भर्खरै :

“नेपाललाई हरेक प्रकारका सहयोग प्रदान गर्न क्युवा अघि सर्नेछ”

 (नेपालका लागि नवनियुक्त क्युवाली राजदूत अलेहान्द्रो सिमान्कस मारिनसँग ‘मजदुर’ दैनिक तथा ‘श्रमिक’ साप्ताहिकका प्रतिनिधिहरूले हालै लिनुभएको अन्तवार्ता–सं ।)
सर्वप्रथम ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकको तर्फबाट यहाँलाई स्वागत गर्न चाहन्छु । तपाईँँले क्युवाको विदेश मामिलामा काम गर्नुभयो । युरोप र रसियामा धेरै समय बिताउनुभयो । तपाईँले यो भन्दाअगाडि सान लुसियामा राजदूतको रूपमा पनि काम गर्नुभयो । तपाईँँको यो कूटनैतिक अनुभवको बारेमा केही बताइदिनुहुन्छ कि ?
क्युवाको कूटनैतिक सम्बन्ध भएका देशमा मैले मेरो देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ । सांस्कृतिक र भौगोलिकरूपमा विविधता भएका ती देशहरू र त्यहाँका सहृदयी साथीहरूबारे बुझ्ने मौका पाएँ । संसारमा धेरै विविधता छन् । तर, हामी सबै मानव भएकोले समान व्यवहार र आत्मसम्मानको अपेक्षा गर्दछौँ । नेपाल पुगेको चौबिस घण्टा पनि भएको छैन । तर, यो अवधिमा यहाँ मैले पाएको सम्मान र यहाँका भद्र मित्रहरूको व्यवहारले म हर्षित छु । सन्तुष्ट छु ।
महामहिमज्यू, यहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई भेट्नुभयो र पार्टीको स्वागत कार्यक्रममा पनि सहभागी हुनुभयो । यहाँको नेपाल भ्रमण अनुभव कस्तो रह्यो ?
नेपालसँग हाम्रो ऐतिहासिक सम्बन्ध छ । यो मित्रतालाई प्रगाढ बनाउन नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण योगदान छ । कामरेड नारायणमान बिजुक्छेँ (रोहित) हाम्रो लागि सदा एक महत्वपूर्ण नेताको रूपमा हुनुहुन्छ । हाम्रो मित्रता प्रत्यक्षरूपमा अनुभव गर्ने अवसर पाएकोमा म गौरवान्वित छु । क्युवाको सङ्घर्षमा ऐक्यबद्धता जनाउनु हुने पार्टीका सम्पूर्ण साथीहरू र भक्तपुर नगरपालिकाका नागरिकहरूप्रति आभारी छु । यहाँहरूले धेरै वर्ष क्युवाको एक सच्चा साथीको रूपमा निरन्तर ऐक्यबद्धता जनाउँदै आउनुभएको छ । हाम्रो मित्रता गहिरो छ ।
नेपाल र क्युवाबीच सन् १९७५ मार्च २५ मा कूटनैतिक सम्बन्ध स्थापना भयो । नेपाल र क्युवाबीचको द्विपक्षीय सम्बन्धबारे केही बताइदिनुहुन्छ कि ?
हामीबीचको द्विपक्षीय सम्बन्ध करिब तीन दशकदेखि कायम छ । सांस्कृतिक एवम् भौगोलिक विविधता भए पनि मेरो विचारमा हामीबीच एउटै प्रकारका विचार र आशा भएको पाउँछु । देशको स्वाधीनता र राष्ट्रियताप्रतिको धारणा समान भएको पाउँछु । हामीबीचको द्विपक्षीय सम्बन्धको एउटा महत्वपूर्ण क्षण नेपालमा गएको विनाशकारी भूकम्पको बेला रह्यो । त्यो दुःखद समयमा नेपाललाई सहयोगको खाँचो थियो । हामीले नेपालमा क्युवाली डाक्टरहरूको टोली पठाउने निर्णय तत्काल ग¥यौँ । क्युवाली डाक्टरहरूलाई पनि मौका भूकम्पबाट पीडित यहाँका जनताको सेवा गर्ने मिल्यो । मेरो विचारमा मानव जीवनको रक्षा गर्नु नै हाम्रो महत्वपूर्ण उद्देश्य हुनुपर्दछ । त्यसैले हामीबीचको द्विपक्षीय सम्बन्धको कुरा गर्दा त्यो क्षणलाई भुल्न सकिँदैन ।
क्युवाको वर्तमान परिस्थितिबारे केही प्रकाश पार्नु हुन्छ कि ? अहिले त्यहाँको स्वास्थ्य क्षेत्रको व्यवस्था कस्तो छ ?
अरू देशहरूले जस्तै क्युवाले पनि कोभिडका कारण यी दुई वर्ष कठिनतापूर्वक पार ग¥यो । तर, हाम्रो आफ्नै जैविक प्रविधि र क्षमता हुँदा क्युवामा हामी आफ्नै भ्याक्सिन उत्पादन गर्न सफल भयौँ । ९० प्रतिशतभन्दा बढी क्युवालीहरूले खोप लगाइसकेका छन् । अहिले अवस्था अलि राम्रो छ । अहिलेको हाम्रो प्राथमिकता भनेको कोभिडका कारण पछाडि धकेलिएको आर्थिक क्षेत्रमा प्रगति गर्नु हो । विगत ६० वर्षदेखि हामीले शक्तिशाली अमेरिकाको आर्थिक नाकाबन्दीको पीडा भोगिरहेका छौँ । यो एक गैरकानुनी र आपराधिक नाकाबन्दी हो, जसको नेपाललगायत सबै देशहरूले भत्र्सना गर्दै आएका छन् । त्यसैले हामी नेपाल सरकार र यहाँका जनताप्रति आभार व्यक्त गर्न चाहन्छौँ । हाम्रो प्राथमिकता जहिले पनि स्वास्थ्य क्षेत्रमा रहेकोले कोभिडको समयमा हामीले सफलतापूर्वक भ्याक्सिन आविष्कार गरेर जनताको सेवा गर्न सक्यौँ ।
क्युवाको शैक्षिक अवस्थाबारे केही बताइदिनु हुन्छ कि ?
मेरो विचारमा कोभिडका कारण विगत दुई वर्षमा सबभन्दा बढी प्रभावित शिक्षा क्षेत्र हो । बच्चाहरू स्कूल जानबाट वञ्चित भए । तर, हामीले वैकल्पिक माध्यमहरू जस्तै अनलाइन क्लास, टीभी क्लासहरू चलायौँ । एउटा निश्चित ग्रेडका विद्यार्थीले अर्को ग्रेडका विद्यार्थीलाई सिकाउने तरिका पनि अपनायौँ । क्युवामा साधारणतया नयाँ शैक्षिक सत्रको सुरुआत सेप्टेम्बरमा हुन्छ । मेरो विचारमा अहिले विगतमा छुटेका कोर्सहरू नयाँ सत्र सुरु हुनुभन्दा अगाडि सकिन्छ ।
क्युवाको पर्यटन उद्योगको बारेमा पनि केही बताइदिनुहोस् !
पर्यटन उद्योग हाम्रो आर्थिक उपार्जनको एउटा प्रमुख स्रोत हो । तर, कोभिडको समयमा सिमानामा आवतजावत बन्द भयो । किनभने, कोभिडलाई नियन्त्रण गर्ने त्यो नै सही उपाय थियो । त्यसको असर आर्थिक क्षेत्रमा प¥यो । कोभिडभन्दा अगाडि हामीकहाँ करिब पाँच मिलियन (पचास लाख) पर्यटकहरूको आगमन हुन्थ्यो । गत वर्ष करिब पाँच लाख जतिमात्र पर्यटक भित्रिए ।
नोभेम्बरमा हामीले सिमाना खुला ग¥यौँ र फेरि एकचोटि पर्यटकीय गतिविधिलाई पहिलाको स्थितिमा पु¥याउने योजना छ । युरोप र क्यानडाका पर्यटकहरू बढी हाम्रो देशमा घुम्न आउँछन् । दुई वर्षको अन्तरालपछि आउँदो मेमा हवानामा पर्यटकीय मेलाको आयोजना गर्दै छौँ । हुन त नेपाल क्युवाबाट धेरै टाढा छ, तर उक्त मेलामा तपाईँ सारा नेपालीलाई पनि औपचारिकरूपमा निमन्त्रणा गर्न चाहन्छु ।
क्युवा एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण र ऐतिहासिक महत्व बोकेको देश हो । मेरो विचारमा क्युवामा भएका सुन्दर बिचहरू र सहरभित्रका ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको मिश्रण नै पर्यटकीय आकर्षणको केन्द्र हो । अर्को हाम्रा हँसिला क्युवालीहरू र अतिथिलाई स्वागत गर्ने हाम्रो परम्पराले गर्दा पर्यटकहरू बढेको हो ।
पक्कै पनि क्युवालीहरू मित्रवत् व्यवहार गर्छन् । अर्को कुरा क्युवा एक सुरक्षित देश हो । हवाना एक सुरक्षित सहर हो । कुनै डरत्रास बिना पर्यटकहरू सहर घुम्न सक्छन् । यी अनुकूल अवस्थाहरूले गर्दा पनि क्युवामा पर्यटक बढेको हो ।
भक्तपुरको पाँचतले मन्दिर, पचपन्न झ्याल दरबार रहेको पर्यटकीय स्थलहरू तपाईँलाई कस्तो लाग्यो ?
अत्यन्तै सुन्दर लाग्यो । समय मिलाएर यहाँका हरेक काष्ठकला र सम्पदाको अवलोकन गर्न चाहन्छु । जुन तरिकाले तपाईँहरूले यी सम्पदाहरू जोगाइरहनुभएको छ, यो धेरै राम्रो काम हो । यी भनेका हाम्रा पहिचान र इतिहास हुन् । त्यही भएर हामीले संरक्षण गर्न जरुरी छ ।
क्युवाकै विषयमा फर्कौँ । क्युवाले कुशलतापूर्वक स्वास्थ्य व्यवस्थापन गर्न सफल भएको देखिन्छ । क्युवा एउटै देशले पनि करिब पाँच थरी कोभिड भ्याक्सिन आविष्कार गरेको छ । तीन ओटा भ्याक्सिनलाई डब्लुएचओले प्रमाणित पनि गरेको छ । अमेरिकी नाकाबन्दी भए पनि यी सफलताहरू कसरी हासिल गर्न सक्नुभयो ?
सायद यो सफलताको श्रेय स्वास्थ्य क्षेत्रमा हामीले दिएको प्राथमिकताको परिणाम होला । क्युवामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूको सहकार्य र परिश्रमले गर्दा हामीले आफ्नै भ्याक्सिन विकास गर्न सक्यौँ ।
पाँचथरी भ्याक्सिनको विकास गर्नु जरुरी थियो र ? एउटै भ्याक्सिन काफी थिएन र ?
धेरैले यस विषयमा प्रश्न गर्छन् । त्यो बेला कोभिडविरुद्धको लडाइँमा, त्यो आपत्कालीन स्थितिमा हामीले विभिन्न थरीका भ्याक्सिनहरू परीक्षण गर्दै कुन चाहिँ ठीक र प्रभावकारी होला र कुन चाँहि पर्याप्त मात्रामा उत्पादन गर्न सक्छौँ भन्ने कुरालाई ध्यानमा राखेर काम ग¥यौँ । सायद त्यही भएर धेरै प्रकारका भ्याक्सिनहरूको आविष्कार र परीक्षण भएको हो । हाम्रो देशमा दुईवटा ठूला संस्थाहरूले भ्याक्सिनको उत्पादन गरिरहेका छन् ।
अबडाला (Abdala) मामविसा (Mambisa) सोवराना १ (Soberana 1) सोबराना २ (Soberana 2) सोबराना प्लस (Soberana plus) जस्ता भ्याक्सिनहरू यो क्रममा विकास ग¥यौँ । मेरो विचारमा आपत्कालीन स्थितिमा यसरी विभिन्न भ्याक्सिनहरूको परीक्षण अहिले सही साबित भएको छ ।
यसरी धेरै भ्याक्सिनको उत्पादन गरिरहँदा आवश्यक कच्चा पदार्थको अभाव कतिको झेल्नुप¥यो ! नाकाबन्दीले कतिको फरक पा¥यो ?
हाम्रो आफ्नै भ्याक्सिन उत्पादन गर्नु भनेको आत्मनिर्भरताको कुरा हो । हाम्रो उत्पादनको निर्यातलाई रोक्न उनीहरूले धेरै प्रयास गरे । उनीहरूले खडा गरेका बाधाहरूबाट बच्ने एउटै उपाय भनेको आत्मनिर्भर हुनु हो । अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्ने क्रममा हामीले धेरै अवरोध सामना ग¥र्यौँ ।
भ्याक्सिनको उत्पादनपछि संसारबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
क्यारिबियन मुलुकहरू, अष्ट्रेलिया, क्यानडा, मेक्सिको ल्याटिन अमेरिकी मुलुकहरू जस्तै भेनेजुयला, इरान, भियतनामजस्ता देशहरूले राम्रै प्रतिक्रिया दिएका छन् ।
क्युवाले विभिन्न मुलुकहरूमा विगत लामो समयदेखि अन्तर्राष्ट्रिय स्वास्थ्य उपचार सहयोग प्रदान गर्दै आइरहेको छ । सन् २०१५ मा भूकम्पबाट पीडित नेपाली जनतालाई पनि क्युवाली स्वास्थ्य टोलीले सेवा प्रदान ग¥यो । हामी नेपालीहरू त्यसप्रति आभारी छौँ । क्युवाको मेडिकल बिग्रेड (टोली) बारे र प्राप्त प्रतिक्रियाहरू बारे प्रकाश पारिदिनुहुन्छ कि ?
कोभिड महामारीको समयमा हामीले तत्काल विभिन्न मुलुकहरूमा आवश्यक स्वास्थ्य सामग्री र मेडिकल टोलीहरू खटायौँ । हामीसँग करिब ५५ वटाभन्दा बढी मेडिकल बिग्रेडहरू छन् । ल्याटिन अमेरिका, अफ्रिका, क्यारिवियन देशहरू, युरोपमा विशेषगरी इटलीमा, एसियन देशहरूलगायत धेरै मुलुकमा मेडिकल टोलीहरू पठायौँ । हामीसँग आपत्कालीन स्थितिमा तीव्रगतिमा काम गर्ने मेडिकल बिग्रेडहरू पनि छन् । सन् २००५ मा पाकिस्तानमा भूकम्प जाँदा हामीले त्यस्तो टोली पठाएर सहयोग ग¥यौँ । फिडेल क्यास्ट्रोले आपत्कालीन स्थितिमा सहयोग गर्नसक्ने त्यस्ता बिग्रेडहरू बनाउन राजनैतिक इच्छाशक्तिको खाँचो रहेको कुरा व्यक्त गर्नुभयो र एकचोटि त्यस्तो स्थितिमा चाँडो काम गरेपछि हाम्रो क्षमता र अनुभव बढ्दै जाने कुरा निश्चित छ । त्यस्तो बिग्रेडको नाम हेनरी रिफ राखियो । हेनरी रिफ एक अमेरिकी सेना हुन् जसले क्युवाको स्वतन्त्रताको लागि १९ औँ शताब्दीमा लड्नुभयो । अहिले हामी त्यसरी नै अरू देशहरूलाई सहयोग गरिरहेका छौँ ।
क्युवाको यो सहयोगको बारेमा के कस्तो प्रतिक्रियाहरू पाइरहनुभएको छ ?
पहिलो कुरा त, यो सम्पूर्ण क्युवाली डाक्टरहरूको लागि एउटा गतिलो अनुभव सँगाल्ने अवसर हो । हामीले नेता चेबाट सिकेका छौँ । अर्जेन्टिनामा जन्मेका चेले क्युवाली क्रान्तिमा धेरै ठूलो योगदान गर्नुभयो । विभिन्न देशका योद्धाहरूले क्युवाली क्रान्तिमा सहयोग गर्नुभयो । हामीले त्यही अनुभव र भावना सिकेर काम गर्दै छौँ । हामीले जहिले पनि नेपालमा जस्तै सबै ठाउँमा त्यही मित्रवत् आतिथ्य र हार्दिकता पायौँ । यो एउटा मानवको लागि अति नै उच्च सम्मान हो ।
हामीलाई क्युवाको विज्ञान र प्रविधि धेरै नै विकसित र प्रभावकारी भएको अनुभूति छ । हामी नेपालीहरू जथाभावी एन्टीवायोटिक्स प्रयोग गछौँ । क्युवाली डाक्टरले एउटा साथीको उपचार गर्दा कुनै पनि एन्टीवायोटिक्स प्रयोग नभएको पाउँदा हामी छक्क परेका थियौँ । त्यसबाट हामीलाई क्युवाको चिकित्सा क्षेत्रको अनुभव निकै राम्रो छ भन्ने महसुस भयो ।
सायद यो हाम्रो धेरै वर्षदेखिको निरन्तर अभ्यास र खोजको परिणाम हुनुपर्छ । लामो समयको अनुभवले गर्दा चिकित्सा क्षेत्रमा हामीले सफलता हासिल गर्न सक्यौँ ।
अमेरिकी राष्ट्रपति बाइडेन र पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले क्युवाविरुद्ध लादेको नाकाबन्दीले संरा अमेरिकाको शत्रुवत् नीतिलाई प्रस्ट देखाउँछ । संयुक्त राज्य अमेरिका र क्युवाको अहिलेको सम्बन्ध कस्तो छ ?
अमेरिकासँगको हाम्रो द्विपक्षीय सम्बन्ध औपचारिक सम्बन्धमा सीमित छ । अहिले पनि उनीहरूले आक्रामक तरिकाले आर्थिक नाकाबन्दी गरिरहेका छन् । छिमेकी भएको नाताले हामीले धेरै पटक संयमित र सरल सम्बन्धको लागि आह्वान ग¥यौँ ।
मानव तस्करी, पर्यावरणीय सड्ढटहरूको सामना मिलेर गर्नुपर्ने भएकोले सम्बन्ध सुधार्न कोसिस ग¥यौँ । समानतामा आधारित सम्बन्ध र विना कुनै सर्तको सम्बन्ध हामीले चाहेका हौँ । फूटबलमा ‘बल अर्काे पक्षको हातमा छ’ भनेजस्तै अहिले निर्णय गर्ने कुरा अमेरिकाको हो, हाम्रो तर्फबाट हामी खुला छौँ ।
नाकाबन्दी हट्ने कुनै सम्भावना देख्नुहुन्छ ?
यो संयुक्त राज्य अमेरिकामा निर्भर गर्छ । यो अमेरिकी चाहनामा भरपर्ने कुरा हो ।
क्युवाको शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र संसारकै उत्कृष्ट र राम्रो छ । कुनै विदेशी आर्थिक सहयोग र आइएनजीओको योगदान बिना एउटा देश कसरी आर्थिकरूपमा समुन्नत हुनसक्छ ?
मेरो विचारमा यो राजनैतिक उद्देश्य र क्षमता विकास गर्ने सोचमा भर पर्दछ । क्युवामा त्यस्तो राजनैतिक र सामाजिक उद्देश्यलाई व्यवहारमा उतार्न क्युवाली क्रान्तिले अहम् भूमिका निर्वाह गरेको छ । क्रान्तिपछि नेता फिडेलले सम्पूर्ण क्युवालीहरूलाई सहयोग गर्ने घोषणा गर्नुभयो । सम्पूर्ण क्युवालीहरूको क्षमता विकास गर्न प्राथमिकदेखि विश्वविद्यालय तहसम्म निः शुल्क शिक्षा प्रदान गरियो । हामी विगत ६० वर्षदेखि त्यो क्षमता विकास गर्ने र देशलाई सबल बनाउने अभियानमा जुटिरहेका छौँ । हामी जोसे मार्टीका भनाइहरूबाट पनि निर्देशित छौँ । जोसे मार्टी क्युवाका राष्ट्रिय नायक हुन् । उहाँले भन्नुभएको छ, “स्वतन्त्र हुने एउटा मात्र तरिका भनेको शिक्षा र संस्कृतिको ज्ञान हो ।”
अहिले क्युवामा नयाँ राष्ट्रपतिको आगमनसँगै कुनै नीतिगत परिवर्तनहरू भएका छन् कि ?
सन् २०१८ को चुनावपश्चात् क्युवामा हामीले नयाँ राष्ट्रपति पाएका छौँ । तर, नीतिगतरूपमा केही परिवर्तन गरेका छैनौँ । निश्चितरूपमा आर्थिक विकास तीवरूपमा अगाडि बढाउन नयाँ उपायहरू अँगालेका छौँ । हामी क्युवाली क्रान्तिकै भावनाअनुसार अघि बढिरहेका छौँ । हामीले व्युरोक्रेटिक निर्णयहरूलाई घटाएका छौँ, लगानीका क्षेत्रहरू विस्तार गरेका छौँ । स्थानीय सरकार वा प्रान्तीय सरकारहरूको अधिकार बढाएका छौँ । सारमा आर्थिक उन्नतिको लागि यस्ता केही कदमहरूबाहेक राजनैतिक एवम् नीतिगत परिवर्तन गरेका छैनौँ ।
महामहिमज्यू, तपाईँँ एउटा समाजवादी देशको प्रतिनिधित्व गर्नुहुन्छ । यो क्रममा पुँजीवादी देशहरूमा पनि पुग्नुभयो । पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थामा के भिन्नता पाउनुहुन्छ ? पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्था धेरै उत्तम भन्ने कुरा कसरी प्रमाणित गर्नुहुन्छ ?
हरेक देशको आफ्नै ऐतिहासिक र भौगोलिक परिवेशहरू हुन्छन् । हामी यो विविधताको सम्मान गर्दछौँ । क्युवामा समाजवादी व्यवस्था लागु भइरहेको छ । सबै क्युवाली जनताको शिक्षा, स्वास्थ्य र खेलकुदमा पहुँच छ । क्युवाली क्रान्तिको देनले भएका परिवर्तन र सुधारको लामो नै सूची बन्छ । समाजमा विभेदको अन्त्य भएको छ, सामाजिक समानता स्थापित भएको छ । त्यही भएर क्युवाली क्रान्ति अहिले पनि क्युवामा उत्तिकै लोकप्रिय छ ।
क्युवाको अर्काे महत्वपूर्ण उपलब्धि कृषि क्षेत्र पनि हो । भर्मि कम्पोस्टिङ (Vermi composting) र जैविक खेतीले रासायनिक मललाई प्रतिस्थापन गरेको देखिन्छ । यसबारे केही बताइदिनुहुन्छ कि ?
क्युवामा जैविक खेतीको क्षेत्रमा अझ धेरै गर्न बाँकी छ । हामी मेहनतका साथ त्यो क्षेत्रमा पनि काम गरिरहेका छौँ ।
अन्त्यमा, केही थप कुरा भन्न चाहनुहुन्छ कि ?
म नेपाल सरकार, यहाँका विभिन्न संस्था र जनतासँग क्युवा र नेपालबीचको सम्बन्ध सदा यसरी नै मित्रवत्रूपमा कायम रहन्छ भन्ने आशा व्यक्त गर्न चाहन्छु । क्युवा सधैँ तपाईँँहरूको साथमा रहनेछ । हरेक प्रकारका सम्भावित सहयोग प्रदान गर्न क्युवा अघि सर्ने छ । हामीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन लागिपर्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *