भर्खरै :

रूस र युक्रेनको तनावले कच्चा तेलको मूल्यमा वृद्धिको प्रक्षेपण

न्यूयोर्क ११ फागुन (एएफपी÷सिन्ह्वा) । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।
दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।
युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उनीहरूले बताएका छन् ।
रुसले युक्रेनी पृथकतावादीहरूको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिँदै आफ्नो सेनालाई ती क्षेत्रमा पठाएसँगै बेलायत र अन्य धेरै पश्चिमी मुलुकले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रूपमा मान्यता दिएपछि यूक्रेनी सङ्कटसँग जुध्न आफ्नो सहकार्य रहने उनीहरूले बताएका छन् । स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरूको बाक्लो उपस्थिति छ ।
रूसी अधिकारीहरूमाथि १० वर्षे प्रतिबन्ध
युक्रेनी संसद्ले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।
यस प्रस्तावनालाई ४५० मध्ये ३२२ जना विधायकले समर्थन गरेका छन् । “प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानूनी स्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु हो । डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिन संलग्न व्यक्तिहरूलाई यूक्रेनी हितविपरीत हुने वास्तविक सम्भावित खतराहरू सृजना गर्ने कदम रोक्नका लागि प्रस्तावनामा सुझाव दिइएको छ ।
प्रतिबन्ध लगाउन प्रस्तावित यस सूचीमा ३५१ जना रूसी विधायक तथा रूसी सुरक्षा परिषद्का सदस्यहरू समावेश छन् ।
प्रस्तावित प्रतिबन्धहरूमा आधिकारिक भ्रमण रद्द गर्ने, बैठक, वार्ता, जमिन खरिदमा प्रतिबन्ध लगाउने, सम्पत्ति रोक्का गर्नेलगायत समावेश गरिएको बताइएको छ ।
यसैबीच बेलायतले छिट्टै युक्रेनलाई सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने संयुक्त अधिराज्य (बेलायत) ले युक्रेनलाई निकट भविष्यमा सैन्य सहायताको नयाँ सहयोग (प्याकेज) प्रदान गर्ने बताएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्रीका अनुसार यस नयाँ प्याकेजमा रक्षात्मक तथा अन्य हतियारलगायतका बन्दोबस्तीका सामान सहायता समावेश हुनेछ ।
अमेरिकाद्वारा रुसमाथि प्रतिबन्धको घोषणा
युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ ।
अमेरिकाले गरेको प्रतिबन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशहरूले समेत समर्थन जनाउँदै आफ्नो देशहरूको तर्फबाट पनि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरूले प्रतिबन्धहरू पनि थप गर्दै जाने चेतावनी दिएका छन् ।
उनीहरूले सूचना प्रतिविधिको सञ्जालबाट रुसलाई अलग्याउने, आर्थिक कारोवारको सञ्जालमा नराख्ने, रुसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायतका अभियान पनि ल्याउन सक्ने बताइएको छ । रुसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिम युरोपेली देशहरूले रुसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रुसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *