भर्खरै :

बिटकोइन र क्रिप्टो करेन्सी / सङ्कटग्रस्त पुँजीवादमा लोभ, सट्टापट्टा र अपराध बढाउने नयाँ औजार

हालैका वर्षहरूमा भारतसहित संसारका धेरै स्थानमा हुनेखानेहरूबीच बिटकोइन र अन्य क्रिप्टो करेन्सीमा लगानी गरेर पैसाले पैसा तान्ने नयाँ सनक जन्मिएको छ । यही सनक हुर्काउने काम इन्टरनेट, सोशल मिडिया र मूलधारे मिडियाहरूमा प्रसारित हुने विज्ञापनहरूले गरेका छन् । यिनमा जनतालाई मिहिनेतबिना रातारात धनी बन्ने सपना देखाइन्छ । यी विज्ञापनहरूमा मान्छेलाई क्रिप्टो करेन्सीमा लगानी गरेर उनीहरूले बैङ्क र शेयर बजारमा गरिने लगानीको भन्दा कैयौँ गुणा बढी पैसा कमाउन सक्छन् भनी बताइन्छ । यस्तोमा हालैका वर्षहरूमा संसारका अनेक देशहरूको जस्तै भारतका खातापिता जनताले यस देशका मजदुरहरूको निर्मम शोषणबाट जम्मा गरिएको पुँजीलाई क्रिप्टो करेन्सीमा जमेर लगानी गर्नु आश्चर्यको कुरा होइन । यस प्रक्रियामा केही मानिसहरूले खुबै पैसा कमाएका पनि छन् । यसले गर्दा अन्य मानिसहरूले पनि आफ्नो भाग्य खुल्ने आशा लिन्छन् । तर, धेरैजना जुवाले तहसनहस पनि भएका छन् । साथै सधैँको जस्तो यो लगानीमा धोकाधडी र घोटाला पनि देखिन थालेको छ । पुँजीवादको उमेर बढाउन समर्पित तमाम आर्थिकविज्ञहरूले लामो समयदेखि क्रिप्टो करेन्सीमा अनियन्त्रित लगानी र सट्टाबाजी हुनसक्ने खतरा देखेर सरकारहरूलाई सचेत पार्दै आइरहेका छन् । आरबीआई (रिजर्भ बैङ्क अफ इन्डिया) ले सन् २०१८ मा क्रिप्टो करेन्सीमा प्रतिबन्ध पनि लगाएको थियो । तर मार्च २०२० मा भारतको सर्वोच्च न्यायालयले यो प्रतिबन्धलाई असंवैधानिक ठह¥याएको छ । यसपछि क्रिप्टो करेन्सीमा लगानी उर्लेको देखियो । एक अनुमानअनुसार अहिलेसम्म १० करोडभन्दा बढी भारतीयहरूले क्रिप्टो करेन्सीमा ७५ हजार करोड रूपैयाँ लगानी गरेका छन् । यसकारण क्रिप्टो करेन्सीको फोका फुल्लिँदै जाँदो छ । तर, यसले कुनै भीषण सङ्कटको रूप लिनुभन्दा अगाडि नै भारत सरकारले क्रिप्टो करेन्सीमा हुने लगानीमाथि प्रतिबन्ध लगाउने वा त्यसलाई नियमको दायरामा ल्याउने नयाँ कानुन बनाउँदै छ ।
क्रिप्टो करेन्सी के हो र यसले कसरी काम गर्छ ?
क्रिप्टो करेन्सी एक प्रकारको डिजिटल मुद्रा (करेन्सी) हो । यसलाई क्रिप्टोग्राफी प्रविधिको माध्यमबाट सुरक्षित बनाइन्छ । आजभोलि क्रिप्टो करेन्सीको प्रयोग मुद्राको रूपमा थोरै र सट्टाबाजी वा लगानीको रूपमा धेरै भइरहेको पाइन्छ । यसलाई सही अर्थमा मुद्रा भन्न सकिन्छ । बिटकोइन क्रिप्टो करेन्सीको एउटा उदाहरण हो । इन्टरनेटमा बिटकोइनबाहेक यसबेला ६००० भन्दा बढी क्रिप्टो करेन्सीहरू उपलब्ध छन् । जस्तो इथिरियम, लाइटकोइन, रिपल, मोनेरो आदि । बिटकोइनको आविष्कार सन् २००८ मा सातोशी नाकामोतो भन्ने छद्म नाउँको एक रहस्यपूर्ण व्यक्ति वा व्यक्तिहरूको समूहले गरेको थियो । त्यो व्यक्ति वा समूहको पहिचान अझै पनि खुलेको छैन । संसारको कुनै पनि देश, बैङ्क वा संस्थाबाट नियमन नहुनु बिटकोइन वा अन्य क्रिप्टो करेन्सीको विशेषता हो । यसप्रकार यो एउटा विकेन्द्रित मुद्रा हो । यो कुनै केन्द्रीय संस्था वा बैङ्कबाट नभई ब्लकचेन नाउँको प्रविधिमार्फत् कम्प्युटर नेटवर्क हुँदै सञ्चालित हुन्छ ।
आधुनिक अर्थव्यवस्थाहरूमा मुद्राको लेनदेन प्रायः बैङ्क वा अन्य वित्तीय संस्थाहरूको माध्यमबाट हुन्छ । यसमा बैङ्क र वित्तीय संस्थाहरूले आफ्ना सबै खाताधारीहरूको बहिखाता राख्छन् । यस्ता संस्थाहरू सरकारद्वारा नियमन हुने भएकोले यिनको माध्यमबाट मुद्राको लेनदेन गर्ने यस प्रणालीमा मानिसहरू यसमाथि भर पर्छन् । तर, मान्छे–मान्छेबीच हुने लेनदेनको बहिखाता स्वतः पारदर्शी बनाइराख्ने प्रविधिको विकास भयो भने कुनै किसिमको बैङ्क वा वित्तीय संस्थाको आवश्यकता रहन्न । ब्लकचेन यस्तै प्रविधि हो । यसको माध्यमबाट क्रिप्टो करेन्सीको लेनदेन विश्वासिलो तरिकाले गर्न सकिन्छ । यस प्रकार संस्थागत अर्थात् सरकारी वा राजकीय हस्तक्षेपबिना लेनदेन गर्न सकिन्छ र यसमा समय र धन दुवैको बचत पनि हुन्छ । यस प्रविधिमा बहिखाता कुनै केन्द्रीय संस्थासँग हुँदैन बरु यो नयाँ माध्यमबाट मुद्राको लेनदेन गर्ने सबै मानिसहरूसँग डिजिटलरूपमा उपलब्ध हुन्छ । यस किसिमको अनलाइन लेनदेन गर्नेहरू सबैजना इन्टरनेटको माध्यमबाट एउटा विशेष प्रकारको कम्प्युटर नेटवर्क (पियर–टु–पियर वा डिस्ट्रिब्युटेड नेटवर्क) सँग जोडिएका हुन्छन् । यसमा एउटा सर्भरमा मात्र नभई नेटवर्कका सबै कम्प्युटरहरूमा डेटा उपलब्ध हुन्छन् । यस प्रक्रियाबाट हुने लेनदेनलाई सुरक्षित बनाउन ‘डिजिटल सिग्नेचर’ र क्रिप्टोग्राफी प्रविधिको प्रयोग गरिन्छ । यस्ता लेनदेनहरूको रुजु गर्ने प्रक्रिया ‘बिटकोइन माइनिङ’ को अङ्ग हो । यसको लागि जटिल गणितीय समीकरणहरू हल गर्ने कौशल चाहिन्छ । यस्तो कौशल जानेका विज्ञहरूलाई ‘बिटकोइन माइनर्स’ भनिन्छ ।

बिटकोइन नेटवर्कमा कुनै लेनदेन भएमा नेटवर्कमा उपस्थित सबै ‘माइनर्स’ लाई सूचना पठाइन्छ । लेनदेनलाई रुजु गर्ने सबैभन्दा पहिलो ‘माइनर’ को खातामा केही बिटकोइन पुग्छ । यसरी ‘माइनर्स’ ले बिटकोइनलाई रुजु मात्र गर्दैनन्, बरु तिनले बिटकोइन निर्माण पनि गर्छन् । बिटकोइन नेटवर्कमा हुने कैयन लेनदेनलाई मिलाएर एउटा ब्लक बन्छ । यी ब्लकहरू एकअर्कासित जोडिएका हुन्छन् । त्यसैले यो प्रविधिलाई ब्लकचेन भनिन्छ । प्रत्येक ब्लकमा आफ्नो अघिल्लो ब्लकको पहिचान खुलाइएको हुन्छ र यसरी सबै ब्लकहरू एउटा शृङ्खलामा जोडिएका हुन्छन् । ब्लकचेनको यो प्रविधिलाई ह्याक गर्न अप्ठ्यारो हुन्छ किनभने ह्याकरले एउटा ब्लकमात्र हिनामिना गर्न सक्दैन । त्यति गर्न पनि उसले बिटकोइनको सुरुआतदेखि अहिलेसम्मकै सबै ब्लक हिनामिना गर्नुपर्ने हुन्छ । यस्तो कार्य असम्भव प्रायः हुन्छ ।
आजभोलि क्रिप्टो करेन्सीको प्रयोग कसरी भइराखेको छ ?
क्रिप्टो करेन्सीको सुरुआत सन् २००७–०८ को विश्व आर्थिक सङ्कटपछि भयो । यसलाई भविष्यको विश्वव्यापी मुद्राको रूपमा प्रचार गरिँदै छ । अराजकतावादी र ‘लिबर्टेरियन’ (स्वच्छन्दतावादी) विचारबाट प्रभावित धेरै मान्छेले यसको पक्ष किन लिन्छन् भने यो कुनै सरकार वा वित्तीय संस्थाको नियन्त्रणमा हुँदैन । तर, एक दशकभन्दा पनि बढी समय कटाइसकेको भए पनि बिटकोइनजस्तो क्रिप्टो करेन्सीको मुद्राको त्यति धेरै प्रयोग भएको छैन । बरु यसको बढी प्रयोग सट्टाबजारमा वा लगानीको एउटा माध्यमको रूपमा भइराखेको छ । पुँजीवादको दायरामा क्रिप्टो करेन्सी जस्तो चीजले कुनै दिन अन्य मुद्राको स्थान लिन सक्ला भन्ने कुरा असम्भव देखिन्छ । यस्तो किन पनि असम्भव हुन्छ भने एक सार्वभौमिक समतुल्यको काम गर्न सक्ने वस्तुले मात्र मुद्राको काम गर्न सक्छ । अर्थात्, त्यसको सापेक्षमा अन्य मालसामानको मूल्य (सामाजिक रूपले आवश्यक श्रमकाल) लाई नाप्न सकिन्छ र त्यसले विनिमय माध्यमको पनि काम गर्न सक्छ । अर्थात्, त्यसको माध्यमबाट किनबेच गर्न सकिन्छ । बिटकोइनजस्तो क्रिप्टो करेन्सीको मूल्यको कुनै देशमा उत्पादित वस्तु वा सेवाहरूको मूल्यसँग कुनै साइनो हुन्न । बरु यसको मूल्य यसमा भइराख्ने अडकलबाजीको आधारमा तीव्र गतिमा तलमाथि भइराख्छ । यसको मूल्यको यो अस्थिरता नै यसलाई मुद्राको रूपमा स्वीकार गर्ने दिशामा अड्चन बनेर उभिएको छ । यसबाहेक क्रिप्टो करेन्सीको प्रयोग गरेर बजारमा सामान्यतया मालसामान किनबेच गर्न सकिन्न । इन्टरनेटमा केही कम्पनीहरूका केही उत्पादन वा सेवाहरू बिटकोइनबाट किन्न सकिन्छ । तर, यस्तो किनबेच अत्यन्त सीमित छ ।
परम्परागतरूपमा धातुहरू र त्यसमा पनि खासगरी सुन र चाँदीजस्ता धातुहरूले यस्तो सार्वभौमिक समतुल्य र विनिमयको माध्यमको काम गर्थे । आधुनिक युगमा कागजी नोट, प्लास्टिक वा केही इलेक्ट्रोनिक माध्यमहरूले पनि मुद्राको ठाउँ लिएका छन् । यी माध्यम आफ्नै मूल्य कुनै निश्चित मात्राको धातुहरूको मूल्य बराबर हुनुपर्छ भन्ने छैन । यस्तो किन पनि हुन सक्छ भने विभिन्न देशका सरकारहरूले प्रचलित मुद्रामा ग्यारेन्टी दिएका हुन्छन् र सरकारहरूको यो क्षमता तिनको अर्थव्यवस्थाबाट निर्धारित हुन्छ । तर, बिटकोइनजस्ता क्रिप्टो करेन्सीहरू सरकारी नियन्त्रणबाट मुक्त हुन्छन् । त्यसैले मानिसहरूबीच मुद्राको रूपमा यसले विश्वास कमाउन अत्यन्तै गा¥हो छ । यसबाहेक अर्को उल्झन के पनि छ भने इन्टरनेटको प्रयोग नगर्ने संसारका अरबौँ मानिसहरूको लागि यसको कुनै अर्थ छैन ।
मुद्राको रूपमा बिटकोइनजस्ता क्रिप्टो करेन्सीहरू स्थापित हुन नसके पनि संसारभरि यसमा लगानी बढ्दो छ । तिनको मूल्यबारे गरिएका अड्कलहरूले गर्दा संसारभरि क्रिप्टो करेन्सीमा आधारित सट्टाबाजीको विशाल विश्वव्यापी बजार निर्मित भएको छ । क्रिप्टो करेन्सीमा ट्रेडिङ गर्न मद्दत गर्ने अनेक प्लेटफर्म वा मञ्चहरू विकसित भएका छन् । यिनलाई क्रिप्टो एक्सचेन्ज भनिन्छ । वास्तविक अर्थव्यवस्थामा नाफाको दर घटिरहेको छ । यही सङ्कटका कारण पुँजीको लाभदायी लगानी गर्ने अवसर घट्दै गइरहेको छ । बढी नाफाको चाहनामा पुँजी सट्टाबजारतिर ढल्किरहेको छ किनभने त्यहाँ नाफा कमाउने अवसर देखिन्छ । सबै लगानीकर्ताले क्रिप्टो करेन्सीको लगानीमा शेयर बजारको सट्टाबाजीमा भन्दा बढी नाफा कमाउने सम्भावना देख्छन् । तर, यसमा जोखिम पनि बढी हुन्छ किनभने भविष्यमा क्रिप्टो करेन्सीको मूल्य बढ्ने अडकलमा आधारित सट्टापट्टाले एउटा फोका फुल्लिँदै जान्छ । यो फोका ढिलोचाँडो फुट्ने नै हुन्छ । त्यसपछि कैयन लगानीकर्ताहरू टाट पल्टिन्छन् । पछिल्लो एक दशकमा धेरैचोटि यो फोका फुटिरहेको छ । तर, नयाँ लगानी र नयाँ सिराबाट अडकलबाजी हुँदा फोका फेरि फुल्लिन थाल्छ । यसबाहेक आजभोलि क्रिप्टो करेन्सीको अर्को उपयोग पनि देखा परेको छ । इन्टरनेटको माध्यमबाट अवैध ढङ्गमा लागूपदार्थ र हतियारहरूको किनबेच हुँदै छ । यस्तो कथित डार्क वेबको माध्यमबाट गरिन्छ । डार्क वेब भनेको इन्टरनेटको एउटा भित्री तह हो । यहाँसम्म सामान्य इन्टरनेट प्रयोगकर्ताहरूको पहुँच पुग्दैन । यहाँ पुग्न एउटा विशेष सफ्टवेयरको खाँचो पर्छ । डार्क वेबमा बिटकोइनजस्तो क्रिप्टो करेन्सीको प्रयोग लागूपदार्थ र हतियारको गुप्त लेनदेनको लागि गरिँदै छ । ब्लकचेनको अचुक प्रविधिको कारण बिटकोइन र अन्य क्रिप्टो करेन्सीको माइनिङ प्रक्रियामा कुनै धाँदली हुन अत्यन्त गाह्रो छ । तर, क्रिप्टो एक्सचेन्जको माध्यमबाट बिटकोइनमा हुने लगानी र सट्टापट्टाको प्रक्रियामा धोकाधडी र घोटालाहरूका कैयन काण्डहरू बाहिर आइरहेका छन् । उदाहरणको लागि हालै मात्र कर्नाटकमा बिटकोइन घोटाला बाहिर आयो । त्यहाँ एकजना व्यक्तिले अवैध रूपमा हजारौँ बिटकोइन खोसेको देखियो ।
यसरी आजको पुँजीवादी युगमा ब्लकचेन जस्तो अचुक प्रविधिको आधारमा बनेका क्रिप्टो करेन्सीहरूको उपयोग सट्टाबाजीको माध्यमबाट अकुत नाफा कमाउन, लागूपदार्थ र अवैध हतियारहरूको किनबेच गर्न र कसैलाई धोका दिन प्रयोग हुँदै छ । पुँजीवादको चौकिल्लाभित्र क्रिप्टो करेन्सीको हविगत यही नै हुनसक्छ किनभने विश्वासमा ह्रास हुनाले मुद्राको रूपमा यो स्थापित हुन सक्दैन । तर, समाजवादको उन्नत चरणमा मालसामानको रूपमा सामाजिक श्रमको विनिमयको लेखाजोखा राख्ने एउटा प्रविधिको रूपमा ब्लकचेन जस्तो वा त्यो भन्दा पनि उन्नत कुनै प्रविधिको प्रयोग हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न । यस्तो प्रविधिलाई राष्ट्रिय अर्थव्यवस्था केन्द्रीकृतरूपमा सञ्चालन गर्न वा त्यसको लेखा राख्ने काम अझ सजिलो र कम कष्टसाध्य बनाउन प्रयोग गर्न सकिन्छ ।
(स्रोत ः मजदुर बिगुल, डिसेम्बर अङ्क)

Leave a Reply

Your email address will not be published. Required fields are marked *