भर्खरै :

नेमकिपा बाटा र गल्लीमा आएका सबैलाई पार्टी सदस्यता दिएर महाधिवेशन र निर्वाचनमा गाईजात्रा देखाउनुलाई राजनीतिक संस्कृति मान्दैन

(नेपाल मजदुर किसान पार्टीको ४८ औं स्थापना दिवस (माघ १०) को सन्दर्भमा ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग आइतबार लिएको अन्तर्वार्ता प्रस्तुत छ : सम्पादक )
अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा शुभकामना छ । झन्डै आधा शताब्दीअघि कुन परिस्थितिमा नेमकिपाको स्थापना भयो ?
– नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको सुअवसरमा सम्पूर्ण कार्यकर्ता, वर्गीय र पेशागत सङ्गठनका साथीहरू, समर्थक, सहयोगी र पार्टीप्रति सद्भाव राख्ने सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरू, आजसम्म नेपाल र नेपाली जनताको सेवाको निम्ति समाजमा आमूल परिवर्तनको निम्ति साथ दिई आउनुभएका साथीहरूलाई भित्री हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
४८ वर्षअगाडि देशमा एकदलीय पञ्चायती राजतन्त्रको शासन थियो । राजतन्त्र र पञ्चायतको नाममा केही शोषक, सामन्त र जमिनदार वर्गले जोताहा किसान जनतालाई शोषण गर्दै थिए, गाउँ–गाउँका सबल युवाहरूलाई बेलायत र भारतीय गोर्खा सेनामा भर्ती गराउन पठाउँथे । त्यसबाट शासक वर्ग र सम्भ्रान्त वर्गले आर्थिक लाभ पाउँथे ।
त्यसकारण, २००७ सालदेखिका सबै प्रकारका सरकारहरूले आजसम्म गोर्खा भर्तीकेन्द्रको असमान सन्धिलाई खारेज गरी आफ्नै देशमा ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ वा पारिश्रमिक पाउने पेसा दिनसकेका छैनन् ।
४८ वष अगाडि पञ्चायती राजतन्त्रको विरोधमा नेपाली काङ्ग्रेस र का. पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका साथै अन्य विभिन्न कम्युनिस्ट घटकहरू पञ्चायतको विरोधमा प्रजातन्त्रको पक्षमा सङ्घर्षरत थिए ।
का.पुष्पलालकै भनाइमा नेपाली काङ्ग्रेस ‘विदेशी पुँजीपरस्त’ थियो । आज पनि नेपाली काङ्ग्रेस अमेरिकी साम्राज्यवाद र भारतीय जनता पार्टी (भाजपा) को फासीवादी भारतीय एकाधिकार पुँजी र विस्तारवादकै ‘पूजा’ गर्दै छ ।
त्यसबेला का. पुष्पलाल नेपाली काङ्ग्रेसविना नेपालमा तत्काल केही मौलिक परिवर्तन गर्नु सम्भव मान्दैनथे र मुख्य दुश्मन राजा महेन्द्र र राजतन्त्र मान्थे ।
डा. केशरजङ रायमाझी र विष्णुबहादुर मानन्धरका ‘कम्युनिस्ट’ समूहहरू पञ्चायतसँग ‘न सङ्घर्ष न मेलमिलाप’ को नीतिमा थिए । तिनीहरू माक्र्सवादको विरोधमा बर्नस्टिनको ‘शान्तिपूर्ण आन्दोलन’ र ‘निर्वाचनबाटै समाजवाद आउने’ संशोधनवादी नीति मान्थे ।
निर्मल लामा, मोहनविक्रम सिंह, जयगोविन्द साह र अन्य साथीहरू संविधानसभाका पक्षपाती थिए ।
‘व्यक्तिहत्या’ र ‘व्यक्तिगत आतङ्कवाद’ को बाटोबाट मात्र क्रान्ति सम्भव छ भन्ने रुसको नरोदवादी र भारतको नक्सलवादी आन्दोलनको प्रभावबाट आजको ‘एमाले’ समाजमा केही व्यक्तिले समाजलाई बिटुल्याएको हो र ‘केही वीरहरूले समाजमा आमूल परिवर्तन गर्नसक्छन्’ भन्ने मान्यताको आधारमा सङ्घर्ष गर्दै थिए ।
आत्मालोचना गरेको ‘एमाले’ सँग पुष्पलाल समूह र अन्य ‘कम्युनिस्ट’ समूहहरूसमेत एक भएका छन् । तर, ‘माओवादी’ भनिने प्रचण्ड समूहले भारतीय विस्तारवादको सहयोगमा भारतकै हित हुने पाइला चालिनसक्दै पुष्पलाल र मोहनविक्रम समूहमा पसेर ‘जनयुद्ध’ को नाउँमा ‘गृहयुद्ध’ छेडिसकेको थिएन ।
त्यस्तो अन्योलको स्थितिमा किसान आन्दोलनलाई अगाडि बढाउन, नेपाली काङ्ग्रेसको सहयोगविना कम्युनिस्ट आन्दोलन अघि बढाउन, रुसी सामाजिक–साम्राज्यवादको अफगानिस्तानमाथि हमलाको विरोध गर्न, भारतीय विस्तारवादले पूर्वी पाकिस्तानमा सैनिक आक्रमण र हस्तक्षेप गरेको एवम् सिक्किमलाई भारतमा बिलय गराएको विरोधको परिस्थितिमा बागमती, नारायणी र जनकपुर अञ्चलका साथीहरूसँग मिलेर नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो ।
तर, आज रुसी समाजवादको अस्थायी हार भयो र सोभियत सङ्घ १४–१५ टुक्रामा विभाजित भयो । एमाले, प्रचण्ड समूह र अन्य तराईका सामन्ती तथा पुँजीवादी दलहरूको झन्डै दुईतिहाइको सरकार पतन भयो । अमेरिकी साम्राज्यवाद, मोदी फासीवाद र विस्तारवादका अन्ध समर्थक शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन प्रचण्ड र माधव नेपालले अगुवाइ गरेका थिए । देश आज हरेक क्षेत्रमा अन्योलको परिस्थितिमा फसेको छ । देशको अर्थतन्त्र खस्कँदो छ । देउवा सरकार अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको शरणमा छ ।
नेमकिपा स्थापनाको बेला ‘पुष्पलाल समूहको केन्द्रीय समिति’ मा ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ र ‘सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तकहरूमार्फत आफ्नो दृष्टिकोण राखी नेमकिपाको स्थापना भएको थियो ।
नेमकिपाको ४८ वर्षको यात्रालाई फर्केर हेर्दा सङ्घर्षपूर्ण यो कालखण्डलाई तपाईं कसरी सम्झनुहुन्छ ?
– ४८ वर्षअगाडि तीन अञ्चलका विभिन्न जिल्लाका साथीहरू मिलेर नेमकिपाको सङ्गठन र सङ्घर्ष ग¥यौँ । त्यसबेला आजको तुलनामा बाटो–घाटो र सडक यातायातको विकास भएको थिएन । हाम्रा कार्यकर्ता साथीहरू पनि २–४ जनाबाहेक ३०–४० नाघेका कमै थिए । स्नातक, आचार्य र विद्यावारिधी गरेका साथीहरूको सङ्ख्या औँलामा गन्न सकिन्थ्यो । आर्थिक अवस्थाको हिसाबमा कार्यकर्ताहरू गरिबभन्दा गरिब थिए । किसान र मजदुरको माझमा काम गर्न जाँदा बाटो खर्चकै निम्ति धौ धौ हुनेगथ्र्यो । तराईका जनताले नेपाली भाषामा लेखिएका पर्चा र पुस्तक बुझ्दैनथे । उपत्यकाका किसान साथीहरूलाई समेत नेपाली भाषाका पर्चा, पत्रपत्रिका र पुस्तक नेवारी (नेपालभाषा) मा अनुवाद गरी बुझाउनुपथ्र्याे । मैथिली र भोजपुरी भाषाका पर्चा र पुस्तक पूर्व–पश्चिम र पहाडका जनताले बुझ्दैनथे । विभिन्न जातजाति र भाषाभाषी जनताबीच काम गर्दा त्यहाँको भाषा र रीतिरिवाज वा संस्कृति बुझ्न आवश्यक भएको अनुभव गथ्र्यौँ । आज पनि त्यो समस्याबाट नेपालको कम्युनिस्ट आन्दोलन मुक्त भइसकेको छैन । त्यसकारण, तराईमा किसान आन्दोलनको पुनःउत्थान हुनसकेन र पुँजीपति वर्ग, सामन्त र जमिनदार तथा जालीफटाहाहरू गरिब किसान र मजदुरहरूले थाहा नपाएकै राम्रो भन्दै तल्लो वर्गका जनतालाई राजनीतिकरूपले उठाउनै चाहँदैनन् ।
तर, पूर्व–पश्चिम, उत्तर–दक्षिणका आजका नयाँ पुस्ताले नेपाली, अङ्ग्रेजी, हिन्दी र अन्य भाषाहरू बुझेका हुनाले काम गर्न सहज हुने सम्भावना छ । यो कुरा थाहा पाएर नेपाली पुँजीपति वर्ग विदेशी पुँजीसँग मिलेर धेरै कमिसन वा दलाली भाग खाएर नेपाली युवाहरूलाई आफ्नै देशमा काम नदिई कम ज्यालामा विदेश पठाउँदै छ ।
पञ्चायत कालमा पुँजीपति वर्ग पञ्चायती शासनको विरोधमा कम खट्थे । कतैकतै एकै व्यक्ति ‘काङ्ग्रेस’ र ‘पञ्च’, ‘पञ्च’ र ‘कम्युनिस्ट’ बनेका हुन्थे । हाम्रा साथीहरू समाजमा आमूल परिवर्तनको निम्ति कर्णाली र भेरीका दुर्गम गाउँहरूमा खाई–नखाई खट्थे । आज बाटो–घाटो र पैसाको छेलोखेलो गर्दै पुँजीवादी शासक दलहरू ‘पैसाकै निम्ति’ सक्रिय छन् । तिनीहरू निर्वाचन, सिद्धान्त, कार्यक्रम र नीतिको कुरा जनतालाई नबताई निर्वाचन आचारसंहिताविपरीत लुगा, सामान, पैसा र लोभलालच एवम् नोकरी दिने लोभ देखाई मत माग्छन् ।
निर्वाचनपछि ती दलका कार्यकर्ताहरू सरकारमा जान्छन् र अनेक भ्रष्टाचार गरी जनतामा गलत प्रवृत्ति सिकाउँछन् । इमानदार र सच्चाइलाई माथिबाटै पतन गराइएको छ । यसबाट साधारण जनतामा राजनीतिप्रति आस्था र विश्वास घट्दै गएको छ ।
तर, नेमकिपाका कार्यकर्ताहरू पहिलेजस्तै इमानदारीपूर्वक देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने भावनाले सङ्गठनका कष्टसाध्य काममा निरन्तर लाग्दै छन् । हामीसँग अहिले ‘मजदुर’ दैनिक, ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर–किसान’, ‘सोलिडारिटी’ (ऐक्यबद्धता) जस्ता पत्रिकाहरू प्रकाशन भइरहेका छन् । साथै विद्यार्थी, युवा, किसान, मजदुर, शिक्षक, प्राध्यापक, कर्मचारी आदि पेशागत सङ्गठनका आ–आफ्ना पत्रिकाहरू पनि प्रकाशन भइरहेका छन् । अन्य प्रकाशनहरू पनि चालु छ ।
समाजवाद दाल–भात डुकुको मात्रै समस्याको समाधान होइन, बरु उँचो सांस्कृतिक स्तरले युक्त समाज निर्माण गर्नु पनि हो । झूट, बेइमानी, जालसाजी, चोरी, डकैती, चुनावमा धाँधली, गुण्डागर्दी, आचारसंहिताविपरीतका कार्यहरू, कर्मचारीहरूलाई मत चोर्न लगाउने, बत्ती निभाएर बहुमत ल्याउने र झूटो मत राखेर चुनावको नाटक गरेर साँचो जनमतको आकलन गर्न सकिने छैन । निर्वाचन मजदुर आन्दोलन र क्रान्तिको निम्ति एक ‘ब्यारोमिटर’ हो । नक्कली प्रमाणपत्र दिई नयाँ पुस्ता योग्य हुने सपनाबाट नेमकिपा निर्लिप्त छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको आजको स्थानलाई मूल्याङ्कन गर्दा स्थापनाकालमा नेतृत्वले तय गरेको लक्ष्य र आजको अवस्थामा कति तादात्म्य पाउनुहुन्छ ?
– ‘नेमकिपा आलुको बीउ रोपेर सुन्तलाको फलको आशा गर्दैन । छलछामले जनताको सांस्कृतिकस्तरमा आमूल परिवर्तन हुँदैन’ भन्ने विषयमा नेमकिपाको नेतृत्वलाई पटक्कै भ्रम थिएन र छैन । यसकारण, अन्य ‘कम्युनिस्ट’ र ‘समाजवादी’ भनिएका दलहरूले जस्तै विश्वासको सङ्कट नेमकिपाले झेल्नुपरेन । हाम्रो लक्ष्यमा अहिलेसम्म कुनै भ्रम छैन । अरू दलहरूका ‘महाधिवेशनहरू’ को लुछाचुँडी र भाँडभैलो नेमकिपाले झेल्नुपरेन । हाम्रो गन्तव्यबारे सबै साथीहरू विज्ञ हुनुहुन्छ ।
४८ वर्षको सङ्घर्षपूर्ण यात्रामा धेरै कार्यकर्ता, योद्धा र सहयोगीहरूले पार्टी विस्तार र सङ्घर्षमा त्याग र बलिदान गर्नुभयो । उहाँहरूलाई तपाईँ कसरी सम्झनुहुन्छ ?
– म उहाँहरूको त्याग र बलिदान खेर जानेछैन भन्ने विश्वास दिलाउन चाहन्छु । ती सबै साथीहरूको भावना आजसम्म सङ्घर्षशील साथीहरूमा ताजा छ ।
पार्टीमा सँगै लडेका साथीहरू कोही विरोधी भए, कोही पारिवारिक कारणले गतिविधिमा पछाडि हटे, कोही लोभलालचमा फसे र कोही विचलित बने । यी सबै पक्षलाई तपाईं कसरी समीक्षा गर्नुहुन्छ ?
– सँगै काम गरेका सबै साथीहरूको चेतनाको स्तर, उद्देश्य र वर्गीय आधार एउटै हुँदैन । केही साथीहरू पुँजीवादी समाजका स्वार्थी भावनाबाट प्रभावित भएका हुन्छन् । पारिवारिक स्वार्थ, लोभलालच र महत्वाकाङ्क्षाका कारण केही भागे, दृढता नभएकाहरू केही विचलित भए । यस्तो प्रवृत्ति प्रतिशतको हिसाबले अरू दलको तुलनामा नेमकिपामा शतांश पनि देखापरेन, त्यसैलाई वर्ग आधार भनेमा फरक पर्दैन ।
२०७२ सालमा नयाँ संविधान जारी भयो । यो संविधान प्राप्त गर्ने राजनीतिक सङ्घर्षमा नेमकिपाले पनि नेतृत्वदायी भूमिका खेल्यो । नेमकिपाले यो संविधानलाई समर्थन पनि गरेको छ । यही संविधानले देशको राजनीति र शासन व्यवस्था अघि बढेको छ । यस अवस्थामा नेमकिपाको राजनीतिक सङ्घर्षको कार्यदिशा के हो ?
– संविधानसभामा हामी सा¥है थोरै थियौँ, त्यसबाट बन्ने संविधान पुँजीवादी हुन्छ र समाजवादको जलप लगाउन बेर छैन भन्ने हामीले आकलन गरेका थियौँ, त्यही भयो । समाजमा आमूल परिवर्तन भएको भए संविधान पनि सोअनुसार लेखिन्थ्यो, पुँजीवादी संविधानसभाले समाजवादी संविधान बन्ने कुरै थिएन । तर, नेमकिपाले अथकरूपले सैद्धान्तिक सङ्घर्ष ग¥यो । संविधानमा झन्डै ७१ वटा धारामा असहमति दर्ज गराउनुको कारण त्यही थियो ।
नेमकिपाको सङ्गठन विस्तारबारे आलोचकहरूले बारम्बार कुरा उठाउने गरेका छन् । यसबारे अध्यक्षज्यूको धारणा के हो ?
– नेमकिपा बाटा र गल्लीमा आएका सबैलाई पार्टी सदस्यता दिएर महाधिवेशन र निर्वाचनमा गाईजात्रा देखाउनुजस्तो राजनीतिक संस्कृति स्वीकार्दैन ।
देशको वर्तमान राजनीतिक अवस्थाबारे नेमकिपाको धारणाबारे केही बताइदिनुहुन्छ ?
– ‘समाजवाद’ र ‘समृद्धि’ को वकालत गरी बारम्बार प्रधानमन्त्री बनेर बदनामी कमाएका व्यक्तिले चिताएको काम गर्छ भन्ने सपना म देख्दिनँ । ‘प्यास लागेर विष पिउने’ काम रचनात्मक हुनेगर्दैन । कहीँ नपुग्ने बाटोलाई भुलभुलैया भन्छ – त्यसको कुनै गन्तव्य हुँदैन ।
चुनावको मितिबारे शासक दलहरू टुङ्गोमा पुग्न सकिरहेका छैनन् । यो विषयमा नेमकिपा के भन्छ ?
– चुनावको अर्थ आफू जित्ने छलछाम होइन, जनमत हेर्नु सही उपायमात्र हो । चुनावको छलकपटबाट दिक्क मानेका जनताले छिट्टै सशस्त्र सङ्घर्षको आह्वान गर्नेछन् । जसरी ‘गृहयुद्ध’ मा सबै जिल्लाका नेताहरू जनतासँग जिल्ला र गाउँमा होइन राजधानीमा शरण लिएका थिए । इतिहासमा सहरी क्रान्तिमा पनि रगतको खोलो बगेको थियो । यसकारण, राजनीतिसँग ख्याल ठट्टा गर्नु भयङ्कर भूल हुनेछ । यसकारण, नेमकिपा क्रान्तिकारी संसद्वादको प्रयोग गर्दै छ ।
समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे नेमकिपाको पर्यवेक्षण कस्तो छ ?
– अमेरिकी साम्राज्यवादको ठूलो जहाजरूपी डुङ्गामा धेरै प्वालहरू छन्, त्यसलाई टालेर साध्य लाग्दैन । त्यो जहाज धेरै पुरानो भइसकेको छ । यसकारण, यस्तो समय पर्खिँदै छ –जहाज वा डुङ्गामा पानीको सतह बढ्दै गएपछि मुसाहरूसमेत त्यहाँबाट भाग्नेछन् । त्यो समयमा अमेरिकी साम्राज्यवाद एक्लो हुनेछ । त्यसबेला ढिलो भइसक्नेछ ।
अन्त्यमा नेमकिपाका कार्यकर्ता र समर्थकहरूलाई स्थापना दिवसको सन्दर्भमा भन्नुपर्ने कुरा केही छ कि ?
– नेमकिपाका सबै कार्यकर्ता, समर्थक र सद्भावना राख्ने सबै दाजु–भाइ र दिदी–बहिनीहरू मनमा कुनै प्रकारको स्वार्थ नराखी देश र जनताको हितमा लागिरहौँ, अहिले नेपाली जनताको अग्नीपरीक्षाको समय हो । ठुला पार्टी हुँदैमा तिनीहरूसँग इमान हुन्छ भन्ने कुरा असत्य साबित भइसकेको छ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *