भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलन अहिले पनि आवश्यक

२०२५ साउन २ को आन्दोलन
वि.सं. २०२१ सालको भूमिसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार भक्तपुरमा २०२३ सालमा नवदुर्गा बहुमुखी सहकारी संस्था खोलिएको थियो । पञ्चायती सरकारले यसको अस्थायी समितिको अध्यक्ष मङ्गलेचा भनिने कृष्णभक्त चगुठीलाई बनायो । सहकारी संस्थाले प्रतिरोपनी जग्गाधनी र मोहीसँग क्रमशः ६ माना र ३ माना तथा मोही नलागेको जग्गाधनीसँग (जोत र पोत एउटै भएको) ९ माना अनिवार्य बचत उठाउने गरेको थियो । त्यस क्रममा उठेको जिन्सी तथा नगद पनि कृषि विकासका लागि उपलब्ध गराउने र ५ वर्षपछि एकमुष्ट साँवाब्याजसहित फिर्ता गर्ने घोषणा गरिएको थियो (प्रजापति, २०६४)। थोरै थारै बचत गरेर भए पनि त्यस बखत् करिब ६/७ लाख रूपैयाँ सङ्कलन गरिएको थियो (चालिसे, २०५१)।
उक्त सरकारी संस्थाका पदाधिकारीहरूले भ्रष्ट कामहरू गर्न थाले । संस्थाको हित गर्नेभन्दा पनि व्यक्तिगत स्वार्थपूर्ति गर्नतर्फ ध्यान दिन थालेका थिए । संस्थाले उठाएको बचत धान महँगोमा बेचेर सस्तोमा बेचेको हिसाब राख्ने, जम्मा भएको रकमले किसानहरूका लागि आवश्यक मल, बिउ, कीटनाशक औषधि, मेसिन आदि किन्नुको सट्टा हेटौँडा, चितवन आदि ठाउँबाट काठ, मकै, तोरी आदि ल्याएर संस्थाको रकमले व्यक्तिगत नाफा कमाउने, संस्थामा आफ्ना मान्छे नियुक्ति गर्न र आफ्ना नातेदारहरूलाई बिनाकागजात हजारौँ रूपैयाँ ऋण दिने, अस्थायी सञ्चालक समितिको बैठकमा जलपानको अनावश्यक खर्च देखाउने गर्थे । किसानहरूका माझ यी र यस्ता कुराहरूबारे व्यापक चर्चा परिचर्चा हुन थाल्यो । आफ्नो रगत पसिनामा यसरी अनैतिकरूपले रजाइँ गर्दा किसानहरू रुष्ट भएका थिए (दुवाल, २०६४)।
सहकारी नियम विनियमअनुसार सहकारी संस्था स्वीकृत भएको ६ महिनामा प्रारम्भिक सभा, प्रत्येक ६–६ महिनामा साधारण सभा र २ वर्षको एकपटक सञ्चालक समितिको चुनाव गर्नुपथ्र्यो । त्यस सम्बन्धमा बचतकर्ताहरूले सम्बन्धित विभागमा गुनासाहरू पेश गरे तर कुनै सुनुवाइ भएन । २०२५ साल साउन २ गते प्रारम्भिक साधारण सभा गर्ने निर्णय भयो । निर्वाचनबारे अरूलाई थाहै नदिने र मतदान गर्न नदिने उद्देश्य राखी असार १५ गतेबाट सदस्य बन्न रोक लगाई कसैले नदेख्ने ठाउँमा सूचना टाँसी नियम पु¥याउने र भित्रभित्रै आफूहरू पुनः निर्वाचित हुने षड्यन्त्रमा तत्कालीन सहकारी संस्थाका पदाधिकारीहरू लागे । बचतकर्ताले संस्थाका पदाधिकारीहरू चुन्ने र चुनिने अधिकार पाउन संस्थामा सदस्यताको माग राखे । सहकारी विभागका शाखा प्रमुखको नाममा २०२१ सालको भूमि ऐनअनुसार नगरका बचतकर्ताहरूलाई असार महिनाभर सदस्यता वितरण गर्नु भन्ने आदेशपत्र लेखे । पुनः सदस्य बन्नेहरूको घुइँचो लाग्यो (गोसाइँ, २०६४) ।
२०२५ साउन २ गते लायकुको ५५ झ्याले दरबारअगाडि भूपतीन्द्र मल्लको सालिक पछाडि वात्सल्य मन्दिरको पश्चिम मोहडामा संस्थाको प्रारम्भिक सभाबाट सञ्चालक समितिका पदाधिकारीहरू छान्ने तयारी भइरहेको थियो । बिहानको ७ बजे उम्मेदवारी दिने समय थियो । नगर र गाउँबाट हजारौँको सङ्ख्यामा किसान भेला भए । सहकारी ऐनअनुसार सबै बचतकर्ता स्वतः सदस्य हुन्थे र उनीहरूलाई मत दिने अधिकार पनि थियो । तर, सभाको सुरुमै कृष्णभक्त चगुठीले सबै बचतकताले मत दिन नपाउने नियम सुनाए । तब किसानहरूले ‘कानुनले दिएको अधिकार तिमीले किन नदिने ?’ भन्ने प्रश्न गर्न थाले । कृष्णभक्त चगुठी र उनका सहयोगीहरूले गरेको भ्रष्टाचार उदाङ्गिने डरले तिनीहरू भित्रभित्रै षड्यन्त्र गर्दै थिए । तिनीहरूले आफ्नो कुरा मान्ने व्यक्तिलाई रातारात सदस्य बनाएको भेद खुल्न थाल्यो । षड्यन्त्रको भेद खुलेपछि किसान कार्यकर्ताहरू सबैले मत दिन पाउनुपर्छ अथवा आजको चुनाव स्थगित गर्नुपर्छ भन्ने माग राखे । तर, कृष्णभक्त चगुठीले अत्तो थाप्दै चुनाव स्थगित पनि नहुने र सबै बचतकर्ताले मत पनि दिन नपाउने भनी धम्कीपूर्ण भाषा बोले । चगुठीको धम्कीपूर्ण भाषाबाट उपस्थित किसानहरू आक्रोशित भए । आफ्नो भ्रष्टाचार लुकाउन कसैले नदेख्ने ठाउँमा सूचना टाँसी आफ्नो नजिकका बचतकर्ताहरूको मात्र रसिद संस्थामा पेश गराई धाँधली गरेर भए पनि चुनाव जित्ने षड्यन्त्र गर्न थाले । तिनीहरूको कालो कर्तुत उदाङ्गिदै थियो । जनसमूहको विरोधका कारण तिनीहरूले चुनाव स्थगित गरेको घोषणा गरे । किसानहरू चुनाव नहुने भएपछि आ–आफ्नो घर फर्के तर मञ्चको पछाडि (दरबार स्क्वायरको ठुलो घण्टानिरको बात्सल्य मन्दिर पछाडि) अर्कै षड्यन्त्र भइरहेको थियो । तिनीहरूले सोझासिधा किसानहरूलाई चुनाव स्थगित भयो भन्दै पाँच ठाउँबाट माइन्युट बुकमा सही गराए तर बीमा भने आजको साधारण सभाबाट नयाँ कार्यकारिणी समिति गठन गर्न चुनावमा भाग लिएको व्यहोरा लेखिएको थियो (प्रजापति, २०६४)।
किसान कार्यकताहरूले त्यसको सुइँको पाउनासाथ सबै किसानहरूलाई सचेत पारे । प्रायः सबै भ्रष्टहरूलाई समात्दै मञ्चमा उभ्याइयो । कति त भागाभाग भइसकेका थिए । किसानहरूले मञ्च कब्जा गरे । जनसभा सुरु भयो । भ्रष्टहरूको कर्तुत किसानहरूका सामु उदाङ्गियो । पक्राउ परेका भ्रष्टहरूलाई उचित सजाय दिनुपर्ने आवाज उठ्न थाल्यो । ‘अब उप्रान्त जनतालाई धोका दिइनेछैन’ भनेर कबुल गरेपछि तिनीहरू छोडिए । तिनीहरूको षड्यन्त्रको दसी प्रमाणसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिए । त्यसै सभामा संस्थाको हिसाब जाँच गर्न गणेशभक्त बाटीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन भएपछि किसानहरू आ–आफ्नो घर फर्के (गोसाईँ, २०६४)।
दिउँसोको घटनाबाट ती भ्रष्टहरू मौका छोपेर बसेका थिए । यसैक्रममा रातको करिब २ बजेतिर भक्तपुर नगर वडा नं. ५ भोलाछेँका एक किसान कार्यकर्ताको घरमा पुगी ती भ्रष्टाचारीहरूले ढोका फोड्ने प्रयास गरे । त्यस क्रममा वरपरका किसानहरूले तिनीहरूको प्रतिकार गरे । यो खबर तत्कालै किसान कार्यकर्ताहरूले टोलटोलका घर–घरमा पु¥याए । कोदालीको बीँड, खर्पनको नोल, लट्ठी लिएर किसानहरू त्यस ठाउँमा पुग्दा भ्रष्टहरू भागिसकेका थिए । आक्रोशित किसानहरूले भोलिपल्ट सूर्यप्रताप राणाको घरमा ती भ्रष्टाचारीहरूको बैठक चलिरहेको जानकारी पाएर त्यहीँ आक्रमण गरे । अरू सबै भागे पनि घरधनी भाग्न सकेन र अब उप्रान्त अर्काको घर र ढोका फोड्न नजाने भनी माफी मागेपछि तिनलाई छाडिएको थियो (राजचल, २०६८) । त्यसबेला अहिले जस्तो फोन नभए पनि सूचना प्रवाह हावाको बेगसरी हुन्थ्यो ।
यसरी नवदुर्गा बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरूले गरेको अनियमितता, मनपरी तथा व्यक्तिगत स्वार्थका कारण किसानहरू रुष्ट भई ती सहकारीका पदाधिकारीहरूलाई कारबाही गरेको घटना नै २०२५ साउन २ को भ्रष्टाचारविरोधी आन्दोलन हो । यो घटनाको स्मरणमा हालसम्म साउन २ गते नेक्राकिसङ्घले प्रशिक्षण, प्रवचन कार्यक्रम तथा अनुभव साटासाट गर्ने कार्यक्रम गर्दै आएको पाइन्छ ।
२०२६ असार १९ को आन्दोलन
वि.सं. २०२५ साउन महिनामा आफूहरूलाई बेइज्जत गरेकाले त्यसको बदला लिने सुरमा नवदुर्गा बहुमुखी सहकारी संस्थाका सञ्चालकहरूले मौका पर्खेर बसेका थिए । असारको याम भएकाले खेतमा हाल्न मल चाहिने भयो । किसानहरू मल लिन सहकारी संस्थामा जान थाले तर मल ल्याएर दिनुको सट्टा भोलिभोलि भन्दै टार्दै गए । कति किसानले त विनामल पनि खेत रोप्न थालेका थिए । किसानहरूको चर्को दबाबका कारण १९ गते मल दिइनेछ भनियो तर दिइएन । आक्रोशित किसानहरूले संस्थाका अध्यक्ष मङ्गले चगुठीलाई उल्टो टोपी लगाई नगर परिक्रमा गराएका थिए । हुन त मङ्गले (चा) ले तोरी, मकै, कोदो आदिको व्यापार गरेर किसानहरूलाई फाइदा दिन खोजेको भनिए तापनि आफ्नो घरमा २÷३ वटा भैँसी पालेको किसानहरूले प्रत्यक्ष देखे । त्यही समयमा नयाँ घर पनि बनाउन लागेको किसानहरूले थाहा पाए । पहिले केही नभएका मङ्गले (चा) सँग घर बनाउने पैसा कहाँबाट आयो भनी सोधीखोजी गर्दा बचत रकम हिनामिना गरेको निष्कर्षमा किसानहरू पुगे । मल ल्याउन नसक्नाको कारण पनि थाहा पाए । यसरी उसले (मङ्गले चगुठी) बचत रकम दुरूपयोग गरेकै कारण उसलाई किसानहरूले कारबाही गरेका थिए ।
२०२५ साउन २ गते भ्रष्टहरूका काला कर्तुतको पर्दा खुलेपछि त्यसको बदला के–कसरी लिन सकिन्छ भनेर मौका कुरेर बसेका थिए । २०२६ सालको असार महिनामा वर्षा राम्रो भएको भए तापनि सहकारीले समयमा मल नल्याएको हुँदा नगरका विभिन्न केन्द्रहरूमा गई किसानहरू मल लिन जान थाले । त्यसबेला किसानहरूलाई आवश्यक मल, बिउ वितरण गर्ने भनी ठाउँ–ठाउँमा डिपोहरू खोलिएका थिए ताकि किसानहरूलाई सजिलो होस् । समयमै बचत नतिरेकाले मल नआएको भनी पदाधिकारीहरूले झूट बोल्न थाले । आक्रोशित किसानहरूबाट संस्थाका पदाधिकारीहरू पक्राउ गरिए । वास्तवमा तिनीहरूले बचत रकमबाट विभिन्न सामग्री खरिद गरी व्यापार गर्ने गरेका थिए । अन्ततः असार १९ गते मल ल्याउने बाचासहित तिनीहरू छाडिए ।
असार १९ गते किसानहरू मल लिन सहकारी पुग्दा ती भ्रष्ट पदाधिकारीहरू प्रहरी प्रशासनको सुरक्षासहित बसेका थिए । तिनीहरूले मल दिने कुरै गरेनन् । किसानहरूले बचतको हिसाब माग्दा तिनीहरूले अनेक दुरवचन बोली हिसाब देखाउन नपर्ने ठाडो जवाफ दिए । आफ्नो बचतको हिसाब हेर्न पाउनुपर्छ भन्दै मल नपाएर रोपाइँ गर्न नपाएका किसानहरूले भ्रष्टाचारीहरूलाई पक्रे र किसानहरूको निर्णयअनुसार आफ्नो हिसाब नदेखाउने, समयमै मल नल्याउने भ्रष्टहरूलाई उल्टो टोपी लगाई सहर घुमाए ।
कृष्णभक्त चगुठीले बचतको रकम व्यापारमा लगाएका थिए । उनले समयमै मल ल्याउन सकेनन् ।
कृष्णभक्त चगुठीले संस्थामा पैसा छैन, केले मल ल्याउने र दिने भनी जवाफ फर्काए । किसानहरू पनि उत्तेजित भए र मुख छोड्न थाले । किसान कार्यकर्ताहरूले सम्झाईबुझाई आक्रोशित किसानहरूलाई शान्त पारे । किसानहरूले भ्रष्ट चगुठीलाई समातेर उल्टो टोपी लगाई नारा जुलुससहित नगर परिक्रमा गराए । त्यसक्रममा भ्रष्टाचारविरोधी र किसान एकताको नाराले नगर घन्केको थियो । पछि भ्रष्टाचारीलाई प्रहरीले कारबाही गर्ने सर्तमा प्रहरीको जिम्मा लगाइयो र जुलुस सभामा परिणत भयो (प्रजापति, २०६४)। चीनको हुनान किसान आन्दोलनको क्रममा भ्रष्टाचारीलाई लामो टोपी लगाएर गाउँ घुमाइन्थ्यो । त्यही शिक्षाअनुसार मङ्गले चगुठीलाई पनि उल्टो टोपी लगाई नगर परिक्रमा गराइएको थियो ।
हुन त मङ्गले चगुठी आफैँ पुराना किसान नेता भएकाले उसलाई कारबाही गरेको कुरा कोही कोही किसानलाई मन परेको थिएन । उनी भाषण पनि गर्न जान्दथे । किसानहरूले चगुठीलाई तलबस्वरूप माना–पाथी दिएर सहयोग गर्ने गरेका थिए । तर पछि आफ्नै व्यक्तिगत स्वार्थले उनी बिग्रे, गरिब किसानहरूलाई धोका दिएपछि मन नलागे पनि किसानहरूको पक्षमा लागेका व्यक्तिहरू पनि थिए । लोभले मान्छेलाई बिगार्छ भनेझैँ उनी लोभमा परेकाले सबैका नजरमा पतित हुन पुगे ।
कृष्णभक्त चगुठीले गरेका अनियमितताको पोल खुल्नुका कारणहरूमध्ये त्यसबेला उनले घर बनाउनलाई नगरपञ्चायतमा नक्सा पास गराउन खोज्नु पनि हो । त्यसैबेला नक्सा पास गराउँदा घरको नमुनाका आधारमा पनि कम्तीमा एक लाख पर्ने अनुमान गरिएको थियो । काम गर्न जाँदा बढीमा दिनको १–२ रूपैयाँ ज्याला पाउने समयमा र फेरि उनको घरको आयस्रोत पनि त्यति राम्रो नभएको किसानहरूलाई थाहा थियो । त्यत्रो पैसा कहाँबाट आयो भन्दै किसानहरूले खोजीनीति गर्न थाले । उनको आनीबानीमा ध्यान दिन थाले र उनको वास्तविकता सबैसामु देखा प¥यो । यही कारण उनी कारबाहीमा परेका थिए ।
भ्रष्टाचारविरोधी आन्दोलनकै क्रममा ‘असार २० गते चगुठीलाई भ्रष्टाचारको आरोप लगाई नगर पञ्चायतबाट निष्कासित गरियो । यसबाट भ्रष्टहरू आत्तिएर तत्काल भ्रष्टाचारको विरोध गर्नेविरुद्ध आमसभा गर्न पुगे । अन्ततः भ्रष्टाचारी र प्रशासनको मिलेमत्तोमा तत्कालीन नगरपञ्चायत प्रधानपञ्च बाबुकाजी बासुकलालाई असार ३० गते कुर्सीबाटै पक्राउ गरी शान्ति सुरक्षाअन्तर्गत बन्दी बनाइयो । त्यसबेला भक्तपुरमा प्रहरी आतङ्क थियो । थुप्रै किसान कार्यकर्ताहरूलाई जेल–नेल, गुप्तवास र प्रवाससमेत रोज्न बाध्य तुल्याइयो भने उता भ्रष्ट चगुठीलाई जिल्ला पञ्चायत उपसभापति बनाइयो (चालिसे, २०५१ः१०४)। भक्तपुरका न्यायप्रेमी किसानहरूले त्यसको घोर भत्र्सना र विरोध गरे । भ्रष्टाचारको विरोधमा उठेको यो आवाज तत्कालीन व्यवस्थाको विरोधमा बन्दै गरेको आम जनमतमा एकाकार हुन पुग्यो । भक्तपुरको उक्त भ्रष्टाचारविरोधी आन्दोलनबाट देशभरिका जनताले ठूलो पाठ सिक्न पाए (प्रजापति, २०६४)। सम्भवतः नेपालको राजनीतिक आन्दोलनमा नेपालमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको सुरुवात भक्तपुरले नै गरेको थियो ।
त्यसबाहेक २०२० को दशकमा भक्तपुरमा किसानहरूको सक्रियतामा अन्य पनि भएका थिए । जसमध्ये अमेरिकाले भियतनाममाथि गरेको थिचोमिचोको विरोधमा जुलुस प्रदर्शन, सिक्किम भारतमा विलय गराउँदाको विरोधमा आन्दोलन, भारतले सुस्तामा गरिएको सीमा अतिक्रमणका विरोधमा आन्दोलनलगायतका स्थानीय गाईजात्रा पर्वमा सांस्कृतिक कार्यक्रम गरी देखाइएका नाटक, प्रहसन तथा यसका माध्यमबाट किसानहरूलाई सचेत सांस्कृतिक आन्दोलनहरू पनि गरिएका थिए । त्यस्तै साक्षरता आन्दोलन, सफाइ आन्दोलन पनि भक्तपुरका किसानहरूको सक्रियतामा भएका आन्दोलनहरू हुन् ।
उपर्युक्त प्रमुख सङ्घर्षहरूबाहेक जग्गाधनीबाट कानुनभन्दा बढी कुत असुल गर्नेको विरोध सर्वसाधारण हुनेखानेले असहाय र निमुखा किसानमाथि जग्गा जमिन, बाटो–कुलो आदिको प्रयोग गर्नमा गरेको थिचोमिचोको विरोध, बचत फिर्ता विकास तथा जग्गाकर नतिर्ने, गुठी जग्गा रैकर गराउने आन्दोलन एवम् रासायनिक मल सस्तो र सुलभ गराउने गतिविधिहरू भक्तपुरका किसानहरूले गर्दै आएका छन् (चालिसे, २०५१)। हुन त भक्तपुरमा किसानहरूलाई सचेत र सङ्गठित गर्ने क्रममा तत्कालीन पञ्चायती चुनावको सदुपयोग गरेर लेनिनवादी प्रतिक्रियावादी सङ्घसंस्थामा पसेर जनताको सेवा गर्ने नीति आफै महत्वपूर्ण थियो । त्यसै अनुरूप तत्कालीन पञ्चायती संस्थामा पसेर किसानहरूका हक हितका लागि किसान कार्यकर्ताहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस क्रममा पञ्चायती संस्थाको प्रयोग गरेर पञ्चायतका विरुद्ध जनमतसमेत सिर्जना गर्न किसान कार्यकर्ताहरू लागिपरेका थिए भने सफल पनि हुँदै गएका थिए । हाल पनि विभिन्न मागहरू राखेर किसान आन्दोलनका गतिविधिहरू हुँदै आएको पाइन्छ ।
स्रोत : भक्तपुरको किसान आन्दोलनको अर्थ–राजनीतिक विश्लेषण

Leave a Reply

Your email address will not be published. Required fields are marked *