भर्खरै :

राजस्व ठूलो कि जनताको जिउधन ?

२२ कार्तिक २०७८ । काठमाडौँमा भर्खर तिहारको रौनक सकियो । तर, दुर्भाग्य ! तिहारको तीन दिनमा उपत्यकामा एघारवटा आगलागीका घटना भए । ललितपुरमा आगलागीबाट एकै परिवारका चारजनाको अकालमा मृत्यु भयो । भक्तपुर कमलविनायकमा एउटा घरमा आगलागी हुँदा लाखौँ रुपियाँको क्षति भयो । ‘लक्ष्मी भित्र्याउन’ खोज्दा श्रीसम्पत्ति स्वाहा ! कस्तो विडम्बना ! ‘भगवान’ पनि यतिबिघ्न कृतघ्न !
दुर्घटना बाजा बजाएर आउँदैन भनिन्छ, मुख्यतः लापरबाही वा असावधानी यस्ता दुर्घटनाको मूल कारण हुन्छ । तथापि, कुनै पनि घटना तथा दुर्घटनाप्रति सरकार वा राज्य जिम्मेवार हुनैपर्छ । सबै देशमा प्रत्येक नागरिकको जिउधन सुरक्षाको जिम्मेवारी राज्यले लिएको हुन्छ ।
नागरिकको चेतना राज्यको संवेदनशीलतासँग पनि जोडिएको हुन्छ । अथवा, नागरिकको चेतना राज्यको सचेतनासापेक्ष हुन्छ भनौँ । राज्यका तीन अङ्गमध्ये सरकार वा कार्यपालिका सबभन्दा बढी जिम्मेवार हुनुपर्ने हो तर नेपाल सरकार ‘दस धार्नी चाकु खाएर पनि चाकुको स्वाद थाहा पाउँदैन’ । मन्त्रीहरू नागरिकको दुःखमा कहिल्यै संवेदनशील देखिएनन्, तिनले सहानुभूति देखाउने त अर्कै कुरा ! नेपालीको दुःखको मूल कारण यही हो ।
नागरिक भावना कता हरायो ?
देशमा पटाका प्रतिबन्धित छ तर यसपालिको तिहारभर जताततै पटाका पड्काइयो । पटाका नियन्त्रणमा पनि राज्य संयन्त्र असफल भयो । पटाकाका डरलाग्दा आवाजले कतिपय केटाकेटी, बुढाबुढी र बिरामीलाई मानसिक आघातसमेत भएको हुुनुपर्दछ । यसको खोजबिन गर्न सरकारी संयन्त्रको तत्परताको आशै नगरौँ ! आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न हुँदैन भन्ने प्रजातन्त्रको सामान्य सिद्धान्त हो । यस कुराको चेत मानिसबाट हराइसकेको पुष्टि हुन्छ ।
पटाका पड्काउनेमा स्वभावतः केटाकेटी तथा युवा बढी छन् । यतापट्टि विद्यार्थी र युवा सङ्घसङ्गठनको ध्यान किन गएन ? यो लक्षित समूहलाई शिक्षादीक्षा दिने जिम्मेवारी लिएका शिक्षकहरूले पनि यतातिर सोच्ने फुर्सत पाएनन् कि ! नागरिक भावनाको विकास गराउन मुख्य जिम्मेवारी नगरपालिकाको हुन्छ । के स्थानीय संरचनाले सोच्नै नभ्याएका हुन् ?
यहाँनिर केही वर्षअगाडिको कुरा कोट्याउँछु । त्यो घटना मलाई दक्षिण कोरिया गएकी एउटी दिदीले सुनाएकी हुन् । विद्यावारिधी गर्दै गरेका आफ्ना भाइसँग भेटघाट गर्न ती दिदी दक्षिण कोरिया गएकी थिइन् । एकदिन भाइको होस्टलको आफ्नो ‘फ्ल्याट’ मा नेपालबाटै गएकी अर्की एक आफन्तले अगरबत्ती बालिछन् । होस्टलको प्रशासनले तुरुन्तै कोठाबाट केको धुवाँ निस्कियो भनेर सोधपुछ गरेछ । खासमा माथिल्लो तलामा बस्ने विद्यावारिधी गर्दै गरेका एक युरोपेली विद्यार्थीले होस्टल प्रशासनलाई ‘कम्प्लेन’ गरेका रहेछन् । कोठामा धुवाँ फैलिँदा कोठाको सिलिङबाट पानी झर्ने प्रणाली जडित भएकोले झ्याल खोलेर धूप बाल्दा माथिल्लो तलासम्म धुवाँ पुगेको रहेछ । ती युरोपेलीले आफ्नी श्रीमती बिरामी भएको र धूपको धुवाँ स्वास्थ्यको लागि हानिकारक भएको गुनासो गरेका रहेछन् । अन्ततः नेपाली दिदीले लज्जित भएर माफी माग्नु परेछ ।
आफ्नो काम वा व्यवहारको कारण अरूलाई कुनै अप्ठेरो त परेको छैन भनेर सोच्ने चेत नै मानिसको सबभन्दा उन्नत चेतना मानिन्छ । धूपको धुवाँ हानिकारक छ भन्ने चेतना नागरिकको तहसम्म पुगेकै छैन । यसमा पनि सरकार नै बढी जिम्मेवार छ । नागरिक भावना किताबमा मात्र लेख्ने विषय होइन, जीवनमा उतार्ने विषय हो ।
धूपको धुवाँबाट क्यान्सर
यो तिहारमा मात्र करोडौँ प्याकेट धूप बालियो होला । बिहानबेलुकी घरघरमा वा मठमन्दिरमा गरिने पूजापाठमा धूप बाल्ने प्रचलन छ । अगरबत्तीविना कुनै पनि पूजनकार्य सम्पन्न हुन्न यो नेपालमा । करोडौँ हिन्दु, बौद्ध र इसाई ‘हावा शुद्ध बनाउन’ धूपको प्रयोग गर्छन् । तर, धूप स्वास्थ्यको निम्ति धेरै हानिकारक भएको वैज्ञानिक पुष्टि भएको छ ।
केही वर्षअगाडि चिनियाँ वैज्ञानिकहरूले अगरबत्तीको धुवाँबाट क्यान्सर हुन्छ भनेर चेतावनी दिएका थिए । दक्षिणी चीन प्रविधि विश्वविद्यालयका वैज्ञानिकले धुपी वा चन्दनको पात वा काठ मिसाई बनाएको अगरबत्तीले स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने तथ्य बताएका थिए । क्यान्सरको हकमा यस्ता अगरबत्तीको धुवाँ चुरोटको धुवाँभन्दा बढ्ता हानिकारक हुन्छ । अमेरिकी क्यान्सर समाजको जर्नलमा प्रकाशित एक अध्ययनले पनि अगरबत्तीको धुवाँले माथिल्लो श्वासनलीमा क्यान्सर गराउन सक्ने खतरा रहेको जनाएका थिए ।

अगरबत्तीको धुवाँमा अत्यन्तै हानिकारक कार्बनमोनोअक्साइड ग्यास हुन्छ । धूपको धुवाँले दम रोग नहुने त कुरै छैन । यसबाट माइग्रेनलगायत नशा रोग हुने, टाउको दुख्ने र विस्मरणको समस्या हुनसक्छ भनेर वैज्ञानिकहरूले चेतावनी दिएका छन् । त्यसैले केटाकेटी भएको ठाउँमा धूप बाल्दै नबाल्न वैज्ञानिकहरूले सुझाव दिएका छन् । धुप बाल्नैपर्ने भएमा झ्यालढोका खुला छोड्नु पर्छ । श्वासप्रश्वासको बिरामीले त यस्तो धुवाँबाट टाढै बस्नुपर्ने हुन्छ । ‘ईश्वर’ लाई खुसी पारेर आफूलाई रोगी बनाउनु यो कस्तो मूर्खता हो ?
प्रदूषक दीपावली
नयाँदिल्लीमा यसपालिको दीपावलीमा करोडौँ पटाकाहरू पड्काएको कारण वायु प्रदूषण खतरनाक स्तरमा पुगेको खबर सुनिन्छ । भारतीयहरूले पनि पटाकामाथिको प्रतिबन्धको उल्लङ्घन गरेको प्रश्न त छँदै छ । त्यसो त सवारीसाधन र औद्योगिक उत्सर्जन, धुलो र धुवाँले दिल्लीले विश्वको सबैभन्दा प्रदूषित राजधानीको परिचय कमाएको छ । दीपावलीमा सिर्जित प्रदूषणका कारण सहर धुम्म भइरह्यो, धेरै मानिसले आँखा पोलेको र घाँटी चिलाएको अनुभव गरे । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने कुरा बीबीसीले जनाएको छ । साथै, स्मरणीय छ, भारतको प्रदूषणले नेपालको वायुमण्डल पनि प्रदूषित गर्छ ।
अनि, नेपालको खबर ? नेपालमा तिहारमा बालिएका बत्ती तथा पटाकाको कारण वायु तथा ध्वनि प्रदूषण के कति भयो भन्नेबारे कुनै अध्ययन सार्वजनिक भएको छैन । तर, तिहारकै क्रममा नेपालीले पनि लाखौँ लिटर तेल दियो बालेरै सिध्याए होलान् । यसलाई राज्यका जिम्मेवार निकायहरूले त्यति ठूलो विषय ठानेनन्, अफसोस !
परनिर्भर तिहार !
तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने ‘भाइ मसला’ पनि विदेशबाटै आउँछ । मसलाका विभिन्न थरी कुनकुन देशबाट आउँछन् भन्ने बुझ्दा एकदम अनौठो लाग्छ । नेपालमै उत्पादन हुनसक्ने वस्तुहरूसमेत विदेशबाट आयात हुनुले नेपालको ‘स्वावलम्बी अर्थतन्त्र’ को खिल्ली उडेको अनुभव हुन्छ ।
जस्तो, नेपालमा काजु भारत, भियतनाम र दक्षिण अफ्रिकाबाट आउँछ । त्यस्तै, किसमिस चीनबाट, छोकडा पाकिस्तानबाट, देशी बदाम अमेरिकाबाट, ओखर चीन, अमेरिका, भारत र टर्कीबाट, पिस्ता अफगानिस्तानबाट, मखन भारतबाट, सुपारी थाइल्यान्ड, सिङ्गापुर, इन्डोनेसिया र भारतबाट, नरिवल भारतबाट आउने गरेको बीबीसी नेपाली सेवाले जनाएको छ ।
नरिवल, सुपारी, ओखर उत्पादन हुने हावापानी नेपालमा छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला, दार्चुलालगायतका जिल्लामा ओखर खेती त गरिएको छ तर राज्यको यथोचित सहयोग नभएकोले किसान ओखर खेती गर्न उत्साहित छैनन् । यसले गर्दा विदेशी ओखरभन्दा नेपाली ओखर महँगो पर्न जान्छ । नेपाली ओखरले विदेशी ओखरसँग प्रतिस्पर्धा गर्नै सकेको छैन । गुणस्तरीय ओखरको बिउ र अन्य सिप उपलब्ध गराउने हो भने ओखरमा नेपाल आत्मनिर्भर हुनसक्छ । विडम्बना ¤ नेपालमा ओखरविज्ञ नै छैनन् ।

यस वर्ष पनि तिहारको निम्ति ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिएको समाचार प्रकाशित भयो । भारतबाट करोडौँ रुपियाँ बराबरको सयपत्री, मखमलीलगायतका फूल आयात हुन्छन् यो पर्वमा । फर्मालिन राखेको भारतीय फूलको कारण नेपाली फूल कृषकले धेरै घाटा बेहोर्नु परेको समाचार पनि आएका छन् ।
साथै, ३० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाली बजारमा भित्रिएको समाचार पनि आयो । यस्तो बत्ती उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेस मललगायतको सजावटका लागि प्रयोग गरेको देखिन्छ । यसमा एकखालको प्रतिस्पर्धाजस्तै भएको छ । एउटाले अर्को व्यक्तिको नक्कल गर्ने यस्तो प्रवृत्तिले समाजलाई थप अभाव र विपन्नतातिर डो¥याउने डर छ ।
कोल्ड ड्रिङ्क्स कि ब्लड ड्रिङ्क्स ?
चाडपर्वमा कोल्ड ड्रिङ्क्सको माग अत्यधिक बढेको पाइन्छ । बा¥हैमास चिसो पेय पदार्थ खाने वर्ग पनि उदाएको छ । हार्ड ड्रिङ्क्स (रक्सी) को अझै धेरै माग होला ¤ हिजोआज हार्ड ड्रिङ्क्स नखानेको निम्ति कोल्ड ड्रिङ्क्स अनिवार्य विकल्पजस्तै हुन थालेको छ । यो विज्ञापन र देखासिकीको दुष्परिणाम हो । हार्ड÷कोल्ड ड्रिङ्क्स दुवै पेय पदार्थको दैनिक प्रयोग स्वास्थ्यको निम्ति हानिकारक नै छ ।

गत जून महिनामा फूटबलका प्रसिद्ध खेलाडी क्रिस्चिआनो रोनाल्डोले एउटा पत्रकार सम्मेलनको क्रममा आफूअगाडिको टेबलमा राखिएका कोकाकोलाका दुइटा बोतल हटाएर पानीको बोतल उठाएको घटना यहाँ स्मरण गराउँछु । स्पष्ट छ, रोनाल्डोले कोकाकोलाजस्ता पेय पदार्थ नखान सन्देश दिन खोजेका थिए । यस्ता ‘कार्वोनेटेड पानी’ को सट्टा शुद्ध पानी खानु श्रेयष्कर भन्ने उनको मतलब थियो । कार्वोनेटेड पानी भन्नुको अर्थ कोल्ड ड्रिङ्क्समा कार्वनडाइक्साइड ग्यास मिसाइएको छ भन्ने हो । यसैकारणले कोल्ड ड्रिङ्क्सको बोतल खोल्दा ग्यासको फिँज निस्किन्छ । रोनाल्डोसँग जोडिएको त्यस घटनाबाट एकैदिन कोकाकोलाले ४ अर्ब डलर बराबरको नोक्सानी बेहोरेको समाचार पनि आएको थियो । त्यस घटनापछि एकैदिन कोकाकोलाको १.५ प्रतिशत सेयर घट्न गयो । एकदिन त्यति धेरै घाटा बेहारेको त्यस कम्पनीले अरू दिन कति नाफा कमाउँदो होला, त्यो त कहिल्यै खबर बन्दैन ।
कोकाकोलामा फस्फरिक एसिड, फ्रुक्टोस सुगर र क्याफिन मिसाइएको कुरा बोतलमा लेखिएको छ । त्यसमा स्वादको निम्ति सिन्थेटिक फ्लेवर पनि राखिएको हुन्छ । फस्फरिक एसिडले गर्दा कोकाकोला हल्का अमिलो हुने नै भयो ।
चिसो पेय पदार्थमा खासै पोषक तत्व हुन्न । क्याफिनको कारणले पिउने मानिसलाई हल्का आनन्द महसुस गराउनसक्छ । चिसो पेय पदार्थमा पाइने खाद्य पदार्थको मात्राका हिसाबले यो कैयौँ गुना महँगो भएको तथ्य पनि यहाँ छुटाउनु हुँदैन ।
तर, चिसो पेय पदार्थको बढ्ता मूल्त्र्न्दा पनि त्यस्ता पेय पदार्थमा हुने रासायनिक तत्वहरू बढी हानिकारक हुन्छन् । यस्ता पेय पदार्थमा हुने फ्रुक्टोस सुगरले कलेजो बिगार्नसक्छ । त्यस्तै, कार्वनडाइक्साइड ग्यासकै कारण मानिसको मिर्गौलामा ढुङ्गा बन्ने सम्भावना हुन्छ । कतिपय मानिसलाई छाती पोल्ने समस्या भएको अनुसन्धानले देखाएको छ । वैज्ञानिक अनुसन्धानअनुसार यस्ता पेय पदार्थ सेवनको कारण क्यान्सर लाग्ने खतरा पनि बढ्छ ।
कोल्ड ड्रिङ्क्सको विकल्प शुद्ध पानी नै हो, जसरी रोनाल्डोले सङ्केत गरे । फलफूलको रस पिउनु पनि राम्रो मानिन्छ । मही, कागती पानी आदिले शरीरको तरल पदार्थको सन्तुलन मिलाउन सहयोग गर्नसक्छ । तर, कोल्ड ड्रिङ्क्सको प्रयोग बन्द हुनुपर्छ । यसको प्रयोगलाई निरुत्साहित गर्न भ्रमपूर्ण विज्ञापन बन्द गर्नु जरुरी छ । राजस्व ठूलो कि जनताको जिउधन ? मलाई अन्त्यमा सोध्न मनलागेको कुरा यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *