भर्खरै :

रूसले युरोपलाई ग्यास व्यापारको कखरा सिकायो

पाँच महिनामा नचिताएको दोस्रो घटना घटेको छ । रूसको ठुलो ग्यास कम्पनी गजप्रोमले जर्मन ग्यास कम्पनीलाई जून १४ यता व्यवहारमा आएको करार पूरा गर्न नसकिने आकस्मिक स्थिति जनाउँदै पत्र लेखेको छ । पत्रमा उसले यसबाट हुन जाने क्षतिको पूर्ति नदिने पनि जनाएको छ ।
जर्मन चान्सलर ओलाफ शोल्जले नवनिर्मित नर्ड स्ट्रीम–२ पाइपलाइन अनुमोदन गर्ने प्रक्रिया रोक्का गरेर यो वर्ष जर्मन–रूस सम्बन्ध पहिलोचोटि चिसो पारे । बाल्टिक सागरमुनि बनाइएको ११ बिलियन डलरको पाइपलाइनमार्फत रूसबाट जर्मनी जाने ग्यास दोब्बर हुन्छ । तर, शोल्जले पाइपलाइन चालू हुनै दिएनन् ।
मस्कोले दोनेत्स्क र लुगान्स्क गणतन्त्रलाई मान्यता दिएपछि त्यसको प्रतिक्रियामा शोल्जले फेब्रुअरी २१ मा यस्तो पाइला चालेका हुन् । जर्मनीमा रूसविरोधी युद्धका समर्थकहरूले उनको फैसलालाई धुमधाम स्वागत गरे । बर्लिनमा विदेश सम्बन्धको युरोपेली परिषद्की प्रमुख जाना पुग्लिरिनले शोल्जको प्रशंसा गर्दै भनिन्, “युरोपेली सङ्घका सबै देशहरूको लागि ढोका खोलिरहनुभएको छ… सङ्गीन घडीमा यो एउटा वास्तविक नेतृत्व हो ।”
मस्कोलाई जर्मन ऊर्जा बजारबारे राम्रो जानकारी छ । त्यसैले शोल्जको कदमलाई जानाजान भीरतिर जाने पाइलाको रूपमा हेरियो । मस्कोले उक्त कदमलाई तत्काल घोचपेच ग¥यो । पूर्वराष्ट्रपति र रूसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेभले ट्वीट गरे :
“नयाँ साहसी विश्वमा स्वागत छ, जहाँ युरोपेलीहरूले चाँडै १ हजार घनमिटर ग्यासको भाउ २ हजार युरो तिर्नेछन् !”
जर्मनीको ऊर्जा क्षेत्रको एकचौथाइ हिस्सा ग्यासले ओगट्छ, त्यसमध्ये आधा रूसबाट आउँछ । मेदभेदेभले यही वास्तविकता बताइरहेका थिए । सन् २०११ मा जापानको फुकुशिमामा आणविक दुर्घटना भयो । त्यसपछि जर्मनीले आफ्नो आणविक ऊर्जा केन्द्र बन्द गर्ने निधो गरेको थियो । साथै सन् २०३० सम्ममा जर्मनीले कोइलाबाट बिजुली निकाल्न बन्द गर्ने प्रतिबद्धता पनि जनाएको छ । त्यसैले ग्यासमाथिको जर्मनीको निर्भरता बढ्न मात्र सक्छ ।
तर, ‘जीवाश्म इन्धनको प्रयोग नगरी स्टील, सिमेन्ट र रसायनहरूको उत्पादन गर्न’ जर्मनीले सौर्य र वायु ऊर्जाको क्षमता बढाउनमा जोड दिने शोल्जले बताए । रूसबाट नर्ड स्ट्रीम १ को माध्यमबाट सुपथ मूल्यमा ग्यास लिने दीर्घकालीन करार भइसकेको हुनाले ढुक्क भएर शोल्जले त्यसो भनेका थिए ।
भित्रभित्र कुरा बिग्रेको पहिलो सङ्केत प्रभावशाली रूसी दैनिक पत्रिका इजभेस्तियाले जुलाई ११ मा दियो । मस्कोस्थित औद्योगिक विज्ञहरूलाई उद्धृत गर्दै पत्रिकाले जुलाई ११–२१ सम्म हुने वार्षिक मर्मत कार्यले गर्दा नोर्ड स्ट्रीम–१ बन्द हुने बताएको थियो । रूसमाथि नाकाबन्दी लगाउनाले र क्यानडा पछि हट्नाले यही बहानामा उक्त स्ट्रीम पछिसम्म बन्द हुनसक्ने पत्रिकाले लेखेको थियो ।
उक्त पत्रिकाले एउटा पूर्वानुमान ग¥यो । पश्चिमी प्रतिबन्धहरूका कारण गजप्रोमले अकस्मात् सम्झौताबिचमै टुङ्गयाउने परिस्थिति आउन सक्ने पत्रिकाले औँल्यायो । किनभने, क्यानडामा लगेर उपकरण मर्मत गरेपछि सिमेन्सले गजप्रोमलाई फिर्ता दिन सकेन । जसले गर्दा १६ करोड ७० लाख घनमिटर ग्यास पठाउने योजना सफल भएन र दैनिक ६ करोड ७० लाख घनमिटर प्रतिदिनको दरले मात्र ग्यास प्रवाह भयो ।
इजभेस्तियाको खबरअनुसार यसै स्थितिमा तरल ग्यासको बजार मूल्य १ हजार घनमिटरमा २ हजार डलरको दरले बढ्यो । यो मूल्य “बढेर ३ हजार ५ सय डलरसम्म पुग्न सक्नेछ ।” जुलाई ८ सम्म तरल ग्यासको मूल्य १८०० डलर थियो ।
बर्लिनको आकस्मिक अनुरोध र प्रतिबन्धमा छट गर्ने वासिङटनले सिफारिस गरेपछि क्यानडा सहमत भयो । तर, गजप्रोमलाई टर्बाइन पठाए पनि “टर्बाइनहरूलाई कति सटिक ढङ्गले मर्मत गरियो भनेर लामो परीक्षण हुनेछ । मित्रता नभएको देशमा मर्मत गरेका टर्बाइनहरू प्रयोग गर्दा पूरै प्रणाली बिग्रने जोखिम कसैले मोल्दैन । टर्बाइन राख्दा र नर्ड स्ट्रीम–१ लाई पूर्ण क्षमतामा सुरु गर्दा कम्तीमा २ देखि ३ महिना समय लाग्छ ।” – इजभेस्तियाले लेख्यो ।
यसको अर्थ नर्ड स्ट्रीम–१ बाट सेप्टेम्बर वा अक्टोबरमा मात्र ग्यास प्रवाह हुनेछ । त्यस बेला पनि सायद गजप्रोमले आफ्नो क्षमताको ६० प्रतिशतमात्र काम गर्न सक्नेछ । किनभने, थप दुई टर्बाइनको जाँच र मर्मत गर्न बाँकी छ ।
त्यसैले विज्ञहरूले युरोपेली सङ्घमा ग्यासको कमीको समस्या अझ केही वर्षसम्म चलिरहने बताए । साथै त्यहाँ “तातो पानीको आपूर्ति सीमित गर्नुपर्ने, मन्द स्ट्रीट लाइटको सङ्ख्या घटाउनुपर्ने, स्विमिङ पुल र विद्युतीय उपकरणहरूको खपत बन्द गर्नुपर्ने” हुनसक्छ । अर्को, हरित ऊर्जाको साटो कोइलातिर तानिने हुनसक्छ ।
कोमर्सेन्ट पत्रिकाले बुधवार रिपोर्ट छाप्यो । प्राकृतिक विपत्ति, आगलागी आदिले गर्दा पुरानो करार पूरा गर्नमा व्यवधान आएको हुनसक्ने लेख्यो । गजप्रोमको मामिलामा “हामी उपकरणको प्राविधिक गडबडीबारे कुरा गर्दै छौँ ।” यसले गर्दा मुद्दा लाग्न सक्छ । “ग्यास आपूर्तिमा गजप्रोमले गर्ने कटौती प्राविधिक गडबडीको अनुपातमा छ वा छैन भन्ने कुरा निर्णायक हुनेछ ।”
गजप्रोम यसका लागि तम्तयार देखिन्छ । क्यानडाले ग्यास टर्बाइन नपठाएको गजप्रोमको बयान फर्जी हो भन्ने जर्मनीको शङ्का छ । कोमर्सेन्टले एउटा ‘लामो इजलास’ चल्ने देख्छ । तर, यो लामो समयसम्म धेरै क्षति भइसकेको हुनेछ ।
जर्मनीको लागि यो सङ्गीन घडी हो । धेरै उद्योगहरू बन्द गर्नुपर्ने हुनसक्छ । त्यस्तै सामाजिक तनाव बढ्नसक्छ । मस्कोले ‘आणविक विकल्प’ रोज्दै छ भन्नेमा जर्मनहरू ढुक्क छन् । यो हिउँदसम्म युक्रेनप्रतिको जर्मनीको ऐक्यबद्धता टिक्ला वा नटिक्ला भन्ने ठूलो प्रश्न छ ।
ग्यास निर्यातबाट हुने आम्दानीबेगर रूस हायलकायल हुनेछ भन्ने शोल्जको विश्वास थियो । तर, मस्कोले आजभोलि थोरै निर्यातबाट धेरै आम्दानी गरिरहेछ । रूसको अहिलेको रणनीति भनेको ग्यास निर्यात नरोकी त्यसमा कमी ल्याउनु हो । पहिलेको तुलनामा उसले अहिले एकतिहाइ ग्यासमात्र बेचिरहेको छ । तर, उसको आम्दानीमा कमी आएको छैन । किनभने, तरल ग्यासको विश्वव्यापी अभावले गर्दा त्यसको बजार मूल्य एकाएक अकासिएको छ । बाटो स्पष्ट छ । गजप्रोमले यही गर्नेछ ।
दीर्घकालीन करारअन्तर्गत रूसले जर्मनीलाई मामुली भाउमा अर्थात् २८० डलर प्रति घनमिटरको हिसाबले ग्यास बेचेको पुटिनले खुलासा गरेका थिए । सस्तोमा किनेको रूसी ग्यास जर्मनीले आफ्ना ग्राहकलाई नाफाका साथ बेच्ने गथ्र्यो ¤
रूसी ग्यास नआउँदा जर्मनी कठ्याङ्ग्रिने मात्र होइन, बरु रूसबाट सस्तोमा आयात गर्ने जीवाष्म इन्धनमा आधारित उसको औद्योगिक निर्यातको आर्थिक मोडल नै ध्वस्त हुने हो कि भन्ने कुराले जर्मनी पिरोलिएको छ । जर्मन उद्योगहरूले रूसी ग्यासको ३६ प्रतिशत हिस्सा खपत गर्छन् ।
युक्रेन सङ्कटमा जर्मनीले नियम मिचेर व्यवहार ग¥यो । उसले जेलेन्स्कीलाई समर्थन गरेझैँ ग¥यो । तर, उसलाई सैन्य सहयोग दिन आनाकानी ग¥यो । यसले गर्दा किभ र बर्लिनबिच कूटनीतिक तीतोपिरो बढ्यो । अर्कोतिर, मस्कोले ग्यास निर्यातको लागि नयाँ भुक्तानी ढाँचा ल्यायो । उसले रुबलमै पैसा तिर्नुपर्ने बतायो । जर्मनीले उसको कुरा मान्ने पहिलो देश थियो । यसरी युरोपेली सङ्घको नाकाबन्दी खुकुलो हुनेछ भन्ने उसलाई राम्ररी हेक्का थियो ।
यसरी मस्कोले जर्मन ग्यास खरिदकर्ताहरूलाई गजप्रोम बैङ्कमा युरो र डलरमा खाता राख्न कर ग¥यो । यो बैङ्क युरोपेली प्रतिबन्धमा परेको छैन । मस्कोले जर्मनीलाई आफ्नो मुद्रा रुबलमा फेर्न भन्यो किनभने रूसको केन्द्रीय बैङ्क पश्चिमा प्रतिबन्धमा परेको छ र उसले विदेशी विनिमय बजारमा लेनदेन गर्न सक्दैन !
रूसीहरूले युरोपेलीहरूलाई मूर्ख बनाएका छन् । बहुमूल्य माल भएको देशमाथि नाकाबन्दी लगाउन असम्भव छ भन्ने स्पष्ट भइसकेको छ । रूस विश्वको दोस्रो ठूलो इन्धन निर्यातकर्ता र सबैभन्दा ठूलो ग्यास निर्यातकर्ता हो । ऊ विश्वकै सबैभन्दा ठुलो गहुँ र मल निर्यातकर्ता हो । त्यस्तै उसले पालाडियमजस्ता अनेक दुर्लभ धातुहरू निर्यात गर्छ ।
बोइङ र एयरबस दुवैले आफ्नो आपूर्ति चक्र तोडिने जोखिम देखाइरहेका छन् । एयरबसले ठूलो मात्रामा टाइटानियम आयात गर्छ । त्यसको ६५ प्रतिशत आपूर्ति रूसबाट हुन्छ । विमानहरूको अत्यावश्यक सामान उत्पादनमा चाहिने सामग्रीहरूको आयातमा प्रतिबन्ध नलगाउन एयरबसले युरोपेली युनियनसँग सार्वजनिकरूपमै अनुरोध गरेको छ ।
यसरी युरोपेली सङ्घले रूसविरुद्ध नाकाबन्दी खुकुलो पार्नु आश्चर्यजनक छैन । ब्रसेल्समा कर्मचारीहरूले नाकाबन्दी चर्काउने सम्भावना मन्द पारेका छन् । नाकाबन्दी गलत निर्णय थियो भन्नेमा राजनीतिक नेतृत्व सहमत छ ।
युरोपेली अर्थतन्त्रहरूमा परेका असरहरू गम्भीर छन् । ऊर्जाको बढ्दो मूल्यले युरोपेली युनियनका देशहरूमा महँगी बढाइरहेको छ । एक पूर्वानुमानअनुसार फ्रान्समा यो वर्ष मुद्रास्फीति ७ प्रतिशतले बढ्नेछ, जर्मनीमा ८.५–९ प्रतिशतले बढ्नेछ, इटलीमा १० प्रतिशतले बढ्नेछ । यो सुरुआतमात्र हो । धेरै देशको जीडीपीमा पनि ठुलो गिरावट आउनेछ । अर्को वर्षसम्ममा जीडीपीमा २ देखि ४ प्रतिशत गिरावट आउनेछ ।
(भद्रकुमार उज्बेकिस्तान र टर्कीका लागि भारतका राजदूत थिए ।)
स्रोत : एमआर अनलाइन ।
अनु. सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *