भर्खरै :

नेपालमै बीउ उत्पादनमा दक्षता हासिल गरी उत्पादन बढाउनुपर्छ

(कृषि विशेषज्ञ सविन ख्याजू हाल बासु माध्यमिक विद्यालयमा सञ्चालित कृषि विषयको डिप्लोमा कार्यक्रमका संयोजक हुनुहुन्छ । चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तह पूरा गर्नुभएका उहाँ विभिन्न संस्थाले आयोजना गर्ने कृषि तालिममा प्रशिक्षकको रूपमा सक्रिय हुनुहुन्छ । किसानहरूले भोगिरहेका विभिन्न कृषि समस्यालाई लिएर ‘मजदुर’ दैनिकले कृषि विशेषज्ञ ख्याजूसँग गरेको कुराकानीको यहाँ प्रस्तुत छ–सम्पादक)
नेपालमा किसानहरूले बीउबिजनबारे के कस्तो ढङ्गले व्यवहारमा लागू गर्दै छन् ? एक विशेषज्ञको रूपमा बताइदिनुहुन्छ कि ?
सामान्यतया बीउ स्थानीय र हाइब्रीड (ठिमाहा) गरी दुई प्रकारका हुन्छन् । स्थानीय बीउबाट लगाइएको बालीबाट सङ्कलित बीउलाई अर्को पुस्ताको निम्ति बीउको रूपमा प्रयोग गर्न सकिन्छ । यो तरिका निकै लामो समयदेखि चल्दै आएको छ ।
विज्ञान र प्रविधिको विकासको एउटा नतिजा हाइब्रीड बीउ पनि हो । हाइब्रीड बीउ लगाउँदा परम्परागत बीउले भन्दा धेरै उत्पादन हुन्छ तर यस सँगसँगै केही रोग र किरा सहने क्षमतामा ¥हास पनि हुन्छ । साथै,यो बीउ लगाएमा त्यसबाट उत्पादन भएको बीउ अर्को पुस्ताको निम्ति प्रयोग गर्न सकिँदैन ।
स्थानीय बालीबाट लिइएको बीउको सट्टामा धेरै किसानले हाइब्रीड बीउको प्रयोग गर्न थालेका छन् । नेपालमा बीउ उत्पादनको क्षमता निकै कमजोर रहेको अर्थात् उत्पादन कम रहेको पाइन्छ । किसानहरू हाइब्रीड बीउमा निर्भर रहँदा र यसको उत्पादनमा कमि आए समस्या निम्तिन सक्छ । मोन्सान्टो, एक अमेरिकी बीउ कम्पनीले धेरै देशमा बीउ बजारमा अधिपत्य जमाएको छ । उसले सुरुमा सस्तोमा हाइब्रीड बीउ उपलब्ध गराउँछ । जब स्थानीय बीउ लोप हुँदै जान्छ तब हाइब्रीड बीउको मूल्य अकासिन्छ । यसरी बीउको ठूलो समस्या निम्तिन सक्छ ।
यसकारण, नेपाल आफैले बीउ उत्पादनमा दक्षता हासिल गर्दै उत्पादनमा ध्यान दिनु आवश्यक छ । फलफुल, तरकारी र अन्नबालीको बीउ आयातलाई शून्यमा झार्ने अभियान चलाउनु अपरिहार्य छ । साथै, स्थानीय, रैथाने वा उन्नत जातको बीउको संरक्षण र उत्पादन बढाउन अनुसन्धानात्मक कार्यहरू बढाउनु पर्दछ ।
कृषिसम्बन्धी प्रयोगशालाहरू र सम्बन्धित श्रमशक्ति कम भएको हुँदा माटोअनुसार बाली नलगाउने गुनासाहरू सुनिन्छन् । यसबारे केही बताइदिनुहुन्छ कि ?
कृषि कर्म पूर्णतः विज्ञानसम्मत छ । नेपालमा कृषिसम्बन्धी अनुसन्धान त्यति विकसित हुन सकेको छैन । कृषि अनुसन्धानहरू किसानहरूको समस्या समाधानमा केन्द्रित हुन सकेको छैन । नेपाल सरकारले किसानको समस्या समाधान गर्न चाहिने प्रयोगशाला र जनशक्तिको उचित व्यवस्थापनमा प्राथमिकता दिएको पाइँदैन । देशमा भएका कृषि प्रयोगशालाहरू पनि सहर केन्द्रित भएकोले किसानले ती सुविधा उपभोग गर्न पाएका छैनन् । नेपालमा स्थापित कृषि प्रयोगशालाहरूको अधिकत्तम उपयोग गरिएको छैन । जस्तैः फलफूल र तरकारीमा सयौँ प्रकारका रासायनिक विषादीको प्रयोग हुने गरेको छ तर दुई चार थरीका विषादीमात्र परीक्षण गरिएको नेपाल सरकारकै प्रतिवेदनहरूमा उल्लेख छ ।
किसानहरू आफ्नो समस्याबारे परामर्श लिने ठाउँको अभाव महसुस गर्छन् । आवश्यक मात्रामा चिस्यान केन्द्रहरू स्थापना वा सञ्चालन नभएका कारण किसानहरूले आफ्नो उत्पादनको भण्डारण गर्न पाएका छैनन् । कृषिलाई उद्योगको रूप दिन सक्ने स्थिति नेपालमा अझै विकसित भइसकेको छैन । नेपालमा रासायनिक मल कारखाना खोलिएको छैन । जसकारण आयातमा भरपर्नुपर्ने र प्राविधिक सिफारिसअनुसारको मल प्रयोग गर्न किसानले सकेका छैेनन् । कृषि प्राविधिकको अभाव, कृषि परामर्श केन्द्र आदिको बन्दोबस्त नहुँदा किसानहरूले बालीनालीमा लाग्ने रोगकीराहरूलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । कृषि प्रयोगशालाअन्तर्गत माटो परीक्षण, रोगकीरा परीक्षण र बीउ परीक्षण मुख्य हुन् ।
माटो परीक्षणमा माटोको अम्लीयपना वा क्षारीयपना, चिस्यान, बनोट र बुनोट, माटोको तापक्रम, प्राङ्गारिक वस्तु, पौष्टिक तत्वहरू आदिको परीक्षण गरिन्छ । प्रत्येक बालीले माटोको भिन्ना भिन्नै विशेषता खोज्दछ । किसानहरूले आफ्नो माटो परीक्षण गर्ने त्यसपछि कुन बाली लगाउने भन्ने विषयमा स्पष्ट वा पूर्ण जानकारी पाउन सकेका छैनन् ।
रोग कीरा पहिचान प्रयोगशालामा हरेक बाली बिरुवामा लाग्ने रोग कीराको सङ्क्रमण, पहिचान र तिनको समाधानका बारेमा अध्ययन गरिन्छ । बीउ परीक्षण प्रयोगशालामा बीउको उमार शक्ति, बीउको शुद्धता, बीउमा रोग आदिको परीक्षण गर्ने गरिन्छ । किसानले आफ्नो खेतबारीबाट ल्याएको नमुना उक्त प्रयोगशालामा पु¥याउने र परीक्षण गर्नुपर्दछ ।
यी तीनवटै पक्षको अध्ययन गरेर गरिने खेती राम्रो हुने गर्दछ । यस्तो व्यवस्था किसानले सहजरूपमा पाउन सकेमा कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न मद्दत मिल्छ । तर नेपालका किसानहरूले यी सुविधा सहजरूपमा पाइरहेका छैनन् । आफूसँग भएको परम्परागत ज्ञान र सीपको आधारमा गरिएको खेतीको उत्पादन र उत्पादकत्व विकसित देशको तुलनामा कम नै हुने गर्दछ ।
रासायनिक विषादी प्रयोगबारे गुनासाहरू सुनिन्छन् । यसबारे पनि बताइदिनुहुन्छ कि ?
किसानहरूले आफूले लगाएको बालीमा कुनै रोग वा कीरा देखिएमा त्यसको नियन्त्रणको निम्ति रासायनिक विषादी प्रयोग गर्ने गर्दछन् । विषादीको प्रयोगबाट केही समय काम भए जस्तो हुन्छ, तर बालीमा भएका रोगकीराको विषादी प्रतिरोध क्षमतामा पनि वृद्धि भएको छ । यसको लागि किसानले विषादीको मात्रा अत्यधिक प्रयोग गर्छन् । किसानले प्रयोग गरेको रासायनिक विषादी फलफुल र तरकारीको माध्यमबाट भान्सामा प्रवेश पाउँछ ।
रासायनिक विषादीको प्रयोग गरिएको तरकारी र फलफुल खान अगाडि केही दिन पर्खनुपर्ने हुन्छ । तरकारी र फलफुलमा रासायनिक विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम भएमा खान उपयुक्त हुन्छ । ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष भएमा केही दिन पर्खेर मात्र खानको लागि प्रयोग गर्न सकिन्छ । तर, ४५ प्रतिशतभन्दा बढी विषादी रहेको खण्डमा त्यसलाई उपभोग गर्न नमिल्ने हुन जान्छ । भारतलगायतका देशबाट आयात हुने तरकारी र फलफुलमा ७० प्रतिशतभन्दा बढी विषादीको अवशेष रहने नेपाल सरकारको प्रतिवेदनमा उल्लेख छ ।
बालीबिरुवामा विषादी प्रयोग गर्दा केही कुरामा ध्यान दिनुपर्दछ । विषादी छर्ने किसानले आँखा, नाक, मुख छोप्नु पर्दछ । चस्मा, पञ्जा, मास्क, एप्रोन (लुगा), जुत्ता, टोपी आदि लगाउनु अनिवार्य छ । हावाहुरी चल्ने बेलामा विषादी छर्नु हुँदैन । विषादी प्रयोग गरिसकेपछि साबुन पानीले राम्ररी हात खुट्टा सफा गर्नुपर्दछ ।
मौसमीभन्दा बेमौसमी खेतीमा अत्यधिक मात्रामा विषादी प्रयोग भएको पाइन्छ । रासायनिक विषादीको कारण मानव स्वास्थ्यमा गम्भीर समस्याजस्तै क्यान्सर, अपाङ्गता, बाँझोपन आदि देखिने गरेको छ । यसकारण, किसानहरूले कृषि प्राविधिकको सल्लाहविना जथाभावी रसायनिक विषादीको प्रयोग गर्नुहुँदैन । साथै, किसानहरूलाई प्राङ्गारिक खेतीतर्फ आकर्षण बढाउन जरुरी छ । स्थानीयरूपमै उपलब्ध हुने असुरो, तितेपाती, सिस्नु, निम, बनमारा, बोझो, गहुँत, गोबर, पिना, अदुवा, खुर्सानी, आदिबाट प्राङ्गारिक विषादी तयार गर्न सकिन्छ । यसको मिश्रणबाट तयार भएको झोल र पानीको मात्रा मिलाएर बोटबिरुवामा प्रयोग गर्न सके कीराको समस्या कम गर्न सकिन्छ । यसबाट मानव स्वास्थ्यमा हानि नपुग्ने र खर्च पनि न्यून हुने भएकोले प्राङ्गारिक खेतीमा यसको प्रयोग व्यापक छ । देशका हरेक स्थानीय तहमा किसानहरूलाई यी विषयहरूमा परामर्श दिने कृषि सेवा सहजरूपमा उपलब्ध हुनु जरुरी छ ।
बाली नाली, माटो परीक्षण र कीटनासक विषादीको विषयमा व्यापारीहरूले आवश्यक ध्यान नदिएको र रोगको उपचारबारे जानकारी नहुँदा धेरै क्षति हुने सम्भावना हुने विषयमा केही बताइदिनुहुन्छ कि ?
स्थानीय तहमा किसानहरूले आफ्नो समस्यासम्बन्धी आवश्यक परामर्श लिन पाइरहेका छैनन् । किसानहरू बीउ, विषादी, कृषि सामग्री र मलको लागि एग्रोभेट पसलहरूमा जान्छन् । ती ठाउँमा सामानहरू खरिद गर्छन्, तर आवश्यक मात्रामा छलफल र परामर्श हुने गर्दैन । रोग कीरा लागेको बालीको नमुना परीक्षण कम नै हुने गर्दछ । माटोमा समस्या आउँदा माटोको परीक्षण गर्नुपर्ने हुन्छ । तर, त्यसको पनि अभाव छ । कृषि प्राविधिकहरूको अभाव भएका एग्रोभेट पसलहरूको सुविधामा गुणस्तरको अभाव हुने गर्छन् ।
किसानले ल्याएको नमुना लिई प्रयोगशालामा परीक्षण गर्ने र त्यसको समाधानको उपाय बताउन सकेमा सही अर्थमा परामर्श दिएको हुन्छ । रोग सयौँ प्रकारका छन् । तिनको समस्या र व्यवस्थापन पनि फरकफरक हुन्छन् । ढुसी मार्ने विषादीले शाकाणु वा विषाणु वा जुका मार्न सक्दैन । शाकाणु मार्ने विषादीले कीरा नियन्त्रण गर्न सकिँदैन । कीरा मार्ने विषादीले ढुसी नियन्त्रण गर्न सक्दैन । प्रत्येक रोग र कीराको आ–आफ्नै नियन्त्रण विधि हुन्छन् । किसानले रोग र कीराको सही पहिचान गर्नसक्दैनन् । सही पहिचान नहुँदा किसानले प्रयोग गर्ने विषादीले समस्या समाधान गर्नसक्दैन ।
साथै, विषादी प्रयोग गर्दा पानीमा मिसाउने विषादीको मात्राबारे सही जानकारी नहुने र सिफारिस मात्राभन्दा धेरै विषादी प्रयोग भएमा उल्टै बालीमा नोक्सान पुग्न सक्छ । यसले किसानको समय र पैसा नोक्सानमात्र नभई वातावरणमा पनि नकारात्मक असर पुग्छ । यसबाट कृषिमा उत्पादन ह्रास हुने र आर्थिकरूपमा क्षति हुने गर्दछ । यसकारण, एग्रोभेटहरूले कृषि प्रयोगशाला र प्राविधिकको मद्दत लिनु राम्रो हुन्छ ।
बालीनालीका कीरा र रोग पनि के मानिसमा लाग्ने रोगजस्तै सरुवा हुनसक्छ ?
कृषि बालीमा लाग्ने प्रमुख रोगहरू ढुसी (Fungus), शाकाणु (Bacteria), विषाणु (Virus) र जुका (Nematode)हुन् । यी रोगका बीउ (स्पोर) सूक्ष्म हुन्छन् । माइक्रोस्कोपको सहायतामा मात्र यिनीहरू देखिन्छन् । कमजोर बिरुवामा रोगले आक्रमण गर्दछ । रोगले गाँज्दै बिरुवालाई अझ कमजोर बनाउँछ । यतिमात्र नभई यी सबै रोगहरू रोगी बिरुवाबाट स्वस्थ बिरुवामा सर्दछ । हावा, बीउ, कृषि औजार, पानी आदिले ढुसी सर्ने गर्दछ । शाकाणु सर्ने माध्यममा बीउ, कृषि औजार,पानी आदि हुन् । विषाणु सर्नको लागि यो बोक्ने चुसाहा कीरा(जस्तै लाही कीरा, सेतो झिङ्गा, सुलसुले, आदि) हुन् । विषाणु सङ्क्रमित बिरुवामा सोसेको कीराले अन्य स्वस्थ विरुवामा पुनः सोस्न पुग्दा त्यो पनि रोग सङ्क्रमित हुन्छ ।
जुकाले सामान्यतया बिरुवाको जरामा आक्रमण गर्दछ । जुकाको मुखमा हुने मसिनो सियोजस्तो विशेष अङ्ग Stylet ले जरामा घोपेर त्यसबाट रस सोस्ने गर्दछ । यसले बिरुवालाई निकै कमजोर बनाउने गर्दछ । जसकारण बिरुवाको वृद्धि विकासमा प्रत्यक्ष असर पुग्दछ । जुकाले बालीमा असर गरेको अवस्थामा धेरै सिँचाइ गरेमा जुका र यसको अण्डा खेतबारीमा अझ व्यापकरूपमा फैलिन्छ । बालीका शत्रु कीराहरू पनि एक ठाउँबाट अर्काे ठाउँमा सर्दछ ।
यसकारण, रोग सङ्क्रमित बिरुवाको पहिचान सुरुमै गर्नुपर्दछ । रोगी बिरुवालाई उपचार गर्न सकेमा अन्य स्वस्थ बिरुवाहरूलाई रोगबाट जोगाउन सकिन्छ । रोग लागेको माटो भएका नर्सरीहरूबाट बिरुवा खरिद गरी प्रयोग गर्नु हुँदैन । विश्वासिलो नर्सरी वा पसलहरूबाट मात्र बिरुवा वा बीउ खरिद गर्नु राम्रो हुन्छ । रोग सर्ने स्रोतहरू बीउ, पानी, रोगी बिरुवा,कीरा, माटो आदि हुन् । कृषकले आफ्नो बाली जोगाउनको लागि रोगको स्रोतलाई न्यूनीकरण गर्नमा पनि ध्यान दिनु आवश्यक छ । तरकारी र फलफुल बालीमा रोगकीराको आक्रमणबाट जोगाउन विशेष नियन्त्रित तरिकाहरू अपनाउने गरिन्छ । रोग फैलिएर बाली बिगार्नुभन्दा रोग लाग्नै नदिने उपायहरू अपनाउनु राम्रो हुन्छ । कृषकहरूले कृषि प्राविधिकको परामर्श समयसमयमा लिनु राम्रो हुन्छ । किसानहरूलाई बेलाबेलामा प्राविधिक परामर्श वा तालिमहरू दिनुपर्दछ । रोग कीरा परीक्षण गर्ने प्रयोगशाला हरेक स्थानीय निकायमा हुनु अपरिहार्य छ । किसानमैत्री स्थानीय निकाय भएमा कृषि उत्पादनहरूमा आत्मनिर्भर हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *