भर्खरै :

निर्वाचनको सेरोफेरोको वातावरण

निर्वाचनको सेरोफेरोको वातावरण

काठमाडौँ, १७ कार्तिक । शासक दलका ‘शीर्ष नेताहरू’ सिस्नो–पानीले पनि तह नलागेपछि १३ कार्तिक, २०७९ को ‘अन्नपूर्ण पोष्ट’ ले पहिलो पृष्ठमै महत्व दिएर लेख्यो – ‘कता हराए शीर्ष नेताहरूलाई हराउनेहरू ?’ समाचार ओली, दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम आदिका प्रतिस्पर्धीहरूलाई ललकार ग¥यो ।
त्यसै दिन शासक दलका नेपाली काङ्ग्रेस र गठबन्धन दलका नेता प्रम शेरबहादुर देउवाले ‘घोषणापत्र’ होइन आश्वासनको सूची र पितृ दानको ‘सङ्कल्प’ सार्वजनिक गरे । घोषणापत्रकै सुरुमा नेपाली काङ्ग्रेसका दिवङ्गत नेताहरूलाई ‘श्रद्धा र सम्मान’ शीर्षकले श्रद्धाञ्जली दिएर जीवित र वर्तमानलाई व्यङ्ग्य गर्दै राजनैतिक नेताहरूलाई ‘उठ जाग जाग, धेरै नसुत है’ भन्दै उत्साह जगाएको अनुमान धेरैले लगाए । मानौँ जीउँदा–जाग्दा नेता र कार्यकर्ताहरूलाई उठाउन दिवङ्गत आत्माहरूलाई बोलाउनुपर्ने भयो र ‘श्राद्ध’ गर्नुपर्ने कस्तो स्थिति ल्यायो कुन्नि– बीपीको प्रजातान्त्रिक समाजवादलाई ‘महानिर्वाचन’ को झन्डालाई माथिसम्म उचाल्न ।
प्रजातन्त्रलाई कमजोर पार्ने पदलोलुप र द्रव्यपिशाचे प्रवृत्तिलाई जनताको सामुन्ने उदाङ्ग्याउन ‘संसद् विघटन’ जस्तो प्रधानमन्त्रीको अन्तिम अस्त्रलाई ‘भ्रष्ट’ र ‘महाअभियोग’ लगाउनुपर्ने नाटकको पात्रलाई स्तुति र प्रार्थना गरी न्यायपालिकाको आँगनलाई प्रतिनिधिसभा बनाउँदै संसद्लाई पुनर्जीवन दान दिएपछि भष्मासुरको शैलीले काठमाडौँको राजनैतिक रङ्गमञ्चमा विधायिका, कार्यपालिका र न्यायपालिकाका प्रमुख पात्रहरू र बन्दोबस्त नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको पोलापोलको सूचीको पर्दा खुल्यो ।
अब बुझ्नेहरूले बुझे, दुवै गठबन्धनको एकसूत्रीय घोषणापत्र हो– ‘प्रतिनिधिसभा विघटन नगर्ने प्रतिबद्धता’ । (नागरिक– १३ कार्तिक, २०७९) नत्र दलहरू टुक्रिएर छिन्नभिन्न हुने स्थितिमा पुग्ने थिएन ।
घोषणापत्रहरू सार्वजनिक हुँदै जाने छन्, तर घोषणापत्र तयार नहुँदै प्रचार सुरु गरे तथा लेनदेनको छिनोफानो र भोजभतेरको बजार खुल्दै गए, आचारसंहिताको बलि पनि भित्रभित्र चढाउँदै गए । जान्नेहरूले खबरदारी गरे– ‘आचारसंहिता मिच्दै चुनाव प्रचारमा जनप्रतिनिधि ।’ (अन्नपूर्ण– १४ कार्तिक, २०७९)
नेपाल समाचारपत्रको १४ कार्तिक, २०७९ को अङ्कमा लेख्यो– उम्मेदवारहरू ‘लाज पचाउँदै मत माग्दै जनतामाझ ।’ किनभने– ‘भ्रष्टाचार र फौजदारी अभियोगमा मुछिएका नै सुशासनका हिमायती’ देखिए ¤ शासक दलहरूका नेताहरूले कोठे बैठकहरूमा भन्ने गर्थे – ‘जस्तोसुकै अपराध गरेर आए पनि, थाहा पाएको २४ घण्टाभित्र छोड्न लगाउनेछौँ, लौ, आऊ निर्वाचनमा साथ देऊ ।’ त्यस्ता सांसद र मन्त्रीले कसरी सुशासन ल्याउँछन् र चलाउँछन् ? विडम्बनाकै विषय हो । पुँजीवादी प्रजातन्त्रको सबभन्दा विशेषता यही हो– जसले सक्छ उसले गर्ने हो, नसक्नेले मात्र उजुर गर्ने हो ¤
पुँजीवादी बन्दोबस्तका केही उदाहरण– ‘विमानस्थलबाट फेरि भागे फरार अभियुक्त’, ‘अध्यागमन कर्मचारीलाई झुक्याएर भागेका हुन् ।’ ‘उही महिनाअघि पनि ठगी मुद्दामा फरार अभियुक्त रिजवान आलमलाई विमानस्थलबाट भगाइएको थियो ।’ (नयाँ पत्रिका– १६ कार्तिक, २०७९)
‘विमानस्थलबाट भागेका फरार अभियुक्त पाण्डेका दुईवटा राहदानी’, ‘वैदेशिक रोजगारका नाममा मात्रै होइन, सोलार प्लान्ट जोड्ने भन्दै स्थानीय तहमा समेत ठगी ।’ (नयाँ पत्रिका– १७ कार्तिक, २०७९) शासनमा बस्ने व्यक्ति, परिवार र राजनैतिक दलका नेता वा कार्यकर्ताहरूको संलग्नताले नै यस्ता अनेक अपराध र अपराधीहरूले अवसर पाइरहेको भुक्तभोगीहरू बताउँछन् ।
१२ कार्तिकको दिन नेपाली काङ्ग्रेसले घोषणापत्रको ठाउँमा ‘सङ्कल्प’ प्रस्तुत ग¥यो । तर, देशलाई कुन बाटो ‘पुँजीवाद’ वा ‘समाजवाद’ मा लाने भन्नेबारे मौन बस्यो । बी.पी. को ‘प्रजातान्त्रिक समाजवाद’ पनि ‘म्याद नाघेको औषधि’ सम्झेरै नेकाले स्थानीय तहको घोषणापत्रको रूपमा प्रस्तुत गरेको अनुभव हुन्छ । नेकाको अब कुनै राजनैतिक आदर्श, चिन्तन र दर्शन छैन– मात्र संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको पिछलग्गू साबित भएको आजभोलि चुनाव प्रचारमा सुन्न पाइन्छ ।
नेका, एमाले, एमाओवादी, एकीकृत समाजवादी (माधव नेपाल), राप्रपा, मधेसवादी दलहरू वा सबै शासक दलहरूलाई जनताको एउटै भनाइ छ– ‘चुनावको मारामार यता, भारतमा हिँडे जनता’, ‘कसलाई भोट लिएर हामीलाई के हुन्छ र ?’ तस्बिरमा जनता भारतमा गइरहेको देखाइएको छ । (नेपाल समाचार पत्र– १७ कार्तिक, २०७९), रौतहटको एउटा समाचारको शीर्षक छ– खेतीमा हाल्न मल नदिनेलाई कसरी मत दिने ?’ सङ्केत सबै शासक दलहरूतिर छ । (नागरिक–१७ कार्तिक, २०७९)
समृद्धिको बखान गर्ने एमालेको चुनाव घोषणाले अब ‘राष्ट्रियताको रक्षा र एक सय खर्बको आर्थिक वृद्धि’ को बखान ग¥यो । (नागरिक– १६ कार्तिक, २०७९) ‘सानो नानीको ठूलो धोती ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *