भर्खरै :

‘गोदी मिडिया’ र मोदी फासीवादको पतन

हिटलरको फासीवाद !
“मलाई माफ गर्नुस्, म बादसाह बन्न चाहन्नँ । त्यो मेरो उद्देश्य होइन । म कसैमाथि शासन गर्न वा कसैमाथि जितको दाबी गर्न चाहन्नँ । हामी यहुदी, जेन्टाइल (यहुदी बाहेकका), काला जाति, गोरा जाति र सम्भव भएसम्म सबैको सेवा गर्छौँ । मानवजाति भन्नु नै त्यही हो । हामी एकअर्कासँग खुसीसाथ बाँच्न चाहन्छौँ, एकअर्कालाई दुःख दिन होइन । हामी एकअर्कालाई घृणा एवम् तिरस्कार गर्न चाहन्नौँ । यो संसार सबैको बास हो, यो पृथ्वी अत्यन्तै विशाल छ, यसले सबैलाई बास दिन्छ ।”
यो हिटलरको एक चर्चित भाषणको अंश हो । विश्वप्रसिद्ध कलाकार चार्ली च्याप्लिनले हिटलरकै अभिनय गर्दै भाषणलाई आफ्नो चलचित्रमा पनि प्रस्तुत गरेका छन् (फाइनल स्पिच फ्रम दि ग्रेट डिक्टेटर शीर्षकमा युट्युवमा हेर्न सकिन्छ) । जर्मनीका जनता हिटलरको भाषण सुनेर मुग्ध हुन्थे । पहिलो विश्वयुद्धपछि जर्मनीमा गरिबी, बेरोजगारी, अभाव बढेको थियो । त्यही बेला हिटलरको उदय भयो । उनले ‘नयाँ जर्मनी’ को उदयको नारा दिए । तर, हिटलर सत्तामा आएपछि यहुदी जाति तारोमा प¥यो । यहुदीको कारण जर्मनीले पहिलो विश्वयुद्धमा हार व्यहोर्नुपरेको झूटो प्रचार गरियो । आर्य नस्लको शुद्धता र सर्वोेच्चताका लागि अन्य जातिको संहार गर्ने हिटलरको नीति रहेको थियो ।

हिटलर


सन् १९३४ मा हिटलरको स्वतन्त्रता र रोजीरोटीको नारा चल्दै थियो । हिटलर चान्सलर (प्रधानमन्त्री) बनेको एक वर्षमात्र भएको थियो । ‘बुकरवर्ग हार्भेस्ट फेस्टिबल’ (बाली काट्ने मेला) चलिरहेको थियो । मेलामा हजारौँ मानिसको भीड थियो । आफ्नो भाषणको क्रममा हिटलरले भने – “मलाई मात्र ४ वर्ष दिनुुस्, म तपाईँहरूको जिन्दगी बदलिदिन्छु ।” हिटलरले जर्मनीमा १२ वर्ष अर्थात् दोस्रो विश्वयुद्धमा पराजित नभएसम्म शासन गरे । त्यही अवधिमा राष्ट्रवादको नाममा लाखौँ जर्मन नागरिकको हत्यामात्र भयो, जीवन बदल्ने काम भएन ।
सन् १९३५ मा जर्मनीमा यहुदी जातिलाई देशको दोस्रो दर्जाका नागरिक बनाउने कानुन लागु गरियो । यहुदीबाट अलग बस्न यहुदीलाई कसरी चिन्ने भन्नेबारे विद्यालयका विद्यार्थीलाई पढाउन थालियो । राष्ट्रवादको नाममा समाजमा एउटा असमान सीमारेखा खिचियो । समाजवादी क्रान्तिको बाटोमा अगाडि बढिरहेको सोभियत सङ्घलाई ‘निप इन दि बड’ (मुना अवस्थामै निमोठ्ने) उद्देश्यले फासिवादी हिटलरले आक्रमण ग¥यो । अन्तमा करिब २ करोड सोभियत नागरिकको सहादतबाट फासीवाद पराजित भयो ।
फासीवादले राष्ट्रवादको नारा दिन्छ, मानवअधिकारको तिरस्कार गर्छ, विरोधीलाई देशकै शत्रु भन्दै जनतालाई एकीकृत गर्छ, सरकारसँग प्रश्न गर्नु भनेको सेनासँग प्रश्न गर्नु हो भनी प्रचार गर्छ, आमसञ्चारमा सत्ताको नियन्त्रण कायम गर्छ । त्यस्तो शासनमा महिलामाथि अपमान हुन्छ, सरकार धार्मिक मामिलामा अल्झिन्छ, ठूला पुँजीपति तथा व्यापारीको भरथेगमा निर्वाचन जितेर तिनकै सेवा गरिन्छ, मजदुरको आन्दोलनमाथि दमन हुन्छ, बुद्धिजीवीहरू तिरस्कृत हुन्छन्, भ्रष्टाचारीको बोलवाला हुन्छ, निर्वाचनमा धाँधली हुन्छ ।
गोयबल्सको प्रचार संयन्त्र
गोयबल्स हिटलरका सन् १९३३ देखि नै प्रचारमन्त्री थिए । गोयबल्स भन्थे, “एक झूटलाई यदि कैयौँपटक दोहो¥याइयो भने त्यो सत्य हुनजान्छ ।” रेडियो १९ औँ शताब्दीमात्र होइन बीसौँ शताब्दीको पनि सबभन्दा प्रभावकारी प्रचारमाध्यम हुने ठहर गोयबल्सले गरेका थिए । उनले सस्ता रेडियो बनाउन रेडियोका उपकरण उत्पादनकलाई आर्थिक छुट (सब्सिडि) दिलाए । आफ्नो ‘प्रपग्यान्डा’ छिमेकी देशमा समेत प्रस्ट सुनियोस् भनेर रेडियो सेट तथा स्टेसन ज्यादै क्षमतायुक्त बनाउन लगाए । गोयबल्सले नै जर्मन नागरिकका घरघरमा फासिवादी प्रचार पु¥याउन चलचित्र निर्माणको निम्ति तत्काल चलचित्र विभाग गठन गरे । हिटलरको राष्ट्रवादको पक्षमा र यहुदीको विरोधमा उनले नाजी चलचित्र बनाउन लगाए । त्यस्तै, मानिसको विचारमा परिवर्तन ल्याउन सबभन्दा सशक्त माध्यम मानिएको अखवारमा ठूलो लगानी गरियो । नाजी अखबारमध्ये सबभन्दा कुख्यात पत्रिका थियो ‘आक्रमणकारी’ । हिट्लर पत्रिकाले सामान्य मानिससँग सीधा कुरा गर्छ भन्दै सो पत्रिकाको तारिफ गर्थे । गोयबल्स विपक्षीलाई राक्षसको रूपमा प्रचार गर्थे । गोयबल्सले प्रपग्यान्डाको निम्ति सङ्गीत एवम् नृत्यको पनि प्रयोग गरे । उनी अनेक मिथक, लोककथा एवम् धार्मिक मान्यताहरूको प्रयोग गर्थे । प्राचीन जर्मन सभ्यताबारे मानिसलाई गौरवान्वित बनाउनु उनको उद्देश्य हुन्थ्यो । हजारौँ वर्षदेखि ‘सौभाग्य’ तथा सुस्वास्थ्यको प्रतीक मानिँदै आएको स्वस्तिक चिह्नलाई हिटलरले चलाखीपूर्णरूपमा प्रयोग गरे । तर, आज स्वस्तिक चिह्न फासीवादको पर्यायवाची बनेको छ ।
हिटलर आफै पनि एक प्रखर वक्ता थिए । उनी आफ्नो तर्क सरल भाषामा आम मानिसबीच राख्नसक्थे । कठिनभन्दा कठिन विषयमा पनि सर्वसाधारणको बोलचाली भाषामा कुरा गर्थे । उनी मानिसको भावनाका कुरा गर्थे, ‘तिललाई पहाड’ बनाएर प्रचार गर्न सिपालु थिए ।
‘गोदी मिडिया’
हालै भारतमा एक शब्दावली खुब चर्चित छ, ‘गोदी मिडिया’ ! भारतमा हिन्दु राष्ट्रवादलाई मार्गदर्शक सिद्धान्त मान्ने भारतीय जनता पार्टीको सरकारका प्रधानमन्त्री मोदीले ‘काखमा लिएका’ सञ्चारमाध्यम ‘गोदी मिडिया’ को कोटीमा पर्छन् । जनअधिकारको रक्षा गर्न ‘वाच डग’ हुनुपर्ने मिडिया सत्ताको ‘ल्याप डग’ भएको अर्थमा यस्ता शब्दावली प्रयोगमा आएका हुन् । आम सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कुरा पुँजीवादी सरकारमा त लागु भएको हुन्न भने फासिवादी सरकारमा त्यो झन् दुरुह हुनुमा कुनै आश्चर्य हुँदैन ।
भारतमा ऐतिहासिक किसान आन्दोलन दिनप्रतिदिन व्यापक हुँदै छ, भारतीय मूलधार मानिएका आम सञ्चारमाध्यम मोदीकै जयजयकार गर्न व्यस्त छन् । भारतका खास ‘राष्ट्रिय’ सञ्चारमाध्यम जनताको आवाज कुण्ठित गर्ने दुष्प्रयासमा लागेका छन् । तर, ‘गोदी मिडिया’ ले जतिसुकै कुप्रचार गर्न खोजेपनि भारतको चालु किसान आन्दोलन सघन हुँदै गएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा किसानको आन्दोलनले गति लिइरहेको बेला ‘आजतक’, ‘जी न्युज’, ‘डीएनए’, ‘इन्डिया टुडे’, ‘रिपब्लिक टीभी’ जस्ता राष्ट्रिय मानिएका टीभी कार्यक्रमहरूमा ‘मोदी शिवभक्तिमा लीन भएको’, ‘मोदीले घण्टी बजाएको’, ‘मोदीले महापूजा गरेको’ जस्ता समाचारले प्राथमिकता पाइरहेका हुन्छन् । ती सञ्चारमाध्यमका प्रस्तोताहरू आफै ‘मोदीको भक्ति’ मा लीन छन्, ‘हर हर मोदी’ को भजन गाउँदै छन् । धर्म निरपेक्षताको खिल्ली उडाउँदै ती सञ्चारमाध्यम प्रम मोदीलाई ‘भोलेनाथका परमभक्त’ भन्दै समाचार प्रसारण गरिरहेका छन् । ‘विभिन्न घाटमा मोदी’ जस्ता समाचार मुख्य समाचार बन्छन् । समाचार यसरी प्रसारण गरिन्छ कि मानौँ मोदी ‘भगवान’ हुन् ! विचरा धर्मान्ध भारतीय नागरिक !
मोदीको झूटको पासा
हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा हजारौँ किसान दिनरात सडकमा प्रदर्शन गरिरहेका छन् । गरिबी, भ्रष्टाचार, अभाव, रोग, महँगी, हत्या, हिंसा, शोषण उस्तै छ । भारतमा गत जून महिनायता बेरोजगारीको दर सबभन्दा बढी भएको छ, युवा बेरोजगारीको कारण सरकारविरुद्ध तीव्र आक्रोश पोखिरहेका छन् । तर, मुख्य मानिएका समाचारमाध्यम आँखामा पट्टी बाँधिरहेका छन् । उल्टो, अङ्ग्रेजीमा वक्तव्य लेख्नु, सामाजिक सञ्जालमा मोदीविरोधी ह्यासट्याग ट्रेन्ड चलाउनु, अखबारमा विज्ञान छपाउनु गरिब किसानको क्षमताको कुरै होइन, ती परिचालित हुन्जस्ता हास्यास्पद तर्क गरिरहेका छन्, ‘गोदी मिडिया’ । विदेशी तथा देशविरोधी तत्वहरूले आन्दोलनलाई ‘अपहरण’ गर्न चाहिरहेको दुश्प्रचार गरिँदै छ । ‘गोदी मिडिया’ ले ‘नक्सल’, ‘माओवादी’, ‘असामाजिक तत्व’ भन्दै किसान आन्दोलनकारीबीच भ्रम फैलाइरहेका छन्, आन्दोलनमाथि चर्को दमन निम्त्याउन खोजिरहेका छन् । मोदीविरोधी तत्व किसानको आक्रोशबाट फाइदा उठाउन लागिरहेको भनी आन्दोलनकारीको बदनाम गर्न खोजिँदै छ । टीभीका प्रस्तोताहरू स्वयम् भाजपाका प्रवक्ताजस्तै भई किसानविरोधी तत्वहरूले निहीत स्वार्थवश किसानलाई उचालेको भन्दै गर्दा आफै नाङ्गिएको नबुझ्नु टिठलाग्दो कुरा हो ।
भारतमा किसानविरोधी कानुन खारेजीको माग गर्दै हजारौँ किसान करिब ३ सातादेखि दिल्ली केन्द्रित धर्ना तथा प्रदर्शनमा छन् । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि कानुनबाट किसानलाई के लाभ हुन्छ भन्नेबारे विभिन्न सञ्चारमाध्यममार्फत ९ पटक सम्बोधन गरे । गएका १८ दिनमै भारतका कृषिमन्त्रीले देशैभर प्रसारण हुने टेलिभिजन र पत्रपत्रिकाबाट २१ वटा अन्तर्वार्ता दिए । विभिन्न समाचारमाध्यमले ती अन्तर्वार्तालाई पटकपटक प्रसारण गरे । यसैबीच भारतका वाणिज्यमन्त्रीले पनि ९ वटा अन्तर्वार्ता दिए र ती अन्तर्वार्ता पनि समाचारमाध्यममा दोहो¥याइतेह¥याई प्रसारण गरिए । त्यसैगरी ९ जना क्याबिनेट मन्त्रीले अलगअलग थुप्रैपटक अन्तर्वार्ता दिए । उत्तरप्रदेश र मध्यप्रदेशका मुख्यमन्त्रीहरूले पनि यस्तै काम गरिरहे । नयाँदिल्लीबाट प्रकाशित हुने ‘ब्रडसिट’ दैनिकहरूमा यस्तै १६ वटा अन्तर्वार्ता प्रकाशित भए । प्रधानमन्त्री तथा मन्त्रीहरूका एक सत्न्दा बढी यस्ता अन्तर्वार्ता प्रकाशित एवम् प्रसारित भइरहँदा किसानका आवाज भने ओझेलमा पारियो । किसान आन्दोलनको बदनाम गर्ने कुचेष्टा रोकिएन । किसानले अम्बानी र अडानीजस्ता भारतका बहुराष्ट्रिय कम्पनीका उत्पादन तथा सेवा बहिष्कार आन्दोलन चलाइरहेको बेलामा राष्ट्रिय भनाउँदा सञ्चारमाध्यम देख्यानदेख्यै गरिरहेका छन् ।
‘दि इकनमिक टाइम्स’ ले भारतको किसान आन्दोलनलाई कोभिडको सङ्क्रमण फैलाउने घटनाको रूपमा प्रचार गर्दै छ । त्यसैगरी ‘टाइम्स नाउ’ ले पतिप्रक्षले किसानलाई भड्काइरहको भनेर भ्रम फैलाइरहेको छ । ‘न्युज इन्डिया’ ले काङ्ग्रेसले किसानलाई भड्काएको समाचार विश्लेषण प्रकाशन गरेको छ । यहाँसम्म कि संरा अमेरिका मुख्यालय रहेको सीएनएनले समेत ‘प्रदर्शनको आह्वान ः कसले किसानलाई भड्काइरहेको छ ?’ शीर्षकमा समाचार प्रसारण ग¥यो । भाजपाका सञ्चार प्रमुख प्रीति गान्धीले किसान आन्दोलनलाई खालिस्तानी समर्थक (पन्जाबमा छुट्टै शिख राज्य बनाउने आन्दोलन) को हो भनेर दमन गर्नेे धम्की दिइन् ।
तिरस्कृत पत्रकार !
‘गोदी मिडिया’ ले कहिले पाकिस्तानविरुद्ध त कहिले विपक्षी दलविरुद्ध, कहिले मोदीको भक्ति गाउने ‘बहस’ सञ्चालन गरिरहेका हुन्छन् । जस्तै सन् २०१९ को एक अध्ययनअनुसार ‘इन्डिया टीभी’ मा सञ्चालन हुने कुरुक्षेत्र नामको ‘टीभी सो’ का ५३ वटा बहसमध्ये ३० वटामा पाकिस्तानमाथि हमला गरियो, ११ मा विपक्षी दलहरूको खोइरो खनियो र ११ मा मोदीको तारिफ थियो । मात्र एउटामा ‘चन्द्रयान चन्द्र लक्ष्य’ को चर्चा गरिएको थियो । त्यस्तै ‘न्युज एटिन इन्डिया’ मा एउटै प्रस्तोताका ५५ वटा बहस कार्यक्रममध्ये १८ वटामा पाकिस्तानमाथि र २५ वटामा विपक्षीमाथि आक्रमण गरिएको थियो भने ७ वटामा मोदी र भाजपाका अध्यक्ष अमित साहको प्रशंसा र ५ वटामा राममन्दिरबारे बहस गरिएको थियो । जी न्युज, इन्डिया टीभीले पनि जनताका खास मुद्दामाथि बहस सञ्चालन नगरेको अध्ययनको निचोड थियो ।
सन् २०१९ सेप्टेम्बरमा एक भारतीय पत्रकारले उत्तर प्रदेशको एक विद्यालयमा दिवा खाजामा रोटी र नुनमात्र दिइएकोबारे एक समाचार प्रकाशित गरे । दोषीमाथि कारबाही गर्नुको सट्टा प्रहरीले ‘आपराधिक षड्यन्त्रको अभियोग’ लगाएर ती पत्रकारलाई पक्राउ ग¥यो । यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले समेत पत्रकारमाथि कार्यवाही गर्ने घोषणा गरे र विद्यालयका भ्रष्ट प्रधानअध्यापकलाई चोख्याउने काम गरे । त्यस्तै सन् २०१९ कै जूनमा भारतमा रेल दुर्घटनाका कारणबारे समाचार छपाउने पत्रकारले पनि प्रहरीको ज्यादती भोग्नुप¥यो । पत्रकारलाई पक्राउ गरी प्रहरीले उनको मुखमा पिसाब गरिदिएको घट्ना सार्वजनिक भयो ।
सत्यका सारथी बोलिरहेछन् !
यतिखेर ‘प्रजातन्त्रका परिसूचक’ मानिने वाक स्वतन्त्रता, कानुनी राज्य, प्राज्ञिक स्वतन्त्रता, नागरिक स्वतन्त्रतामा भारत निकै खस्किएको अनुसन्धानले देखाएको छ । ती परिसूचकहरू इन्दिरा गान्धीले सन् १९७५ मा लागु गरेको सङ्कटकालको हाराहारीमा झरेको विश्लेषकहरूको भनाइ छ ।
तर, विगतमा विभिन्न सञ्चारमाध्यममा कार्य गरी खारिएका रविश कुमार, पुण्यप्रसून बाजपेयी, आशुतोष, आलोक जोशीजस्ता केही वरिष्ठ पत्रकारहरूले युट्युवमार्फत ‘गोदी मिडिया’ विरुद्ध समाचार तथा विश्लेषण प्रस्तुत गरिरहेका छन् । उनीहरूका प्रचारमाध्यमले ‘गोदी मिडिया’ लाई चुनौती नै दिइरहेको पाइन्छ ।
प्रम मोदीले गोयबल्स शैलीको प्रचारको निम्तिमात्र सन् २०१४ बाट सन् २०१९ सम्म हरेक वर्ष करिब ११ अर्ब रुपियाँ सरकारी कोषबाट खर्च गरेको भारतीय वरिष्ठ पत्रकार पुण्यप्रसून बाजपेयीले आफ्नो एक युट्युब प्रस्तुतिमा बताएका छन् । यसवर्ष आन्दोलन र कोभिड महामारीको समयमा सरकारमुखी प्रचारप्रसारमा ७ अर्ब ५० करोड रुपियाँ खर्च गरिएको छ ।
भाजपाको मातृ पार्टी राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) ले विचार र संस्कृतिमाथि जतिसुकै हेजेमोनी (वर्चस्व) कायम गर्न खोजेपनि भारतीय जनताको परिवर्तनको इच्छालाई दबाउन सक्नेछैन । प्रश्न गर्नेमाथि प्रतिबन्ध लगाउने, विरोधीलाई नै निषेध गर्ने आरएसएसका गतिविधिप्रति क्रमशः जनआक्रोश बढेको छ । एकदिन आरएसएसले पनि हिटलरको नियति भोग्ने नै छ !
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *