भर्खरै :

क्युवा आतङ्कवादको होइन, अन्तर्राष्ट्रिय ऐक्यबद्धताको प्रायोजक देश हो

जनवरी ११ मा बिदा हुन लागेका संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई ‘आतङ्कवादको प्रायोजक राज्य’ को कोटीमा राखेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नुअघि ट्रम्पको यस्तो निर्णयले वाशिङ्टन र हवानाबीचको सम्बन्धलाई चिसो बनाएको छ । नवनिर्वाचित राष्ट्रपति बाइडेन पूर्वराष्ट्रपति बाराक ओबामाको सरकारमा उपराष्ट्रपति थिए । त्यसकारण, उनले ओबामाले जस्तै क्युवासँगको संवाद थाल्ने अपेक्षा गरिएको छ । तर, ट्रम्पको यस्तो निर्णयले दुई देशबीचको सम्बन्ध सुधार कठिन हुने देखिएको छ ।
ट्रम्पको यो कदम शीतयुद्धकालीन चिन्तन शैलीको निरन्तरता हो । यस्तो चिन्तनशैलीले संसारलाई पुस्तौँ पुस्तासम्म विभाजित राख्यो । ट्रम्प सरकारको परराष्ट्र विभागले यो निर्णय सार्वजनिक गरेकै दिनमा संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले भ्वाइस अफ अमेरिका (भीएओ) मा दिएको मन्तव्यमा शीतयुद्धको छनक अनुभव गर्न सकिन्थ्यो । उनले शीतयुद्धपछि अमेरिकी निकायहरू कमजोर बनेको र तथाकथित अमेरिकी विस्तारवादको रक्षा गर्ने दृष्टिकोण क्षीण बन्दै गएको बताएका थिए ।
यो राष्ट्र (अमेरिका) संसारले जानेसम्मको सबभन्दा महान् राष्ट्र भएको समाचार सम्प्रेषण गर्नु कुनै झूटो समाचार हुनसक्दैन । पम्पेओले आफ्नो मन्तव्यमा भने, “हाम्रा कमजोरीलाई बेवास्ता गर्न म भन्दिनँ । कमजोरीलाई स्वीकारौँ । तर, हाम्रो यो महान् राष्ट्रका गल्ती कमजोरीलाई मात्र जोड दिनु अमेरिकाको आवाज पक्कै हुनेछैन । अमेरिका पक्कै पनि पेइचिङ र तेहरानजस्तै अधिनायकवादी शासनलाई ठाउँ दिने देश होइन ।”
पम्पेओको शब्दमा अमेरिका कमजोर हुनुको कारण अमेरिका केही मात्रामा कम सजग हुनु, भ्वाइस अफ अमेरिकाजस्ता सङ्गठन कमजोर बन्दै जानु र अझ अमेरिकालाइ प्रवद्र्धनको साटो अमेरिकाको खेदो खन्नेतिर लाग्नुभएको बताए । सारमा पम्पेओले भ्वाइस अफ अमेरिका र उनले सुनेका त्यस्तै अन्य सङ्गठनहरूलाई शीतयुद्धकालीन चिन्तनशैलीमा फर्किन आग्रह गरे ।
संसार यस्ता शिविरमा विभाजित चिन्तनबाट निकै अघि बढिसकेको कुरा पम्पेओले बुझ्न जरुरी छ । संरा अमेरिकाले क्युवाविरुद्ध आपराधिक नाकाबन्दी अझै कायम राखे पनि आजको संसार केही दशककै अन्तरालमा सोचेभन्दा एकआपसमा निकै जोडिसकेको छ । अमेरिकी साझेदार देशहरूजस्तै युरोपेली सङ्घमा रहेका उसका साझेदार देशहरूले विभाजनको बाटोमा लाग्नुको मूल्य कति हुन सक्छ भन्ने कुरा राम्ररी बुझेका छन् ।
वास्तविकता के हो भने अब पछाडि फर्किन असम्भव छ किनभने यो कसैको चाहनाविपरीत छ । बरु, वैचारिक असहमति भएका देशहरूसमेत एउटै बाटोमा अघि बढ्ने गतिशील सम्बन्ध नै आजको आवश्यकता हो ।
क्युवाले संरा अमेरिकाबाट असङ्ख्य थिचोमिचोको सामना गरिसकेको छ । हालै ट्रम्प सरकारले चालेको कदमलाई पनि क्युवाले सामना गर्नेछ । सत्य के हो भने क्युवाजस्तो एउटा स्वाधीन समाजवादी देश संरा अमेरिकाको दैलोमै टिक्नुले नै क्युवाको राजनीतिक व्यवस्थाको शक्ति प्रशस्त आधार दिइसकेको छ । वाशिङ्टनले संरा अमेरिकी राजनीतिक व्यवस्थालाई जतिसुकै न्यूनाङ्कन गरे पनि त्यसको शक्तिलाई उपेक्षा गर्न सक्नेछैन ।
क्युवालाई दबाउने वा कमजोर बनाउने वाशिङ्टनका सबै प्रयास असफल भएका छन् किनभने अमेरिकी हस्तक्षेपबाट क्युवालाई ‘स्वतन्त्र’ बनाउने प्रयास नै विरोधाभासपूर्ण छ । क्युवा आज स्पष्टतः स्वतन्त्र र थप समृद्ध देश बनिसकेको छ । अमेरिकी साम्राज्यवादको जालोलाई यसले च्यातच्युत पारेको छ । अमेरिकी जनतालाई यो कुरा राम्ररी थाहा छ । जनताको जीवनस्तर, साक्षरता, रोगहरूमा नियन्त्रण र अन्य धेरै कुरामा क्युवाले हासिल गरेका उपलब्धिले धेरै कुरा बोलिरहेको छ ।
अरू कुनै पनि कुरा भन्दा क्युवालाई आतङ्कवाद प्रायोजन गर्ने राष्ट्र भन्नु क्युवाको वास्तविकताभन्दा ठीकविपरीत हो । क्युवाले विदेशी सहायता र विकास सहकार्यमा अन्तर्राष्ट्रवादी भूमिका निभाउँदै आएको दशकौँदेखि प्रस्ट छ । उदाहरणको लागि सन् २०२१ को नोबेल शान्ति पुरस्कारको लागि संसारभरका कैयौँ सङ्घ–सङ्गठन र व्यक्तिहरूले क्युवाली स्वास्थ्य टोलीको नाम प्रस्ताव गरेका थिए । कोभिड–१९ महामारीको प्रतिरोधमा सहयोग गरेबापत क्युवाली चिकित्सक टोलीलाई नोबेल शान्ति पुरस्कार दिन प्रस्ताव गर्नेमा कति त अमेरिकी सङ्गठन र नागरिकहरू छन् ।
क्युवाको अन्तर्राष्ट्रवादी सहायताको कोणबाट सन् २०२० कदापि असामान्य वर्ष रहेन । यो वर्ष कोभिड–१९ को महामारीविरुद्ध क्युवाले जे ग¥यो, त्यो त उसले दशकौँदेखि विभिन्न देशमा गर्दै आएको काम हो । दसौँ हजार चिकित्सकहरू संसारभर परिचालन गरेर हरेक प्रमुख विपत्ति र रोगविरुद्ध लड्न क्युवाले योगदान गरेको छ । आधुनिक समयको कुनै विपत्ति र रोगविरुद्धको लडाइँमा क्युवा अनुपस्थित थियो र ! सन् २००३ मा क्युवाली नेता फिडेल क्यास्ट्रोले व्युनर्स आयर्समा भनेका थिए,“चिकित्सक पठाऔँ, गोलाबारुद होइन । स्वास्थ्यकर्मी पठाऔँ, आधुनिक हतियार होइन ।”
क्युवाको अन्तर्राष्ट्रवाद अमेरिकी अन्तर्राष्ट्रवादभन्दा ठीकविपरीत छ । अमेरिकी अन्तर्राष्ट्रवाद भनेको निर्ममता हो, मानवताको अभाव हो । उदाहरणको लागि, कोभिड–१९ विरुद्ध संसार लडिरहेको बेलामा निर्दोष जनताको घाँटी अँठ्याउन वाशिङ्टनले भूराजनीतिक हितको नाममा लगातार एकपक्षीय नाकाबन्दीका शृङ्खला थोपरिरह्यो । यस्तो व्यवहार नै वास्तवमा आतङ्कवाद हो ।
क्युवा आतङ्कवाद प्रायोजन गर्ने देश होइन, बरु अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रायोजन गर्ने देश हो । बाइडेनको सरकार आउँदै छ । वैचारिक रूपमा क्युवा र बाइडेनमा धेरै अन्तर छन् । तर, बाइडेनले आफूलाई वैचारिक भिन्नताबाट टाढा राख्न जरुरी छ । ट्रम्पले पु¥याएको क्षतिपूर्ति गर्न उनीसँग त्यसको विकल्प छैन । त्यसो गरेमात्र बाइडेनले क्युवासँग लामो र फलदायी सम्बन्ध स्थापित गर्न सक्छ किनभने क्युवा र त्यहाँको स्वाधीन सरकार कहीं पनि जानेछैन ।


(लेखक प्रागमा बस्दै आएका अमेरिकी पत्रकार, राजनीतिक विश्लेषक र स्वतन्त्र संवाददाता हुनुुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *