भर्खरै :

उच्छृङ्खल र अपराधिक क्रियाकलापमा रोक आवश्यक

हरेक राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था, पत्रपत्रिकाको जिम्मेवारी उदाहरणीय समाज या आदर्शोन्मुख समाज स्थापना गर्नु हो, हुनुपर्छ । आदर्शोन्मुख समाज स्थापना गर्न समाजमा हुनसक्ने विकृति, विसङ्गति, उच्छृङ्खलता तथा अपराधिक क्रियाकलापहरू रोक्नुपर्छ, रोक्न सुसूचित पार्नुपर्छ । कुनै पनि समुदाय, संस्था या व्यक्तिले समाज भड्काउने, उच्छृङ्खलता निम्त्याउने, मानिसको स्वभाव, चरित्र बिगार्ने, नैतिकता भ्रष्ट बनाउने खालका कुनै पनि कार्य या गतिविधि गर्नु हुँदैन, गतिविधि गर्न स्थान दिनु हुँदैन । मानिसको स्वभाव, चरित्र, आनीबानी बिग्रियो, कुलतमा लागेर नीति भ्रष्ट भयो भने समाजमा शान्ति छाउँदैन, कचिङ्गल बढ्छ, अपराध र अपराधी बढेर समाज विवाद र झगडाको थलो बन्छ । त्यसकारण समाजमा देखिएका उच्छृङ्खल र अपराधिक गतिविधिको सबै क्षेत्रबाट विरोध गर्नुपर्छ, खबरदारी गर्नुपर्छ ।
समाजलाई सत्मार्ग देखाउने काममा पत्रिकाको ठुलो योगदान हुन्छ । आस्थाको पत्रकारिता गर्ने पत्रिकाले त्यस्तो काम गरिरहेको हुन्छ या आदर्शोन्मुख समाज बनाउने सूचना, समाचार र लेख प्रवाह गरिरहेको हुन्छ । तर, कति पत्रिकाले जसरी भए पनि पैसा कमाउने काम गरिरहेको पाइन्छ । त्यस्ता पत्रिकाका सञ्चालकहरूलाई समाज बनोस्, नबनोस्, बिग्रोस् या सप्रोस् कुनै मतलब हुँदैन । कति पत्रिकाहरूले समाजलाई नै बिगार्ने, नैतिक भ्रष्ट बनाउने, मनस्थिति बिगार्ने, उत्तेजित पार्ने काममा टेवा पु¥याइरहेका हुन्छन् । आजभोलि पत्रिका र फिल्ममा भन्दा सामाजिक सञ्जालहरूले समाजका कुनै नागरिकले हेर्नै नमिल्ने यौनोत्तेजक दृश्यहरू, अर्धनग्न क्रियाकलापहरू देखाइरहेका छन् ।
समाज बनाउने भन्दा बिगार्ने, अपराधिक तथा उच्छृङ्खला क्रियाकलाप सुधार्ने या अन्त्य गर्नेभन्दा बढावा दिने खालका मान्छेका अनावश्यक क्रियाकलाप र दृश्य देखाएर मन भड्काउने काम भइरहेको छ । नानाथरीका शङ्का उपशङ्काको बखान गरेर लोग्नेस्वास्नीको सम्बन्ध विच्छेद बनाउने, बहुपत्नीलाई बढावा दिने खालका समाचार बनाएर समाजमा झगडाको बीउ रोप्ने काम भइरहेको छ । मानिसका गोप्य अङ्गहरूको अनावश्यक वर्णन गरेर अश्लील दृश्य र समाचार लेखेर युवा र युवतीहरूको मन र विचार बिगार्ने काम भइरहेको छ । अतः कुमार्गमा लैजाने, विकृति बढाउने, आफ्नो इज्जत, आस्था, व्यक्तित्व र विश्वासमा बाधा पु¥याउने खालका दृश्य, तस्वीर र समाचार लेख्न र प्रचारमा बन्द गर्नुपर्छ ।
छाडा संस्कृति, छाडा दृश्य, छाडा समाचार, छाडा वर्णन, उच्छृङ्खल, अश्लील गतिविधिमा व्यक्ति, सामाजिक सञ्जाल, कुनै पनि पत्रिका, सञ्चारमाध्यमले छुट दिनु हुँदैन । कसैले मान्छे बिगार्ने अश्लील दृश्य र उत्तेजित बनाउने काम गर्छ भने तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, हदैसम्मको कारबाही गर्नुपर्छ । त्यस्ता दृश्य देखाउने सामाजिक सञ्जाल, पत्रपत्रिका, चलचित्र या टेलिचलचित्रहरू रोक्नुपर्छ । यौनाङ्गको वर्णन गरेर समाज बिगार्ने रोक्नुपर्छ । यसबारे सरकार, सूचना मन्त्रालयले निगरानी राख्नुपर्छ, कारबाहीको प्रक्रिया अगाडि बढाएर गलत बाटोमा लैजाने कार्य अन्त्य गरेर आदर्शोन्मुख समाज स्थापना गर्न सबै अग्रसर हुनुपर्छ । यसैमा समाजको हित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *