भर्खरै :

बलियो अर्थतन्त्र भएको सानो मुलुकले कमजोर अर्थतन्त्र भएको ठूलो मुलुकलाई तह लगाएको त्यो घटना !

बलियो अर्थतन्त्र भएमा सानो मुलुकले कमजोर अर्थतन्त्र भएको ठूलो मुलुकलाई पनि तह लगाउन सक्छ भन्ने कुराको पुष्टि पछिल्लो अरब राष्ट्र र भारतबीच भएको धार्मिक विवादले गरेको छ । केही दिनअघि भारतीय टेलिभिजन च्यानलमा भएको शिवलिङ्ग बारेको बहसमा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता नुपुर शर्मा र नवीनकुमार जिन्दलले मुसलमानहरूका धार्मिक गुरु पैगम्बरविरुद्ध जथाभावी बोलेका थिए । जुन कुरा अरब मुलुकमा व्यापक चर्चा भएपछि मुसलमान आस्थामाथि चोट पु¥याएको भनेर सम्पूर्ण खाडी मुलुकहरूले भारतमा उत्पादित वस्तुको बहिष्कार अभियान चलाइरहेका छन् । यही निन्दापूर्ण बयानलाई लिएर व्यापक क्रोधको बीचमा साउदी अरब, कुवेत, बहराइन र अन्य अरब राज्यहरूका डिपार्टमेन्ट स्टोरहरूले भारतीय उत्पादनहरू हटाइरहेका छन् । शनिबारदेखि साउदी अरेबिया, बहराइन, कुवेत र अन्य अरब राज्यहरूमा भारतीय उत्पादनहरू बहिष्कार गर्ने र भाजपा र प्रधानमन्त्री मोदीको निन्दा गर्ने ह्यासट्यागहरू व्यापक प्रचार गरिएको छ । विवादास्पद टिप्पणीको कारण अरबले संसारमा भारतीय उत्पादनहरूको बहिष्कारको लागि ट्विटरको माध्यमबाट आह्वान गरेको छ । त्यतिमात्र होइन कुबेतमा भारतीय प्रधानमन्त्री मोदीको फोटोमाथि क्रस लेखेर फोहर फ्याल्ने ठाउँमा टाँस्न थाले । त्यसपछि भने भारत सरकारको सातोपुत्लो उडेको छ । भारतको सत्तारुढ दल भाजपाले ती दुई जना प्रवक्तालाई निलम्बन गरेको घोषणा गरेको विज्ञप्ति निकाल्यो । पार्टीले सबै धर्महरूलाई सम्मान गर्छ र कुनै पनि धार्मिक व्यक्तित्वको अपमानको कडा निन्दा गर्दछ भन्दै ती प्रवक्तालाई आफूबाट टाढा राख्ने उद्देश्यले एक विज्ञप्ति जारी ग¥यो । “हाम्रो सभ्यताको सम्पदा र विविधतामा एकताको बलियो सांस्कृतिक परम्पराअनुसार भारत सरकारले सबै धर्महरूलाई उच्चतम सम्मान दिन्छ,” भारतीय विदेश मन्त्रालयले भन्यो ।
भाजपाका ती प्रवक्ताको अपमानजनक र निन्दनीय बयानले अरब जगत्मा व्यापक आक्रोश निम्त्याएको छ । यिनीहरूको विवादास्पद अभिव्यक्तिपछि कतार र कुवेतले भारतीय राजदूतलाई बोलाएर पैगम्बर मोहम्मदको विरूद्ध भाजपा नेताको विवादास्पद टिप्पणीलाई खाडी देशहरूले ‘अस्वीकार र निन्दा’ का नोटहरू राजदूतहरूलाई बुझाएका छन् । सामाजमा घृणा फैलाउन उद्यत दुई जना मानिसको कारण खाडी राष्ट्रमा रहेका भारतीय राजदूतहरूलाई स्पष्टीकरण दिँदै फुर्सद भएन । “कुनै एक व्यक्तिको ट्वीटले कुनै पनि हिसाबले भारत सरकारको विचारलाई प्रतिबिम्बित गर्दैन । यी बाहिरी तत्वहरूका विचारहरू हुन् । भारत–खाडी मुलुकबीच सम्बन्धको विरुद्धमा रहेका निहित स्वार्थहरूले यी अपमानजनक टिप्पणीहरू प्रयोग गरेर मानिसहरूलाई उक्साउन थालेका छन् । दुबै पक्षले आफ्नो द्विपक्षीय सम्बन्ध बलियो पार्ने उद्देश्यले त्यस्ता बाहिरी तत्वहरूविरुद्ध मिलेर काम गर्नुपर्छ” भन्दै भारतीय राजदूतले स्पटिकरण दिनु परेको छ ।
भारतको यो कारबाही अपुग भएको भनेर निःसर्त माफी माग्नुपर्ने अन्तर्राष्ट्रिय मुसलमान देशको सङ्गठनले माग गरेको छ । यस्तो घटना यतिबेला भएको छ जुनबेला भारत आफै स्वघोषितरूपमा ‘विश्व गुरु’ भएको दाबी गर्दै छ । कुबेत र कतारजस्ता साना मुलुकहरूले भारतलाई निःसर्त माफी माग्न लगाउँदा संसारभर कथित ‘विश्व गुरु’ भारतको शिर निहुरिएको छ । त्यसैगरी, यही घटनालाई जोडेर हाल अरब मुलुकको भ्रमणमा रहेका भारतीय उपराष्ट्रपति वेकैया नायडूको कतारमा हुने रात्रिभोज र पत्रकार सम्मेलन रद्द गरिएका छन् ।
भारतभित्र भएका अरू कुनै विषयमाथि विदेशीले टिप्पणी गर्दा यो भारतको आन्तरिक मामिला हो भनेर फूर्ति गर्ने भारत यो घटनामा झुकेको छ । यसको प्रमुख कारण भनेको आर्थिक रहेको छ । अरब देशहरूसँग भारतको कुल द्विपक्षीय व्यापार ११० अर्बभन्दा बढी छ । खाडी मुलुकमा ४५ लाख भारतीयहरू काम गर्छन् जसले झन्डै ४० अर्ब डलर रेमिटेन्स भारत पठाउँछन् । भाारतको ७० दशमलव ५ प्रतिशत ऊर्जा आयात खाडी मुलुकबाट पूरा हुने गर्दछ । यति धेरै आर्थिक लाभ पाइरहेको कारणले ‘यो घटनालाई हाम्रो आन्तरिक मामिला’ भनेर अरब देशलाई भारतले जवाफ दिन सकेन ।
यसअघि भारतको आसम राज्यमा मुलसमानविरुद्ध त्यहाँको प्रहरीले गरेको ज्यादतीमािथ कुवेतको अगुवाइमा यस्तै विरोध भएको थियो । तर, त्यतिबेला अहिलेजस्तो घटनाले उग्र रूप लिन पाएन । सन् २०२१ सेप्टेम्बरको सुरुमा मुस्लिमहरूविरुद्ध असम पुलिसको बर्बरताको विरोध गर्न भारतीय उत्पादनहरू बहिष्कार गर्न सोसल मिडिया अभियान सुरु भएको थियो । भारतीय प्रहरीले एक मुस्लिम व्यक्तिलाई गोली हानेको भिडियो भाइरल भएपछि घटनाको चौतर्फी निन्दा भयो । जसको परिणामस्वरूप अरब मुलुकको सामाजिक सञ्जालमा भारतीय उत्पादनको बहिष्कार अभियान चलेको थियो । त्यसैगरी, क्ष्लमष्ब पष्ििक ःगकष्mि भन्ने ह्यासट्याग अरब देशहरूमा चलेको थियो र भारतलाई नरसंहारको आरोप लगाइएको छ । कुवेतको राष्ट्रिय सभाका सदस्यहरूले मुस्लिम समुदायविरुद्ध भारतीय अधिकारीहरू र हिन्दू चरमपन्थी समूहहरूले गरेको अत्याचारको निन्दा गरेका थिए । धेरैले यसलाई ‘राज्य प्रायोजित इस्लामोफोबिया’ र ‘हिन्दुत्व हिंसा’ भनेर व्याख्या गरेका थिए ।
अरू बेला यस्ता प्रवक्ताहरूलाई प्रयोग गर्नसम्म गरेर सर्वसाधारण जनतालाई धार्मिक अन्धविश्वासको दलदलमा डुबाएर हिन्दू र मुसलमानबीच द्वन्द्व सिर्जना गर्दै चुनाव जित्ने मोदीले अहिले विदेशीको दबाबसामु यिनीहरूलाई बाहिरी तत्व भन्नु भनेको थुकेर फेरि चाट्नुजस्तै भएको छ । यदि बहसको लगत्तै गलत बोलेको भनेर यी प्रवक्ताहरूमाथि भाजपाले कारबाही गरेको भए भारत अहिलेको स्थिति नहुने थियो । यही कारणले ‘गल्ती भाजपाले गर्ने तर माफी भारतले माग्नुपर्ने अवस्था सिर्जना भयो’ भन्दै भारतीय काङ्ग्रेस अपसोच गर्दै छ ।
भारतमा उग्र रूप लिएको इस्लामोफोबिक टिप्पणीहरूलाई स्वतन्त्र छोड्नुले मानवअधिकारको संरक्षणमा गम्भीर खतरा हुने र यसले हिंसा र घृणाको चक्रलाई थप पूर्वाग्रही बनाउन सक्छ । सबै धर्म र राष्ट्रियताहरूको लागि सहिष्णुता, सहअस्तित्व र सम्मानको मूल्यहरूको लागि सबैले पूर्ण समर्थन गर्नुपर्छ । विश्वभरका दुई अरबभन्दा बढी मुस्लिमहरू प्रकाशको ज्योतिको रूपमा अनुसरण गर्ने पैगम्बर मोहम्मदको निर्देशनलाई पछ्याउँछन् । मोहम्मदको सन्देश शान्ति, समझदारी र सहिष्णुताको सन्देशको रूपमा लिइन्छ । संसारको कुल जनसङ्ख्यामा २५ प्रतिशत रहेको मुसलमानलाई चिढाउने कुनै पनि कदमले भारत र मुसलमान देशबीचको सम्बन्ध दिगो हुँदैन भने भारतभित्रै पनि शान्ति स्थापना हुँदैन भन्ने तथ्य मनन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *