भर्खरै :

कपिलवस्तुको हैजा कहिले नियन्त्रण हुने ?

कपिलवस्तु जिल्लाको कृष्णनगर नपामा फैलिएको हैजा एक महिना बितिसक्दा पनि अझ नियन्त्रण भएको छैन । जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुका अनुसार हालै हैजाको कारण १३ वर्षकी एक बालिकाको मृत्यु भएको छ । हैजाको कारण मर्नेको सङ्ख्या हालसम्म सात पुगेको छ । कृष्णनगर नपाको वडा नं ७, ८ र ९ बाट फैलिन थालेको हैजा जिल्लाका अन्य स्थानीय तहमा पनि फैलिएको छ । विगतमा प्रकोपको रूपमा फैलिने हैजा औषधि र वैज्ञानिक उपचार पद्धतिको कारण पछिल्लो समय संसारमै कमैमात्र देखिने गरेको थियो । विशेषतः फोहोरमैला र दुषित पानीको कारण हैजा फैलिने गर्छ ।
शासक दलका नेताहरू समृद्धि र विकासको चर्को भाषण गरेर नथाकेको अवस्थामा यातायात सुविधाको हिसाबमा त्यत्ति असहज नरहेको पालिकामा हैजाको प्रकोप फैलिएको महिनौँ बितिसक्दा अझै नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यता हो । एक्काइसौँ शताब्दीमा नेपालको तुलनात्मकरूपमा सुगम पालिकामा हैजाको कारण मानिसको मृत्यु हुनु र सरकार अझै नियन्त्रण गर्न असफल हुनुले नेपालको स्वास्थ्य पूर्वाधारको भयावह अवस्था संसारसामु उजागर गरेको छ । हैजाको उपचारको निम्ति तौलिहवा अस्पतालमा शøया अभावको कारण प्राङ्गणमै उपचार गर्न स्वास्थ्यकर्मीहरू बाध्य भएको समाचार प्रकाशित भएको महिना दिनसम्म पनि कुनै पनि सुधार नहुनुले जनताप्रति सरकारको बेवास्ता छर्लङ्ग हुँदैन र ?
हैजा फोहोरले जन्माउने रोग हो । जहाँ फोहोर हुन्छ, त्यहाँ झाडापखाला र हैजाजस्ता रोगको प्रकोप स्वाभाविक हो । नेपालले इतिहासमा पटक – पटक निकै घातक हैजाका प्रकोपको सामना गरेको छ । तर, देशमा पटक – पटक शासक फेरिए, शासकका नारा फेरिए पनि अझै सर्वसाधारण फोहोरले जन्माउने रोगको कारण मर्न बाध्य छन् भने आजसम्म देशमा शासकहरूले जनताको हितमा गरे के ? जनतालाई सरसफाइ, उचित बानीव्यवहार, सफा दैनिकीका आधारभूत कुरासमेत सिकाउन सरकारहरू असफल छन् भने अरू ठूला कुराको अपेक्षा मृगतृष्णाबाहेक केही होइन ।
तराईका धेरै जिल्लामा अझै घरमा शौचालय छैन । खुला क्षेत्रमा दिसा गर्दा हैजाजस्ता प्रकोप फैलिने गर्छ । दिसा गरिसकेपछि साबुन वा खरानी पानीले हात धुँदा दिसामा पाइने घातक किटाणु नष्ट हुने वा मानव स्वास्थ्यमा खराब प्रभाव नपर्ने साधारण कुरासमेत जनतालाई सचेत र कार्यान्वयन गर्न सकिरहेको छैन भने जीवनभर राजनीति गरेका शासक दलका नेताहरूले के उपयोगी काम गर्न सके ?
हैजा फैलिएको महिना दिनसम्म सरकार र जिम्मेवार सरकारका निकायहरू के गरेर बसे ? के हैजाले मानिसको प्राण लिइरहेको बेला त्यसको नियन्त्रणको प्रयास गर्न पनि सरकारलाई कुनै विदेशी दाता वा गैरसरकारी संस्थाको भीक्षा आवश्यक हुन्छ ? किन प्रभावित क्षेत्रमा हैजा नियन्त्रणको निम्ति सघनरूपमा स्वास्थ्यकर्मी र अन्य आवश्यक जनशक्ति परिचालन गरिएन ? समस्या कपिलवस्तुमा मात्र सीमित छैन । सरसफाइको दैनिक व्यवहार हिमाल, पहाड र तराईका अन्य जिल्लाहरूमा पनि उस्तै छ । कुनै पनि समयमा अन्य जिल्ला र पालिकामा पनि हैजा वा अन्य त्यस्तै रोग फैलिए कुनै आश्चर्य हुने छैन । विडम्बना ¤ सरकार भने जनताका यस्ता समस्या टुलुटुलु हेर्नेबाहेक केही गर्नसक्दैन । बिरामीको लागि अस्पतालको शøयासम्मको उचित व्यवस्थापन गर्न सरकार सक्षम छैन भने अरू कुराको अपेक्षा गर्नु नै बेकार हुने देखियो । तर, सरकार आफ्नो दायित्वबाट कदापि भाग्न पाउँदैन । हैजाजस्ता रोगबाट बिरामी हुने गरिबहरू नै हुन् । उनीहरूसँग निजी अस्पतालमा गएर महँगो उपचार गर्ने आर्थिक क्षमता हुँदैन । त्यसकारण, सरकार नै कपिलवस्तुको हैजा नियन्त्रणको निम्ति थप सघन र जिम्मेवार भएर लाग्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *