भर्खरै :

“राजनीति जात, भाषा र क्षेत्रको आधारमा गर्नुहुँदैन”

भक्तपुर, २ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कवि, कथाकार तथा स्रष्टाहरूले एमसीसी सम्झौता, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबारे केन्द्रित रहेर साहित्य लेख्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालभाषा साहित्य तःमुंज्याद्वारा शनिबार आयोजित ‘च्वमि मुंज्या व स्यनेकाने ज्याझ्वः’ (लेखक भेला तथा प्रशिक्षण कार्यक्रम) मा अध्यक्ष बिजुक्छेँले स्रष्टाहरूको साहित्यले देशको परिस्थिति बोध गर्ने हुँदा साहित्यिक पुस्तक प्रकाशन गरिराख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “साहित्यमा समाजको बिम्ब हुन्छ । स्रष्टाहरूले गति, मात्रा र छन्दबारे पनि ध्यान दिनुपर्ने हुन्छ ।”
राजनीति जात, भाषा र क्षेत्रको आधारमा गर्न नहुने विचार राख्दै उहाँले भन्नुभयो, “वर्ग जात होइन, काम र पेशाको आधारमा वर्गीकृत गर्नुपर्छ ।”
कम्युनिस्ट पार्टीभित्र पनि वर्ग शत्रुबारे मतभेद भएको चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “वर्गीय रूपमा राजा जनताका शत्रु हुन्, भारतीय विस्तारवाद नेपाली जनताको मुख्य दुश्मन हो । संसारमा सामन्तहरू पनि साम्राज्यवादविरोधी छन् ।”
कसैले गलत काम, जनविरोधी काम या सिद्धान्त र विचारविपरीत काम गरेमा खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सामन्त र नेकाले बिगार्न नसकेको नेमकिपाको सङ्गठन आफूलाई कम्युनिस्ट भन्ने दलका नेताहरूले बिगारेको स्मरण गराउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका पूर्वअध्यक्ष चन्द्रबहादुर उलकले तःमुंज्या स्थापनाको तत्कालीन आवश्यकताबारे चर्चा गर्दै भन्नुभयो, “साहित्यमार्फत वर्गीय भावना जगाउन तःमुंज्या स्थापना भएको हो ।”
उहाँले भन्नुभयो, “साहित्य साहित्यको लागि मात्र होइन, साहित्य कामदार वर्गका जनताको लागि हो । भाषाको नाउँमा लेखिने अश्लील र छाडा साहित्य अन्त्य गर्न–गराउन पनि तःमुंज्या आवश्यक भएको हो ।”
उहाँले भन्नुभयो, “जातीय एकता र भाषिक एकता होइन वर्गीय एकताको खाँचो छ । समाजवादी व्यवस्थाको प्रचार–प्रसार गर्ने एउटा हतियार साहित्य पनि हो । माथिल्लो वर्गकालाई होइन, कामदार वर्गका जनतालाई साहित्यकार बनाउन तःमुंज्या स्थापना भएको हो ।”
युवा कवि दामोदर सुवालले जनताको मुक्तिको लागि भाषा आन्दोलनमात्र होइन राजनीतिक आन्दोलन पनि आवश्यक छ भन्नुभयो । भाषिक आन्दोलनको नाउँमा राजनीतिक आन्दोलनको मतलब नराख्ने, तल्लो वर्गका जनतालाई हेयको दृष्टिले हेर्ने, साहित्यिक मञ्चमा जोताउने तर साहित्य वाचन गर्न नदिने सामन्ती विचारको कारण तःमुंज्या स्थापना भएको उहाँले बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले साहित्य सोखको निम्ति होइन जनताको सेवाको निम्ति हो, साहित्य राजनीतिको हतियार हो भन्नुभयो ।
तःमुंज्याका सदस्य केशव तमखूले प्रशिक्षण कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *