भर्खरै :

भेनेजुयलाको संसदीय निर्वाचन : ल्याटिन अमेरिकाको साम्राज्यवादविरोधी आन्दोलनको महत्वपूर्ण विजय

भेनेजुयलामा डिसेम्बर ६, २०२० का दिन त्यहाँको एक सदनात्मक संसद् – राष्ट्रियसभाको निर्वाचन सम्पन्न भयो र निर्वाचनमा अपेक्षाविपरीत त्यहाँको सत्तारूढ एकीकृत भेनेजुयाली समाजवादी पार्टीले अत्यधिक बहुमत हासिल ग¥यो । भेनेजुयलाको सरकारले निर्वाचन नै गराउन नसक्ने र निर्वाचन भइहाले पनि त्यो राष्ट्रपति निकोलस माडुरो र एकीकृत भेनेजुयाली समाजवादी पार्टीको पक्षमा हुनेछैन भन्ने धेरै सरकारइतर विश्लेषकहरूको मत थियो । तरै पनि भेनेजुयाली सरकार र त्यहाँको राष्ट्रिय निर्वाचन परिषद्ले स्वतन्त्र र धाँधलीरहित निर्वाचन गराएरै छाडे । निर्वाचन र निर्वाचन परिणामले माडुरोको सरकारमाथि प्रजातन्त्रविरोधी र तानाशाहीको आरोप लगाइरहेकाहरूको मुखमा बुझो लगाइदियो । उक्त निर्वाचन भेनेजुयलामा कमान्डर ह्युगो चाभेजको नेतृत्वमा बोलिभारियाली क्रान्ति थालनी भएयताको २१ वर्षमा भएको २५ औँ निर्वाचन थियो । निर्वाचन परिणामले भेनेजुयलाको राष्ट्रियसभालाई बोलिभारियाली क्रान्तिको निरन्तरताका लागि काम गर्नसक्ने अवस्थामा पुनः फर्काएको छ । सन् २०१५ मा भएको निर्वाचनमा त्यहाँका अतिदक्षिणपन्थी र दक्षिणपन्थीहरूको गठबन्धनलाई बहुमत मिलेको थियो र त्यसैको आडमा त्यसले जननिर्वाचित राष्ट्रपति माडुरोको सरकारविरुद्ध २०१९ मा पटक–पटक सत्ता विप्लवको प्रयास गरेको थियो ।
सन् २०१८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा निकोलस माडुरोको विजयलाई त्यहाँका दक्षिणपन्थी विपक्षी र साम्राज्यवादीहरूले अस्वीकार गर्दै आन्दोलनका नाममा उपद्रव मच्चाएका थिए । साम्राज्यवादीहरूकै साथ र समर्थनमा सडकबाट अन्तरिम राष्ट्रपति घोषणा गरी देशमा राजनीतिक अस्थिरता मच्चाउन खोजेका थिए ।
राष्ट्रिय निर्वाचन परिषद्द्वारा जारी अन्तिम मत परिणामअनुसार एकीकृत भेनेजुयाली समाजवादी पार्टी (पीएसयूभी) ले खसेको कुल मतको ६९ प्रतिशत मत हासिल गर्दै संसद्को २७७ मध्ये २५३ सिटमा जीत हासिल ग¥यो । विपक्षी पार्टी एक्सन डेमोक्र्याटिकले ७ प्रतिशत मतसहित ११ सिटमा जीत हासिल गरी प्रमुख प्रतिपक्ष दल बन्यो । निर्वाचनमा १०७ वटा राजनीतिक पार्टी र १४ हजारभन्दा बढी उम्मेदवारले भाग लिएका थिए । १०७ मध्ये ९८ वटा पार्टीले आफूलाई विपक्षी पार्टी भनी परिचय दिएका थिए, त्यसको अर्थ थियो – ती पार्टीले राष्ट्रपति माडुरोको सरकारलाई समर्थन गर्दैनन् ।
निर्वाचनमा संरा अमेरिकापरस्त भनी चिनिने, सडक हिंसाका लागि बदनाम तथाकथित भेनेजुयलाका अन्तरिम राष्ट्रपति ह्वान ग्वाइडोको दललगायत केही अतिदक्षिणपन्थी राजनीतिक दलले निर्वाचन बहिष्कार गरेका थिए । निर्वाचन हुन नदिन संरा अमेरिका र भेनेजुयलाका अति दक्षिणपन्थीहरूले अनेकन् षड्यन्त्र गरेका थिए । शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न निर्वाचनलाई लिएर केही पुँजीवादी सञ्चारमाध्यमहरूले गलत प्रचार गर्न बाँकी राखेनन् तर राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूले ‘डिसेम्बर ६, २०२० मा सम्पन्न राष्ट्रियसभाको निर्वाचन प्रजातान्त्रिक, स्वतन्त्र र धाँधलीरहितरूपमा सम्पन्न भएको’ जनाए । निर्वाचनमा संयुक्त राष्ट्र सङ्घ, ल्याटिन अमेरिकी निर्वाचन विज्ञ परिषद् लगायतका १५ सत्र्न्दा बढी अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूले पर्यवेक्षण गरेका थिए । त्यस्तै बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेस, इक्वेडरका पूर्वराष्ट्रपति राफेल कोरेया र स्पेनका पूर्वप्रधानमन्त्री जोसे लुइस रोड्रिगेज जापाटेरो नेतृत्वका प्रमण्डल पनि निर्वाचन पर्यवेक्षणमा थिए ।
भेनेजुयलाको राष्ट्रिय निर्वाचन परिषद्ले निर्वाचन पर्यवेक्षणका लागि नियुक्त गरेको त्यहाँको एक ख्यातीप्राप्त गैरसरकारी मानव अधिकार सङ्गठन – एसयूआरईएसले पनि निर्वाचनलाई पूर्णतया स्वतन्त्र र धाँधलीरहित भनेको छ । एसयूआरईएसले निर्वाचन पर्यवेक्षणसम्बन्धी आफ्नो अन्तिम प्रतिवेदनमा भनेको छ – निष्कर्षमा, निर्वाचनमा भाग लिएका जनताले निर्वाचन प्रक्रियामा स्वेच्छाले, स्वतन्त्रतापूर्वक, सूचित भएरै, गुप्तता कायम गरी, कुनै दबाबमा नपरी र समानताको सिद्धान्तको आधारमा आफ्नो मानव अधिकार प्रयोग गरेको यहाँ उल्लेख गर्नु अत्यावश्यक देखिन्छ ।
संयुक्त राष्ट्र सङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय निर्वाचन समितिले पनि आफूले पाएको तथ्यका आधारमा प्रतिवेदन सार्वजनिक गरेको छ र त्यसले निष्कर्षमा भेनेजुयलामा संसदीय निर्वाचन अत्यन्त स्वतन्त्र, शान्तिपूर्ण तवरमा भएको र त्यहाँका राजनीतिक सङ्गठन र उम्मेदवारहरूप्रति नागरिक विश्वास वृद्धि भएको उल्लेख गरेको छ । तर पनि ‘भेनेजुयला अनालाइसिस’ बाहेक संरा अमेरिकाका ‘वासिङ्टन पोस्ट’, ‘द न्युयोर्क टाइम्स’ जस्ता कुनै पनि अमेरिकी र क्यानाडेली समाचारपत्र र टेलिभिजन च्यानलहरूले त्यसलाई समाचार नबनाउनु पनि कुनै आश्चर्यको कुरा भने होइन । भेनेजुयला सरकारको बदख्वाइँ गर्न कुनै कसर बाँकी नराख्ने ती सञ्चारमाध्यमले त्यहाँको सही तथ्यको जानकारी नदिनुमा तिनीहरूको प्रगतिशील, वामपन्थी र समाजवादी विचारधारा एवम् भेनेजुयला सरकारको कार्यक्रमप्रतिकै पूर्वाग्रहले काम गरेको थियो ।
कम प्रतिशतमात्र मतदान किन ?
भेनेजुयलाका निर्वाचनमा कम प्रतिशतमात्र मतदान भएको तथ्यलाई लिएर निर्वाचनको वैधतामाथि नै प्रश्न उठाउने धृष्टता केही पुँजीवादी सञ्चारमाध्यम र विश्लेषकहरूले नगरेका होइनन् । भेनजुयलामा किन कम प्रतिशतमात्र मतदान भयो ? भन्ने प्रश्नको जवाफ ती सञ्चारमाध्यमले वर्षौँदेखि प्रचार गर्दै आएका सामग्रीहरूले नै दिन्छन् । भेनेजुयलामाथि संरा अमेरिका र उसका ल्याटिन अमेरिकी उपग्रहहरू (ल्याटिन अमेरिकी देशका अमेरिकी दलाल सरकारहरू) ले लगाएका घोषित र अघोषित प्रतिबन्ध एवम् नाकाबन्दीले भेनेजुयलाका जनताको जीवन अत्यन्त कष्टकर बनेको थियो । त्यसबाट मुक्ति पाउने र आफ्नो आर्थिक स्थिति थोरै मात्रामा भएपनि उकास्ने आकाङ्क्षा लिएर धेरै भेनेजुयाली देशबाहिर पुगेको अवस्था छ । त्यसरी अस्थायीरूपमा देशबाहिर गएकामध्ये धेरैले देशभित्र आएर मतदान गर्न सकेनन् भने कतिपयले मतदाता नामावलीमा नाम लेखाउनसमेत पाएनन् ।
भेनेजुयलामा सङ्क्रमण निकै कम भएपनि ल्याटिन अमेरिकी देशहरूमा महामारीका रूपमा रहेको कोभिड–१९ का कारण स्वास्थ्य सुरक्षा अपनाएर गरिएको निर्वाचनमा अधिकांश धनी र उच्च मध्यम वर्गले भाग लिएनन् र मतदान गर्नसमेत आएनन् । उनीहरूको अनुपस्थितिले समग्र मतमा केही प्रतिशत र विपक्षी पार्टीको आकलन गरिएको मतमा धेरै कमी आएको बताइन्छ । निर्वाचन हुन नदिन र बिथोल्नका लागि त्यहाँका प्रतिक्रान्तिकारी सङ्गठनहरूले फैलाएका आतङ्कले पनि धेरै मतदाताको मनमा त्रास सिर्जना गरेको थियो ।

भेनेजुयलाको राष्ट्रियसभाको निर्वाचन त्यहाँको संविधानले पाँच वर्षमा एक पटक गर्ने गरी सुनिश्चित गरेको बन्दोबस्तबमोजिम नै सरकारले गराएको थियो । आवधिक निर्वाचन प्रजातन्त्रको विशेषतामध्ये एक हो र प्रजातन्त्रमा आस्था राख्ने कसैले पनि निर्वाचनमा आपत्ति जनाउनुपर्ने कुरा होइन । तर, भेनेजुयलामा संसदीय निर्वाचन हुन लागेको थाहा पाएदेखि संरा अमेरिकी सरकार र क्यानाडेली सरकारलगायत ल्याटिन अमेरिकी पिछलग्गू सरकारहरूले कत्ति पनि समय खेर नफालिकन भेनेजुयलाको प्रजातान्त्रिक प्रक्रियालाई अगाडि बढ्न नदिने र बिथोल्ने अभियान सञ्चालन गरे । तिनीहरूले भेनेजुयलाविरुद्ध आर्थिक र वित्तीय नाकाबन्दी लगाउनुका अतिरिक्त युद्धको धम्की दिए, हमलाको प्रयास गरे र संरा अमेरिकापरस्त सरकार एवम् हतियारधारी समूहहरूलाई कोष दिएर भेनेजुयलाविरुद्ध सैनिक कारबाहीको युद्ध अभ्यास गर्न लगाए । संरा अमेरिकी सरकार र त्यसका पिछलग्गूहरूले भेनेजुयलालक्षित त्यस्ता गतिविधि गर्नुको एउटै नियत भेनेजुयाली सरकारलाई निर्वाचन गर्न अप्ठयारो स्थिति सिर्जना गर्नु र जनतालाई निर्वाचनमा भाग लिनबाट तर्साउनु थियो । डिसेम्बर ६ का दिन भएको निर्वाचनमा ठूलो उत्साहका साथ भाग लिएर र मतदान गरेर भेनेजुयाली जनताले अमेरिकी साम्राज्यवाद र देशभित्रकै दक्षिणपन्थीहरूको कुत्सित योजनालाई असफल पारिदिए ।
मार्च २०२० मा दक्षिणपन्थी प्रतिक्रान्तिकारी सङ्गठन तथाकथित – भेनेजुयाली प्याट्रियाटिक फ्रन्टले ५० हजार इलेक्ट्रोनिक भोटिङ मेसिन राखिएको गोदाममा आगजनी ग¥यो । अमेरिकी राज्य सङ्घभित्र क्यानाडा शीर्ष स्थानमा रहेको अमेरिकी महादेशका पुँजीवादी सरकारहरूको समूह ‘लिमा समूह’ को समर्थन र काराकसस्थित राजदूत नरहेको अमेरिकी राजदूतावासको प्रत्यक्ष सहयोगमा आगजनी गरिएको भेनेजुयाली अधिकारीहरूको आरोप थियो । उक्त आगजनीले गर्दा पछि इलेक्ट्रोनिक भोटिङ मेसिनमा हतारमा मतदाता नामावली इन्ट्री गर्दा कतिपयको नाम छुटेको थियो । कम प्रतिशतमात्र मत खस्नुमा यो पनि एउटा कारण भएको बताइएको छ । भेनेजुयलाको जटिल राजनीतिक र सामाजिक अवस्था, संरा अमेरिकाद्वारा थोपिएको आर्थिक नाकाबन्दी, कोरोना सङ्क्रमण महामारीको त्रासबीच पनि ३१ प्रतिशत मतदान हुनु अमेरिकी महादेशका देशहरूमा खस्ने मत प्रतिशतहरूको तुलनामा कम भन्न मिल्दैन ।
कम प्रतिशतमात्र मत खसेको सन्दर्भमा पुँजीवादी सरकारहरू र सञ्चारमाध्यमहरूले गरिरहेका भ्रामक प्रचारको जवाफमा एकीकृत भेनेजुयाली समाजवादी पार्टी–पीएसयूभीले आफ्नो बुलेटिन नं. २३१ मा टिप्पणी गरेको छ – “संरा अमेरिकी सरकार र त्यसका पिछलग्गूहरूका लागि स्थायी मतदाता नामावलीमा दर्ता शत प्रतिशत मतदाताले मतदान गरे पनि पर्याप्त हुनेछैन किनभने यो कानुनी क्षेत्रमा कुनै वैधताको विषय नै होइन, यो नितान्त राजनीतिक उद्देश्यले उठाइएको मुद्दा हो । तिनीहरूको नियत भनेको बोलिभारियाली क्रान्तिलाई ध्वस्त पार्नु, देशलाई विखण्डन गर्नु र साम्राज्यवादी बहुराष्ट्रिय कर्पोरेसनहरूलाई यस महादेशलाई पुनःउपनिवेशीकरण गर्नका लागि वितरण गर्नु हो । त्यसैले तिनीहरूले भेनेजुयला, यसको क्रान्ति र बोलिभारियाली सरकारविरुद्धको आफ्नो षड्यन्त्रको योजना फिर्ता लेलान् भनी सोच्नै सकिन्न ।”
साम्राज्यवादीहरूलाई अर्को बज्रमुक्का
अक्टोबर १८, २०२० का दिन अर्को दक्षिण अमेरिकी देश बोलिभियामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा समाजवादउन्मुख आन्दोलन पार्टीका राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारहरू लुइस आर्से र डेविड चोकाह्वान्का अत्यधिक बहुमतले विजयी बने । त्यस विजयले बोलिभियामा एक वर्ष अगाडि जननिर्वाचित राष्ट्रपति इभो मोरालेस नेतृत्वको सरकारविरुद्ध दणिणपन्थीहरूले गरेको सैनिक विद्रोहको औचित्य समाप्तमात्र पारेन बरु त्यस देशमा प्रजातन्त्रको निरन्तरता सुनिश्चित ग¥यो । उक्त विजय बोलिभियाली जनताको साहसपूर्ण प्रतिरोध सङ्घर्षका कारण मात्र सम्भव भएको थियो । कथित सङ्क्रमणकालीन सरकारले निर्वाचन नगर्न वा लामो अवधि पछाडि सार्न नखोजेको थिएन तर जनदबाबका अगाडि प्रतिक्रियावादी सरकारको सबै प्रयास विफल भए । त्यस मुलुकमा दक्षिणपन्थीहरूले रक्तपात मच्चाउन र त्यहाँका वामपन्थी एवम् प्रगतिशील नेताहरूको जीवन समाप्त पार्न जालझेल गरेका थिए तर राष्ट्रपति इभो मोरालेसको त्याग, संयमता र बुद्धिमत्ताले जनमतकै आधारमा दक्षिणपन्थी सत्ताविप्लवलाई परास्त गर्नमा सफलता हासिल ग¥यो । त्यस अप्रत्याशित निर्वाचन पराजयले बोलिभियाका दक्षिणपन्थीहरूमाझ हाहाकार मच्चिएको मात्र होइन अपितु बोलिभियाको क्रान्तिकारी प्रक्रियालाई अन्त गर्ने र बोलिभियाको बहुमूल्य धातुखानीहरू कब्जा गर्ने ध्येय बोकेका साम्राज्यवादीहरूमाथि बज्रमुक्का साबित भयो । वामपन्थी नेताहरूको विजय र दक्षिणपन्थी उम्मेदवारहरूको पराजयले संरा अमेरिकी सरकार र त्यसका पिछलग्गूहरू स्तब्ध बने ।
बोलिभियाका नयाँ राष्ट्रपति आर्सेको सरकारले दक्षिणपन्थी सैनिक विद्रोहबाट आएको सरकारद्वारा गरिएका सबै जनविरोधी र देशहितविरुद्धका निर्णय एवम् सम्झौताहरू उल्ट्यायो । कोरोना भाइरसको सङ्क्रमण र लकडाउनबाट पीडित जनतालाई आवश्यक सम्पूर्ण सहयोगको कार्यक्रम घोषणा गरी लागु ग¥यो । दक्षिणपन्थी सरकारले लागु गरेको प्रतिक्रियावादी विदेश नीति फेरेर भेनेजुयला, क्युवा र निकारागुवासित पुनः कूटनीतिक एवम् राजनीतिक सम्बन्ध गाँस्यो र प्रगाढ बनायो । अमेरिकी जनताका लागि बोलिभारियाली विकल्प भनिएको क्षेत्रीय आर्थिक सङ्गठन–अल्बामा बोलिभिया पुनः सक्रिय बन्यो र क्यारिबियाली र ल्याटिन अमेरिकी राष्ट्र समाज– सेलाकसित पुनः जोडियो ।
त्यसको दुई महिनापछि भेनेजुयलामा सम्पन्न निर्वाचन साम्राज्यवादीहरूका लागि अर्को बज्रमुक्का साबित भयो । भेनेजुयलामा बोलिभारियाली क्रान्तिको निरन्तरताको अर्थ भेनेजुयलामाथि साम्राज्यवादीहरूले नियन्त्रण गर्ने अवसर गुम्नुमात्र होइन बरु समग्र ल्याटिन अमेरिकामा नै वामपन्थी सङ्गठनहरू बलियो हुनु र साम्राज्यवादविरोधी आन्दोलन नयाँ उचाइमा उठ्नु पनि हो । बोलिभारियाली क्रान्तिले नै अमेरिकी र अन्य विदेशी तेल कम्पनीहरूलाई भेनेजुयलाको विशाल कच्चा तेल भण्डार बेहिसाब दोहन गर्न रोकेको थियो । सारा मध्य र दक्षिण अमेरिकालाई नै आफ्नो करेसाबारी ठान्ने संरा अमेरिकी सरकारको वास्तविक विदेश नीति मुनरो डक्ट्रिन हो । मुनरो डक्ट्रिनले अमेरिकी महादेशका सबै देशहरू संरा अमेरिकाको अधीनमा रहनुपर्ने भन्दै ती देशहरूको स्वतन्त्रता र अरू महादेशको कुनै देशसितको सम्बन्धलाई अस्वीकार गर्छ ।
अमेरिकी साम्राज्यवादको शक्तिको अगाडि झुकेका र दलाली गरेका शासकहरूले धेरै समयसम्म ती देशमा शासन गरी जनताको चरम शोषण र दमन गरे । सोभियत रूसमा भएको अक्टोबर समाजवादी क्रान्ति, युरोप र एसियाका विभिन्न देशमा भएका समाजवादी र जनवादी क्रान्तिको प्रेरणाले मध्य र दक्षिण अमेरिकी देशहरूमा पनि वामपन्थी र समाजवादी आन्दोलन अघि बढ्यो । क्युवाको समाजवादी क्रान्ति, निकारागुवाको सान्डानिस्टा क्रान्ति, अर्जेन्टिनाको समाजवादी रुपान्तरण, भेनेजुयलाको बोलिभारियाली क्रान्ति, बोलिभियाको समाजवादउन्मुख प्रक्रिया, इक्वेडरको नागरिक क्रान्ति आदिले त्यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको नियन्त्रणलाई चुनौती दियो ।
आज उदीयमान आर्थिक महाशक्ति राष्ट्र चीनसित ल्याटिन अमेरिकी देशहरूको सम्बन्धको प्रगाढता र ती देशहरूको भौतिक पूर्वाधार विकासमा चीनको सहयोग अमेरिकी साम्राज्यवादीहरूको आँखामा बिझेको छ । चीन र ल्याटिन अमेरिकी देशहरूको सम्बन्ध तोड्न तथा ल्याटिन अमेरिकाको विकास रोक्न अमेरिकी शासकहरू जस्तोसुकै हथकन्डा अपनाउन हिच्किचाएका छैनन् । भेनेजुयलामा सैनिक विद्रोह वा दक्षिणपन्थी सत्ताविप्लव गर्ने साम्राज्यवादी योजनालाई विफल पार्दै सम्पन्न भएको संसदीय निर्वाचन ल्याटिन अमेरिकाको साम्राज्यवादविरोधी आन्दोलनको एक महत्वपूर्ण अध्याय र विजय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *