भर्खरै :

सितेरियो कराते खेलाडी, प्रशिक्षक तथा रेफ्री रविना

नेपालको खेलकुद विकासमा दत्तचित भएर लागेकी एक व्यक्तित्व हुन्, रविना सुवाल । सानैदेखि सङ्घर्षशील स्वभावकी उनी महिलामाथिको भेदभाव, थिचोमिचो तथा पक्षपातविरुद्ध खेलकुद क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी भविष्यमा आशालाग्दा खेलाडी उत्पादन गर्न भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सितेरियो कराते खेल प्रशिक्षणमा पूर्णकालीन प्रशिक्षकको रूपमा कार्यरत छिन् । प्रशिक्षक तथा रेफ्री रविना सुवालको जन्म वि.सं २०३७ साल पुुस १९ गते भक्तपुुर नगरपालिका वडा नं ६ चोछेँको किसान परिवारमा भएको हो । उनका बुबा जगतलाल सुवाल र आमा रत्नमाया सुवाल छन् । उनका चार दिदी बहिनी र पाँच दाजुभाइ छन् ।
रविना सुवाल २०५१ सालदेखि भक्तपुर नपाबाट सञ्चालित सितेरियो करातेको प्रशिक्षण खेलबाट खेल क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको पहिलो प्रशिक्षक नेपुालका अन्तर्राष्ट्रिय सितेरियो खेलाडी राधिका देउला हुन् । रविना २०५४ सालदेखि नै भक्तपुुर नपामा सहायक प्रशिक्षकको रूपमा कार्यरत छिन् । रविना सुवालको प्रारम्भको क्लव भक्तपुर नगरपालिका सितेरियो कराँते प्रशिक्षण समूह हो । खेल क्षेत्रमा लाग्ने प्रेरणास्रोत आफ्नै घरपरिवारका सदस्यहरू रहेको उनी बताउँछन् । उनी भन्छिन् प्रत्येक व्यक्तिले स्वास्थ्यको लागि व्यायाम गर्न जरुरी छ । महिलाहरूले मार्सलआर्ट खेल्नु झन् जरुरी छ । आफूले आफैलाई सुरक्षित राख्न वा महिला हिंसाबाट बच्नको लागि अत्यन्त महत्वपूर्ण खेल हो सितेरियो कराते ।
रविना सुवाल कराते खेलका  black BELT चौथो डनका खेलाडी हुन् । उनले दोश्रो डन, तेश्रो डन तथा चौथो डन प्राप्त गरी खेल क्षेत्रमा श्रेष्ठता हासिल गरिरहेकी छिन् । खेल क्षेत्रमा निरन्तर खट्नुको उनको मुख्य उद्देश्य वरिष्ठ प्रशिक्षक तथा रेफ्री बनी देशको लागि उत्कृष्ट तथा साहसी खेलाडी उत्पादन गर्नु हो । त्यसकारण भक्तपुुर, ललितपुुर र काठमाडौँलगायत देशका अन्य भू–भागमा सञ्चालित र आयोजित खेलकुद प्रतियोगितामा रविना कहिले प्रशिक्षक, कहिले रेफ्री बनी आफ्नो भूमिका निर्वाह गर्दै आएकी छिन् । रविनाको विवाह वि.सं. २०६२ साल वैशाख १७ गते ललितपुर महानगरपालिका वडा नं ८ गुइत टोल निवासी सितेरियो कराँते खेलका राष्ट्रिय खेलाडी मदन महर्जनसँग भएको हो ।
उनी २०६२ सालमा नेपाल रेफ्री सङ्घद्वारा भक्तपुर गेस्ट हाउस चुनदेवीमा आयोजित रेफ्री प्रशिक्षण तथा सेमिनारबाट रेफ्री कोर्स गरी खेल क्षेत्रमा थप अघि बढेकी थिएन् । रविनाकी श्रीमान् मदन महर्जन पनि ललितपुर महानगरपालिका नगर प्रहरी बजार विभागमा कार्यरत छन् ।
रविना नेपाल क्रान्तिकारी युवा केन्द्र्रीय खेलकुद विभागमा पहिले सदस्यको रूपमा क्रियाशील थिइन् । उनी देशको सार्वभौमिकता र भू—अखण्डता रक्षाको साथै नेपाल मजदुर किसान पार्टीको दीर्घकालीन लक्ष्य समाजवादी गणतन्त्रको निम्ति आवाज बुलन्द गर्दै छिन् । उनी संविधानसभा निर्वाचन २०७० र प्रनिनिधिसभा निर्वाचन २०७४ मा नेमकिपाको तर्फबाट ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट कामदार वर्गलाई शासक वर्गको रूपमा उठाऔँ, समाजवादउन्मुख संविधान निर्माण गरौँ भन्ने उद्घोष गर्दै निर्वाचनको मैदानमा उम्मेदवारी दिएकी थिइन् ।
रविना ललितपुर ज्यापु समाजमा पनि आबद्ध छिन् । औपचारिक शिक्षाका रूपमा उनले भक्तपुरको बागीश्वरी उमाविबाट एसएलसी र भक्तपुुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेजबाट प्लस – २ उत्तीर्ण गरेकी छिन् । उनले बागबजारमा रहेको पुदम कन्या कलेजबाट स्नातकसम्मको अध्ययन गरेकी छिन् । उनका प्रिय खेलाडी हुन्, दीपक श्रेष्ठ । दीपक आठौँ र नवौँ साफमा नेपालको प्रतिनिधित्व गरी सितेरियो कराँतेतर्फ स्वर्ण पदक विजेता चर्चित खेलाडी हुन् । रविनाको मनपर्ने अन्तर्राष्ट्रिय खेलाडी विश्व चर्चित फूटबलका खेलाडी डियागो म्याराडोना हुन् ।
सितेरियो कराते किन खेल्ने भन्ने प्रश्नमा रविना सुवाल भन्छिन्, यो खेल आत्मरक्षाको लागि खेल्नुपर्छ । म पुरुषझँै स्वतन्त्ररूपमा बाँच्न र परिश्रम गर्न रुचाउँछु । महिलाले पनि पुरुषले झँै हरेक क्षेत्रमा काम गर्न सक्छन् । प्राकृतिकरूपमा महिला र पुरुषबीच भेद छैन । परिवारको सुरुवातमै महिलालाई पुतली खेल्न दिइन्छ । महिलालाई पनि बाहिर खेल्ने जुध्ने वातावरण दियो भन्ने पुरुषजस्तै हरेक क्षेत्रमा अगि बढ्न सक्छ ।
सितेरियो कराते खेलका फाइदाहरू के के छन् भन्ने प्रश्नमा रविना भन्छिन्–प्रत्येक व्यक्तिले स्वस्थ रहनको लागि खेल्नुपर्छ । महिलाहरूले झन् मार्सल आर्ट खेल्न जरुरी छ । आफूले आफैलाई सुरक्षित राख्न वा महिला हिंसाबाट बच्नको लागि यो खेल अत्यन्त महत्वपूर्ण छ । आफूले आफैलाई सुरक्षित राख्न टेक्निक भएपछि आफूमा आत्मबल बलियो हुन्छ । आत्मबल आएमा काममा सफलता प्राप्त गर्न सजिलो हुन्छ । यस खेलमा बढी हातखुट्टा चल्ने हुन्छ । आत्मसुरक्षाको लागि र निडर बन्न यो खेल झनै चाहिन्छ । यो खेलमा पोख्त भएमा कसैको अगाडि झुक्नुपर्दैन ।
भक्तपुुर जिल्लामा सितेरियो कराते खेलमा आएका समस्याहरू के कस्ता छन् भन्ने प्रश्नमा रविना भन्छिन्– प्रशिक्षणको सिलसिलामा निरन्तररूपमा कोचको अभावको कारण आवश्यकताअनुसार प्रशिक्षण नपाउँदा खेलको स्तर र कला, कौशल बढाउन सकिएन । भक्तपुरमा कोचको आपसी मनमुटावले गर्दा खेल विकासमा अवरोध भइरहेको छ । खेल क्षेत्रमा नातावाद र कृपावाद हाबी छ । कराते महासङ्घको विवादको कारण एसियन खेलमा छनोट भएका खेलाडीहरूले खेल्ने अवसर गुमाए । खेलकुद विकासको लागि र खेलाडीलाई चाहिने र आएको बजेट र खेल सामग्री तल्लो निकायसम्म नआउने या बीचमै हराउने समस्याहरू छन् ।
भक्तपुर नगरपालिका नगर खेलकुद समितिले सञ्चालन गरेको खेलकुद प्रशिक्षणबाट सितेरियो कराँते खेलमा कति जना खेलाडी उत्पादन भयो ? भन्ने प्रश्नमा उनी भन्छिन्, भक्तपुर नगरपालिकाका जननिर्वाचित प्रतिनिधिहरूबाट २०५१ सालदेखि सञ्चालित यस खेलमा सुरुमा प्रशिक्षक राधिका देउलाबाट र २०५७ सालदेखि मैले पनि प्रशिक्षण दिने अवसर पाएँ । हालसम्म २०० भन्दा बढी खेलाडी तयार भएका छन् । आठौँ साफमा काटातर्फ स्वर्ण पदक विजेता विना सुवाल र नवाँै साफका स्वर्ण पदक विजेता सुलोचना सिजख्व भक्तपुर नगरपालिका डोजोका उत्पादन हुन् । सितेरियो कराते खेलको विकास र विस्तारको निम्ति कुनै त्यस्तो भावी योजना बनाउनुभएको छ कि भन्ने प्रश्नमा उनी भन्छिन्– उत्कृष्ट खेलाडी उत्पादनको लागि भक्तपुर नगर खेलकुद समितिसँग समन्वय गरी सितेरियो कराते खेलमा निरन्तर प्रशिक्षण चालु राख्ने सोचमा छु । मैले र अरू खेलका खेलाडी साथीहरूले मिली केही वर्ष पहिले भक्तपुुर नगरका विभिन्न वडाहरूमा नगरपालिकाको अगुवाइमा भएको तालिममा आत्मसुरक्षा तालिम दियौँ । आफूले आफैलाई सुरक्षित राख्ने तथा आफूमा आत्मबल बढाउने कला सिकाएका थियौँ । तपाईँले विभिन्न खेलमा सहभागी हुँदाको अविस्मरणीय क्षणका रूपमा रविना भारतको देहरादुनमा अन्तर्राष्ट्रिय बाँकी जाकी कप आयोजनामा सहभागी भएको घटना स्मरण गर्छिन् उक्त त्यस खेलमा सहभागी भई भाइटीकाको लागि भ्याउन फर्किँदा स्थानीय रेल चढेका थियौँ । त्यसबेला महिला खेलाडीहरूलाई शौचालय जानको लागि बाटो नभएर मान्छेलाई कुल्चेर बल्ल आएँ । भारतमा सम्पन्न बाँकी जाकी कपमा भारत र बङ्गाली खेलाडीहरूले रफ खेल खेलेर जबरजस्ती हराएको क्षण पनि मेरो खेल जीवनका अविस्मरणीय क्षण हुन् । याँ पुस्ताका खेलाडीहरूलाई तपाईँको केही सन्देश छ कि भन्ने प्रश्नमा रविना भन्छिन्– प्रत्येक महिलाले खेल खेल्नुपर्छ । महिलाले खेलेमा हरेक स्थानमा अवसर पाउन सजिलो हुन्छ । खेल खेलेर आत्मबलका साथ अगाडि बढेमा महिला पुरुष सबैले सफलताको शिखर चुमेर देशको नाम विश्वमा चम्काउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *