भर्खरै :

धान बाली बिग्रेर र दाना नलागेर किसान चिन्तित

नंखेल वडा नं. ९ बस्ने वर्ष ७४ का कृष्णभक्त सुकुभटुले दाना नलागेको एक मुठा धानको बोट देखाउँदै लौ यस वर्षको धानमा दाना लागेन, खेतीको भरमा बाँचेका हामी अब कसरी परिवार पाल्ने भन्दै आफ्नो समस्या पोखे । पीडित किसान सुकुभटुले दुई पोका हाइब्रीड २८ को धानको बीउ लगेका थिए । एउटा पोका धानको बीउको राम्रैसँग फलेको र अर्को पोकाको धानको बोटमा भुसमात्र
(दाना नलागेको) भएको दुःखेसो उनले पोखे । उनले ३ रोपनी धान रोपेका थिए । त्यसमध्ये साढे एक रोपनीमा पहिलेझैँ फल लागेको र अर्को साढे एक रोपनीमा दानै नलागेको उनको दुःखेसो थियो ।
कुराकानीकै सिलसिलामा उनले भने, “धानको बीउ एउटै पसलबाट एकै समयमा किनेकै हुँ । धानबालीमा मल बढी भएको पनि होइन, पानी बढी भएको पनि होइन, तर कसरी हो आधी जग्गामा ठिक्कै धान फले पनि आधी जग्गाको धानबाली बिग्रियो, अब के गर्ने ?” पीडित किसान सुकुभटुका अनुसार सोही स्थानमा हरि व्याञ्जु र नारायणभक्त सुकुभटुको पनि आधा आधा रोपनी जग्गामा लगाइएको धानबाली बिग्रेको थियो ।
यसरी नै विभिन्न स्थानमा धानमा दाना नलागेको या धान काट्ने बेलामा पनि धानको गेडा नभएको पाइएको गुनासो किसानहरूको छ । कहीँ पानी बढी भएर या दलदले भएर धान नै फलेन भने कहीँ मल बढी भएर ठाउँठाउँमा धानबाली बिग्रेको पाइएको छ । कहीँ धानको बोट पनि छोटो, धानको गेडा हुन नपाउँदै सुकेर धानबाली बिग्रेको पाइएको छ । धान नफलेर चिन्तित किसानहरू वर्षभरि खान नपुग्ने बताउँछन् र परिवारका सदस्यहरू भोकै दिन कटाउनुपर्ने दुःख पोख्छन् ।
दुःखकष्ट गरेर खेतीपाती गर्दा फल नपाएको कारण उनीहरू आफ्नो श्रम, समय र लगानी खेर गएकोमा निरास छन् । धानबाली लगाउन धेरै श्रम, समय र लगानी गर्नुपर्ने हुन्छ । खेत खनजोत गर्न ज्याला दिनुपर्छ, मल किन्नुपर्छ । खनेदेखि रोपाइँको लागि ज्यामी राख्नुपर्ने हुन्छ या श्रम गर्नुपर्ने हुन्छ । धान काट्नुपर्छ । काटेको धान सुकाउनुपर्छ । खानपिनको लागि खर्च छुट्टै छ । धान घरमा ल्याउन भाडा दिनुपर्छ । यसरी हिसाब गर्दा किसानहरूले काम गर्दाको ज्यालाको मूल्य पाउँदैनन् । कुनै किसानले सबै ज्यामी राखेर काम गराउनुप¥यो भने घाटा नै हुन्छ । किसानहरू वर्षौँदेखि खेतीपाती गर्दै आए पनि उनीहरूको जीवनस्तर नउठ्नु या आयआर्जन नहुनुको कारण पनि यही हो । धानबाली बिग्रेका कृष्णभक्त सुकुभटुले त्यस्तै त्यस्तै गुनासो पोखे । यो त प्रतिनीधि पात्र हो । त्यस्तै धान बिग्रेका अरू किसानहरू कति छन् कति !
दिनरात घामपानी, चिसो गर्मी नभनी माटोसँग भिज्ने, भिड्ने किसानहरू यसरी नै कहिले डुबानमा परेर, कहिले खोला पसेर, कहिले असिना पानी र हुरी बतास चलेर त कहिले म्याद नाघेको बीउ परेर ठूलो मर्कामा पर्छन् । अनि किसानहरूको जीवनस्तर कसरी उठ्छ ? उनीहरूको लवाइखुवाइमा कसरी सुधार हुन्छ ? किसानका छोरा छोरीहरूको खेतीपातीबाहेक अर्को काम नपाएको भए किसानहरूको समस्या हिजोजस्तै हुन्थ्यो । किसानका छोराछोरीले पनि अरू काम पाएकाले, अरू व्यवसायमा लागेकाले मात्रै अलिकति सन्तोषको सास फेर्न पाएका हुन् ? यस्तो समस्या सरकारले कहिले बुझ्ने र समस्या समाधान कहिले गर्ने ? यसकारण, ज्येष्ठ किसानहरूको जीवन सुनिश्चित गर्ने कार्यक्रम सरकारले ल्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *