भर्खरै :

शासक दलहरूको असफलतासँगै बढेको प्रतिगमनको स्वर

नेपालमा अहिले लोकतान्त्रिक गणतन्त्र छ तर सर्वसाधारण नेपाली जनताले त्यसको उपलब्धिको अनुभूति गर्न पाइरहेका छैनन् । सत्तामा पुगेका शासक दलहरूको असक्षमता वा जनताप्रतिको विश्वासघातका कारण लोकतान्त्रिक गणतन्त्र जनउत्तरदायी र व्यवस्थित शासन व्यवस्था हुन सकेको छैन । सरकारमा पुगेका शासक दलका नेताहरूको व्यवहारमा जनताप्रतिको जवाफदेहिता देखिएको छैन । उनीहरू देश र जनताको हितभन्दा आफ्नो दलगत, गुटगत र व्यक्तिगत स्वार्थलाई सर्वोपरी मानेर मै खाउँ मै लाउँको स्वार्थी प्रवृत्तिमा लिप्त भएका छन् । नेता आदर्शवान र उदाहरणीय भए जनताले त्यसको अनुसरण गर्ने र समाज नै आदर्शवान र मूल्य मान्यतायुक्त हुने हुन्छ । जनआन्दोलन २०६२÷०६३ पछि पटक–पटक सरकारमा गएका शासक दलका नेताहरूले जनभावनाअनुसार काम नगर्दा जनतामा निराशा छाएको छ भने हिजोका लोकतन्त्रविरोधीहरूको स्वर ठूलो हुँदै गएको छ । नेपाली भाषामा उखान छ – माछा मर्छ तर आँखा खुलै रहन्छ, सर्प मर्छ तर पुच्छर हलिरहन्छ । त्यस्तै कुनै पनि देशको राजनीतिक इतिहासमा शासन सत्ताबाट फालिएका शासकहरू वा पुरानो व्यवस्थाका हिमायतीहरू पुरानै व्यवस्था फर्काउनका लागि सक्रिय रहने गर्छन् ।
गणतन्त्रसँगै सङ्घीयता, समावेशिता, धर्म निरपेक्षता र समाजवादउन्मुख लोकतन्त्र जनआन्दोलन २०६२÷०६३ का विशेषता हुन् । नेपालको संविधान २०७२ मा कमी कमजोरी भए पनि जनआन्दोलनका केही मागहरू स्थापित गर्ने काम ग¥यो । सङ्घीय र प्रदेश संसद्हरूको निर्वाचन भयो । सङ्घीय र प्रदेश सरकारहरू गठन भए । तर, सरकार बनाउने राजनीतिक दलका नेताहरूबीच कसरी सरकारलाई जनउत्तरदायी बनाउने, बढीभन्दा बढी देश र जनताको हितमा काम गर्ने र गराउनेभन्दा कसरी विद्यमान सरकार असफल बनाउने र आफूले नेतृत्व गर्ने वा मन्त्री बन्ने भन्नेमा गयो । सरकारमा बसेर जनताको हितमा निःस्वार्थ ढङ्गले काम गर्नेमा भन्दा हरेक निर्णयबाट आफ्नो गुट र आफूलाई बढी लाभ लिने भन्नेमा गयो । शासक दलका नेताहरूबीच कसरी आफू प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बन्ने भन्ने होडबाजी हुँदा सत्तारूढ पार्टी टुटफुटमा गयो । पुरानो गठबन्धन तोडिएर नयाँ सत्ता गठबन्धन बन्यो । अनेक फोहोरी राजनीतिक र कानुनी खेलहरू भए । जनताले कल्पना नै नगरेका हुने नहुने सबै कुरा भए । जनताको नजरमा शासक दलका नेताहरूको इज्जत, प्रतिष्ठा र लोकप्रियता निकै कम भयो ।
आन्दोलनको समयमा सामूहिक र सार्वजनिकरूपमा अब भ्रष्टाचार गर्ने छैनौँभनी व्यक्त गरेको प्रतिबद्धताअनुरुप काम शासकहरूले नगर्दा देश आजको सङ्कटग्रस्त र जटिल मोडमा पुगेकोमा दुईमत नहोला । सत्तामा पुगेकाहरूमध्ये अधिकांशले म जनताको सेवा गर्न पदमा पुगेको हुँ, यस अवसरलाई त्यसैमा सदुपयोग गर्नेछु भनी नसोची ठूलो रकम खर्च गरेर यो पदमा पुगेको छु, अब निर्वाचनमा भएको खर्च र अर्को निर्वाचनका लागि समेत रकम जुटाउँछु भनी काम गर्दा भ्रष्टाचार र अनियमितता बढेको छ । शासक दलका शीर्ष नेताहरूले स्वयम् नै प्रत्यक्ष र अप्रत्यक्षरूपमा त्यस्तो भ्रष्ट क्रियाकलापलाई बढावा दिँदा तल्लो तहका नेता कार्यकर्ता खुलमखुला भ्रष्टाचारमा लिप्त भएका छन् ।
सत्तामा पुग्न जनताको समर्थनभन्दा विदेशी शक्ति रिझाउने परम्परालाई निरन्तरता दिँदा देश र नेपाली जनताको सार्वभौमिकता र हित च्याँखामा राख्न पुगेका छन् । शासक दलहरूको बफादारी सार्वभौम जनताप्रति नभएर उनीहरूलाई सत्ताको प्रलोभनमा फसाएका विदेशी शक्तिप्रति बढी देखिन पुगेको छ । शासकहरूद्वारा देशको सार्वभौमिकता र राष्ट्रिय हितको उपेक्षा हुँदा जनता आक्रोशित र आन्दोलित हुनु स्वाभाविक छ । तर, जनताको आक्रोशलाई गलत दिशामा मोडेर प्रतिगमन ल्याउन चाहने प्रतिगामीहरूको चाल सफल भने हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *