भर्खरै :

चीनले एक दशकपछि संसारको नेतृत्व गर्ने

चीनले एक दशकपछि संसारको नेतृत्व गर्ने

छिमेकी मित्रराष्ट्र चीनले आगामी एक दशकपछि संसारको नेतृत्व गर्दै छ । यसबीचमा कुनै बाधा व्यवधान नआएमा, चीन आर्थिकलगायत वैज्ञानिक, सामरिक, सामाजिक सम्बन्ध विकासमा विश्वको पहिलो देश हुँदै छ । अमेरिकी साम्राज्यवादको छटपटी यहीनेर छ । ऊ जङ्गलमा सिकार गर्न नपाएर बेचैन भएको बूढो बाघजस्तो भइरहेको छ । आजको विश्व परिवर्तनशील छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । यो न हिजोको जस्तो हुनसक्छ, न भोलि नै रहनेछ । अमेरिकी साम्राज्यवादले हिजो विकास र सहयोगको नाममा पसेर संसारलाई भिडाउने, कहिले जुटाएर, कहिले फुटाएर हतियारको आपूर्ति गरी व्यापार गर्दै आएको संसारलाई थाहा छ । विश्व ऊबाट पीडित छ । चीनले अरू कमजोर देशलाई जस्तो आन्तरिक मामिलामा हस्तक्षेप गरेर दुःख दिन दुष्प्रयास गरेपछि उसलाई आगोसँग नखेल्न चेतावनी दिइसकेको छ ।
विश्वका विभिन्न संस्थाले प्रक्षेपण गरिएको आर्थिक प्रतिवेदनअनुसार केही दशकपछि विश्वको आर्थिक केन्द्र एसिया हुँदै छ । त्यसको नेतृत्व चीनले लिँदै छ । एसियाको भारत, जापन, दक्षिण कोरिया, इन्डोनेसिया, रसिया, साउदी अरबजस्ता देशहरू अमेरिका र युरोपलाई उछिनेर अर्थतन्त्रको विकासमा अगाडि आउँदै छन् । यी देशहरू पनि हिजो उनीहरूबाट पीडित थिए र आज पनि पीडित छन् । भारतले बेलायतलाई सन् २०२९, जर्मनीलाई सन् २०२७ र जापानलाई सन् २०३० मा अर्थतन्त्रमा नाघेर जानेछ भने अमेरिकालाई सन् २०५० मा उछिनेर विश्वको दोस्रो ठूलो आर्थिकरूपमा सम्पन्न देश हुनेछ ।
सन् २०२२ देखि २०५० सम्मको सन् २०२२ मा उल्लेख विश्वका प्रमुख १२ वटा अर्थतन्त्र सम्पन्न देशहरूको विवरण
उपर्युक्त सन् २०२२ को RELZ SDG को स्रोतको तालिकाअनुसार विश्व अर्थतन्त्रको विकासमा अमेरिका पहिलो, एसियाली देश चीन दोस्रो र जापान तेस्रो स्थानमा देखिएका छन् भने भारत छैटौँ स्थानमा रहेको छ । किनभने अमेरिकाको GDP २४७९६.०७६ विलियन अमेरिकी डलर छ भने चीनको १८४६.१३, जापानको ५३८३.६८२ विलियन अमेरिकी डलर रहेको छ । त्यस्तै PWC को स्रोतको तालिकाअनुसार आगामी सन् २०३० सम्ममा चीन विश्वको पहिलो अर्थतन्त्रको देश हुनेछ भने अमेरिका दोस्रो र भारत तेस्रो स्थानमा आउने छन् । किनभने त्यसबेला चीनको GDP ३६,११२ विलियन अमेरिकी डलरको हुनेछ भने अमेरिकाको २५,४५२ र भारतको १७,१३८ विलियन डलर हुनेछन् । सन् २०५० भित्र चीन प्रथम, भारत दोस्रो र अमेरिका तेस्रो स्थानमा हुनेछन् । त्यसबेला चीनको GDP ६१,०७९ विलियन अमेरिकी डलर हुनेछ भने भारतको ४२,२०५ र अमेरिकाको ४१,३८४ विलियन अमेरिकी डलर हुनेछ । सन् २०२२, सन् २०३० र सन् २०५० को विश्वका १२ वटा अर्थतन्त्रमा अगाडि बढेका र बढ्ने देशहरूको तालिका माथि उल्लेख भइसकेको छ । समग्रमा आगामी केही दशकभित्र विश्वको आर्थिक केन्द्र, एसिया महादेश बन्नेछ । संसारको नेतृत्व चीनले गर्ने तथ्याङ्कले पनि देखाएको छ । अमेरिकाको बेचैन यहीनेर छ । त्यसैले ऊ चीनलाई अगाडि बढ्नबाट रोक्न, पछार्न चीनविरुद्ध अनेक षड्यन्त्र बुनिरहेको विश्वले हेरिरहेको छ जुन सफल हुनेछैन ।
छिमेकी मित्र राष्ट्रहरू चीनले ब्रिक्स, साङ्घाई कर्पाेरेसन, बीआरआई आदिमार्फत विश्वसँग वीनवीनको सिद्धान्तअनुसार शान्ति, विकास र सहयोगको हातेमालो गर्दै अगाडि बढिरहेको छ जुन अमेरिकालाई सह्य भएन, पचेन । ऊ ताइवानलाई उचालेर चीनको आन्तरिक मामिलामा हात हाल्ने दुष्प्रयास गर्दै छ । तर, चीन अरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, जुधाउने, भिडाउने र हतियारको व्यापार गर्ने गर्दैन । अमेरिकाले आज युक्रेन, सिरिया, प्यालेस्टाइन, पनामा, ब्राजिल, इराक, लिविया, अफगानिस्तान, दक्षिण कोरिया, जापान, इन्डोनेसिया, अफ्रिकी देशहरू आदिमा हस्तक्षेप गरिरहेको छ । उसले ती देशभित्रका दल, जनतालाई उचालेर होस् वा दुई वा दुईभन्दा बढी देशलाई उक्साएर होस्, भिडाउने काम गर्दै आएको छ । ती देशहरूमा जनताबीच भिडाएर, दुई देशबीच लडाएर हतियार बेच्दै त्यहाँको प्राकृतिक सम्पत्ति लुट्दै आएको संसारले देखिरहेको छ । उसको टाउको दुखाइ अहिले रसियामा भारतलगायतका देशहरूको संयुक्त सैनिक अभ्यासमा छ । यसले त्यसमा सहभागी नहुन सम्बन्धित देशहरूलाई धम्की दिइरहेको छ । तर, त्यो धम्कीको केही अर्थ रहने छैन । इन्डोनेसियामा प्रमुख अर्थतन्त्र सम्पन्न मुलुकहरूको समूह G 20 को शिखर बैठक सम्पन्न हुँदै छ । यसमा चीनका राष्ट्रपति सिजी फिङ र रुसका राष्ट्रपति भलादिमिर पुटिन सहभागी हुँदै छन् । थाइलैन्डमा तेल उत्पादक देशहरूको सङ्गठन ओपेकको बैठक हुँदै छ भने आगामी केही समयपछि ब्रिक्सको शिखर सम्मेलन चीनमा हुँदै छ । यसले अमेरिकाको मनमा ढ्याङ्ग्रो ठोक्ने नै छ ।
अमेरिकी साम्राज्यवादले चीनलाई जसरी पनि विश्वमा पहिलो हुनबाट रोक्न रुसलाई पछार्न उसकै छिमेकी देश युक्रेनलाई हतियारको रूपमा प्रयोग र उपयोग गरेजस्तै चीनको लागि पनि अर्काे युक्रेन खोजिरहेको छ । तर, उसले कहीँ भेटाउन सकेन । उसका सबै प्रयासहरू चकनाचुर भए । उसले चीनको छिमेकी मित्र देश भारतलाई उचाल्न र भिडाउन खोज्यो तर सकेन । भारतले पनि बुझेकै होला, दुई विश्वमा उडाउँदो छिमेकी मित्र देशलाई भिडाएर, सात समुद्रपारिको देश अमेरिकाले फाइदा लुट्न खोज्दै छ । एसियालाई विकास र आर्थिक केन्द्र बन्नबाट रोक्न युद्धको रणभूमिमा डुबाउने षड्यन्त्र गर्न अमेरिका लागेको भारतले पक्कै पनि बुझेको हुनुपर्छ । उसले चीनको १५ वटा छिमेकी मित्र देशहरू भारत, बङ्गलादेश, भुटान, बर्मा, लाओस, भियतनाम, पाकिस्तान, अफगानिस्तान, मङ्गोलिया, ताजाकिस्तान, किरिगीस्तान, कानकिस्तान, नेपाल, आदिलाई युक्रेन बनाउन खोज्यो । तर, ती देशहरूमध्ये कुनै पनि युक्रेन बन्न तयार भएनन् । ती देशहरू पनि हामीलाई अमेरिकाले छिमेकी मित्र चीनविरुद्ध भिडाउन लाग्यो है भनेर सचेत थिए । चीनको छिमेकी देश रुस र उत्तर कोरिया त उसको भाषामा दुश्मन नै भइहाल्यो । उसको उनीहरूसँग आँखा जुधाउने आँटै छैन । त्यस्तै जापान, दक्षिण कोरियालगायतका एसियाली देशहरूले चीनसँग हामीलाई अमेरिकाले भिडाउन, जुधाउन खोज्दै छ भन्ने कुरा बुझ्नुपर्छ । हामी एसियाली देशहरूलाई एकआपसमा भिडाउन खोज्दै छ भन्ने कुरा ती देशहरूले बुझेकै होलान् । नेपाललाई अमेरिकाले उसका दलालहरूलाई प्रयोग गरेर युक्रेन बनाउन खोज्दै छ । नेपाली जनताले शासकलाई र उसका दलाललाई दलाल नबन्न, देशद्रोही नबन्न, एसियाघाती नबन्न खबरदारी र चेतावनी दिइरहेको छ ।
अमेरिकाले आज ताइवानलाई उचाल्दै छ । अमेरिकाले चीनलाई ताइवानमाथि आक्रमण गराउन, ताइवानलाई उक्साउने काम गरिरहेको छ, जसरी इराकमाथि आक्रमण गर्न, निहुँ खोज्न कुवेतलाई उक्साएको थियो । चीनलाई संयमता अपनाइरहेको विश्वले हेरिरहेको छ । आफूले सन् १९७२ फेब्रुअरी २७ मा समर्थन गरेको चीनको ‘एक चीन नीति’ लाई उल्लङ्घन गरेर चीनको बारम्बारको अनुरोध र चेतावनीको बेवास्ता गर्दै गत २०२२ अगष्ट २ मा अमेरिकी संसद्का सभामुख न्यान्सी पेलोसीले ताइवानको आकस्मिक भ्रमण गरिन् । ताइवान चीनको अभिन्न अङ्ग हो, ताइवान चीनको आन्तरिक मामिला हो, यहाँको कुनै पनि निर्णय गर्ने अधिकार चीनलाई मात्र भएको अमेरिकाले मानेको थियो भने संसारका जनताले पनि साथ र समर्थन दिइरहेका छन् । अमेरिकाले संसारको आँखा छल्न एकातिर चीनको एक चीन नीतिलाई देखावटी समर्थन गर्ने अर्काेतिर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर निहुँ खोज्ने काम गरिरहेको छ । जुन न्यान्सीको भ्रमण र उक्साहटले प्रमाणित गरिसकेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पेलोसीको ताइवान भ्रमणले एक चीन नीतिको उल्लङ्घन गरेको आरोप लगाउँदै चीनको सार्वभौमिकतामाथि अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका थिए । अमेरिकाले ताइवानसँग चीनको शान्तिपूर्ण एकीकरण प्रक्रिया अवरुद्ध पार्ने, चीनको विकासको बाधक बन्ने, भूराजनीतिक अवस्थालाई तोडमोड गर्ने गरेको उनको दाबी छ । यसरी चीनले चेतावनी दिँदादिँदै न्यान्सीको भ्रमणपछि अमेरिकाले फेरि गत सोमबार अमेरिकी काङ्ग्रेसका सदस्यहरूको एक टोलीले ताइवानको भ्रमण गरेर चीनको आन्तरिक मामलामाथि ठाडो हस्तक्षेप गरेर निहुँ खोज्ने काम गरेको छ । यसको जवाफ चीन र विश्वले संयमता अपनाएर उसलाई एक दिन उपयुक्त समयमा दिने नै छन् ।
आज अमेरिकी साम्राज्यवादबाट पीडित ल्याटिन अमेरिकी देशहरू एक हुँदै छन् । उसको विरोधमा मेक्सिको, क्युवा, होन्डुरस, निकारागुवा, ग्वाटेमाला, भेनेजुयला, कोलम्बिया, पेरु, इक्वेडर, चिल्ली, बोलिभिया, अर्जेन्टिना, ब्राजिलजस्ता देशहरू उसको हस्तक्षेप र आक्रमणको विरुद्ध एक ढिक्का भएर लाग्दै छन् । अमेरिका एक्लो हुँदै छ । निकारागुवाले त रुसलाई आफ्नो देशमा सेना राख्न सक्ने कानुन नै पास गरिसकेको छ । रुस पनि अमेरिकाबाट पीडित देश हो भन्ने कुरा विश्वलाई थाहा छ । यसरी, चीन विश्वको साथ र सहयोग लिएर हातेमालो गर्दै अर्थतन्त्रलगायत सबै क्षेत्रमा संसारको प्रथम हुन अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *