भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – ६

गाउँको घर
पेरिसभन्दा पूर्वमा शौमोँ नामको सहर छ । सन् १९३४ तिर दे गाल र उनकी पत्नीले सोही सहरनिर पर्ने गाउँ कोलोम्बे–ले–देक्ज–इग्लिजमा एउटा घर किने । त्यस घरलाई ब्वसेरी पनि भनिन्छ । बुबाको निधन र रोगी छोरी आनका कारण दे गाल दुःखी थिए । गाउँको घरले उनलाई पढ्न, चिन्तन गर्न र लेख्न शान्त वातावरण दियो । सैन्य नेतृत्वबीच उनका विचारहरू विवादमा परिरहे । युद्ध नजिकिँदै जाँदा पनि हतियारबन्द सैन्य कोर बनाउने सुरसार देखिएन ।
बेलायत र फ्रान्स सरकारले जर्मनी र इटालीलाई खुसी बनाउन सन् १९३८ मा म्युनिख सम्झौता गरे । फ्रान्सले १९२४ को सन्धिमा चेकोस्लोभाकियालाई केही परे मद्दत गर्ने वाचा गरेको थियो । तर, फ्रान्सका शासकहरूले फासीवाद र नाजीवादलाई रिझाउने नीति लिए । उनीहरूले चेकोस्लोभाकियाको भूमि सुडेटेनल्यान्ड कब्जा गर्न हिटलरलाई छुट दिए । दे गाल म्युनिख सम्झौताबाट चिढिए ।
यसबीच सन् १९३७ मा कर्णेल पदमा दे गालको बढुवा भयो । उनलाई फ्रान्सको पूर्वोत्तरमा पर्ने मेन्ज सहरमा एउटा ट्याङ्क रेजिमेन्टको कमान्डर बनाइयो । उनले त्यहाँ आफ्नो रेजिमेन्टलाई राम्रो तालिम दिए । उनी त्यसलाई युद्ध अभ्यास गराउन चाहन्थे । तर, जनरल गिरौदले उनलाई त्यो अनुमति दिएनन् ।
दोस्रो विश्वयुद्ध
सन् १९३९ को सेप्टेम्बरमा जर्मनीले पोल्यान्डमाथि आक्रमण गरेसँगै विश्वयुद्ध सुरु भयो । दुई हप्तामा पोल्यान्ड धुलोपिठो भयो । त्यसबेला फ्रान्सेली सीमामा जर्मनीको सेना पातलो गरी बसेको थियो । फ्रान्सले चाहेको भए त्यतिबेलै उसले हिटलरको ढाड भाँच्न सक्थ्यो । तर, उसले त मेजिनो रेखा बनाएर आफूलाई कछुवाझैँ लुकाउन चाहेको थियो । युद्ध फैलिँदै जाँदा कछुवाको खबटो अन्डाको खोलझैँ कमजोर साबित भयो ।

इडवार्ड दालदियर


विश्वयुद्धको मुखैमा दे गाललाई अलसाकस्थित ५ औँ सेनाको कमान्डर बनाइयो । फ्रान्सेली सेना चहलपहल नगरी बसिरह्यो । उसलाई आधुनिक युद्धको तालिम दिइएको थिएन । सैन्य नेतृत्व अझै पनि मेजिनो रेखाको बखान गर्दै थियो । यही बीचको निष्क्रिय अवधिलाई ‘फोनी वार’ (नक्कली युद्ध) भनिन्छ । बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्धको घोषणा गरिसकेको भए पनि त्यो लडाइँ केही वर्षसम्म मुखैले मात्र भइरह्यो । अर्थात्, जर्मनीले जेसुकै गरे पनि उनीहरूले टुलुटुलु रमिता हेरिरहे ।
सन् १९४० को जनवरीमा दे गाल पेरिस पुगे । उनी परराष्ट्रमन्त्री पाउल रेनौदको भोजमा गए । भोजमा उनले ल्योन ब्लुमलाई ‘आघौँ वसन्तमा जर्मनीले पेरिस वा मस्कोमध्ये एउटामा आक्रमण गर्ने’ बताए । उनको कुरालाई गम्भीर ठानिएन । सन् १९३९ को नोभेम्बरमा दे गालले सैन्य मुख्यालयलाई पोल्यान्डको पराजयका कारणहरू केलाउँदै एउटा पत्र लेखे । त्यसलाई बेवास्ता गरियो । त्यस्तै, सन् १९४० को जनवरी २१ मा दे गालले ८० मुख्य सैन्य र राजनीतिक नेताहरूलाई फ्रान्स अति नै असुरक्षित अवस्थामा रहेको बताउँदै पत्र लेखे । उनले यत्रतत्र छरिएका फ्रान्सेली ट्याङ्कहरूलाई एकै ठाउँ ल्याई एउटा शक्तिशाली सैन्य कोर बनाउनुपर्ने बताए । आधुनिक युद्ध प्रविधिअनुसार कुनै पनि बेला फ्रान्समाथि तीव्र आक्रमण हुनसक्ने उनले औँल्याए । उनी जर्मनीको आसन्न आक्रमण देखिरहेका थिए । अगामी युद्धले संसारका जनता र राज्यहरूको स्थिति नै फेरिने उनको अनुमान थियो । दे गालको विचारलाई पुनः लत्याइयो । खासमा त्यतिबेला फ्रान्सेली सरकार र सेनाले जर्मनीको खतरालाई ‘अवास्तविक’ ठानिरहेका थिए । उनीहरू जर्मनीले कहिले पेरिसमाथि आक्रमण गर्ला भनी पर्खेझैँ गरिरहेका थिए । उनीहरूले प्राविधिकरूपमा फ्रान्स जर्मनीसँग युद्धरत छ भन्ने कुरा बिर्सिरहेका थिए । अन्ततः उनीहरूले सन् १९२५ मा बनेका थोत्रा ट्याङ्कहरू जम्मा गरेर एउटा ट्याङ्क डिभिजन बनाए । त्यसमा १२० वटा ट्याङ्क थियो । दे गालको विचारमा यस्ता ट्याङ्कको सङ्ख्या कम्तीमा ५०० वटा हुनुपर्ने थियो । फ्रान्सेली शासक नेताहरू र कमान्डरहरूले पश्चिमी देशमा हिटलरले सोभियत सङ्घमाथि कसरी र कहिले हमला गराउने भन्ने आशय दे गाललाई बताउने कुरै थिएन ।
फिनल्यान्ड
यसबीच सोभियत सङ्घ र फिनल्यान्डको युद्ध भयो । फ्रान्सेली सत्ताका केही व्यक्तिहरू हिटलरलाई भन्दा पनि स्तालिनलाई शत्रु देख्थे । फिनल्यान्डलाई सघाउन फ्रान्सले १७५ विमान, ५०० बन्दुक, ५००० मेसिनगन र अन्य हतियार एवम् उपकरणहरू पठायो । खासमा फ्रान्सलाई नै हतियारको खाँचो थियो । दालादियरले फिनल्यान्डलाई सघाउन एउटा चिसो भेगमा खट्न सक्ने विशेष सैन्य ब्रिगेड बनाउने आदेश दिए । फ्रान्सले सोभियत सङ्घको बाकु क्षेत्रको तेल खानी ध्वस्त गर्ने योजना बनायो । ककेसिया हुँदै आक्रमण गर्न फ्रान्सले जनरल वेगाँलाई मध्यपूर्व पठायो । सोभियत सङ्घ र फिनल्यान्डबीचको लडाइँ टुङ्गिएपछि यो तामझाम सन् १९४० मार्चमा ठप्प भयो । दालादियरको सरकारले यो तामझाममा भएभरको शक्ति लगाएको थियो । आफ्नो सरकार असफल भएपछि सन् १९४० मार्चमा दालादियरले राजीनामा दिए । उनीपछि ‘फ्रान्सेली चर्चिल’ भनी चिनिने दे गालका साथी पाउल रेनौद सत्तामा आए । नयाँ सरकारमा दालादियर युद्धमन्त्री बने ।

जनरल वेगाँ


सत्ता परिवर्तनमा हुने लुछाचुँडी घिनलाग्दा दाउपेच दे गालले प्रत्यक्ष देखे । रेनौदको सरकारमा पुराना रुढीवादी र दक्षिणपन्थी नेताहरूलाई पनि स्थान दिइएको थियो । कतिपय मन्त्रीहरू हिटलरका प्रशंसक थिए । अर्थात्, हिटलरविरुद्ध लडिरहेको फ्रान्सेली सरकारभित्र शत्रु पक्षकै मन्त्रीहरू संलग्न थिए ¤ यो देखेर संसदीय राजनीतिप्रतिको दे गालको उच्याट बढ्यो । दे गालले सङ्घर्षको निम्ति मुद्दा दिएर रेनौदलाई गुण लगाएका थिए । त्यसैले रेनौदले दे गाललाई युद्ध समितिको सचिव बन्न प्रस्ताव गरे । तर, युद्धमन्त्री दालादियरले दे गाल आउने भए आफूले मन्त्रालय छोड्ने धम्की दिए । कमान्डर इन चीफ गामेलीँले दे गाललाई चौथो डिभिजन सेनाको कमान्डर नियुक्त गरे । तर, यो डिभिजन अस्तित्वमै थिएन ।
जर्मन आक्रमण
मे महिनामा गामेलीँले बेलायती टुकडीसँगै फ्रान्सेली सेनालाई बेल्जियम पठाए । मे १० मा जर्मनीले आर्डेनका पहाडहरू छिचोल्दै फ्रान्समाथि तीव्र आक्रमण ग¥यो । फ्रान्सले जुन काम गरोस् भन्ने दे गालको विचार थियो, त्यो काम जर्मनीले गरेको थियो । फ्रान्सेली खोलाहरू नाघ्दै दक्षिण मोडियो । आफ्ना ६० हजार सैनिक गुमाउँदै जर्मन सेनाले लाखौँ फ्रान्सेली सैनिकलाई घेराबन्दीमा पा¥यो । बेलायती सैन्य टोली भाग्न विवश भयो । एक हप्ताभित्रै जर्मनीले फ्रान्सलाई हरायो । फ्रान्सेली जनजीवन भताभुङ्ग भयो । शरणार्थीहरू सडक र सहरहरूमा बाढीझैँ पस्न थाले ।
दे गाल चौथो डिभिजनको नेतृत्व गर्दै रेइमबाट उत्तरमा पर्ने लाओन क्षेत्रतिर गए । मे १६ मा उनले जर्मनमाथि धावा बोल्ने निधो गरे । उनले थप तीनवटा ट्याङ्क बटालियन पनि पाए । दे गालको आक्रमण सफल रह्यो । यो आक्रमणमा परेको जर्मन सेना २० किलोमिटर पछाडि हट्न बाध्य भयो । आक्रमणमा फ्रान्सेली सेनासँग चाहिँदो तोप, विमान वा सञ्चारका रेडियो उपकरणहरू थिएनन् । सिरे नामक नदी तरेर जर्मन सेनालाई धपाउन दे गालले दुईचोटि प्रयास गरे । तर, त्यो सम्भव भएन । जर्मन प्यान्जर ट्याङ्कहरूको नेतृत्व जर्मन जर्नेल गुदेरियनले गरेका थिए । दे गालजस्तै गुदेरियन ट्याङ्क अपरेसनका हिमायती थिए । गुदेरियनले आफ्नो युद्ध संस्मरणमा नदीपारि दे गालको डिभिजन छ भन्ने थाहा पाएपछि आफू अन्योलग्रस्त भएको लेखेका छन् ।
जर्मन सेनाले सिरे खोला तरेर दे गालको डिभिजनमाथि आक्रमण ग¥यो । दे गालले पछि फर्किने आदेश पाए । दे गाल लाओनमा आएर बसे । जर्मन दबाबपछि उनी अझ दक्षिण सरे । दे गालको लडाइँले युद्धको स्वरूप फेर्न सकेन । तैपनि, जर्मन इतिहासकारहरूले लेखे – जनरल दे गालले लाओननिर गरेको आक्रमण जर्मनीविरुद्ध दक्षिणबाट गरिएको एक मात्र आक्रमण थियो । दक्षिण लागेका दे गाल पश्चिम आबेभिलतिर लागे । आबेभिल जर्मन सेनाको आधार इलाकाजस्तै थियो । त्यहाँ आक्रमण गरेर फ्रान्सेली डिभिजनले जर्मन सेनालाई धपायो । यो सानो विजयले युद्धको दिशा फेर्न सक्दैनथ्यो । फ्रान्सेली सैनिकहरूलाई यो कुरा थाहा थियो ।
दे गाललाई ब्रिगेडियर जनरलको पदमा बढुवा गरियो । आक्रमण जारी थियो । जर्मन सेना ५ किलोमिटर पछि हट्यो । जर्मन सेनाले आबेभिल क्षेत्रको धेरै भूभाग गुमायो । दे गालको डिभिजनले पनि ठूलो क्षति व्यहोरिसकेको थियो । तैपनि दे गालले आबेभिल क्षेत्र कब्जा गर्न मोँ कौबेरमाथि आक्रमण गरे । तीन दिनको लडाइँपछि जर्मन सेना १४ किलोमिटर पछि हट्यो । युद्ध हारिने निश्चित भइसकेको थियो । तैपनि दे गालले एक सैन्य अगुवाको चिनारी दिए । यसैबीच जनरल वेगाँ नयाँ कमान्डर इन चीफ बने । उनले दे गाललाई आबेभिलको विजयको लागि बधाई दिए । फ्रान्सेली सेनासँग त्यसबेला १ हजार २ सय आधुनिक ट्याङ्क थिए । वेगाँलाई दे गालले ती ट्याङ्कहरूलाई दुइटा आक्रामक दस्ता बनाई प्रयोग गर्नुपर्ने सुझाव दिए । वेगाँले त्यो सुझावमा दम नभएको बताए । खासमा उनी फ्रान्सेली सेना जर्मन सेनाबाट पराजित हुने निष्कर्षमा पुगिसकेका थिए । जनरल वेगाँले कहिल्यै कुनै लडाइँमा नेतृत्व गरेका थिएनन् । उनी जनतालाई हेला गर्थे किनभने उनी क्रान्तिबाट डराउँथे । उल्टो उनी फासीवादीहरूबाट प्रभावित थिए । उनी ताक परे फ्रान्सलाई धोका दिएर जनक्रान्तिविरुद्ध जर्मनीको पक्ष लिनसक्ने व्यक्ति थिए । घमासान युद्धबीच एकजना अनुभवहीन र फासीवादी वेगाँलाई नेतृत्वमा ल्याउनुले फ्रान्सेली सत्ताको मनस्थिति आकलन गर्न दे गाललाई गा¥हो भएन ।
मन्त्रिपरिषद् र चर्चिलसँगको भेट
रेनौदले जनरल पेताँलाई पनि मन्त्री बनाए । पेताँ पनि फ्रान्सेली जनता जागेर क्रान्ति गर्नुभन्दा फासीवादी हिटलरको सेनाले आफ्नो देश कब्जा गरेको स्वीकार गर्न सक्ने व्यक्ति थिए । जून ५ तारिखमा जर्मनहरूले पुनः फ्रान्समाथि आक्रमण गरे । यसपालि पनि रेनौदले मन्त्रीमण्डल हेरफेर गरे । यो मन्त्रिपरिषद् पहिलेको भन्दा पनि दक्षिणपन्थी मन्त्रीहरूले भरिएको थियो । रेनौदले दे गाललाई राष्ट्रिय सुरक्षा मन्त्रालयमा सचिव बनाए । खबर थाहा पाएर दे गाल प्रधानमन्त्री रेनौदलाई भेट्न पेरिस गए । पेरिसबाट रेनौदले उनलाई विन्स्टन चर्चिलसँग भेट्न लन्डन पठाए । जसरी पनि फ्रान्स र त्यसका उपनिवेशहरू जोगाइदिन, सैन्य सहयोग गर्न र युद्ध चालु राख्न बेलायतलाई अनुरोध गर्नु भ्रमणको उद्देश्य थियो ।

पाउल रेनौद


युद्ध अवधिमा फ्रान्समा कम्युनिस्टहरूमाथि दमन हुँदै थियो । उनीहरूलाई पञ्चमार्गी भनेर जेलमा कोचिँदै थियो । यता हिटलरलाई देश सुम्पिन तयार हुने वास्तविक पञ्चमार्गीहरू सत्ता र सरकारमा थिए । सेनामा प्रत्येक दशमध्ये एकजना कम्युनिस्ट थिए । उनीहरू देशको लागि भनेर बित्थामा ज्यान गुमाउँदै थिए । उनीहरूलाई नेतृत्वले हात उठाइसकेको आभाष थिएन । कम्युनिस्टहरूमाथिको आरोप र दमन वास्तविक दोषीहरूबाट ध्यान मोड्ने चाल मात्र थियो । सरकारको यही रवैयाले हिटलरविरोधी सङ्घर्ष फितलो हुँदै थियो । जून ५ तारिखसम्ममा जर्मनीले उत्तरी फ्रान्सको सबै भूभाग कब्जा गरिसकेको थियो । पेरिसमा जर्मन बुट बजारिँदा फ्रान्सेली कम्युनिस्ट पार्टीले प्रम रेनौदसामु देशलाई जोगाउने एउटा सुझाव पेश ग¥यो । सरकार, संसद्, सेना र प्रशासनमा रहेका फासीवादका पिछलग्गूहरूलाई कारबाही गरेमा जनताका मिलिसिया टोलीहरू बनाउन सकिने र प्रतिरोध सङ्घर्ष गर्नुपर्ने सुझावमा उल्लेख थियो । खासमा नाजीविरोधी सङ्घर्षलाई स्वाधीनता सङ्घर्षको रूप दिनुपर्ने कम्युनिस्ट पार्टीको ठम्याइ थियो ।
कम्युनिस्ट पार्टीको सुझाव प्रमले बाहिर ल्याएनन् । मन्त्रीहरूको राय अर्कै थियो । आफू प्रतिकार युद्धको पक्षमा रहेको देखाउन उनले दे गालजस्ता व्यक्तिहरूलाई आफू वरपर राखेका थिए । यो एउटा नाटकमात्र थियो । उनले युद्धलाई निरन्तरता दिन चाहेको भए उनले पेताँ र वेगाँजस्ता व्यक्तिलाई सेनाको जिम्मेवारी दिने थिएनन् । वेगाँसँगको कुराकानीमा दे गालले आश्चर्यजनक कुरा थाहा पाए । वेगाँले भने – “सोम्मे नदी तरेपछि जर्मनहरूले सेइन र मार्ने नदी तर्नेछ । त्यसपछि खेल खत्तम । बेलायतले जर्मन सरकारसँग सम्झौता गर्नेछ । हामी हारेपछि जर्मनीले शान्ति सुव्यवस्था कायम राख्न मलाई अलिकति सेना राख्न दिए म धन्य हुने थिएँ ।” दे गालले सेना प्रमुख र सरकारको मत बाझिएको नम्र निवेदन गरे किनभने युद्ध चालु राख्नुपर्ने सरकारको घोषित नीति थियो । खासमा सेना प्रमुखलाई सरकारी नीति थाहा नभएको होइन । तर, उनी शान्ति सुव्यवस्था कायम राख्न चाहन्थे । उनी विदेशी हस्तक्षेपभन्दा स्वदेशी जनताको आक्रोश, विद्रोह र क्रान्तिबाट त्रसित थिए । उनीहरू जनताको विजयभन्दा विदेशी हस्तक्षेप स्वीकार्न राजी थिए । यता दे गालको विचार उल्टो थियो । विदेशी हस्तक्षेपले फ्रान्सेली समाजमा भाँडभैलो ल्याउने उनको ठम्याइ थियो । इतिहासका जानकार दे गाललाई जर्मनीसँगको पराजयले नै परिस कम्युनको पृष्ठभूमि बनाएको बुझेका थिए । बरु युद्ध जारी राखेमा जनताबीच ‘पवित्र एकता’ हुने उनको धारणा थियो ।
दे गाल सम्पूर्ण फ्रान्सेली सेना र सैन्य सामग्री लिएर उत्तरी अफ्रिका जानुपर्ने र त्यहीँबाट प्रतिरोध सङ्घर्ष अगाडि बढाउनुपर्ने अडानमा थिए । यसै सिलसिलामा जून ९ मा दे गाल अन्य उच्च अधिकारीहरूसँगै लन्डन पुगे । फ्रान्सको हार्दो स्थिति देखेर बेलायतीहरू मर्माहत थिए । यद्यपि, लन्डनमा युद्धका दागहरू धेरै देखिएनन् । लन्डनमा प्रतिनिधि मण्डलले चर्चिललाई भेट्यो । चर्चिलको दृढताबाट दे गाल प्रभावित भए । बेलायतले युद्धबाट हात नझिक्ने उनलाई लाग्यो । तर, चर्चिलले हात उठाइसकेको मित्रलाई सघाउन रुचि देखाएनन् । उनले फ्रान्सलाई हवाई सुरक्षा दिन नसक्ने बताए । साँझतिर दे गाल फ्रान्स फर्के । राजधानी पेरिस जर्मनीको घेराबन्दीमा पर्ने निश्चित भइसकेको थियो । जून १० को दिन फ्रान्स सरकारले पेरिसबाट भाग्ने निर्णय ग¥यो । फ्रान्स फर्केर दे गालले राजधानीलाई जोगाउनुपर्ने बताए । तर, वेगाँले त्यो सम्भव नभएको बताए । एक हिसाबले जर्मनहरूले आएर जनताबीच फैलेको असन्तोष दबाउने र ‘सुव्यवस्था’ कायम राख्ने फ्रान्स सरकारको अपेक्षा थियो ।
जून १० को मध्यरातमा दे गाल र रेनौद पेरिसबाट निस्के । उनीहरू ओरलेँस पुगे । सेना प्रमुख वेगाँ ब्रायरमा थिए । वेगाँले चर्चिललाई फ्रान्स बोलाएका थिए । दे गालले सरकारलाई नसोधी एक सैन्य अधिकारीले अन्य देशको राज्यप्रमुखलाई बोलाउनु आपत्तिजनक भएको बताए । प्रम रेनौदले वेगाँलाई सेना प्रमुखबाट हटाउने बताए तर पछि कुरा फेरे । ब्रेयरमा रेनौदले चर्चिललाई पर्खे । तीन घण्टासम्म कुराकानी चल्यो । वेगाँ व्यर्थको प्रतिरोध सङ्घर्ष नचलाउने पक्षमा थिए । प्रम रेनौद भने युद्ध चालु राख्ने पक्षमा थिए । चर्चिलले सन् १९४१ को वसन्त यामसम्म फ्रान्सले थेगेमा बेलायतले सहयोग गर्ने बताए । सन् १९४१ सम्म फ्रान्स टिक्न सक्दैनथ्यो । यसको भेउ चर्चिलले नपाएका होइनन् । खासमा चर्चिललाई फ्रान्सको कुनै चिन्ता थिएन । उनको आँखा फ्रान्सेली नौसेना र फ्रान्सका उपनिवेशहरूमाथि गडेको थियो । यही भेटमा चर्चिलले दे गालसँग एउटा गोप्य कुराकानी गरे । खाना खाने बेला चर्चिलले दे गाललाई आफ्नै बगलमा राखे । अरूले आरिस गर्नु स्वाभाविक भयो । यो दृश्यले त्यो कुराकानी महत्वपूर्ण थियो भन्ने अनुमान हुन्छ ।
भाग्ने माचो
जून १० देखि १४ सम्म फ्रान्समा सरकार कहाँ छ भन्ने कुरा जनतालाई थाहा थिएन । जताततै अन्योल थियो । जून १२ मा दे गालले उत्तरी अफ्रिकातिर जाने योजनाको खाका कोरे । यसबीच बसेको मन्त्रिपरिषद्को बैठकमा दे गाललाई बोलाइएन । योजना बुनिसकेपछि दे गाल प्रम रेनौदलाई भेट्न गए । फ्रान्सेली मन्त्रीहरू त्यसबेला लोइर उपत्यकामा फैलेका थिए । उनीहरूबीच सञ्चारको भरपर्दो साधन थिएन । सरकारी गाडीहरू बस्तीमा बाटो भुलेर अड्किरहेका भेटिन्थे । मन्त्रीहरू अहम् घटनाहरूको जानकारीबाट पर थिए । जनरल वेगाँका सूचनाहरू भरपर्दा थिएनन् । ती सूचनाको आधारमा निस्किने सरकारी आदेशहरू फोस्रा हुन्थे । पराजय निश्चित थियो । खालि कसरी आत्मसमर्पण गर्ने भन्ने प्रश्न सबैको दिमागमा नाचिरहेको थियो ।
दे गालले प्रम रेनौदलाई भेटे । भेटघाटमा पेताँ र वेगाँका प्रतिनिधि पनि थिए । दे गालले तत्काल उत्तर अफ्रिकातिर गएर प्रतिरोध सङ्घर्ष चालु राख्नुपर्ने बताए । अरू सदस्यहरूले केवल भाग्ने विषयमा कुराकानी गरे । उनीहरू बेलायत, उत्तर अफ्रिका वा बोरडओ जानुपर्ने ताकमा थिए । बोरडओलाई जर्मनहरूले घेराबन्दीमा पार्ने निश्चित थियो । तैपनि लामो छलफलपछि बोरडओ जाने निर्णय भयो । प्रतिरोध गर्ने दे गालको प्रस्तावले हावा खायो । त्यसको लगत्तै तौर सहरमा मन्त्रिपरिषद्को बैठक बस्यो । फ्रान्सले बेलायतसँग नसोधी अन्य देशसँग युद्धकालीन सम्झौता गर्नेछैन भनी सम्झौता गरेको थियो । बेलायतले फ्रान्सलाई जर्मनीसँग अलग्गै सन्धि गर्न देला वा नदेला भन्ने चिन्ता फ्रान्सेली शासकहरूको थियो । यस्तैमा चर्चिल बैठकमा आए । उनले फ्रान्सेली नौसेना जर्मनीलाई नसुम्पिने सर्तमा मात्र फ्रान्सले जर्मनीसँग सम्झौता गर्न सक्ने सर्त तेस्र्याए । फ्रान्स सरकारले त्यो सर्त मान्यो ।
दे गाल बेउभियस फर्के । उनले सरकार आत्मसमर्पणतिर लम्किरहेको हुनाले राजीनामा दिने निधो गरे । जवाफमा आन्तरिकमन्त्री जर्जेज मन्डेलले दे गाललाई भेट्न बोलाए । दे गालको अडानकै कारण एक दिन फ्रान्सलाई उनको खाँचो पर्ने मन्डेलको विचार थियो । जनरल दे गाल मन्डेलको सान्त्वनाले शान्त भए । उनले अलि समय पर्खिने सोचे । उनी प्रमलाई युद्ध चालु राख्न दबाब दिन्थे । सरकार भने पेताँ र वेगाँको आत्मसमर्पणवादी रवैयामा बग्दै थियो । त्यसैले दे गालको ध्यान फ्रान्सलाई मुक्त गराउनमा केन्द्रित भयो ।
प्रस्तुति : सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *