भर्खरै :

भुटानमा जलविद्युत् परियोजनाको प्रभाव, जनताको घरमा चिरा

कोरोना महामारीले भुटानको सार्वजनिक जीवन ठप्प भए पनि त्यहाँको मुख्य निर्यात जलविद्युत् क्षेत्र भने फलीफाप भइरहेको छ । वर्षायामको सुरुवातमा ड्रुक हरित ऊर्जा प्राधिकरणले गत जनवरीदेखि जून महिनाको अन्त्यसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले ऊर्जा उत्पादन बढेको बताएको थियो । राजस्व १३ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा पर्यटन क्षेत्र पूर्णतः ठप्प भयो । त्यसबाट भएको घाटाको पूर्ति भने जलविद्युत्बाट बढेको राजस्वमार्फत पूर्ति हुने भएको छ । कोभिड महामारीअघि पर्यटन क्षेत्र भुटानको दोस्रो सबभन्दा ठूलो राजस्वको स्रोत थियो ।

तर, भुटानका धेरै ग्रामीण क्षेत्रका जनताको निम्ति आफ्नो गाउँ छेउछाउ जलविद्युत् आयोजना हुनु भने अभिसापजस्तै बनेको छ । जलविद्युत् आयोजना छेउछाउका गाउँका अधिकांश घरमा चिरा पर्ने गरेको छ । मर्मत–सम्भार गर्दा पनि ती घरमा फेरि पनि चिरा देखिने गरेको छ । यसरी चिरा परेका अधिकांश घरको मर्मतसम्भार समेत हुने गरेको छैन ।
मध्य त्रोङ्सा जिल्लाको क्युनगाराब्तेनस्थित एउटा आनीगृहमा १७० जना आनीहरू बस्छन् । आनीगृहमा चिरा पर्न थालेपछि हिजोआज नयाँ ठाउँको खोजी गरिरहेको आनी गृहका प्रधानाध्यापक येशे छोदेनले भनिन् ।
“सानो स्केलको भूकम्पमात्र आए पनि यो घर सजिलै भत्किन सक्छ । हामी निकै डराएका छौँ”, उनले भनिन् । आनीगृहको पर्खाल, भित्ता, भुईँ र भ¥याङमा पनि चिरा देखिन थालेको छ । गत वर्ष भवनको बिस्तृत मर्मत कार्य भएको थियो । मर्मतपछि पनि फेरि भित्ता र भ¥याङमा चिरा देखिएको येशेले भनिन् ।
आनीगृहलाई माङ्देछु जलविद्युत् परियोजनाले २० हजार ३३० अमेरिकी डलर बराबरको क्षतिपूर्ति प्रदान गरेको छ । “जलविद्युत् परियोजनामा गराइएको विस्फोटनकै कारण चिरा परेको हो वा होइन, हामीलाई थाहा छैन । तर, माङ्देछु परियोजना सुरु भएदेखि नै घरमा चिरा पर्न थालेको हो”, छोदेनले भनिन् । सो जलविद्युत् परियोजना सन् २०१२ मा सुरु भई सन् २०१९ मा सम्पन्न भएको थियो ।
“गत साता माङ्देछु जलविद्युत् परियोजनाका अधिकारीहरू आएर आनी गृहको पुनःअवलोकन गरे । गत वर्ष विस्तृत मर्मत सम्भारपछि पुनः चिरा देखिन थालेकाले उनीहरू हेर्न आएका हुन्”, उनले भनिन् ।
नजिकैको क्युनगाराब्तेनका धेरै घरहरूमा पनि चिरा परेका छन् । जलविद्युत् परियोजनामा गरिएको विस्फोटनकै कारण त्यहाँका घरहरूमा चिरा परेको स्थानीयको दाबी छ ।
त्रासी याङ्त्सेमा परेको चिरा र क्षतिपूर्तिको माग
सन् २०१७–१८ मा उत्तरपूर्वी त्रासी याङ्त्से क्षेत्रका तीसभन्दा बढी घरधनीहरूले पनि यस्तै क्षतिपूर्ति माग गरेका थिए । ६०० मेगावाटको खोर्लोङ्छु जलविद्युत् परियोजनामा गरिएको विस्फोटनको कारण आफ्नो घरमा क्षति पुगेको स्थानीय जनताको दाबी थियो ।
त्रासी याङ्त्से जिल्लाका किसानहरूले जलविद्युत् परियोजनाको कारण झण्डै एक एकड धान खेती पनि नष्ट भएको बताए । जलविद्युत् परियोजना निर्माण र अन्य सम्बन्धित कार्यले त्यस्तो क्षति भएको बताइएको छ । विशेषतः निर्माणको क्रममा भएको धुलो प्रदूषण र वातावरणीय प्रभावको कारण बालीनालीमा क्षति भएको हो ।
पश्चिम भुटानको वाङ्देउफोड्राङ जिल्लामा भुटानकै दुई सबभन्दा ठुला जलविद्युत् परियोजनाहरू छन् । पुना–१ ले ११ सय मेगावाट र पुना–२ ले १३ सय मेगावाट जलविद्युत् उत्पादन गर्दै आएको छ । त्यहाँ पनि सुरुका दिनमा स्थानीय जनताले उस्तै समस्याको सामना गर्नुपरेको थियो । यद्यपि अहिले त्यहाँको समस्या भने समाधान भइसकेको छ ।
वर्षौँ वर्ष आफ्ना समस्याबारे कुरा उठाएपछि वाङ्देउफोड्राङ जिल्लाको उमा गाउँका ६८ वर्षका छिरिङ पेन्जोरले आफ्ना छरछिमेकीले जस्तै क्षतिपूर्ति हात पारे ।
“मैले १८ हजार भुटानी मुद्रा (२४४ अमेरिकी डलर) क्षतिपूर्ति पाएँ । सबभन्दा बढी पाउनेले २५ हजार भुटानी मुद्रा (३३९ अमेरिकी डलर) पाएका थिए”, पेन्जोरले भने ।
“त्यत्ति पैसाले घरको क्षति मर्मत गर्न आधा पनि पुगेन । यद्यपि, हामीले सरकारको निर्णयको सम्मान गर्दै क्षतिपूर्ति स्वीकार ग¥यौँ”, पेन्जोरले भने ।
“सुरु–सुरुमा दिनको एक–दुई पटक मात्र विस्फोटन गर्दा घरलाई खास क्षति भएन । तर, पछि दिनको पाँच–सात पटक विस्फोटन हुन थालेपछि भूकम्पले हल्लाएजस्तो घर हल्लिन थाल्यो”, सोही गाउँका अर्का बासिन्दा ल्हामोले भने ।
अर्का गाउँले पेम जामले सुरुमा परियोजनाका अधिकारीहरूले क्षतिपूर्ति दिन नमानेको बताइन् । “त्यसको निम्ति हामीले राजनीति दल र स्थानीय सरकारसमक्ष हार गुहार गर्नुप¥यो । सबैलाई हामीले भोगिरहेको जोखिम देखाउन लग्यौँ”, उनले भनिन् ।
आफ्नो घर रहेको पहाडको मुनि सुरुङभित्र विस्फोटन गर्दा उनले आफ्नो घर हरेक दिन हल्लिरहेको जस्तो अनुभव गरिन् ।

जलविद्युत् परियोजना बनाउनुअघि त्यो ठाउँमा दुई वटा पानीका मुहान थिए । ती दुवै स्रोत अहिले सुकेका छन् ।
“घर–घरमा परेको चिरा र क्षतिको कारण जलविद्युत् परियोजना हुनसक्छ किनभने ड्याम साइट र सुरुङभित्र धेरै परिमाणमा विस्फोटन गरिएको थियो”, भुटानका अर्थमन्त्री लोकनाथ शर्माले भने ।
जलविद्युत् परियोजना छेउछाउका घर र समुदायमा पारेको प्रभाव हामी अस्वीकार गर्न सक्दैनौँ । अरू कारणले त्यस्तो क्षति भएको प्रमाणित नहुँदासम्म त्यही कारणले नै यस्ता समस्या आएको मान्नुपर्छ”, शर्माले भने ।
न्यून गर्न सकिने समस्या
परियोजनाको विस्तृत प्रतिवेदन तयारी गरी सो प्रतिवेदनमा विस्फोटनले स्थानीय समुदायमा पार्ने प्रभावबारे पनि अध्ययन गरे छेउछाउका गाउँ र घरहरूमा पार्ने प्रभाव न्यून पार्न सकिने अर्थमन्त्री शर्मा बताउँछन् ।
भविष्यको बनाइने जलविद्युत् परियोजनाहरूबारे विस्तृत परियोजना प्रतिवेदनले यस्ता विषयको विस्तृत अध्ययन गरे प्रभाव न्यून गर्न सकिने उनको भनाइ छ ।
जलविद्युत् परियोजनामा हुने विस्फोटनले पार्ने क्षतिबारे सजगता बढाउनुका साथै सरकारले पनि आवश्यक सहायता दिने भएपछि यस्ता जोखिम न्यून गर्न सकिने अर्थमन्त्री शर्माको भनाइ छ । घरमा क्षति पुगेका व्यक्तिलाई पैसामा क्षतिपूर्ति दिने गरिएको छ भने कति जनालाई घर टहरा नै बनाइदिने गरेको छ ।
“हामीले परियोजनास्थलमै भूकम्प मापन गर्ने औजार राखेका छौँ । भविष्यमा भूक्षय हुने खतरा कति छ, विस्फोटनको सघनता कति र घरमा चिरा पर्ने जोखिम कति छ भन्ने कुराको निधो, त्यो औजारमार्फत मूल्याङ्कन गरिन्छ”, उनले भने ।
गत मे महिनामा भुटान सरकारले पहिलोपटक ड्याम सुरक्षा निर्देशिका जारी गरेको छ । जलविद्युत् परियोजना निर्माण कार्य थालनी गरेको दसकौँपछि त्यस्तो निर्देशिका जारी गरिएको हो । जलविद्युत् परियोजनाका प्रवद्र्धनकर्ताहरूले परियोजना निर्माणको लागि अन्तर्राष्ट्रिय साझेदार र वास्तुकलाविद्हरूलाई पनि संलग्न गराएका हुन्छन् ।
जलविद्युत् परियोजनासम्बन्धी अन्तर्राष्ट्रिय निर्देशिका भुटानको जटिल भूबनोट र प्राकृतिक अवस्था सुहाउँदो नभएको भुटानले हालै जारी गरेको निर्देशिकामा उल्लेख छ । सो निर्देशिकाले भुटानमा जलविद्युत् परियोजनाको विकास र सञ्चालनको क्रममा सुरक्षा व्यवस्थापनका सबै कुरालाई समावेश गरिएको बताइएको छ ।
स्रोत : द थर्ड पोल
नेपाली अनुवाद : हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *