भर्खरै :

गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा

गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा

गोरखा, २३ साउन । गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीसहितको प्रतिनिधिमण्डलले शुक्रबार भक्तपुर नगरपालिका र नपाबाट सञ्चालित ख्वप सर्कलका कलेज, ख्वप अस्पताल र भक्तपुरका सांस्कृतिक सम्पदाहरूको स्थलगत अवलोकन भ्रमण गर्यो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आरुघाट गापाका उपाध्यक्ष कल्पना नेपालीसहितको टोलीले नगरपालिकामा भेट गरी नपाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रहरूमा भइरहेको कामबारे अनुभव आदानप्रदान भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले टोलीलाई खादा, भादगाउँले टोपी र परम्परागत थैलीका साथ नगरपालिकामा स्वागत गर्नुभयो ।
उहाँले भक्तपुर नपाले सुलभ र सहजरूपमा जनताका आधारभूत आवश्यकताका सेवाहरू प्रदानमा जोड दिँदै आएको बताउँदै नपाले विपक्षी पार्टीहरूसँग पनि सहकार्य र समन्वयात्मक ढङ्गले काम गरिरहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाले आन्तरिक स्रोतबाट हुने विकास निर्माणहरू उपभोक्ता समितिबाट पारदर्शी ढङ्गले अगाडि बढाउँदै आएको बताउँदै भक्तपुर नपाले देशका अन्य स्थानीय तहहरूसँग अनुभव आदानप्रदानलाई निरन्तरता दिँदै आएको छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उ. मा. वि., २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजको स्थापना, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङको स्थापना र त्यसपछि शारदा कलेज र शारदा मावि जोडिएपछि ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आज ख्वप विश्वविद्यालय सञ्चालनको चरणमा पुगेको उहाँले बताउनुभयो ।
आरुघाट गाउँपालिकाका उपाध्यक्ष नेपालीले प्रशासनिक र राजनैतिक दृष्टिले आरुघाट नपा १० वटा वडामा विभाजित रहेको बताउँदै भौगोलिक विकटताले गर्दा विकास निर्माणको काममा केही कठिनाइहरू सामना गर्दै यस गाउँपालिका अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाको विकास मोडलबाट आफू निकै प्रभावित रहेको बताउँदै आरुघाट गा.पा.को संरचना निर्माणमा पनि भक्तपुर नपाबाट प्राविधिक सहयोग रहने आशा व्यक्त गर्दै कृषि र पर्यटन क्षेत्रमा भक्तपुर नपासँग साझेदारी गर्दै अगाडि बढ्ने इच्छा प्रकट गर्नुभयो ।
देशकै नमुना नगरपालिकाको रूपमा परिचित भक्तपुर नपाको अध्ययन अवलोकन भ्रमण गर्न पाएकोमा गौरवान्वित महसुस भएको बताउँदै उपाध्यक्ष नेपालीले भक्तपुर नपाको हरेक काम उत्कृष्ट रहेको अवलोकनको क्रममा अनुभव गरेको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, आरुघाट गा.पा. का प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट, नेमकिपा गोरखाका जिल्ला अध्यक्ष प्रल्हाद लामिछाने, पशुसेवा शाखाका बासुदेव पोखरेल, कृषि शाखा प्रमुख सुजन दबाडी, पर्यटन सूचना केन्द्रका सहायक निर्देशक गौतमप्रसाद लासिवाको पनि उपस्थिति थियो ।
उक्त टोलीलाई पर्यटन सूचना केन्द्रका सहायक निर्देशक गौतमप्रसाद लासिवाले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, दत्तात्रय मन्दिरलगायतका सांस्कृतिक सम्पदाहरूको स्थलगत अवलोकन गराउनुभएको थियो । साथै नगर प्रमुख प्रजापतिले उपप्रमुख नेपालीलाई मयुरको झ्याल, नपाका केही प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *