सङ्गठन र दलहरूमा व्यक्तिवादी चरित्रको आलोचना समयमै गर्नु आवश्यक
- आश्विन २८, २०८१
पुँजीवादको विकाससँगै मानिसमा व्यक्तिगत स्वार्थ बढेको यथार्थ हो । पैसा भनेपछि हुरुक्क हुने यो समाजका मानिसहरू समाज सेवा या समुदायको कुरा चटक्कै भुल्छन्, भुलिरहेका छन् । व्यक्तिगत सम्पत्ति आयआर्जन गर्ने नाउँमा मानिसले दातइको पनि सम्पत्ति भनेनन्, जसरी हुन्छ आफ्नो गर्न पाए सही सम्झन्छन् । गलत कार्य गरेपछि समाज र दाजुभाइले भन्ला भन्ने कुनै चिन्ता र चासो लिइँदैन । आफ्नो चरित्रमा दाग लाग्ला, समाजको मूल्य र मान्यता नाघ्ला भन्ने कुराको ख्याल गरिँदैन । यस्तै व्यक्तिगत स्वार्थका कारण कतिपय मानिसहरूले पहिलेको बाजे बराजुको दत्त अहिले चट गरेका छन् । कतिले पहिले दान गरिसकेको सम्पत्तिमा अहिले आँखा गाडेका छन् । अग्रजहरूको देन र योगदानलाई स्वार्थी मानिसहरूले भुलेका छन् । यसरी व्यक्तिगत स्वार्थमा भुलेकै कारण आमाबुबाहरू अपहेलित भएका हुन्, चेलीबेटीहरू बेचबिखनमा परेका छन् । कतिपय मानिसहरू कमिसनतन्त्रमा भुले त कति मानिसहरू भ्रष्टाचारमा मुछिए ।
परिवार पाल्नुपर्छ, परिवारको जोहो गर्नुपर्छ । पढाइ, लवाइ, खुवाइको निम्ति आयआर्जन आवश्यक हुन्छ, परिश्रम गरेर आयआर्जन गर्नुपर्छ । एउटा न एउटा विषयमा विज्ञ भएर देश र जनताको सेवा गर्नुपर्छ । देशको लागि आवश्यक जनशक्ति तयार गर्न जुट्नुपर्छ । पहिलेका अग्रज, समाजसेवीहरूले पाटी–पौवा, धर्मशाला, सत्तल, इनार, कुवा, चौतारा, ढुङ्गेधारा, पोखरी त्यसै बनाएका होइनन् । बटुवाहरू बास बस्न पाटी पौवा, धर्मशाला र सत्तल बनाइयो । पानी खान इनार, कुवा खनिए र ढुङ्गेधारा बनाइयो । शीतल पार्न या एकक्षण थकाइ मार्न या आराम गर्न चौतारा बनाइयो । मन्दिरहरूको निर्माणसँगै जात्रापात्रा या चाडपर्व मनाइयो । यही कारण हाम्रो सभ्यता र संस्कृतिको सहरहरू बने । हाम्रा सहरहरू सांस्कृतिक धरोहर बने । उनीहरू हाम्रा अग्रज भए, हाम्रा गुरु बने । ३ सय २० वर्षअघि बनेको पाँचतले मन्दिर अहिले पनि जीवन्त छ । देशकै सबभन्दा अग्लो र उत्कृष्ट नमुनाको त्यो मन्दिरले पनि यहाँका त्यसबेलाका कलाकारहरू कति सिद्धहस्त थिए भन्ने कुरा थाहा हुन्छ ।
व्यक्तिगत स्वार्थमा लागेको हुँदा इमानजवान पनि हराउँदै गयो । पैसा पाउने नाउँमा जस्तोसुकै गर्न नहुने कर्म गरिन थाल्यो । पैसा नै सबथोक ठानेर लागेको कारण यहाँ भ्रष्टाचारी, तस्कर, कमिसनखोर, दलाल, ठग र कालाबजारी बढेका छन् । यही कारण यहाँ इमानदारिता, सामाजिक सद्भाव, सहअस्तित्व, सहकार्य आदिको भावना हराउँदै गयो । सामाजिक सेवा कम हुँदै गयो । समाजमा विश्वास घट्दै गयो । एकले अर्काेलाई लुट्ने, पिट्ने, अपहरण गर्ने, झगडा गराउने काम हुनथाल्यो । राजनीतिक विसङ्गतिले सीमा नाघ्यो । फलतः देशमा कलह बढ्यो, अस्थिरता बढ्यो, सङ्कट निम्तियो । के यो देशको लागि खतराको सङ्केत होइन ?े
Leave a Reply