भर्खरै :

सहकारी संस्था र त्यसको कर्तव्य

सहकारी संस्था गाउँका गरिब किसानहरूलाई जमिनदार, ऋणदाता र साहु–महाजनहरूले चर्को ब्याज, चक्रवर्ती ब्याज एवम् बिनाज्यालाको काम लिने विभिन्न किसिमका शोषणहरूबाट मुक्ति दिलाउन किसान आन्दोलनको सिलसिलामा स्थापित संस्था हो । संसारका सबै किसान आन्दोलनहरूबाट प्राप्त उपलब्धिमध्ये यो एक उदाहरण हो ।
सहकारी संस्था जोताहा र गरिब किसानलाई आवश्यक पर्दा बीउ, मल, कृषि औजार, कृषि उत्पादन वृद्धिको निम्ति खाँचो पर्ने अन्य सामान, ज्याला र खाजा खर्चसमेतको बन्दोबस्तको लागि ऋण प्राप्त गर्ने आफ्नै संस्था हो ।
सुरुमा किसानहरूले आफ्नो गच्छेअनुसार माना, पाथी र मुरीको बचत जम्मा गरेकै कोष हुनेगथ्र्यो । सहकारीको विकासले ऋणको बन्दोबस्त, सस्तो र असल सामान वितरण गर्ने सहकारी पसल, कपाल काट्ने, गाउँमा साधारण स्वास्थ्य उपचार गर्न स्वास्थ्य केन्द्र, आमाहरूलाई श्रम शक्तिमा रूपान्तरण गर्न शिशुशाला, बालोद्यान र प्राथमिक विद्यालयहरूको बन्दोबस्त, महिला किसानहरूलाई चुला–चौकोबाट मुक्त गर्न सामूहिक भान्सा–घर, लुगा धुने र सिउने पसल एवम् स्नानगृहको बन्दोबस्तसमेत सहकारी कोषबाटै गरिन्थ्यो ।
दुई वा तीन बाली हुने खेतीको कामपछि किसानहरूलाई कुटीर र साना उद्योगलगायत अन्य सहायक कृषि कार्यहरूमा लगाउनु, श्रम शक्तिलाई उपयोग गर्नु र किसानहरूको रोजगारको थप बन्दोबस्त एवम् जीवनस्तर उठाउने काम गर्नु अत्यन्त महत्वपूर्ण पाइला साबित हुँदै छ ।
मानिस दुई छाक खाना, चिया र खाजाको लागि तथा सामान्य जीवन जिउने प्राणीमात्र नभई शिक्षा, साहित्य, संस्कृति एवम् उच्च शिक्षा र ज्ञानको तृष्णा मेटाउन चाहने चिन्तनशील प्राणी पनि हो । त्यसको निम्ति पायक पर्ने ठाउँमा माध्यमिक विद्यालय, महाविद्यालय, सांस्कृतिक संस्थाको स्थापना, नाटक घर एवम् सिनेमा घर, पुस्तकालय र प्राज्ञिक संस्थाहरूसमेत समयअनुसार स्थापना गर्नुपर्ने हुन्छ ।
गाउँ, बस्ती र सहरका बाटाघाटा, सामूहिक एवम् व्यक्तिगत आवास क्षेत्र, स्नान गृह, स–साना खेलकुद तथा व्यायामशाला र सभा भवनहरूसमेत सहकारीको आर्थिक स्तरमा आएको वृद्धिअनुसार निर्माणका योजनाहरू बनाउँदै जानु समयोचित पाइला साबित हुनेछ ।
महिला र युवाहरूको कामको निम्ति बजारमा मात्र पाइने सामान उत्पादन गर्ने तालिम र स–साना घरेलुदेखि समय र उपलब्धताअनुसार यान्त्रिक वा मेसिनबाट उत्पादन हुने कारखानाको स्थापनाले सहकारीका किसानहरूको जीवनस्तर उठ्नेछ । योग्य र मेहनती छात्र–छात्राहरूलाई छात्रवृत्ति दिएर इन्जिनियरिङ्ग, चिकित्साशास्त्रलगायतका विषयमा उच्च शिक्षा अध्ययन गर्न पठाइयो भने पछि आफ्नो सहकारीको निर्माण कार्य र अस्पतालमा समेत आफ्नै दक्ष र योग्य युवाहरूबाट सेवा लिन सकिनेछ ।
सफलताले स–साना सहकारीहरू आपसमा मिलेर ठूल्ठूला सहकारी बन्नेछन् । तरकारी खेती, मत्स्यपालन, हाँस र कुखुरापालन, पशुपालन, फलफुल उत्पादन गरी सहरमा पठाउने बन्दोबस्त गर्न सके उत्पादन कार्यमा विविधता प्राप्त हुँदै जानेछ ।
हाम्रा ज्येष्ठ नागरिकहरूलाई राम्रो हेरविचार गर्न परिवारका सदस्यहरूलाई श्रमशक्तिबाट वञ्चित गर्न नपर्ने गरी सहकारीहरूले नै ‘आदर निकेतन’ को समेत बन्दोबस्त गर्नु जरुरी छ ।
‘लगनशीलता’ नभई सहकारी फस्टाउन सक्दैन र ‘पारदर्शिता’ नभए सहकारीका माथिल्ला पदाधिकारीहरूले गरिबका बचत कोष धनीलाई ऋण दिँदै पुँजी प्रयोग गरी ठूलो व्यापारी र पुँजीपति बन्नेछन् । त्यसले समाजमा झन् आर्थिक असमानता बढ्नेछ । सहकारी संस्थाका सदस्यहरूलाई शिक्षित गर्न सकेनौँ भने भक्तपुर कार्यक्षेत्र बनाएको ‘ओरेन्टल’ जस्ता केही सहकारी संस्थाका सञ्चालकहरू सुधिर बस्नेत र सिभिल सहकारीका इच्छाराज तामाङले जस्तै जनताको अर्बौँ रकम ठगेर ठूल्ठूला आवास (अपार्टमेन्ट)हरू बनाउनेछन् र सबै रकम कुम्ल्याएर विदेश भाग्नेछन् ।
समयअनुसार सहकारी संस्थाका किसान परिवारका नयाँ पुस्तालाई पनि कम्प्युटर, अनलाइन र उच्चस्तरको मोबाइल, टीभी, रेडियो, लुगा धुने मेसिन, कोठाको धुलो सफा गर्ने मेसिन, पानी तान्ने पम्पलगायतका आधुनिक सामानहरू मर्मत गर्न र चलाउन सिपालु बनाउन आवश्यक छ । उनीहरूलाई नयाँ युगको योग्य नागरिकको रूपमा शिक्षित गर्नु समीचीन हुन्छ ।
कृषि सहकारीहरूले आफ्नो भौगोलिक सीमा नाघेमा ती सहकारी संस्थाहरू व्यापारी र ‘फाइनान्स’ कम्पनीको रूपमा फेरिनेछन् । साथै, सहकारीलाई जिल्ला, प्रदेश र केन्द्रको रूपमा सङ्गठित गरेमा तल्ला सहकारीहरू बैङ्कका तल्ला शाखाको रूपमा परिणत हुनेछन् भने केन्द्रीय सहकारी संस्था आफै ठूलो बैङ्क भई त्यसका पदाधिकारी वा बैङ्करहरू बैङ्कका मालिकजस्तै पुँजीपतिमा फेरिनेछन् । यसरी ‘गाई मारी बाघ पोसे’ जस्तै गरिब किसान जनताको बचत पुँजीपति, सामन्त, जमिनदार र व्यापारीहरूकै पोल्टामा पर्नेछ । यसकारण, जिल्ला, प्रदेश र केन्द्रीय सहकारी संस्था घुमाइ–फिराइ किसानको सहकारी संस्था नभई शोषक वर्गको खेलमैदान हुनेछ र गरिब किसानहरूको बचत शोषक वर्गको खाना र दानापानी हुनेछ ।
कृषि बचत र सहकारी संस्थाहरूको नारा र उद्देश्य लगनशील, पारदर्शिताबाहेक किसानहरूको आर्थिक जीवनस्तर उठाउँदै, शिक्षित र सुसंस्कृत बनाउँदै २१ औँ शताब्दीको योग्य नागरिक बनाउने हुनु आवश्यक छ ।
नत्र, हामीलाई युगले पछाडि छोड्नेछ, हाम्रा केही साथीहरू हामीलाई छोडेर हाम्रै पैसा लिएर अमेरिका र बेलायत उड्नेछन् । होसियार होऔँ !
स्रोत : भक्तपुर साकोसको रजत जयन्तीको अवसरमा प्रकाशित स्मारिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *