भर्खरै :

भारत–संरा अमेरिकी निकटताले दक्षिण एसियामा अमेरिकी सेना भित्र्याउन सक्छ

गएको साता भारतको राजधानी नयाँ दिल्लीमा कार्यकालको अन्त्यमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै भारतको लागि संरा अमेरिकी राजदूत केनेथ जस्टरले लाइन अफ एक्चुएल कन्ट्रोलमा चिनियाँ ‘आक्रामक’ गतिविधिको प्रतिरोध गर्न भारतसँग संरा अमेरिकाले सहकार्य गरेको बताए । ‘द हिन्दू’ पत्रिकाले अघिल्लो मङ्गलबार भन्यो,“चीन र भारतबीच आठौँ महिनादेखि चालू सीमा द्वन्द्वमा संरा अमेरिकी सहकार्यलाई पुष्टि गर्ने पहिलो पटक आधिकारिक भनाइ बाहिर आएको छ ।”
गत जून महिनामा गलवन उपत्यकामा भएको द्वन्द्वपश्चात् संरा अमेरिका र भारतबीच सैनिक सहकार्य गाढा भएको प्रस्ट छ । भारतले संरा अमेरिकाबाट धेरै हातहतियार र सैनिक बन्दोबस्तीका सामग्री पाउँदै आएको छ । संरा अमेरिकाले भारतको विशेष सैनिक बलको लागि राइफलका साथै भूमि सेनाको लागि एसआइजी सावर राइफल दिंदै आएको छ । अर्कोतिर भारतीय सेनालाई अमेरिकाले ज्यादै चिसो वातावरणमा परिचालित भारतीय सिपाहींहरूलाई आवश्यक बन्दोबस्तीका सामग्री दिएको एएनआईले लेखेको छ । पछिल्ला महिनाहरूमा संरा अमेरिका र भारतबीच गुप्तचर सूचनाहरू आदानप्रदान गर्ने तहको निकटको सम्बन्ध कायम छ । विशेषतः चीन र भारतको सीमा क्षेत्रको अवस्थाबारे यी दुई देशबीच सूचना आदानप्रदान हुँदै आएको छ ।
चीन र भारतबीच सीमा समस्याको विषयमा संरा अमेरिका–भारतबीचको सहकार्यबारे जस्टरले औपचारिकरूपमा पुष्टि गर्नुको कारण के होला ? उनको उद्देश्य चीनसँगको झगडामा चीनलाई अग्रमोर्चामा धकेल्नु हो । यसले भारतलाई संरा अमेरिकी मोर्चामा कसेर बाँधेको छ ।
वासिङ्टन र नयाँ दिल्ली चीन–भारतबीचको सीमा झगडाको कारण नजिक बनेका पक्कै होइनन् । विगत दुई वर्ष विशेषतः सन् २०१९ देखि नै यी दुई देश नजिकिन थालेका हुन् ।
सन् २०१९ मा संरा अमेरिकासँग नजिकिन नयाँ दिल्लीले शिलशिलाबद्ध कदमहरू चालेको थियो । त्यो वर्ष भारतको परराष्ट्र मन्त्रालयअन्तर्गत नयाँ हिन्द–प्रशान्त विभाग स्थापना गरिएको थियो । भारतले क्वाड (अमेरिका, भारत, अस्टे«लिया र जापानको संयुक्त सैनिक मोर्चा) मा आफ्नो संलग्नतालाई मन्त्रीस्तरमा उकासेको थियो । भारतले क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (आरसीईपी) बाट बाहिरिने निधो गरेको छ । आरसीईपीबाट बाहिरिएपछि भारतले युरोपेली सङ्घ र संर अमेरिकासँग सम्भावित स्वतन्त्र व्यापार सहमतिबारे वार्ता अघि बढाएको थियो । यी सबै कदमका आधारमा आरसीईपीबाट भारतपछि हट्नुको भूराजनीतिक उद्देश्य भएको प्रस्ट हुन्छ ।
मेरो विचारमा भारत यतिबेला आफूलाई सन् १९७० दशकको चीनको समान भएको ठान्दै छ । अनि चीनलाई पूर्व सोभियत सङ्घको ठाउँमा राखेर हेर्ने गरेको छ । तसर्थ, भारत चीनसँग लेनदेन गर्न संरा अमेरिका र पश्चिमा देशहरूसँग हात मिलाइरहेको छ । यतिबेला आफ्ना पश्चिमा मित्रहरूले भारतलाई विकासको लागि लगानी र प्रविधि उपलब्ध गराउने आशा गर्दै छ ।
यस्तो परिस्थिति र रणनीतिक योजनाले भारतको चीन नीतिमा परिवर्तन आएको छ । भारत र संरा अमेरिकाबीचको सम्बन्ध पनि निकट बन्दै गएको छ । संरा अमेरिकी पक्षधर भारतका विदेशमन्त्री सुब्रमान्यम जयशङ्करजस्ता मानिसहरूले पनि आफ्नो स्थानबाट भूमिका खेलेकै छन् । भारतले ट्रम्प सरकारको अनिश्चितता, चीनप्रतिको ट्रम्पको अनुत्तरदायी अवधारणाका साथै संरा अमेरिका र चीनबीचको तनावबाट लाभ उठाउन सकिने उनीहरूको विश्वास छ । उनीहरू भारतको लागि केही फल झर्ने अपेक्षा गरिरहेका छन् ।
जो बाइडेनले पदभार ग्रहण गरेपछि चीन नीतिमा केही स्थायित्व आउन सक्छ । तर, चीनलाई घेर्ने दिशातिर उन्मुख संरा अमेरिकाको कडा नीतिमा भने कुनै परिवर्तन आउने छैन । चीनलाई घेर्ने संरा अमेरिकी नीतिमा भारत उसको महत्वपूर्ण साझेदार बन्दै छ । पेइचिङलाई समस्याहरूका धकेल्ने वाशिङ्टनको नीतिमा भारतलाई पनि सामेल बनाइँदै छ । संरा अमेरिका र भारतले आपसी सम्बन्ध अझ बलियो बनाउन सक्छन् । तिब्बतको प्रश्नजस्ता साझा हितका केही विषयमा उनीहरूबीच सम्बन्ध गाढा हुनसक्छ ।
सन् २०२१ मा भारतले चीनसँगको सीमा समस्यालाई अझ चर्काउन सक्छ । बाइडेनको कार्यकालमा चीनलाई घेरा हाल्ने संरा अमेरिकी योजनाले थप महत्व पाउन सक्छ ।
संरा अमेरिकी राष्ट्रपति पदमा ट्रम्प होऊन् वा बाइडेन, चीन र भारतबीचको सीमा विवादमा उसको एकपक्षीयता प्रस्ट छ । संरा अमेरिकाले चीनमाथि अन्यायपूर्वक उत्तेजक र आक्रामक भएको दोषारोषण गरिरहेको छ । उसले तथ्यलाई बेवास्ता गर्दै आफ्नो पक्षधरता देखाउँदै आएको छ ।
तथापि, सीमा विवादमा भारतलाई कथित अमेरिकी सहयोगको महत्वका दुई अमूल्य आयाम छन्ः पहिलो, सूचना र गुप्तचरी । दोस्रो, हतियार र अन्य बन्दोबस्तका सामग्री । यदि चीन र भारतबीच वास्तवमै सशस्त्र द्वन्द्व भए संरा अमेरिकाले पक्कै पनि सीमा क्षेत्रमा आफ्नो सेना पठाउनेछ । संरा अमेरिका र भारतबीच आधारभूत आदानप्रदान तथा सहकार्य सहमतिअन्तर्गत साझेदार भइसकेपछि अमेरिकी सेना आउन वा नाटोजस्ता सङ्गठनको संलग्नता अनौठो हुन सक्दैन ।
सारमा, संरा अमेरिकी पक्षधर भारत नीतिले भारतलाई समस्यामा डुबाउने छ । भारतको संरा अमेरिकी पक्षधर नीतिले भारत र रुसबीचको सम्बन्ध कमजोर बनेको छ । भारत–रुस निकै ठूलो क्षतिको सामना गरिरहेको छ । भारतले आज संरा अमेरिकाको पूर्णतः पिछलग्गू बनिसकेको छ । भारतको रणनीतिक स्वायत्तता निकै कमजोर भइसकेको छ । जस्टरको अभिव्यक्तिले प्रस्टतः भारतलाई फर्किन नमिल्ने बन्द गल्लीमा हुलेको छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत चीन–दक्षिण एसिया सहकार्य अध्ययन केन्द्रका महासचिव हुनुहुन्छ ।)
ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *