भर्खरै :

विज्ञान शिक्षणमा वैज्ञानिकता

विज्ञानप्रतिको उदासीनता
आरम्भमा हिन्दी चलचित्रका नायक आमिर खान अभिनित चलचित्र ‘थ्रि इडिअट्स’ (तीन मूर्खहरू) को एक शब्ददृश्य पाठकसमक्ष राख्दछु । इन्जिनियरिङ कलेजको एउटा कक्षामा एकजना शिक्षक विद्यार्थीसँग सोध्छन्, “यन्त्र (मेसिन) के हो ?” एउटा विद्यार्थी (आमिर खान) उत्तर दिन्छन्, “मानिसको कामलाई सजिलो बनाउने वस्तु नै यन्त्र हो । जस्तै, गर्मीमा (पङ्खाको) स्वीच थिच्छौँ, हावा चल्छ । (त्यसैले) पङ्खा यन्त्र हो । कोशौँ टाढाको साथीसँग कुरा गर्छौँ, टेलिफोन पनि यन्त्र हो । क्याल्कुलेटरले करोडौँको हिसाब सेकेन्डमै गर्छ, त्यो पनि मेसिन हो । हामी मेसिनबाट नै घेरिएका छौँ । कलमदेखि प्यान्टको जिपरसम्म ! सेकेन्डमै जिपर तलमाथि हुन्छ !” विद्यार्थीको यस्तो उत्तरबाट शिक्षकको चित्त बुझ्दैन । “परिभाषा के हो ?” शिक्षक झर्किन्छन् । “मैलै भर्खर भनेँ त !” विद्यार्थी शान्त जवाफ दिन्छन् । “तिमी परीक्षामा पनि यही कुरा लेख्छौ ? मूर्ख !” शिक्षकको रिस शान्त हुँदैन । तर, अर्को एक विद्यार्थीले मेसिनको परिभाषा दिन्छ, पुस्तकमा लेखिएजस्तो । कण्ठाग्र गरिएको त्यो परिभाषाको माने झट्टै बुझिने खालको थिएन । तर, शिक्षकको मुखाकृति उज्यालो हुन्छ । शिक्षक पछिल्लो विद्यार्थीलाई स्यावासी दिन्छन् । सरल भाषामा पढ्ने भए मानविकी, कमर्स पढ्न जान भनेर शिक्षकले पहिलो विद्यार्थी (आमिर) लाई हप्काउँछन् । ‘आमिर’ लाई चित्त बुझ्दैन र भन्छन्, “तर, अर्थ पनि त बुझिनु प¥यो नि ! आँखा चिम्लेर किताबी परिभाषा घोकेर के फाइदा ?” “तिमी आफूलाई किताबभन्दा बुद्धिमान ठान्छौ ? परीक्षा पास गर्नु छ भने पाठ्यपुस्तककै परिभाषा लेख्नू ।” शिक्षक चिढिएर भन्छन् । “अरू किताब पनि त छन् नि !” ‘आमिर’ प्रतिवाद गर्छन् । तर, शिक्षक विद्यार्थीलाई “गेट आउट” गर्छन् ।
‘थ्रि इडिअट्स’ मा भारतीय शिक्षा पद्धतिमाथि चर्को व्यङ्ग्य गरिएको छ । भारतीय शिक्षा प्रणालीकै नक्कल गरिएको नेपाली शिक्षा प्रणालीलाई पनि त्यस चलचित्रले मर्नेगरी झटारो हानेको छ, त्यसैले चलचित्र नेपालमा पनि लोकप्रिय छ । तर, चलचित्र आएको एक दशक बित्दा पनि स्थिति बीसको उन्नाइस भएको छैन, किन होला ? आजसम्म पनि सामान्यतः विद्यालयमा सञ्चालन हुने परीक्षामा विज्ञान विषयमा अधिकांश विद्यार्थी उनुत्तीर्ण हुन्छन् वा मुस्किलले उत्तीर्ण हुन्छन् । विज्ञानलाई कठिन विषयको रूपमा पनि लिइन्छ । कक्षा ११ मा ‘पढैया’ विद्यार्थीले मात्र विज्ञान विषय छान्नुको कारण के हो ? विज्ञानलाई हाउगुजी किन बनाइयो ? विज्ञानको पठनपाठनमा समस्या छ या अर्कै कुरामा ? विज्ञान शिक्षणका यस्ता प्रश्नमा एक क्षण घोत्लिऔँ!
जीवन र विज्ञानको अन्योन्याश्रित सम्बन्ध
विज्ञान कसले पो सजिलै बुझ्छ र ! तर, घरव्यवहारमा सहयोग गर्ने विद्यार्थीले विज्ञानका अवधारणा (कन्सेप्ट) छिटो टिप्छन् । अथवा, व्यावहारिक जीवनमा हेलिएका विद्यार्थीलाई विज्ञान पढाउने हो भने उनीहरू विज्ञान सजिलै बुझ्न सक्छन् । विज्ञान सिद्धान्त र प्रयोग जोडिएको विषय हो भन्नुको कारण यही हो । नत्र विज्ञान एकाङ्गी हुन्छ । यही ‘पहेली’ नफुक्दा नेपालमा विज्ञान शिक्षणले चुनौतीको पहाड बोकेको छ ।
बारीमा कुहाइएको मल, त्यतै पाइने किराफट्याङ्ग्रा, जुनकिरी, कमिला, भ्यागुता, लाइकीरा, गँड्यौला आदि देख्दै नदेखेका विद्यार्थीले प्राणीशास्त्र कसरी बुझ्लान् ! पौडी खेलिरहेको खोलाको माछा, ट्वार्र – ट्वार्र गरिरहेको भ्यागुतो, कुहु – कुहु गर्ने कोइली, आकाशमा उडिरहेको चील, बच्चा बोकेको बाँदर, ‘रोइलो’ गरिरहेको बिरालो, दुलो खन्दै गरेको मुसो, उग्राइरहेको गाई, बच्चा जन्माइसकेपछि सालनाल खाइरहेको कुकुर आदि जन्तुको प्राकृतिक दृश्य नहेरी प्राणीको व्यवहार (इथलजी) कसैले बुझ्न सक्ला र ! दुधबाट दही, घिउ वा मही बनाएको नदेखेको मान्छेले कसरी दुग्धविज्ञान बुझ्ला ! आरनमा फलाम पिट्दै कोदालो बनाएको देख्नेले होस् वा सुनारले गहना बनाएको हेर्नेले होस्, देखी जान्नेले नै धातुका गुणहरू राम्ररी बुझ्छन् । ‘स्टेम कटिङ’ को पाठ पढाइरहेको बेलामा बाबाले आलु काटेर रोपेको देख्नेले पाठ सजिलै बुझ्छ, बैँसको हाँगो काटेर रोप्ने वा ऊखुको लाँक्रो बारीमा गाडेर रोप्नेले त्यो विज्ञान सजिलै बुझ्छन् ! आलु खनेर परिवार पाल्न सहयोग गर्ने बालिकाले ‘बोटमा आलु फलेको देखिनँ’ भन्ने कुरै आएन ! जेठको प्रचण्ड गर्मीमा गहुँ काटेर हुर्किएको बालक, असारको हिलोमा लडिबुडी खेल्दै हुर्किएकी बालिकाले गहुँ र धान छुट्याउन नसक्ने कुरै भएन । काँचो पिँडालु खानेले मात्र भन्नसक्छ कोक्याउनुको अर्थ । त्यसैले बेन्जामिन फ्रान्कलिनले भनेका थिए, “मलाई भन्नू, म बिर्सन्छु, मलाई पढाउनू म सम्झन्छु, मलाई सहभागी गराउनू, म सिक्छु ।”
विज्ञानलाई व्यावहारिक जीवनसँग जोड्न नसक्नु वा त्यसो गर्न नखोज्नु नै विज्ञान शिक्षणको ठूलो समस्या हो । सरल तरिकाबाट सिकाउन सकिने विषयलाई कठिन बनाउने काम पुस्तक लेखक तथा शिक्षकले नै गरिरहेको पाउँछौँ । यसमानेमा स्वयम् विज्ञान शिक्षण नै अवैज्ञानिक भइरहेको छ ।
मानिसको निम्ति विज्ञान हो, विज्ञानको निम्ति मानिस होइन । दैनिक जीवनका यावत् विषय नै विज्ञान हुन् । मानिसको जीवनलाई विज्ञानले सरल बनाउन सकेन भने त्यो कसरी विज्ञान हुन्छ ? विज्ञान पढेर व्यवहारमा उतार्ने र व्यवहारमा उतारेर विज्ञान सिक्ने पद्धति सबभन्दा उपयोगी र व्यावहारिक हुन्छ । शिक्षाविद् विद्यानाथ कोइरालाको विचार सापटी लिऊँ ¤ आधा भरिएको गाग्री किन छचल्किन्छ भन्ने विषय पो पढाउनुप¥यो । ढिकी र जाँतो चलाउँदा वा खाना पकाउँदाको भौतिक विज्ञानमा विद्यार्थीको रुचि हुन्छ । मानव जीवनसँग जोडिएपछि विज्ञान शिक्षणमा जीवन्तता छाउँछ ।

‘थ्रि इडिअट्स’ मा भारतीय शिक्षा पद्धतिमाथि चर्को व्यङ्ग्य गरिएको छ । भारतीय शिक्षा प्रणालीकै नक्कल गरिएको नेपाली शिक्षा प्रणालीलाई पनि त्यस चलचित्रले मर्नेगरी झटारो हानेको छ, त्यसैले चलचित्र नेपालमा पनि लोकप्रिय छ । तर, चलचित्र आएको एक दशक बित्दा पनि स्थिति बीसको उन्नाइस भएको छैन, किन होला ? आजसम्म पनि सामान्यतः विद्यालयमा सञ्चालन हुने परीक्षामा विज्ञान विषयमा अधिकांश विद्यार्थी उनुत्तीर्ण हुन्छन् वा मुस्किलले उत्तीर्ण हुन्छन् । विज्ञानलाई कठिन विषयको रूपमा पनि लिइन्छ । कक्षा ११ मा ‘पढैया’ विद्यार्थीले मात्र विज्ञान विषय छान्नुको कारण के हो ? विज्ञानलाई हाउगुजी किन बनाइयो ? विज्ञानको पठनपाठनमा समस्या छ या अर्कै कुरामा ? विज्ञान शिक्षणका यस्ता प्रश्नमा एक क्षण घोत्लिऔँ!

विद्यार्थीको अनुभवसँग विज्ञानका पाठहरू जोड्न सधैँ सहज हुँदैन तर शिक्षकमा त्यस्तो चिन्तन अनिवार्य छ । जलचक्र पढाउँदा समुद्र, आकाश र बादलका कुरा आउँछन् तर विद्यार्थीले घरमा पानी उम्लिँदा निस्केको बाफ र त्यो बाफ चिसिएर फेरि पानीको थोपा बनेको दृश्य सम्झेर वर्षाको पाठ बुझिरहेका हुन्छन् । घिर्नीबारे पढाउँदा विद्यार्थीले आफ्नो टोलमा कसैले घिर्नीको प्रयोग गरी इनारबाट पानी तानेको वा कसैले घर बनाउँदा घिर्नी लगाएर जमिनबाट इँटाको भारी छतसम्म पु¥याएको दृश्य सम्झेर बुझिरहेका हुन्छन् । डिस्टिलेसनको पाठ बुझ्न घरमा आफ्नी हजुरआमाले रक्सी पार्दा अपनाएको विधि सम्झिरहेका हुन्छन् विद्यार्थी । भुमरी वा चक्रवात (साइक्लोन) बारे बुझ्न गर्मीमा वायु जोडसँग वृत्ताकारमा घुम्दै कागज वा धुलो उडाउँदै बहेको दृश्य सम्झाउन सक्ने शिक्षक चाहिन्छ हामीलाई अब । यसरी प्रकृतिको साक्षात्कार गर्ने विद्यार्थीले मात्र विज्ञान सजिलै बुझ्न सक्छन् भन्ने लाग्दछ ।

विद्यार्थीले व्यावहारिक जीवनमै विज्ञानका अनेक प्रयोग गरिरहेका हुन्छन् । विज्ञान बुझ्न अत्यन्त महँगा प्रयोगशाला नै चाहिन्छ भन्ने छैन । धान रोप्न खेतबारी पुग्दा होस्, खोलानालामा चहार्दा नै किन नहोस्, वनजङ्गल डुल्दा होस् वा माटोको भाँडो बनाउने कुमालेको ज्यासलमा पुग्दा वा कुनै सिल्पीको कार्यशालामा, विद्यार्थी विज्ञानका सिद्धान्तको प्रयोग भइरहेको देख्छन् र तिनको रहस्य बुझ्ने प्रयास गर्छन् । के शिक्षकले त्यस्ता उदाहरण कक्षामा प्रस्तुत गरेर वा विद्यार्थीलाई त्यस्ता ठाउँमा लिएर विज्ञान पढाउन सक्दैनन् ? यस्ता विषयमा शिक्षक कति भुक्तभोगी छन् ? उनीहरू कत्तिको चासो राख्छन् भन्ने प्रश्न पनि अहम् छ, विज्ञान शिक्षा प्रभावकारी बनाउने कार्यमा ।
बिरुवाले आफ्नो खाना आफै बनाउँछ भनी शिक्षकले पढाइरहेको बेला घरमा आमाले खाना बनाएको दृश्य सम्झने विद्यार्थी कहिलेकाहीँ अलमलमा पर्नसक्छ । आमाले खाना बनाउने भनेको खासमा खाना पकाएको हो वा पाचन र स्वादको निम्ति केही परिमार्जनमात्र गरिएको हो । तर, त्यो बिरुवाले सूर्यको प्रकाशको सहयोगमा पानी र कार्वडाइअक्साइडको संयोजन गरी ग्लुकोज बनाएजस्तो होइन भन्ने कुरा प्रस्ट नपार्दा विद्यार्थी अलमलमा पर्छन् । यहीँनिर शिक्षकको भूमिका जरुरी हुन्छ ।
घोकन्ते विज्ञान
तर, एक्काइसौँ शताब्दीको परिस्थिति फरक छ । हिजोका गाउँ आज सहर भैसके । किसान मजदुरमा परिवर्तन हुँदै छन् । प्राकृतिक वातावरण बिग्रेको छ । जीवनका ऋतुहरूमा कृत्रिमता थपिँदै छ । चराको चिरबिर सुनिन छोडेको छ । चर्दै गरेको भैँसीको जिउमा किरा खाँदै गरेको बकुल्ला देखिन छोडेको छ । घोडताप्रे माडेर घाउमा त्यसको रस हाल्ने चलन लोपप्राय भयो, बेटाडिनको जमाना छ । घरमा जाँड बन्दैन, बजारबाट बियर आउँछ भने मर्चा (इस्ट), फर्मेन्टेसन, अप्टिमम टेम्परेचरको विज्ञान कसरी सिकून् विद्यार्थीले ! वातावरण दिवसको जुलुसमा सहभागी भएका विद्यार्थीले बाटोभरि चुइँगम र चकलेटका खोस्टा फाल्दै हिँड्दा के आश्चर्य मान्नु र ¤ किनभने, उसले विज्ञानको मर्म आत्मसात् गर्नै पाएको छैन वा त्यसरी सिकाइएकै छैन । विकासवादी सिद्धान्त पढेका बुझक्कड ‘कुकुरलाई भात खुवाउँदै’ वा ‘बाँदरलाई भोज ख्वाउँदै’ हिँड्दैन । कुकुर, बाँदरलाई ‘बाँच्नको लागि सङ्घर्ष गर्न’ दिनुपर्ने शिक्षा दिन्छ । तिनलाई प्रकृतिसापेक्ष हुर्किन दिन्छ । यस्तै तर्क गर्छन् वरिष्ठ प्राणीशास्त्री डा. मुकेश चालिसे ।
जातिभेद, लिङ्गभेद, बोक्सी, छुवाछूत, भूतप्रेत, भाग्य, मूर्तिपूजाजस्ता अन्धविश्वासमा सिङ्गो समाज जकडिएको छ । धामीझाँक्री, फुकफाकको अल्झोमा मानसिक पीडा तथा रोग बढिरहेको हुन्छ । ‘ग्रहदशा’ शान्त पार्ने, छाउपडी बार्ने काम राजधानीको शिक्षित समाजमै पनि रोकिएको छैन । शिक्षकले महिलालाई बोक्सीको आरोप लगाई कुटीकुटी मारिरहेकै छ । हुनेवाला इन्जिनियर ज्वाइँ नै दाइजो खोज्छ भने उसले पढेको विज्ञान तथा प्रविधिको अर्थ के रह्यो ? विज्ञानमै स्नातक वा विद्यावारिधी गर्ने मनुवा समेतले अनेक बुटी लगाएर हिँड्ने, स्वस्थानीको एक महिने ब्रत लिने, निधारमा टीका खाली नगर्ने, हातका औँलाभरि अनेक बाबाका औँठी लगाइहिँड्ने, राशिफल हेर्दै दैनिक जीवन चलाउने गरेका चर्चा सुनिएकै छ, देखिएकै छ । कम्तीमा माविसम्म विज्ञान पढ्ने विद्यार्थीको सङ्ख्या बर्सेनि लाखौँ थपिन्छ तर धेरैजना उही भाग्यवादमै रुमल्लिने कारण के हो ? के तिनीहरूले साँच्चिकै विज्ञान बुझेरै पढेका थिए होलान् ? अथवा, जाँच पास गर्नकै निम्ति मात्र पढे ?
विद्यालयमा अध्यापन गराउने शिक्षकलाई कोर्स सिध्याउनै हम्मेहम्मे पर्छ, पुस्तकमा उल्लिखित प्रजेक्ट वर्क गराउने फुर्सदै मिल्दैन । (यसपालि त महिनौँसम्म विद्यालय बन्द भएपछिको बिजोक छुट्टै छ ।) विज्ञान बुझ्न त पढेरमात्र पुग्दैन, अवलोकन (अब्जरभेसन) विधि अनिवार्य हुन्छ । अब्जरभेसनको अर्थ सम्पूर्ण ज्ञानेन्द्रीयको प्रयोग गर्नु हो । कतिपय सिद्धान्त परीक्षण गर्न प्रयोग (प्राक्टिकल) नगरी हुँदैन । विडम्बना ! नेपालका अधिकांश विद्यालयमा विज्ञान प्रयोगशाला नै छैनन् । भइहाले पनि प्रयोगशालाका उपकरणहरूमा धुलोमैलो जमेको हुन्छ । प्रयोगशालाका सामान्य उपकरणसमेत विद्यार्थी चलाउन जान्दैनन्, चिन्दा पनि चिन्दैनन् । अनि विज्ञान नबुझिने विषय हुन गयो, नघोकी उत्तीर्ण नहुने छाप विद्यार्थीमा बस्यो, घोक्न नसक्ने विद्यार्थी जहिलेसुकै पछाडि परे । विद्यार्थी गेसपेपर, गाइड वा कुनै सहयोगी पुस्तकको भरमा परीक्षा दिन पुग्छन् । यस्तो विज्ञान शिक्षणले कसरी वैज्ञानिक उत्पादन हुन्छन् ?

शिक्षाविद्हरू भन्छन्, विज्ञान भन्ने बित्तिकै आधुनिक तथा जटिल उपकरण, ठूला कक्षाकोठा, आकर्षक युनिफर्म लगाएका विद्यार्थी होइन । मुख्य कुरा शिक्षक विशिष्ट हुनुपर्छ । शिक्षकसँग विषयको गहिरो ज्ञान, जटिल विषयलाई सरल तरिकाले बुझाउने कला, विद्यार्थीको मनोविज्ञान बुझ्नसक्ने क्षमता, शिक्षण विधि र व्यवस्थापनका सीप हुनु आवश्यक छ । त्यसैले शिक्षक विद्यार्थीको दिमागको ‘सर्जन’ बन्न सक्नुपर्छ भनिन्छ ।

कक्षा १० उत्तीर्ण गर्न विद्यार्थीले २५ प्रतिशत अङ्कभारको प्रयोगात्मक परीक्षा दिनुपर्छ । विद्यालय शिक्षा परीक्षा (एसईई) मा समेत प्रयोगात्मक परीक्षा नलिई विद्यार्थीको सैद्धान्तिक परीक्षालाई आधार मानी २० देखि २४ अङ्क चढाएर बुझाउने गरिएको छ । आजसम्म यसबारे कसैले प्रश्न उठाएको छैन । यो कुरा विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन, शिक्षा अधिकारी तथा मन्त्री सबैलाई थाहा छ । तैँ चुप, मै चुप ! विद्यार्थी सित्तैमा माक्र्स पाएर दङ्ग ! आफ्नै भविष्यमाथि गरिएको खेलबाड हो यो ।
उपाय सरल छ – विद्यालयहरूमा अनिवार्य विज्ञान प्रयोगशालाको बन्दोबस्त गर्नु । पाठ्यक्रम पनि त्यहीअनुसार परिमार्जन गर्नु आवश्यक छ । विद्यालय सञ्चालन हुने दिनअनुसार पाठ्त्रर मिलाउनु आवश्यक छ । विज्ञानलाई प्रयोगात्मक बनाउनु जरुरी छ ।
रोचक विज्ञान
विज्ञान भनेकै रकेट, हवाईजहाज, बम वा यस्तै ठूला विषय हुन् भन्ने दृष्टिकोणबाट मानिस मुक्त हुनु आवश्यक छ । भिर माहुरीका चाका काढ्नेसँग थुप्रै वैज्ञानिक कुरा लुकेका हुन्छन् । माछा कसरी मार्ने भन्ने माझीलाई थाहा हुन्छ । हलोको फाली त्यसो किन बनाइएको ? मानिसले पटुका किन बाँधेको ? पहाडमा डोको बोक्छन्, तराईमा टाउकोमा टोकरी बोक्छन्, काठमाडौँमा खर्पनमा सामान बोक्छन्, किन ? काठमाडौँका घरका छाना र जुम्लाका घरका छाना किन फरक छन् ? भक्तपुरको दही छुट्टै स्वादको कसरी बन्छ ? खोजी गर्नुपर्ने धेरै चाखलाग्दा कुरा छन् । ठूल्ठूला विषयको अनुसन्धानमात्र विज्ञान हो भन्नु एउटा भ्रम हो । आफ्नो घरको वरपर उडिरहेका चराहरू चिन्ने, बोटबिरुवाको पहिचान गर्ने, कस्तो माटोमा कुन बिरुवा हुर्किँदा रहेछन् भन्ने थाहा पाउने, पानीघट्ट, ढिकी तथा जाँतोको सिद्धान्त आदि बुझ्न पनि त अनुसन्धानको जरुरत हुन्छ ।
शिक्षाविद्हरू भन्छन्, विज्ञान भन्ने बित्तिकै आधुनिक तथा जटिल उपकरण, ठूला कक्षाकोठा, आकर्षक युनिफर्म लगाएका विद्यार्थी होइन । मुख्य कुरा शिक्षक विशिष्ट हुनुपर्छ । शिक्षकसँग विषयको गहिरो ज्ञान, जटिल विषयलाई सरल तरिकाले बुझाउने कला, विद्यार्थीको मनोविज्ञान बुझ्नसक्ने क्षमता, शिक्षण विधि र व्यवस्थापनका सीप हुनु आवश्यक छ । त्यसैले शिक्षक विद्यार्थीको दिमागको ‘सर्जन’ बन्न सक्नुपर्छ भनिन्छ ।
शिक्षकले विद्यार्थीमा सिक्ने हुट्हुटी कसरी जगाउने ? अल्बर्ट आइन्स्टाइनले भनेका छन् – “शिक्षा भनेको तथ्य सिक्नु होइन बरु दिमागलाई सोच्ने तालिम दिनु हो ।” माछाले रुख चढेन भनेर दुःख मनाउ गरिरहनु पनि बेकार छ । तर, विज्ञानको निम्नत्तम वा आधारभूत ज्ञान अनिवार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *