भर्खरै :

नाटो एसियामा विस्तार हुन खोज्दै छ

“रुस–युक्रेन लडाइँलाई हामीले एसियामाथि संरा अमेरिकाको सम्भावित हमलाको पृष्ठभूमिको रूपमा लिन सक्छौँ । नियन्त्रण र सन्तुलन गर्ने कुनै अर्को मोर्चा भएसम्म नाटोको बिस्तार रोकिने छैन”, चीनबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द ग्लोबल टाइम्सका पत्रकारहरू लि एसिन र पाई युनयीसँगको विस्तृत कुराकानीमा चेङ्ग योङनियानले भने । अवरोधका ठुलठूलो ढुङ्गाहरूबीच शान्ति वार्ता सुस्तसुस्त अघि बढे पनि दुई देशबीचको द्वन्द्व चालु नै छ । के संसारको भूराजनीतिक परिदृश्यमा यो द्वन्द्व पान्डोराको सन्दुक बन्दै छ ? चीनलगायत संसारका देशहरूले यो अवस्थाबाट के सिक्ने ? यी विषयहरूमा चेङले आफ्ना भनाइ पस्केका छन् । चेङ मानविकी र सामाजिक विज्ञान कलेजका कार्यकारी डीन, चिनियाँ हङकङ विश्वविद्यालय, सेनझेनको समकालीन विश्व र चीन अध्ययन प्रतिष्ठानका संस्थापक निर्देशक हुन् ।
ग्लोबल टाइम्स : रुस–युक्रेन लडाइँ आगामी दिन कसरी अघि बढ्ला ? के उनीहरूबीच कुनै सम्झौता होला अथवा कुनै ठूलै युद्ध निम्तिन सक्छ ?
चेङ : अहिलेसम्म रुसी सेनासँग आफै आमनेसामने गर्न नाटो तयार देखिएको छैन । तैपनि यो लडाइँलाई रुस र युक्रेनबीचको मात्र लडाइँ भन्न मिल्दैन । जेलिएका कारणले दुवै देश रोकिने कुनै सङ्केत छैन । सबै पक्षले युद्धविरामको लागि आह्वान गर्दै गर्दा लडाइँ भने चर्किएर जाने सम्भावना छ ।
वस्तुगतरूपमा हेर्दा पुटिनको लक्ष्य सिङ्गो युक्रेन लिने नहुन सक्छ । आकारले जर्मनीभन्दा ठूलोे देश युक्रेनमाथि कब्जा जमाउनु सजिलो छैन भन्ने कुरा पुटिनलाई थाहा हुनुपर्छ । त्यसमाथि जेलेन्स्की कोही कल्पनामा रमाउने नेता होइनन् । अहिलेसम्म उनले पनि नाटोको प्रत्यक्ष संलग्नताबिना युक्रेनले लडाइँ जित्न सक्दैन भन्ने कुरा बुझिसकेको हुनुपर्छ । रुसमाथि आर्थिक नाकाबन्दी थोपर्न युरोपले संरा अमेरिकाको पक्षपोषण गरेको छ । तर, जर्मनी र फ्रान्सजस्ता देशहरूले नाकाबन्दीबाट केही पाउने भन्दा बढी गुमाइरहेका छन् ।
यी सबै कारणले विभिन्न पक्षले कुनै एउटा सम्झौतामा पुग्ने आधार प्रदान गरेको छ । मुख्य समस्या त्यो आधारलाई कसरी गतिशील बनाउने भन्ने हो । यदि लडाइँ नियन्त्रण बाहिर गए साना आकारका आणविक हतियारको प्रयोग हुने सम्भावनालाई नकार्न सकिन्न । त्यस्तो अवस्थामा लडाइँ युरोपको सीमाबाट बाहिर पोखिनेछ ।
ग्लोबल टाइम्स : लडाइँ सुरु भएपछि जर्मनीले आफ्नो रक्षा बजेट बढाएको छ । नाटोको सदस्यताबारे फिनल्यान्डको जनमतमा ठूलोे परिवर्तन भएको छ । जर्जियाले युरोपेली सङ्घको सदस्यका लागि आवेदन दिएको छ । रुस–युक्रेन लडाइँले युरोपको भूराजनीतिक नक्सा कसरी परिवर्तन गर्ने देख्नुहुन्छ ? त्यसले संसारमा कस्तो प्रभाव पार्ला ?
चेङ : अहिले युरोप संरा अमेरिकाको पक्षमा उभिएको छ । तर, यो ‘ऐक्यबद्धता’ निकै कमजोर खालको छ । दीर्घकालीन र ऐतिहासिक कोणबाट युरोप जोखिममा छ र विशेषतः युरोपेली सङ्घ निकै कमजोर अवस्थामा छ ।
प्रथमतः जर्मनीले गत फेब्रुअरीमा देशको सुरक्षाको खर्च बढाएर आफ्नो कुल गार्हस्थ उत्पादनको २ प्रतिशतभन्दा बढी पु¥याउने घोषणा ग¥यो । यसले युरोपमा फेरि सैनिक प्रतिस्पर्धा हुने सङ्केत गरेको हुनसक्छ । रुस–युक्रेन लडाइँको कारण तत्काल युरोपेली देशहरूले जर्मनीको कदमप्रति अहिलेसम्म कुनै विरोध गरेका छैनन् । तर, दीर्घकालमा जर्मनीको पुनःसैनिकीकरण फ्रान्सको लागि के हुनसक्छ ? फ्रान्सले हेर्न चाहने त्यो अन्तिम कुरा हुनेछ । युरोपभित्रको भूराजनीतिमा ठूलोे परिवर्तन आउन सक्छ ।
दोस्रो, युरोपले आणविक प्रसारणको जोखिमसमेत सामना गर्नुपर्ने हुनसक्छ । बेलारुसले गैरआणविक देशको संवैधानिक हैसियतमा संशोधन गरिसकेको छ । यो संशोधनले बहुआयामिक प्रभाव पार्न सक्छ । यदि बाह्य परिस्थितिमा परिवर्तन आएजस्तै रुस पराजित भए पनि आणविक हतियार प्रयोग हुनसक्छ । त्यस्तो अवस्थामा पनि युरोपले ठूलोे आणविक जोखिम सामना गर्नुपर्ने हुनसक्छ ।
शीतयुद्ध समाप्त भएपछि स्यामुएल पी हेन्टिङटनजस्ता धेरै अमेरिकी बुद्धिजीवीहरूले युरोप र संरा अमेरिका लगभग एउटै बनिसकेको र अब हुने द्वन्द्व सभ्यताहरूबीच हुने बताएका थिए । मेरो विचारमा त्यो बुझाइ गलत थियो । पहिलो र दोस्रो विश्वयुद्ध युरोपको एउटै सभ्यताभित्रै भएको थियो । संरा अमेरिका र रुसबीच भएको शीतयुद्ध पनि एउटै ठूलोे सभ्यता वृत्तभित्र भएको थियो । त्यसकारण, अहिले पनि पश्चिमा सभ्यताभित्रै अर्को भयानक लडाईँ नहोला भन्न सकिन्न ।
तेस्रो, जर्मनीको ‘पुनः सैनिकीकरण’ ले जापानलाई पनि ‘पुनःसैनिकीकरण’ को बाटोमा जान संविधान संशोधन गराउन उत्साहित बनाउनेछ । यसले एसियाको भूराजनीतिक दृश्यमा परिवर्तन निम्त्याउनेछ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले जापानको शान्तिवादी संविधानमा संशोधनको माग गर्न थालिसकेका छन् । यसले सिङ्गो पूर्वी एसियालाई प्रभावित बनाउनेछ ।
दीर्घकालीन भूराजनीतिक र आर्थिक कोणबाट हेर्दा यो लडाइँमा संरा अमेरिकाबाहेक कोही पनि जित्नेछैन । बलियो गरी सङ्गठित युरोपको लागि संरा अमेरिकाको आवश्यकता हुन्थेन । तर, युरोप विभाजित छ । त्यसकारण, नाटोमा संरा अमेरिकाले आफ्नो नेतृत्वलाई बलियो बनाउन सकेको छ ।
रुस–युक्रेन लडाइँ जसरी अन्त्य भए पनि युरोपले प्रमुख भूराजनीतिक आत्मसमीक्षा गर्न जरुरी छ : के भविष्यमा युरोपको मामिला संरा अमेरिकाको हातमा हुनु ठीक हो ? रुससँग सम्बन्धित मामिला के युरोपले मात्र सम्हाल्न सक्छ ? न हामी न युरोपले नै युरोपको शक्तिलाई उपेक्षा गर्नसक्छौँ ।
ग्लोबल टाइम्स : हालै एउटा लेखमा तपाईंले रुस–युक्रेन लडाईँले आधारभूतरूपमा अन्तर्राष्ट्रिय व्यवस्था प्रभावित गर्नसक्ने लेख्नुभएको थियो । के हामीले चीन–रुस–संरा अमेरिका त्रिकोणात्मक सम्बन्धलाई भविष्यको विश्व व्यवस्थासँग जोडेर विश्लेषण गर्नसक्छौँ ?
चेङ: शीतयुद्ध समाप्त भएयता संरा अमेरिकाले रुसलाई कमजोर बनाउने प्रयास जारी राख्यो । रुसलाई उसले ‘समस्याको जरो’ को रूपमा मात्र चित्रण गर्दै आयो । चीनलाई भने उसले आफ्नो प्रतिस्पर्धी वा शत्रु नै ठानेको छ ।
त्यसकारण, बितेका केही वर्षयता संरा अमेरिकाले चीनविरुद्ध ‘एसियाको नाटो’ बनाउन खोजिरहेको छ । जर्ज डब्ल्यु बुशको ‘नव–अनुदारवाद’ देखि बाराक ओबामाको ‘एसियाको किल्ला’ सम्म र डोनाल्ड ट्रम्प र जो बाइडेन सरकारअन्तर्गत हिन्द–प्रशान्त रणनीतिसम्ममा संरा अमेरिकी रणनीतिक प्राथमिकता युरोप र मध्यपूर्वबाट एसिया–प्रशान्त क्षेत्रमा स्थानान्तरण हुँदै गएको छ ।
मेरो विचारमा रुस–युक्रेन द्वन्द्वले संरा अमेरिकाको मूल रणनीतिक दिशा परिवर्तन हुनेछैन । यद्यपि, यो द्वन्द्वले रुसप्रति संरा अमेरिकी शासकहरूको हेय भावना भने प्रदर्शन भएको छ ।
सारमा, दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था अहिले तीव्र क्षयीकरणको दिशामा छ । धेरै देशहरू आफ्नो भूराजनीतिक प्रभाव क्षेत्र विस्तार गर्न खोजिरहेका छन् । उनीहरू आफ्नो अनुकूलको विश्व व्यवस्था बनाउने आशामा दौडिरहेका छन् । रुस पनि अहिले त्यो दौडमा छ । जर्मनी, फ्रान्स, टर्की र भारतका पनि आ–आफ्ना लक्ष्य छन् । तसर्थ, आजको संसारलाई चीन–रुस–संरा अमेरिकी त्रिकोण’ को आँखाबाट मात्र हेर्न मिल्दैन ।
ग्लोबल टाइम्स : नाटोको भविष्य कस्तो देख्नुहुन्छ ? के नाटोको विस्तार उत्कर्षमा पुगेको हो ?
चेङ ; नाटोको विस्तार रोकिनेछैन । आर्थिक सङ्गठनभन्दा फरक सैनिक मोर्चाको विशेषता भनेको असीमित विस्तार हो । हामीले नाटोलाई संरा अमेरिकाले नियन्त्रण गरेको सैनिक साम्राज्य भन्न सक्छौँ । नाटोलाई हेर्दा हामी एउटा पुरानो अङ्ग्रेजी उखान सम्झन्छौँ–सर्वाधिकारले सम्पूर्णतः भ्रष्ट बनाउँछ । वास्तवमा नाटो ‘सर्वाधिकार’ को उपयुक्त उदाहरण हो । जसले अन्तर्राष्ट्रिय राजनीतिलाई ‘सम्पूर्णतः भ्रष्ट’ बनाएको छ ।
विगतमा नाटोको धेरै थरीबाट विस्तार भयो । ती हरेक विस्तारले युरोपमा ठूलोे परिवर्तन निम्त्याएको छ । पश्चिम पक्षधर रुसका पूर्वराष्ट्रपति बोरिस यल्सिनले भनेका थिए,“नाटोको पूर्वतिरको विस्तार गल्ती हो ।” युरोपमा नाटोको विस्तार कहिले रोकिन्छ ? अहिले रोकिंदैन र सम्भवतः नाटोसँग प्रतिस्पर्धा गर्नसक्ने तथा नियन्त्रण र सन्तुलन कायम गर्नसक्ने कुनै अर्को मोर्चा नभएसम्म कहिल्यै रोकिँदैन पनि ।
संरा अमेरिका नेतृत्वको सैनिक मोर्चा नाटो युरोपमा रोकिने छैन । तर, चिन्ताको विषय नाटो अहिले एसियामा पनि विस्तार हुन खोजिरहेको छ । अझ प्रस्ट शब्दमा भन्नुपर्दा संरा अमेरिकाले एसियामा अहिले त्यस्तै खालका गतिविधि गरिरहेको छ, जस्तो गतिविधि नाटो गठनको समयमा गरिएको थियो । वास्तवमा ‘एसियाली नाटो’ गठनको अभ्यासले आकार लिइरहेको पनि छ । अउकस, क्वाड, पञ्चनेत्र, हिन्द–प्रशान्त रणनीतिका साथै भियतनाम र सिङ्गापुरलाई रिझाउन बाइडेन सरकारले चालेका कदमले यही सङ्केत गरेको छ । यी सबै संरचना प्रस्टतः चीनविरुद्ध लक्षित छन् ।
एसियाको सुरक्षा निकै कमजोर छ । संरा अमेरिकाले ‘एसियाली नाटो’ बनाउने योजनालाई औपचारिकता नदिनुको एउटै कारण भनेको पूर्व सोभियत सङ्घको बाटो पछ्याउँदै चीनले कुनै आफ्नो बेग्लै मोर्चा बनाउन चाहेको छैन । रुस–युक्रेन लडाईँ सुरु भएपछि विश्वको आर्थिक केन्द्र एसिया बन्ने सम्भावना प्रस्ट भएको छ । त्यसकारण, एसियामा संरा अमेरिकी सक्रियता अझ फराकिलो बन्दै जानेछ । चीन र अन्य एसियाली देशहरूले यो शिक्षालाई गम्भीरतापूर्वक लिनुपर्छ र यसको सचेततापूर्वक सामना गर्नुपर्छ । त्यसो त एसियामा कुनै युक्रेन छैन । तर, युक्रेनकै शैलीको सङ्कट भने एसियाका धेरै देश र क्षेत्रमा हुनसक्छ ।
ग्लोबल टाइम्स : केही विश्लेषकहरू पुटिनले रुस, बेलारुस र युक्रेन केन्द्रित गरेर एउटा ‘सानो सोभियत सङ्घ’ बनाउन चाहेको बताएका छन् । उनीहरूका अनुसार मध्य एसियाली देशहरूलाई मध्यवर्ती क्षेत्र बनाउने पुटिनको योजना छ । यसबारे तपाईंको धारणा के छ ?
चेङ : पश्चिमविरुद्धको द्वन्द्वमा रुसलाई पूर्णतः पराजित गर्न गाह«ै छ । ठूला शक्तिको लागि असफलता भनेको प्रायशः अस्थायी हुने गर्छ । पुटिन नभए पनि भविष्यमा अर्को पुटिन पक्कै जन्मिनेछ, जबसम्म रुसले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा रहेको अनुभव गर्छ । तसर्थ, जहिलेसम्म नाटो अस्तित्वमा रहनेछ, पुटिन वा रुसले ‘सानो सोभियत सङ्घ’ बनाउने मनसाय राख्नेछ नै । हामीले यस्तो नचाहँदा पनि रुससँग यस्तो वस्तुगत चाहना छ ।
मन परे पनि, नपरे पनि यस्तो वास्तविकता पश्चिमा इतिहास र संस्कृतिमा आधारित छ । पश्चिमा राजनीतिको मूल आधार नै यही हो । प्राचीन ग्रीसकै पालादेखि दुई वटा समूहबीच धेरै द्वन्द्वहरू भए । रुस भनेको पश्चिमा सभ्यताकै हिस्सा हो । अहिले रुस पूर्णतः पराजित नभएसम्म (त्यसो हुने सम्भावना निकै कम छ) युरोप र संसारको ध्रुवीकरण अवश्यम्भावी छ । अघि भनेजस्तै नाटोको विस्तारलाई त्यतिबेलासम्म रोक्न सकिन्न जबसम्म ऊसँग प्रतिस्पर्धा गर्ने अर्को मोर्चा बन्दै र उसमाथि नियन्त्रण र सन्तुलन कायम राख्न सक्दैन ।
रुस र संरा अमेरिकाबीच नयाँ शीतयुद्धले आकार लिएपछि भारतलाई जस्तै चीनलाई पनि कुनै एउटा पक्षको साथमा उभिन गाह«ो हुनेछ । संसारको लागि त्यो ठूलो विपद् हुनेछ ।
ग्लोबल टाइम्स : रुस–युक्रेन लडाइँबाट चीनले के कुरा सिक्न सक्छ ?
चेङ : चीनले यो लडाइँबाट धेरै ठूलो पाठ सिक्न सक्छ । चीन र सोभियत सङ्घ अथवा रुसबीचको ठूलो भिन्नता भनेको रुस भनेको सैनिक शक्तिमात्र हो । ऊ ठूलो आर्थिक शक्ति होइन । तर, चीन आफ्नो रक्षा गर्नसक्ने सैनिक शक्तिका साथै पश्चिमसँग निकट आर्थिक सम्बन्ध भएको देश हो । त्यही भएर संरा अमेरिकी शासकहरूले रुसभन्दा चीन खतरनाक भएको ठान्छन् । चीनको सैनिक–नागरिक एकता विकास रणनीति (एमसीएफ) प्रति संरा अमेरिकाले वर्षौं वर्षदेखि आपत्ति जनाउँदै आउनुको कारण यही हो । एमसीएफ संसारमा सबभन्दा सफल भएको देश संरा अमेरिका हो । उसले चीन पनि उस्तै देश बनोस् भन्ने चाहेको छैन ।
आर्थिक खुलापन र अन्तरनिर्भरताले लडाइँ रोक्न सक्दैन । तिनले लडाइँलाई पछि धकेल्न सक्छ । हामी रुस–युक्रेन लडाइँलाई एसियामा संरा अमेरिकी हमलाको पूर्वाभ्यास मानेका छौँ । यदि चीन र संरा अमेरिकाबीच भयानक लडाइँ भए रुसलाई जस्तै संरा अमेरिकाले चीनलाई विश्व आर्थिक प्रणाली (स्वीफ्ट)बाट निकाला गर्ला ? मेरो विचारमा उसले शतप्रतिशत त्यसो गर्नसक्छ ।
तथापि, यदि संरा अमेरिका र युरोपले रुसमाथि थोपरेको आर्थिक नाकाबन्दीले ५० प्रतिशत तिनलाई हानि भएको छ भने बलियो र खुला अर्थतन्त्र भएको देश चीनविरुद्ध उनीहरूले त्यस्ता नाकाबन्दी थोपरे शतप्रतिशत आफैलाई हानि हुनेछ । यसकारण, त्यस्ता नाकाबन्दी टिकाउन कठिन हुनेछ । त्यस्तो परिस्थितिमा चीनले आफ्नो सुरक्षाको लागि रुसले जस्तै आणविक हतियार प्रयोग गर्ने धम्की दिन आवश्यक पर्नेछैन । किनभने, पश्चिममा गहिरो जरा गाडेको चीनको अर्थतन्त्रमा हानि हुँदा त्यसको पीडा पश्चिमा देशहरूलाई नै हुनेछ ।
तसर्थ, चीनले अझ खुलापनतिर फड्को मार्नुपर्छ । चीनका उद्योगहरूले ठूला कठिनाइ पार लगाउनुपर्नेछ र विश्वव्यापी बन्दै जानुपर्छ ।
दोस्रो, मेरो विचारमा रुस–युक्रेन लडाइँलाई चीनले धेरै टाढा भएको लडाइँको रूपमा लिनु हुन्न । चीन एउटा प्रमुख शक्ति हो । उसको लागि यो लडाइँ पनि अन्तर्राष्ट्रिय जिम्मेवारी बनेको छ । हामीले चीन–रुस सम्बन्धलाई पश्चिमालाई आफूखुसी व्याख्या गर्न दिन सक्दैनौँ । न त हामी संरा अमेरिकालाई युरोपको अपहरण गर्न दिन्छौँ । चीन र युरोपबीच कुनै भूराजनीतिक विवाद छैन । तर, साझा हितका मुद्दा धेरै छन् । दुई पक्षबीचका वैचारिक भिन्नता सुल्झाउँदै जान सक्छौँ ।
तेस्रो, यो द्वन्द्वले चीनलाई खुलापन र सुरक्षालाई कसरी सन्तुलनमा राख्ने भन्ने कुरा चिन्तन गर्नुपर्ने ठाउँमा पु¥याएको छ । मेरो विचारमा सुरक्षा भनेको सधैँ तुलनात्मक अवधारणा हो । तर, खुला नहुुनु भने सबभन्दा ठूलो असुरक्षा हो । हामीले हाम्रो आफ्नै सुरक्षा संयन्त्रको खोजी गर्दै खुलापन अघि बढाउँदै जानुपर्छ । तथाकथित पूर्ण सुरक्षाको नाममा हामीले खुला नहुन मिल्दैन ।
चीनको टाउकोमा मडारीरहेको सबभन्दा ठूलो अदृश्य खतरा भनेको विकासमा गतिरोध र आधुनिकरण बिथोलिनु हो । हामीले झ्याल खोल्दा लामखुट्टे र झिङ्गा पस्नेछ । तर, जबसम्म हामी स्वस्थ छौँ, त्यस्ता नाथे लामखुट्टे कहिल्यै घातक हुनसक्दैन ।
ग्लोबल टाइम्सबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *