबाहिर स्थानान्तरण गर्नु नै उत्तम विकल्प भएको बताउनुभयो ।
प्रिन्टिङ्ग प्रेस उद्योगी शङ्करकुमार खड्काले स्थापनाको बेला साना औद्योगिक क्षेत्र नै भएको हुँदा उचित क्षतिपूर्ति भए स्थानान्तर हुन सजिलो हुने बताउनुभयो ।
उद्योगीका सल्लाहकार पाठक भन्नेले श्रीपद्म विद्यालयभन्दा अगाडि औद्योगिक क्षेत्र स्थापना भएको र उद्योगले नपालाई कर तिर्न नपर्ने बताएपछि छलफलमा निजसँग विवाद नै भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *