भर्खरै :

पुँजीवाद नै जलवायु सङ्कटको कारक !

“मानिसहरू मर्दै छन्, सम्पूर्ण पारिस्थितिक प्रणालीहरू खतरामा छन् । हामी सबै एक ठूलो विनाशको सुरुआती अवस्थामा छौँ । तपाईँहरू केवल पैसा र काल्पनिक आर्थिक विकासको बारेमा कुरा गर्नुहुन्छ । तपाईँहरूको हिम्मत कसरी भयो ? करिब ३० वर्षदेखि विज्ञानले स्पष्टसँग चेतावनी दिइरहेको छ । तरपनि यो सभामा आएर हामीहरू धेरै काम गरिरहेका छौँ भन्न तपाईँहरूले कसरी हिम्मत गर्नुभयो ?”
उद्धृत भनाइ सन् २०१९ को डिसेम्बरको पहिलो साता स्पेनको म्याड्रिडमा भएको विश्व जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कन्फरेन्स अफ पार्टिज (कोप–२५) मा १७ वर्षकी किशोरी वातावरण अभियन्ता ग्रेटा ट्युनवर्गले व्यक्त गरेको मन्तव्यको एक अंश हो ।
कोप–२६ भर्खर (नोभेम्बर १२ मा) सकिएको छ । कोभिड–१९ महामारीको कारण सन् २०२० मा कोप–२६ हुन सकेन र यसवर्ष स्कटल्यान्डको ग्लास्गोमा भएको उक्त २६ औँ सम्मेलनमा विश्वका करिब २०० देशले भाग लिए ।
संयोग भनौँ सम्मेलन सकिएको दोस्रो दिन (१४ नोभोम्बर) नेपालको मुस्ताङमा भयङ्कर हिम पहिरो गयो । सम्मेलनको उद्घाटन कार्यक्रममा मुस्ताङको जोमसोमलगायत स्थानमा जलवायु परिवर्तनका कारण निम्तिएको बाढी, पहिरो र पानीको सङ्कटले बस्ती नै अन्यत्र सार्नुपरेको मार्मिक कथा सुनाइएको थियो । तापक्रम वृद्धि गराउन भूमिका खेल्ने हरित गृह ग्यास जति उत्सर्जन हुन्छ, त्यति नै मात्रा सोसेर खुद शून्यमा झार्ने प्रतिबद्धता ‘नेट जिरो’ को निम्ति दबाबले तीव्रता पाएपनि त्यसमा विश्वका नेताहरू एकमत हुन सकेका छैनन् । ‘नेट जेरो’ को निम्ति विकसित पुँजीवादी देशहरूले अल्पविकसित तथा गरिब देशहरूलाई प्रविधि हस्तान्तरण गर्नुपर्ने माग पनि उठ्यो सम्मेलनमा । गरिब देशमा वैकल्पिक ऊर्जा उत्पादनको निम्ति उचित साधनस्रोतको बन्दोवस्तको निम्ति विकसित पश्चिमा देशहरूले सहयोग गर्नुपर्ने तर्क पनि उत्तिकै सान्दर्भिक छ । विश्व साझा हो, पृथ्वीको वायुमण्डलमा सबैको उत्तिकै हक लाग्छ । तर, विकसित देशहरूले सयौँ वर्षदेखि संसारको प्राकृतिक स्रोतसाधनको दोहन गरे, वायुमण्डल दूषित बनाए । त्यसरी नै आर्जन गरेको अकूत सम्पति नै तिनको समृद्धिको आधार भइरहेको छ । आज, गरिब देशले थोरै प्रगति गर्न खोज्दा उत्सर्जन बढी भयो भन्ने तर्क पनि गरियो सम्मेलनमा । त्यसैले विपरीत देशहरूले आफ्ना मुख थुन्ने काम भएको गुनासो पनि गरे ।
कोलम्बस र युरोपेली लूट !
सन् १४८४ मा क्रिस्टोफर कोलम्बस पूर्वी एसियाको व्यापारिक मार्ग पत्ता लगाउन आर्थिक सहयोगको प्रस्ताव लिएर पोर्चुगलका राजासमक्ष गए । यात्रा खतरनाक र महङ्गो थियो । जहाज, आवश्यक सामग्री र जहाजी कर्मचारीको पारिश्रमिकको व्यवस्था गर्नुपथ्र्यो । लगानी फिर्ता आउने कुरा निश्चित थिएन । तसर्थ, पोर्चुगलका राजाले प्रस्तावलाई अस्वीकार गरे । तर, उनी इटाली, फ्रान्स, बेलायत हुँदै पुनः पोर्चुगलका शासकसमक्ष पुगे । हरेकपटक उनको प्रस्ताव अस्वीकृत भयो । उनले स्पेनसँग आफ्नो ‘भाग्य’ परीक्षण गर्ने प्रयास गरे । नभन्दै रानी इसाबेल्ला कोलम्बसको महत्वाकाङ्क्षी योजनामा लगानी गर्न राजी भइन् । परिणामतः कोलम्बसले अमेरिका पत्ता लगाए ।
अमेरिका पत्ता लागेपछि उत्तर र दक्षिण अमेरिकामाथि आधिपत्य जमाउन स्पेनलाई बाटो खुल्यो । स्पेनले अमेरिकामा सुन र चाँदीको खानी उत्खनन गर्न थाल्यो, उखु र सुर्तीको खेती थाल्यो । यसरी अमेरिकी प्राकृतिक स्रोतसाधनमाथिको युरोपेली अनियन्त्रित दोहनको सुरुआत भयो । जङ्गल फाँड्दै बस्ती बसाल्न थालियो । स्पेनियाली राजा, बैङ्कर, व्यापारीहरूले कल्पनातीत धन आर्जन गरे । विद्वान लेखक युवल नोहा होरारीले आफ्नो चर्चित पुस्तक ‘सेपिअन्स’ मा भनेझैँ अमेरिकाको आविष्कारबाट उपनिवेशको विकास भयो, उपनिवेशबाट नाफा लियो । विश्वभर साम्राज्य फैलाउँदै १६ औँ शताब्दीमा स्पेन युरोपकै सबभन्दा बलियो राज्य बन्यो ।
विज्ञानले प्रविधिको आविष्कार ग¥यो, परम्परागत एवम् कुटिर उद्योगको ठाउँमा विशाल उद्योगहरू चल्न थाले । १८ औँ शताब्दीमा बेलायतमा औद्योगिक क्रान्ति भयो भने १९ औँ शताब्दीमा अमेरिकामा अर्को औद्योगिक क्रान्ति भयो । प्राकृतिक स्रोतसाधनमाथिको अत्यधिक दोहनले तीव्रता पायो । कच्चा पदार्थ र बजारको निम्ति विभिन्न देशमाथि आक्रमण तथा नियन्त्रण गर्न थालियो, त्यसबाट साम्राज्यवाद सुदृढ हुनगयो ।
उपनिवेशवादमा केही मौलिक पक्षहरूको स्वतन्त्रता हुन्छ तर साम्राज्यवादमा राज्य पूर्णरूपमा विलयको अवस्थामा हुन्छ । लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम रूप भन्नुभएको छ । पहिलो र दोस्रो विश्वयुद्ध साम्राज्यवादी सत्ता स्वार्थको परिणाम थियो । युद्धको नाममा आणविक हतियारको होडबाजी भयो । यसै सिलसिलामा पृथ्वीलाई कैयौँपटक ध्वस्त गर्न सकिने आणविक हतियार बनाइए । एउटै बमको प्रहारबाट करोडौँ जीवजन्तुलगायत लाखौँ मानिस मारिए । हिरोसिमा र नागासाकीजस्ता ठूला सहरसमेत मात्र एक–एक वटा बमबाट पूर्णतः ध्वस्त भए । भियतनाम, कोरिया युद्धले असीमित जङ्गल तथा मानवबस्ती खरानी बनाइए । प्राकृतिक तेलको निम्ति भएका इराक, इरान, सिरिया, लिबिया, अफगानिस्तान युद्ध सबै साम्राज्यवादकै परिणाम हुन् । शक्तिशाली राज्यले कमजोरमाथि बलपूर्वक प्रभुत्व जमाउने साम्राज्यवादी युद्ध नै सम्पूर्ण मानव जगतको सबभन्दा खतरा हो ।
लेनिनले साम्राज्यवादलाई एकाधिकार पुँजीवादसमेत भन्नुभएको छ । पुँजीको अति केन्द्रीकरण, पुँजीको निर्यात र पुँजीवादी देशहरूबीच एकताको निम्ति भूमण्डलीकरण, उदारीकरण र निजीकरणजस्ता नीति लिइयो । प्रत्यक्ष हस्तक्षेप, युद्धको धम्की, नाकाबन्दीदेखि आक्रमणसम्मका घटना दोहोरिरहेका छन् ।
पुँजीवादको अर्को नयाँ रूप नवउपनिवेशवादमा कुनै देशको सबैभन्दा विश्वासिलो, लोकप्रिय र ठूलो दलमार्फत आफ्नो स्वार्थ पूरा गरिन्छ । प्रत्यक्षरूपमा राजनीतिक, आर्थिक तथा सैन्य नियन्त्रण नगरी घुमाउरो तरिकाले आर्थिक, धार्मिक तथा सांस्कृतिक हस्तक्षेप कायम गरी प्राकृतिक स्रोतको दोहन गर्नुका साथै त्यस देशको बजार कब्जा गर्ने रणनीति पुँजीवादी देशहरूले अपनाइरहेका छन् । उत्पादन वृद्धि र नाफाको नाममा अनियन्त्रितरूपमा प्राकृतिक स्रोतको लूटमारको कारक पुँजीवाद नै हो ।
विश्वको तापक्रम वृद्धि
वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् । तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को बीचमा विश्वको तापक्रम १ डिग्री सेल्सियस बढिसकेको छ । अहिलेकै गतिमा तापक्रम वृद्धि हुने हो भने यो शताब्दीको अन्त्यसम्ममा ३ देखि ५ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने वैज्ञानिकहरूले आकलन गरेका छन् । त्यसरी तापक्रम बढेमा यसले हिमालको हिउँ पग्लिएर समुद्री सतह बढ्नेछ, कतिपय देश र सहर समुद्रमा डुब्नेछन्, बा¥है मास बग्ने नदीको मुहान बिस्तारै सुक्दै जाने छ, लाखौँ मानिस विस्थापित हुनेछन्, कतै खडेरी त कतै अति वर्षा हुनेछ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसको भनाइ यस्तो छ – “पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि खनिज इन्धनको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ । यदि यसो गरिएन भने हामी एउटा प्रलयकारी अवस्थाबाट अन्त्य हुनेछौँ । हाम्रो (मानव जगतको) अस्तित्व नरहन सक्छ ।”
औद्योगिक क्रान्तिदेखि पृथ्वीको वायुमण्डलमा थुप्रिएको अत्यधिक कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साड, क्लोरोफ्लोरो कार्बनलगायत अनेक हानिकारक ग्यासले गर्दा वायुमण्डल जीवको निम्ति प्रतिकूल बनेको हो । पृथ्वीका जीवको सुरक्षा कवचको रूपमा रहेको ओजन तहमा पनि वायु प्रदूषणकै कारण प्वाल पर्दै छ र यसैबाट पृथ्वीको सतहसम्म पुग्ने अल्ट्राभायोलेट विकिरणको कारण जीव जगतको अस्तित्व समाप्त हुने स्थिति छ । ओजन तहमा भएको क्षतिको कारण सन् २०३० सम्ममा २६ प्रतिशत बालीमा क्षति पुग्ने प्रक्षेपण पनि सार्वजनिक भएको छ ।
सन् २०१५ को नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा एउटा महत्वपूर्ण सम्झौता भयो । पेरिस सम्झौताको नाममा चर्चित उक्त सम्झौतापछि पनि अन्तर्राष्ट्रिय बैङ्कहरूले फोसिल फ्युल (पेट्रोलियम पदार्थ) को निम्तिमात्र १.९ खर्ब डलर खर्च गरे । विश्वका १०० वटा कम्पनीहरूले ७१ प्रतिशत प्रदूषण फाल्छन् । कुल प्रदूषणको ८० प्रतिशत जी–२० देशहरूले फैलाउँछन् । १० प्रतिशत धनी देशले ५० प्रतिशत कार्बनडाइअक्साड ग्यास फाल्छन् ।
बाधक अमेरिका
संरा अमेरिकाले वातावरण प्रदूषण घटाउने वा कार्बन उत्सर्जन घटाउने कुनै पनि अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताअनुसार काम गर्न चाहिरहेको छैन । ग्रीन हाउस ग्यास (कार्बन डाइअक्साइड) उत्सर्जन घटाउनेसम्बन्धी सन् १९९७ को क्योटो अभिसन्धिमा संरा अमेरिकाले हस्ताक्षर गरेर पनि अनुमोदन गरेन । २०१७ मा अमेरिकी ट्रम्प प्रशासनले ‘पेरिस सम्झौता’ बाट हात झिक्ने निर्णय ग¥यो । विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व औद्योगिकीकरणको समयको तुलनामा २ डिग्रीभन्दा तल राख्ने र अझ सम्भव भएसम्म १.५ डिग्रीभन्दा तल राख्न प्रयत्न गर्ने सहमतिमा १ सय ९७ देशले सहमति जनाएपनि १ सय ५१ राष्ट्रले मात्र सम्झौता अनुमोदन गरेका छन् । अमेरिकाका ठूला कम्पनीको बोलीमा लोली मिलाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तन एउटा अफवाह मात्रै हो भनेरै निर्वाचन जितेका थिए । आफू राष्ट्रपति निर्वाचित भएमा पेरिस सम्झौताबाट बाहिरिने कुरा पनि बताएका थिए । जलवायु परिवर्तनलाई ‘होक्स’ भन्ने ट्रम्पकालीन नीति र क्रियाकलापमा परिवर्तन गर्दै जलवायु परिवर्तनलाई ‘हाम्रो समयको अनुभवजन्य खतरा’ को रूपमा लिएका हालका अमेरिकी राष्ट्रपति बाइडेन कति साँचो वा झूटो हुने हो आगामी दिनमा अझ स्पष्ट होला ।
विश्वमा ७१ प्रतिशत प्रदूषण फैलाउने १०० खराब कम्पनीमध्ये पाँचौँ स्थानमा पर्ने एक अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘एक्सोन’ को ढाँटबारे एउटा उदाहरण राख्नु सान्दर्भिक होला । तेल तथा ग्यास उत्पादन गर्ने एक्सोनले गरेको एक अध्ययनबाट जलवायु परिवर्तन हुने कुरा ५० वर्षअगाडि नै पत्ता लागेको तर त्यसलाई लुकाइएको ‘लसएन्जेल्स टाइम्स’ पत्रिकाले प्रकाशित ग¥यो । एक्सोनले अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नु त कता हो कता उल्टो जलवायु परिवर्तन हुँदैन भनी ‘प्रपोग्रन्डा’ गर्न करोडौँ डलर खर्च ग¥यो । त्यस कम्पनीले जलवायु परिवर्तन हुँदैन भनी दाबी गर्ने राजनीतिज्ञहरूलाई आर्थिक सहयोग गर्ने काम ग¥यो । ट्रम्प तिनै नेतामध्ये एक हुन् ।
मन्थ्ली रिभ्युमा प्रकाशित ‘पुँजीवादले हाम्रो हत्या गर्दै छ, हामीले नै यसलाई समाप्त पार्नु पर्छ’ शीर्षकको एक लेखमा लेखक ड्यानियल टाइलरले लेखेको भनाइ यहाँ राख्नु उपयुक्त होला – “विश्व पुँजीवादको नेतृत्व गर्ने शक्ति संरा अमेरिकाले महामारी नियन्त्रण गर्ने आफ्नै संस्थालाई ध्वस्त ग¥यो । तर, चीन र रसियाविरुद्ध लड्न अर्को २५ वर्षको निम्ति आणविक हतियारका हरेक पक्षको आधुनिकीकरण एवम् सुधार गर्न १७ खर्ब अमेरिकी डलर लगानी गरेको छ ।”
व्यवस्था परिवर्तन !
अमेरिकी विद्वान नोम चोम्स्कीले २०२० जुलाई २० मा दिनुभएको एक अन्तर्वार्तामा मानव समाजले आणविक युद्ध र पृथ्वीको तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) जस्ता दुइटा खतराको सामना गरिरहेको धारणा राख्नुभएको यहाँ सान्दर्भिक छ ।
क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको शब्दमा “पचास वर्ष अगाडिसम्म मानव जातिको विनाश गर्नसक्ने एउटै कारण असङ्ख्य आणविक हतियारमात्रै रहेको सोचिन्थ्यो ।” त्यस्तो आणविक युद्धको खतरा यथावत छ । एउटा अतिरिक्त खतरा छ, त्यो हो वातावरण विनाश । क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोले भन्नुभएको छ, “दोस्रो विश्वयुद्ध अन्त्यपछि भएको प्राकृतिक सम्पदाको विनाशप्रति कसैले पनि सोचेको थिएन । हजारौँ पुस्तामध्येका कसैले पनि यस्तो भयानक खतरा थाहा पाएका थिएनन् ।” भारतका वातावरण अभियन्ता बन्दना शिवले जङ्गलको पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) समाप्त पारी जीवको बासस्थान ध्वस्त पारिएकैले सङ्क्रामक रोग देखापरेको तर्क गर्छिन् ।
‘मन्थ्ली रिभ्यु’ पत्रिकामा लेखक जोन मोलिनेअक्सले पुँजीवादमा केही सुधार ल्याएर जलवायु परिवर्तनलाई रोक्न नसकिने तर्क गर्छन् । उनको भनाइ छ – “पुँजीवादले प्रकृतिकै दोहन गरी पुँजी थुपार्छ । तेल, ग्यास, कोइलाजस्ता ‘फोसिल फ्युल’ को प्रयोग गरेरै पुँजीवाद अगाडि बढेको हो । यस्ता वायु प्रदूषक ऊर्जास्रोतमाथिको निर्भरता उसले रोक्नै सक्दैन ।”
डा. मेरी डेसन पुँजीवादले पर्यावरण ध्वस्त पारेको भन्छिन् । उनको भनाइ छ, “पुँजीवादको अन्तिम सास रहुन्जेल यसलाई कायम नै राख्ने हो भने हाम्रो पृथ्वी मानिस बस्नलायक रहने छैन भन्ने वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ ।” साहित्यकार बाल्जाकले “प्रत्येक विशाल सम्पत्तिको पछाडि कुनै न कुनै अपराध लुकेको हुन्छ” भनेझैँ पुँजीवादले विगत चार–पाँच सय वर्षमा प्रकृतिको अत्यधिक दोहन गरिसकेको छ र डेसनको शब्दमा पुँजीवादले पृथ्वीलाई मानिस बाँच्न योग्य नरहने अवस्थातिर पु¥याएको छ ।
विश्वलाई जलवायु परिवर्तनको सङ्कटमा पु¥याउने नाफा, प्रतिस्पर्धा, असमानता र झूटको खेती गर्ने पुँजीवादविरुद्ध नै वातावरणवादीहरूको मुद्दा केन्द्रित हुनुपर्छ । जलवायु परिवर्तन रोक्न व्यवस्था परिवर्तनको आन्दोलन अगाडि बढाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *