भर्खरै :

चन्द्रमाबाट ढुङ्गा–माटो बोकेर फर्कियो छाङ अ – ५ यान

पेइचिङ, १७ डिसेम्बर । बिहीबार चिनियाँ अन्तरिक्षयान छाङ अ –५ चन्द्रमाबाट पृथ्वीमा सफलतापूर्वक फर्केको छ । बिहीबार बिहान सखारै पृथ्वीमा अवतरण गर्दा छाङ अ–५ एक्लैमात्र आएन बरु उसले चन्द्रमाबाट केही महत्वपूर्ण नमूनाहरू पनि साथमा लिएर आएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वशासित क्षेत्रको सिजिवाङ व्यानरमा अन्तरिक्षयान पेइचिङ समयअनुसार बिहान १ः ५९ बजे सफलतापूर्वक अवतरण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख चाङ केचिआनले छाङ अ–५ मिसन सफल भएको घोषणा गरेको छ ।
चीनले सन् २००४ मा थालेको चन्द्रमा पुग्ने मिसनको यो तेस्रो चरण थियो । पहिलो चरणमा चीनको अन्तरिक्ष यान चन्द्रमाको कक्षमा घुमेको थियो । दोस्रो चरणमा चीनमा अन्तरिक्ष यान अवतरण गरेको थियो भने यो पटकको अन्तरिक्ष यानले चन्द्रमाबाट केही नमूना पनि लिएर फर्केको छ । छाङ अ–५ले चन्द्रमाबाट ल्याएका नमूना पछिल्ला चालिस वर्षयता पृथ्वीमा भित्रिएको चन्द्रमाको सबभन्दा ताजा नमूना भएको छ ।
पृथ्वीको नियन्त्रण प्रणालीअन्तर्गत घर फर्केको अन्तरिक्ष यान चन्द्रमाको कक्षबाट एटलान्टिक महासागरको झण्डै ५ हजार किलोमिटरमाथि अलगिएको थियो । प्रति सेकेन्ड ११.२ किलोमिटरको गतिमा अन्तरिक्ष यान पृथ्वीमा अवतरण गरेको थियो । पूर्वनिर्धारित स्थानमै अन्तरिक्षयान अवतरण गरेको थियो । पृथ्वीभन्दा दस किलोमिटर माथि अन्तरिक्षयानको पारासुट खुलेको थियो ।
चिनियाँ अन्तरिक्ष अनुसन्धान संस्थाले भित्री मङ्गोलियामा अवतरण गरेको अन्तरिक्ष यान सिधै पेइचिङमा लगेर मात्र खोलिने बताएको छ । चन्द्रमामा ल्याइएका नमूनाहरूको वैज्ञानिकहरूले विश्लेषण र अध्ययन गर्ने छन् ।
चीनले छाङ अ–५ ले ल्याएको नमूनामध्ये केही नमूना अन्य देशका वैज्ञानिकहरू पनि उपलब्ध गराउने बताएको छ । चन्द्रमाको सबभन्दा कान्छो भूभागमा छाङ अ–५ अवतरण गरेको हुनाले त्यहाँबाट सङ्कलित नमूना चन्द्रमासम्बन्धी थप अध्ययनको लागि महत्वपूर्ण हुने वैज्ञानिकहरूले बताएका छन् । यसअघि संरा अमेरिका र सोभियत सङ्घले पठाएको मिसनको तुलना चिनियाँ यान अवतरण गरेको क्षेत्र कान्छो क्षेत्र हो । अध्येताहरूले त्यहाँको नमूनाको विशेष वैज्ञानिक महत्व भएको बताए ।
संरा अमेरिका र सोभियत मिसनले ल्याएका नमूनाले मात्र चन्द्रमाको विगतको पूर्ण चित्रणको विश्लेषण सम्भव भएको थिएन । अब चिनियाँ यानले ल्याएका नमूनाले यसलाई पूर्णता दिन मद्दत गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले छाङ अ–५ को सफल यात्राको लागि बधाई दिनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी, राज्य परिषद्, केन्द्रीय सैनिक आयोगको तर्फबाट छाङ अ–५ मिसनका सबै सदस्यहरूलाई बधाई दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *