भर्खरै :

अफगानिस्तानमाथि हमला बदमासी थियो

(जोन पिलगर संसारकै चर्चित खोज पत्रकार र वृत्तचित्र निर्माता हुन् । उनले ‘इम्मी’ र ‘बाफ्टा’ लगायत धेरै विख्यात पुरस्कार जितेका छन् । गार्जियन, द न्यु योर्क टाइम्स, बीबीसी वल्र्ड सर्भिस र अल जजिरालगायत उनले विभिन्न अन्तर्राष्ट्रिय प्रकाशन र समाचार सेवामा योगदान गर्दै आएका छन् । उनले बीसौँ र एक्काइसौँ शताब्दीका विभिन्न महत्वपूर्ण घटनामध्ये केहीलाई समेटेर ६० भन्दा बढी वृत्तचित्र निर्देशन गरेका छन् । सन् २००३ मा उनले ‘ब्रेकिङ द साइलेन्सः ट्रुथ एन्ड लाइज इन द वार अन टेरर’ (मौनता भङ्गः आतङ्कवादविरोधी युद्धका सत्य र झूट) नामको वृत्तचित्र निर्देशन गरेका थिए । प्रस्तुत अन्तर्वातामा उनले अफगानिस्तानको अहिलेको राजनीतिक घटनाक्रम, आतङ्कवादविरोधी युद्ध र तालिवानको इतिहासबारे आफ्ना मत राखेका छन् । ‘द हिन्दू’ मा पहिलो पटक प्रकाशित उनको अन्तर्वार्ता पाठकको जानकारीको लागि नेपालीमा अनुवाद गरिएको छ ।)
द हिन्दू : बीस वर्षअघि संरा अमेरिका तालिवानलाई फाल्न, प्रजातन्त्र स्थापना गर्न र आतङ्कवाद अन्त्य गर्न भनेर अफगानिस्तान पसेको थियो । तर, आज तालिवान नै सत्तामा फर्केको छ । यो अवस्थालाई तपाईँले कसरी हेरिरहनुभएको छ ?
पिल्गर : अफगानिस्तानमा प्रजातन्त्र स्थापना गर्ने अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशको ‘वाचा’ त संरा अमेरिकाको घरेलु राजनीतिक प्रयोजनको लागि थियो । खासमा अफगानिस्तानमाथि हमला बदमासी थियो । ९/११ हमलाको राजनीतिक प्रतिशोध लिन त्यतिबेलाको सबभन्दा सजिलो शिकार तालिवान थियो । ९/११ हमलाको खास सैनिक जवाफ त साउदी अरबका दरबारहरूमा संरा अमेरिकी बम खसेको भए मात्र पूरा भएको मान्न सकिन्थ्यो । किनभने ९/११ हमलामा विमान अपहरण गर्ने अधिकांश मानिस साउदी अरबका थिए । ओसामा बिन लादेन आफै पनि त साउदी अरबकै थिए । हमला गर्नेमध्ये कोही पनि अफगान थिएन ।
९/११ हमलाप्रति नैतिक कोणबाट हेर्दा अफगानिस्तानमाथि हमलासँग त्यसको कुनै लिनुदिनु छैन । बिन लादेनले अफगानिस्तान छोडिसकेका थिए । तालिवान ऊसँग सम्बन्धविच्छेद गर्न भगीरथ प्रयत्न गरिरहेको थियो । संरा अमेरिकाको लागि त अफगानिस्तानको उपयोगिता भनेको सोभियत सङ्घलाई विघटनतिर तान्न लडाईँभूमिको रूपमा प्रयोग गर्नुमात्र थियो । त्यो उद्देश्य त उसले ९/११ को हमलाअघि नै प्राप्त गरिसकेको थियो ।
अफगानिस्तानमा अमेरिकाको दुःख समेत नाफामुखी रह्यो । अमेरिकी युद्ध उद्योगले अफगान भूमिमा धेरै नयाँ हातहतियारको प्रयोग र परिचालन ग¥यो । हालै सार्वजनिक एक अध्ययनअनुसार यदि तपाईंले राष्ट्रपति जर्ज डब्ल्यू बुशले अफगानिस्तानमा सैनिक शक्ति प्रयोगको अधिकारसम्बन्धी कानुनमा हस्ताक्षर गरेको दिन सन् २००१ को सेप्टेम्बर १८ मा अमेरिकाका पाँच वटा सबभन्दा ठूला रक्षा (हतियार) ठेकेदार कम्पनीको १० हजार अमेरिकी डलर बराबरको शेयर खरिद गरेको भए अहिले तपाईँ आज निकै मालामाल भइसक्नु हुनेथियो ।
द हिन्दू : तपाईँले दसकौँदेखि पश्चिम एसियालाई नियाल्दै आउनुभएको छ । अरब विश्वमा पश्चिम एसियाको विशेष महत्व छ । पश्चिम एसियामा अस्थिरताको मूल कारण मुख्यतः संरा अमेरिका वा त्यहाँ ‘साम्राज्यवादी’ संलग्नताको परिणाम भएको बताइन्छ नि ?
पिल्गर : साम्राज्यवादी हस्तक्षेप नहुने हो भने अरब विश्वको अवस्था निकै फरक हुनेथियो । इजिप्टमा आजको जस्तो तानाशाही शासन हुने थिएन । गमाल अब्देल नास्सेरको उदय, देशभक्त, अर्ध–समाजवादी इजिप्टप्रति जनताको आशा र अखिल अरबले बनाएको क्षेत्रीय एकतालाई संरा अमेरिका र बेलायतले धार्मिक अतिवादको औजारबाट निस्तेज बनाउने प्रयास भयो । उनीहरू (संरा अमेरिका र बेलायत) को पहिलो सफलता भनेको नास्सेरवादमाथिको दमन थियो । त्यसयता पश्चिमा शक्तिले जन्माएको इजरायल सो क्षेत्रमा आधुनिक साम्राज्यवादको निगरानी केन्द्र र हमलाकारी पाल्तु कुकुर बन्यो । अमेरिकाको समर्थन नपाउने हो भने इजरायल एउटा सामान्य देश हो । त्यो अवस्थामा उसले आफ्ना छिमेकीहरूसँग शान्ति कायम राख्ने प्रयास गर्ने थियो । त्यस अवस्थामा प्यालेस्टाइन एउटा स्वाधीन देशको रूपमा अघि बढ्ने थियो । तर, आज इजरायल उत्तेजना फैलाउने स्थायी शक्ति बनेको छ ।
कहीँ पनि हमला गर्नुपूर्व ‘भ्रष्ट र तानाशाही राज्यमा राज्यसत्ता परिवर्तन गर्न सम्भव एउटै मात्र समाधान भनेको साम्राज्यवादी कब्जा हो’ प्रचार गरिन्छ । ल्याटिन अमेरिका, अफ्रिका, पश्चिम एसिया आदिका उदाहरणलाई तपाईँ यो कोणबाट किन हेर्नुहुन्न ?
जब तपाईँ साम्राज्यवादको मूलमन्त्र – जसको लठ्ठी उसको भैंसीको सिद्धान्त अस्वीकार्नु हुन्छ, तपाईंले विश्व मामिलामा अपराधको ठाउँ स्वीकार्नुहुनेछ ।
द हिन्दू : तपाईँ दसकौँदेखि पश्चिमा विदेश नीतिको आलोचक रहँदै आउनुभएको छ । महाशक्ति देशले आफूलाई जोखिमपूर्ण लागेका देशहरूसँग संवाद नगरी कसरी अघि बढ्न सकिन्छ र ?
पिल्गर : आधुनिक शक्तिहरू उन्नाइसौँ शताब्दीका हमलाकारीहरूले जस्तो व्यवहार नगरी नै आफ्नो शक्ति अरू देशमाथि थोपर्न सक्छन् र गरिरहेका छन् । चीनको ‘बेल्ट एन्ड रोड’ परियोजनालाई सयौँ विकासशील देशहरूले संरचनागत लगानीको रूपमा स्वीकार गरेका छन् । चीन निर्विवाद रूपमा विकासको शक्ति हो । तर, उसले कहीँ पनि शक्ति वा दबाबमा आफ्नो प्रभुत्व लाद्न खोजेको देखिँदैन । जब कि शक्ति र दबाबको भरमा प्रभाव जमाउन खोज्नु साम्राज्यवादको प्रमुख तरिका हो । त्यसको अर्थ चीन वा रूस अथवा कुनै पनि हानि नपु¥याउने ठूलो शक्तिसँग सम्बन्ध विस्तार गर्दा त्यो ‘ग्राहक’ देशले जे पनि सहेर बस्नुपर्छ भन्न खोजेको होइन । तर, ऐतिहासिक र समकालीन तथ्य नियाल्दा युरोप र संरा अमेरिकासँग जस्तो खालको उपनिवेशवादी महत्वाकाङ्क्षा छ, त्यस्तो महत्वाकाङ्क्षा चीनसँग छैन । चीनको विषयमा आलोचना गर्नेहरूले जतिसुकै आलोचना गरे पनि उसको आधुनिकता र संसारमा शान्तिसँग बाँच्ने उसको चाहना प्रष्ट छ ।
द हिन्दू : अफगानिस्तानमा तालिवान फेरि सत्तामा आएको छ । तालिवानलाई सत्तामा यति चाँडै आउन कसले मद्दत ग¥यो ?
पिल्गर : सन् १९८० र १९९० दसकमा संरा अमेरिका र बेलायतले तयार पारेका जिहादीहरूकै हिस्सा हुन् – तालिवानहरू । तालिवानहरू मुजाहिद्दिनहरूकै कट्टरपन्थी शाखा हो । त्यसलाई अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईए र बेलायतको गुप्तचर विभाग एमआई ६ को पैसा र हतियार अनि पाकिस्तानको गुप्तचर विभागले पुनः अफगानिस्तानको सत्तामा ल्याएको र शक्तिशाली बनाएको हो । संरा अमेरिकाको एउटै रणनीतिक योजना भनेको अफगानिस्तानसँग सीमा जोडिएको सोभियत सङ्घमा अस्थिरता पैmलाउनु थियो । पश्चिमा देशहरूले थापेको ‘धराप’ मा जब सोभियतहरू फसे र उनीहरूले अफगानिस्तानमाथि कब्जा जमाए, जिहादीहरूको अन्तर्राष्ट्रिय शक्ति अझ बढ्यो । यहाँ धेरै विरोधाभास र वियोगान्तहरू छन् । अफगानिस्तानको इतिहासमै सबभन्दा प्रगतिशील सरकारलाई फालेर मुजाहिद्दीनहरू सरकारमा आए । अफगानिस्तानमा सन् १९७० दसकमा महिलालाई पनि समान अधिकार प्रदान गरिएको थियो ।
द हिन्दू : अफगानिस्तान छोड्ने क्रममा ट्रम्प सरकारले सत्ता हस्तान्तरण गर्ने विषयमा तालिवानसँग दोहामा कुराकानी गरेको थियो । धेरैले त्यो वार्तापछि तालिवानले वैधानिकता पाएको तर्क गर्छन् । पश्चिमा शक्तिले समर्थन गरेको प्रजातान्त्रिक सरकारलाई भन्दा ट्रम्प सरकारले तालिवानलाई किन प्राथमिकता दिएको होला ?
पिल्गर : अफगान सरकार प्रजातान्त्रिक सरकार थिएन न त त्यो प्रजातान्त्रिक तरिकाबाट नै निर्वाचित भएको थियो । त्यो भ्रष्टाचारको अखडा थियो । संरा अमेरिकी टेको नपाएपछि त्यो सरकार ढल्ने कुरा ट्रम्प र उनका सल्लाहकारहरूलाई थाहा थियो । उनीहरू त्यसमा अनुभवी पनि थिए । सन् १९७५ मा आफैले बनाएको दक्षिण भियतनाम सरकारलाई अमेरिकाले साथ दिन छोड्यो, त्यो सरकार रातारात ढल्यो । त्यो सरकारको एउटै आधार भनेको अमेरिकी टेको थियो । काबुल विमानस्थलमा दुःख पाएका मानिसहरू सबै त्यस्तै सहायताका शिकारहरू हुन् । उनीहरू साम्राज्यवादबाट पीडितहरू हुन् ।
द हिन्दू : काबुलमा तालिवानको पुनरागमन पछि के आगामी दिनमा अफगानिस्तान फेरि पनि इस्लामिक आतङ्कवादको केन्द्र बन्ला ?
पिल्गर : त्यो कुरा आतङ्कवादको परिभाषामा भर पर्छ । संसारको सबभन्दा भयानक आतङ्कवाद भनेको राज्यले प्रायोजन गरेको आतङ्कवाद हो । अमेरिकाको ‘आतङ्कवादविरोधी युद्ध’ वास्तवमा आतङ्कवादी युद्ध थियो । आठ वटा मुसलमान देशहरू त ध्वस्त भए । ल्याटिन अमेरिकामा संरा अमेरिकाले बीसौँ शताब्दीको सुरूदेखि नै आतङ्कवादविरोधी युद्ध चलाउँदै आएको हो । यदि तपार्इं ‘इस्लामिक आतङ्कवाद’ को कुरा गर्नुहुन्छ भने भविष्य अझै अनिश्चित छ । मुसलमान देशहरूमै तालिवानका गम्भीर शत्रुहरू छन् जसको आतङ्कवाद सर्वविदित छ ।
द हिन्दू : संसार र विशेषतः पश्चिम एसियाको लागि तालिवान शासनको अर्थ के हो ?
पिलगर : म भविष्यवक्ता होइन । अफगान जनताले तालिवान शासनलाई कसरी लिन्छन् भन्ने कुरा म भन्न सक्तिनँ । यदि संयुक्त राष्ट्र सङ्घले पश्चिमा शक्तिलाई फेरि पनि अफगानिस्तानलाई एक्लो बनाउने र ‘उपेक्षा’ गर्न दिने हो भने तालिवान मानसिक दबाबमा हुनेछ र उसले अझ कडा खालको शासन चलाउन सक्छ । अफगानिस्तानको सङ्कटबाट सिक्न सकिने एउटै कुरा भनेको साम्राज्यवादले मानिसको दुःखलाई अझ गहिरो तहमा पु¥याउँछ । के यो पाठ सिक्ने बेला भएको छैन र ?
स्रोत : मन्थ्ली रिभ्यु अनलाइन
नेपाली अनुवाद : मेरिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *