भर्खरै :

“नाटो अमेरिकी आदेशमा चल्ने प्रहरी हो”

(डा. डायना जोनस्टोन अहिले ८७ वर्षकी हुनुभयो । अमेरिका र नाटोको रणनीति बुझ्न संसार उहाँतिर फर्किने गर्छ । अमेरिकाको मिनेसोटामा जन्मेर त्यही हुर्किनुभएकी जोनस्टोनले विश्वभरि घुमेर शासकहरू र तिनको स्वार्थपूर्ति गर्ने सङ्घसंस्थाको नियत केलाउनुभएको छ । फलस्वरूप उहाँले धेरै तीक्ष्ण निबन्ध र किताबहरू लेख्नुभएको छ । बहुसङ्ख्यक जनताको भाग्यमाथि बस्ने शक्तिशाली शासकहरूका षड्यन्त्र, क्रुरता र महत्वाकाङ्क्षाहरूबारे उहाँले नभनिएका कथाहरू बाहिर ल्याउनुभएको छ । उहाँले अनेक विवादको सामना गर्नुभएको छ र दैनिक छापामा आउने खबर र कथाहरूभन्दा बढी जान्न चाहने धेरैको मन जित्नुभएको छ । भियतनाम युद्धको विरोध गरेको हुनाले उहाँले अमेरिकी अधिकारीहरूको कोप पनि झेल्नुभयो । सन् २००३ मा ‘फुल्स क्रुसेड :युगोस्लाभिया, नाटो एन्ड वेस्टर्न डिल्युजन्स’ पुस्तक सार्वजनिक भएपछि केही प्रकाशकहरूले उहाँलाई बारबन्देज पनि लगाए । उहाँले पहिले नै ‘द पोलिटिक्स अफ युरोमिसाइल्स : युरोप्स रोल इन अमेरिकाज वल्र्ड’ जस्ता कृतिबाट नाम कमाइसक्नु भएको थियो । हिलारी क्लिन्टनबारे उहाँले ‘क्वीन अफ क्याओस (२०१५)’ नामक पुस्तक लेख्नुभएको छ । साथै उहाँको पछिल्लो पुस्तक ‘सर्कल इन द डार्कनेस ः मेमोयर्स अफ अ वल्र्ड वाचर’ अहिले चर्चामा छ ।
युरोपेली राजनीति र पश्चिमा विदेशनीतिबारे उहाँ विज्ञ हुनुहुन्छ । उहाँले हालसालै अमेरिकी विदेश नीतिलाई ‘क्रुर खेल’ भन्नुभयो । मिनेसोटा विश्वविद्यालयमा आबद्ध जोनस्टोनले यस अन्तर्वार्तामा युक्रेनमा भइरहेको युद्ध र विश्वासघात एवम् षड्यन्त्रका अनेक तानाबाना खोल्नुभएको छ ।)
पश्चिमा मिडियामा युक्रेन–रूस लडाइँलाई एक सार्वभौम मुलुकमाथि (रूसका बहुसङ्ख्यक जनताको चाहनाविपरीत) पुटिनको लहडी आक्रमणको रूपमा हेरिँदै छ । तपाईँ यो दृष्टिकोण वा प्रचारबाजीलाई कसरी हेर्नुहुन्छ ?
युक्रेन आक्रमण गर्नुभन्दा धेरै अगाडिबाट पुटिनलाई पश्चिमा मिडियाहरूले जसरी चित्रण गरेको थियो, यो त्यही शैलीको निरन्तरता मात्र हो । पुटिनले जे गर्छन् भनेर तिनले हल्ला गरेका थिए, त्यही गरेपछि अहिले पश्चिमा मिडियाहरू विजयी भएका छन् । आक्रमणका दुई कारण थिए । एक पूर्वी युक्रेनका जनताको दुर्दशा र रूसलाई घेराबन्दीमा पर्ने नाटोको खेल । सन् २०१४ मा निर्वाचित युक्रेन सरकारलाई सत्ताच्यूत गरेपछि यी कारणहरूलाई पश्चिमा मिडियाहरूले तुच्छ कारणको रूपमा बेवास्ता गरेका छन् ।
पुटिनलाई के–कस्ता कुराले यो सैन्य पाइला चाल्ने बनाएको होला ? नाटोले रूसलाई घेराबन्दी गरिरहेको तर्कले उनको सो पाइलालाई जायज देखाउन पुगिसरी होला ?
उनले भनेका सबै कुरा सुन्दा रूसलाई युक्रेनलगायत नाटोले घेराबन्दीमा पार्न चाहेको हुनाले उनले सो पाइला चालेका हुन् । युक्रेन छिमेकी मात्र होइन । युक्रेनको धेरै भाग ऐतिहासिक र मौलिकरूपमा रूसको हो । पुटिन यो सम्बन्धबारे संवेदनशील छन् । संरा अमेरिकाले युक्रेनसँग रूसप्रति खुलारूपमा आक्रामक रहेको सैन्य गठबन्धनमा सामेल हुने ‘अधिकार छ’ भनी जोड दिँदै छ । (निश्चय नै युक्रेनलाई यो अधिकार छ ।) तर, अमेरिकाको यो जोडबल एउटा उक्साहट साबित भयो । दुःखको कुरा यही जोडबलले अहिलेको अनुमानित स्थिति सिर्जना भएको हो । म अनुमानित भन्छु किनभने सोभियत सङ्घको विघटनपछि संरा अमेरिकाका रूससम्बन्धी विज्ञले नाटोको विस्तारले ल्याउने परिणामबारे चेतावनी दिइसकेका थिए । यस्तो परिणाम आउँछ भन्ने उनीहरूले पहिल्यै देखेका थिए ।
व्यक्तिगतरूपमा, अनपेक्षित घटना हुने यस संसारमा म पूर्वानुमानमा त्यति भर पर्दिन । रूसले आक्रमण गर्ला भनेर मैले सोचेकी थिइन । यसको एउटा साधारण कारण छ । यो रूसको हितमा होला भन्ने मैले सोचेकै थिइन । नाटोको घेराबन्दी धमाधम चलिरहेको छ । हामी कहिले रोकिने हो ? मस्कोमा यही प्रश्नले डेरा जमाएको हुनुपर्छ ।
 नाटोको सदस्य बन्नुमा युक्रेनको मूल उद्देश्य के होला ? के रोमानिया र पोल्यान्डले नाटोको सदस्यता लिँदाको भन्दा युक्रेनको स्वार्थ फरक छ ?
नाटोको सदस्य बन्नु युरोपेली युनियनमा पस्ने बाटो बन्दै आएको छ । पूर्वी युरोपका धनाढ्यहरू नाटोमा पस्न चाहनुको मुख्य उद्देश्य निश्चय नै यही हो । यी देशका धेरै जनता युरोपेली युनियनको भाग बन्न चाहे पनि नाटोमा जोडिन चाहँदैनन् । किनभने युरोपेली युनियनको सदस्य बनेपछि आर्थिक लाभ हुन्छ र मनमा ‘पश्चिमको हुँ’ भन्ने भाव भरिन्छ ।
युक्रेनको परिस्थिति विशेष छ । ‘पश्चिमको हुँ’ भन्ने भाव युक्रेनको पश्चिमी भेगका राष्ट्रवादीहरूको आक्रामक महत्वाकाङ्क्षा हो । नाटो र इयूको सदस्य बन्नुको अर्थ रूससँगको ऐतिहासिक बन्धुत्वबाट सैद्धान्तिकरूपमा अलगिन चाहेको हुन्छ भन्ने उनीहरूको ठहर छ । संरा अमेरिकाले यी उद्देश्यहरूमा सक्रियतापूर्वक मलजल गरेको छ । उसले सुरूमा सन् २००४ को कथित ‘सुन्तले क्रान्ति’ मा सहयोग ग¥यो र पछि सन् २०१४ को सत्ता विद्रोहले पश्चिमा राष्ट्रवादीहरूलाई सत्तासीन बनायो ।
पोल्यान्ड र रोमानियाभन्दा विपरीत युक्रेनका पश्चिमाकृत शासकहरूको नाटोमा जोडिने आकाङ्क्षाले देशभित्र बलियो राजनीतिक रङ ल्यायो । जनसङ्ख्याको ठूलो भाग अझै पनि रूससँग जोडिएको छ । यो मूलतः पहिचानको राजनीतिसँग जोडिएको विषय हो । त्यो भन्दा पनि खराब के छ भने युक्रेनमा रूसविरोधी कट्टरपन्थीहरूको सानो समूह छ । यो समूह रूसविरूद्ध नाटोको सैन्य कारबाहीमा भाग लिन पनि हिच्किचाउँदैन ।
 लोकप्रिय प्रचार माध्यममा रूसले प्रचार युद्ध हारेको छ । रूसले आफ्नो पश्चिमी छिमेकीमाथि आक्रमण गर्नुको मूल उद्देश्य यहाँलाई के लाग्छ ? खासगरी डोनबास र कालो सागर क्षेत्रमा ?
दुःखको कुरा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिको क्षेत्रमा सैन्य मानसिकताले ठूलो अर्थ राख्छ । कालो सागरमा नाटोका युद्धपोतहरूको आक्रामक चलखेल बढ्नाले नै कालो सागरको किनारमा आक्रमण गर्न उक्साएको हो । बेलायती र अन्य नाटो युद्धपोतहरू कालो सागरमा सल्बलाएको हुनाले युक्रेन आसपासको कालो सागरका बन्दरगाहहरू व्यवहारमा नाटोको अखडामा फेरिनुअघि नै तिनलाई सुरक्षित गर्नुपर्ने निर्णय रूसले लिएको हुनसक्छ ।
लोकप्रिय प्रचार माध्यममा रूसले वास्तविक युद्ध सुरू हुनुअघि नै प्रचार युद्ध हारेको थियो । खासगरी पुटिनलाई लगातार दानवको रूपमा चित्रण गरिएकैले रूसले यो युद्ध हारेको हो । साथै अर्को तथ्य के पनि हो भने पश्चिमी देशका जनतालाई कालो सागरमा नाटोको जलसेनाले खतरा निम्त्याइरहेको थाहा छैन ।
पुटिनलाई हाल जर्मनीले पुनः सशस्त्रीकरणको ‘ढोका खोलेको’ र पश्चिमा देशहरूलाई एक ठाउँमा ल्याएको भनी आरोप लगाइएको छ । एक ठाउँमा आउनेमा फ्रान्स पनि पर्छ । उसले निरन्तर आफ्नो सैन्य बजेट बढाइरहेको छ । फेरि उनमाथि नाटोलाई अझ बढी सबल हुने र विस्तारित हुने निहुँ दिएको आरोप लगाइन्छ । जर्मनी र नाटोको योजनापछाडिको खास सत्य के हो ? पुटिनले सन् २०१५ को मिन्स्क सम्झौता उल्लङ्घन गरेको गुनासो कति सत्य हो ? (रूसलाई पश्चिमाहरू पुटिन भन्ने गर्छन् !)
हो, जुन कुराले पुटिनलाई युक्रेनमाथि जाइलाग्न उक्सायो, त्यही कुराको ढोका खोलेको आरोप अहिले पुटिनलाई लगाइँदै छ । जस्तो नाटोको सबलीकरण र विस्तार, जर्मनीको सैन्यकरण आदि । रूसी आक्रमणले युरोप केही हदसम्म एक ठाउँमा आउने थियो । यसबारे पुटिनले सटिक अनुमान गरेको, मलाई लाग्दैन । एकै स्वरको निन्दा, रूसी मिडिया, वायुसेना, कलाकारहरू, वैज्ञानिक साझेदारी र रूसी बिरालोहरूमाथि बन्देज लगाउनु अनौठो छ । रूसी भनेपछि निन्दा गरिहाल्नुपर्ने हिस्टेरियाले पश्चिमलाई छोपेको छ ।
पहिल्ला महिनाहरूमा जर्मनीमा रूसलाई तारो बनाएर अमेरिकी नेतृत्वको सैन्य निर्माणमा जोडिने प्रवृत्ति चल्तीमा छ । यो रूसीहरूको लागि चिन्ताजनक हुनसक्छ । फेब्रुअरी २२ अघि बाहिर नभने पनि फ्रान्स र जर्मनीबीच मनमुटाव बढ्दै थियो । अप्रिलमा भएको फ्रान्सको निर्वाचनमा प्रमुख विपक्षी उम्मेदवारहरूले रूससँग सम्बन्ध सुधार गर्न खोजेको देखियो । अहिले उनीहरूलाई ‘पुटिनका प्रेमीहरू’ भनेर निन्दा गरिँदै छ ।
मिन्स्क सम्झौतालाई राष्ट्र सङ्घले अनुमोदन गरेको थियो । त्यसले सन् २०१५ सम्म लुगान्स्क र दोनेत्स्कको पृथकतावादको समस्या हल गर्ने ठानिएको थियो । कथित ‘नोरम्यान्डी ढाँचा’ अनुसार जर्मनी र फ्रान्सले पश्चिमसमर्थक कीभ सरकारमाथि त्यो सम्झौता लागू गर्न दबाब दिनुपर्ने थियो । विद्रोही प्रान्तहरूलाई स्वायत्तता दिएर यो काम थाल्नुपर्ने भनिएको थियो । फ्रान्सेली कूटनीतिज्ञहरू अझै पनि मिन्स्क सभ्म्झौता लागू गराउने पक्षमा छन् । तर, सात वर्ष बितिसक्यो र युक्रेनी नेताहरूले पूर्वी पृथकतावादीहरूसँग सम्झौता गर्न ठाडै अस्वीकार गर्दै आएका थिए । यसको बदलामा उनीहरू सैन्य उपायतिर ढल्किए । उनीहरूले लुगान्स्क र दोनेत्स्कका जनतालाई ठूलो पीडा दिनेगरी सैन्य हमलाहरू गरे । रूसले लामो समय पर्खेको पुटिनले निष्कर्ष निकालेको देखिन्छ । मिन्स्क सम्झौता लागू गराउने कुरा कीभको हातमा थियो । कीभले मानेन । त्यसैले यत्तिका वर्षहरूमा रूसले उल्लङ्घन गर्नुपर्ने कुनै सम्झौता थिएन । तर पुटिनलाई सबैथोकको दोष दिइन्छ ।
 सन् २०१४ यता युक्रेनमा संरा अमेरिका र नाटो देशहरूको कुनै ठूलो रणनीति छ कि ? छ भने के छ ?
निश्चय नै सन् २०१४ मा युक्रेनका निर्वाचित राष्ट्रपतिलाई सत्ताच्यूत गर्न सघाउँदा संरा अमेरिकाको दिमाग रित्तो थिएन । उसको दिमागमा भएका केही कुरा स्पष्ट थियो । राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्यूत गर्न मत दिएका देशका आधा जनतालाई हराउनु, तिनलाई किनारमा पार्नु उनीहरूको उद्देश्य थियो । यी जनता पूर्वी र दक्षिण युक्रेनमा बसोबास गर्थे र रूसी भाषा बोल्थे । यी क्षेत्रलाई लेनिनले सन् १९२२ मा युक्रेनमा जोडेका थिए । पश्चिमी भेगका राष्ट्रवादीहरू सत्तामा आएपछि युक्रेनलाई नाटोमा ल्याउनु दोस्रो पाइला थियो । यसले नाटोलाई, अर्थात् संरा अमेरिकालाई रूसको प्रमुख नौसेनाको अखडा सेभास्तोपोल हत्याउन सजिलो हुने भयो । (यो अखडा क्रिमियामा छ ।) क्रिमियालाई रूसमा फर्काउने जनमत संग्रहले रूसी सुरक्षामा भयावह खतरा ल्याइदियो । तर यो घटनाले पश्चिमी देशहरूलाई छिमेकीहरू कब्जा गर्न षड्यन्त्र बुनेको आरोप पुटिनमाथि लगाएर प्रचारयुद्ध चलाउने मौका दियो । यो स्वाभाविक हो ।
यसपछि अलि शान्त घटना घट्यो । नाटोको विस्तारबारे पुटिनका गुनासाहरू सुन्न ठाडै अस्वीकार गरेर र कुनै पनि परस्पर सुरक्षा बन्दोबस्त मिलाउन अस्वीकार गरेर संरा अमेरिकाले पुटिनलाई थप पाइला उचाल्न बाध्य पा¥यो । युक्रेनलाई रूसविरोधी नाटोको अखडामा फेर्नबाट रोक्न पुटिनले यो पाइला चाल्नुपर्ने भयो । भएको यही हो ।
के संरा अमेरिका रूसमाथि आक्रमण गर्ने योजनामा छ ? यस्तो नहोला । बरू तत्कालको रणनीति युक्रेन विभाजनको मौका छोपेर रूसलाई अमेरिकी प्रभुत्वको युरोपबाट अलग्याउने दोस्रो ‘फलामे पर्दा’ बनाउने देखिन्छ । यसो गर्दै जाँदा वा रूसलाई एक्लाउँदै गएपछि एक दिन पुटिनको सत्ता ढल्ने र एल्सिनजस्तै कठपुतलीहरू सत्तासीन हुने अमेरिकी अपेक्षा छ । यस्तो कठपुतलीले रूसी प्राकृतिक स्रोतसाधनमाथि पश्चिमा बहुराष्ट्रिय कम्पनीहरूको हातमा आउने उसको सोच छ ।
 पछिल्लो निबन्धमा यहाँले लेख्नुभएको थियो । “अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको तानाबानापूर्ण राज्यले युक्रेनमा कहिल्यै शान्तिपूर्ण समाधान चाहेन, किनभने अन्योलपूर्ण युक्रेनले रूस र पश्चिम युरोपबीच एउटा स्थायी तगारोको काम गर्छ, र यसले पश्चिम युरोपमा अमेरिकी नियन्त्रण कायम राख्छ ।” यसलाई अलि व्याख्या गरिदिनु न ?
रूसी प्राकृतिक ग्यासलाई जर्मनी पु¥याउने र त्यसबाट बाँकी युरोपमा पु¥याउने उद्देश्यले निर्माण गरिएको नार्ड स्ट्रिम–२ पाइपलाइनको संरा अमेरिकाले विरोध ग¥यो । यसले रहस्य खोल्छ । यो पाइपलाइन साधारण र अर्थपूर्ण व्यापारिक सामझदारी हो । तर जर्मनीमाथि रूसको प्रभाव विस्तार गर्ने खतरनाक तरिकाको रूपमा यसको निरन्तर भत्र्सना भएको छ । वास्तविकता के हो भने सन् १९४५ यता संरा अमेरिकाले रूसमाथि जथाभावी दबाब दिँदै आएको छ । पहिले पश्चिम जर्मनीमाथि उसको दबाब थियो, अहिले समग्र जर्मनीमाथि उसले कठोर दबाब दिँदै आएको छ । अमेरिका यो वर्चस्व गुमाउने जोखिम मोल्न चाहन्न । युक्रेनलाई देखाउँदै जर्मनीलाई रूसी ग्यास नलिन भनिँदै छ, बरू त्यसको सट्टा अमेरिकाको महंगो ग्यास किन्नुपर्ने तर्क दिइँदै छ । युरोपेली देशहरूलाई रूससँगका सम्पूर्ण सम्बन्धहरू तोड्न र पूर्ण रूपमा संरा अमेरिकामाथि निर्भर हुन युक्रेनलाई बहानाको रूपमा प्रयोग गरिँदै छ ।
 नाटोका नीतिहरू कतिको विभाजनकारी देख्नुहुन्छ ?
उफ्, नाटोका नीतिहरू कति विभाजनकारी छन् भने तिनले समग्र विश्वलाई विभाजित गर्दै छन् । संरा अमेरिका र नाटोका नेताहरू सधैँ ‘हाम्रा मूल्यमान्यताहरू’ बारे र आफूले विश्वभर कसरी ती धुमिल मूल्यमान्यताको रक्षा गर्दै छन् भनी लम्बेतान कुरा गर्छन् । यो नाटो अब पश्चिम युरोप (र हतियारबद्ध जर्मनी) लाई सैद्धान्तिक (तर अवास्तविक) ‘सोभियत खतरा’ बाट जोगाउन खुलारूपमा खोलिएको उत्तर एटलान्टिक सन्धि सङ्गठन रहेन । काल्पनिक सोभियत खतरा हावामा उडेपछि नाटो विघटन हुनुपर्ने थियो । तर, आफूलाई पुनः आविष्कार गर्न त्यसले युगोस्लाभियाको दुःखद गृहयुद्धलाई प्रयोग ग¥यो । ऊ अब रक्षा गठबन्धन रहेन । बरू सन् १९९९ मा युगोस्लाभियामाथि बमबारी गरेर नाटोले आफूलाई ‘मानवीय’ प्रहरी देखायो ।
यो युद्ध अन्तर्राष्ट्रिय कानुनविरूद्ध थियो र यसले युगोस्लाभियाको भौगोलिक अखण्डता मिच्यो । यो युद्धले सर्बियाबाट कोसोभो प्रान्त टुक्रायो । यो अवैध युद्धले पश्चिमी देशहरूमा आक्रोश उत्पन्न गरेन । बरू यसको प्रशंसा भयो, ताली पिटियो । नाटोले लिबियाको विध्वंस र अफगानिस्तानको निरर्थक बीस वर्षे युद्धमा भाग लियो । आक्रमणकारीहरूविरूद्ध कुनै नाकाबन्दी लगाइएन ।
संरा अमेरिका र नाटोले अहिले विश्वको नयाँ वैचारिक विभाजनको घोषणा गरेका छन् । उनीहरू ‘प्रजातान्त्रिक’ र ‘स्वेच्छाचारी’ शासनको कुरा गर्दै छन् । उनीहरूले प्रजातन्त्रिक देशहरूले ‘स्वेच्छाचारी’ देशहरूमाथि सेनाको प्रयोग गर्नु वैध हो भन्दै छन् । यसको अर्थ पश्चिमा सिद्धान्तकारहरूले ‘स्वेच्छाचारी’ भन्ने जुनसुकै देशका लागि नाटो सम्भाव्य खतरा हुनसक्छ । सन् १९९९ को कोसोभो युद्धयता नाटो प्रतिरक्षात्मक गठबन्धन नरहेको स्पष्ट छ । बरू त्यसयता नाटो संरा अमेरिकाबाट आदेश लिने स्वघोषित विश्व प्रहरी बनेको छ । वासिङटनमा जो सत्तामा आउँछ, नाटो तिनैको दुनो सोझ्याउन सक्रिय हुन्छ । बाँकी विश्व यो कुरामा प्रष्ट हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *