भर्खरै :

निर्वाचन सही दल र उम्मेदवार चुन्ने अवसर

निर्वाचन सही दल र उम्मेदवार चुन्ने अवसर

राजनीतिप्रतिको वितृष्णा अन्त्य गर्ने हो भने मतदाताले विवेकपूर्ण न्याय दिनुपर्छ या सही उम्मेदवार छान्नुपर्छ । आफ्नो मताधिकार ठीक ठाउँमा प्रयोग भएन भने परिणाम राम्रो आउने छैन । यसले गलत मानिस जित्छ र सत्तासीन दलका नेता र मन्त्रीलाई भ्रष्ट बनाउँछ । विगतमा गलत व्यक्तिहरू जितेको हुँदा देशको राजस्वको दुरूपयोग भइरहेको हो या राजस्वमा आफ्नो पैतृक सम्पत्तिझै रजाइँ गरिरहेको हो । देशको लागि उचित या सही उम्मेदवार आवश्यक छ । तर, जनताको राजनीतिक चेतना, सांस्कृतिक स्तर नहुँदा र देशको राजनीतिक दलहरूको वर्ग चरित्र थाहा नहुँदा गलत व्यक्तिहरू नै बढी जिते । अधिकांश जनता लहैलहैमा लागे । पैसामा बिके । लोभलालचमा फसे । कुन दलले शोषित पीडित जनताको पक्षमा सङ्घर्ष गरिरहेको छ, देश जोगाउने काम गरिरहेको छ भन्ने कुरा जनताले अझै थाहा पाएका छैनन् । जनताको यही अज्ञानता, राजनीतिक ज्ञानको अपरिपक्वताले गर्दा देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने दलका उम्मेदवारहरू जिते, सरकारमा गए र देशघाती काम गरे ।
देशको राजनीति उचाइमा पु¥याउन, सत्मार्गमा लैजान सही राजनीति नगरी हुँदैन । तर, यहाँ बलको राजनीति भयो । शक्ति र भागबन्डाको राजनीति भयो । मिलेर खान पाएपछि या पद पाउने भएपछि दर्शन, सिद्धान्त र विचार सबै छोड्ने काम भयो । राजावादी राप्रपासँग कम्युनिस्ट भनिने एमालेको चुनावी तालमेल वास्तवमा पदकै लागि हो । जित्न या पद पाउनको निम्ति फोहरी राजनीति गर्ने ? राजतन्त्र अन्त्य गर्न अघि सर्ने दलका ती नेताहरूले आज राजावादी दलसँग घाँटी जोडेर कस्तो राजनीति गर्न लागेका हुन् ? दलको राजनीतिक आस्था, निष्ठा, विश्वास छोडेर राजनीति गर्ने दलहरू कस्ता !
जनताले जहिलेसम्म सच्चा उम्मेदवारलाई निर्वाचित गर्दैनन् तहिलेसम्म जनताले दुःख पाइरहने छन् । जनताले न्याय–अन्याय, सत्य–असत्य, सही–गलत, ठीक–बेठीक, इमानदार–बेइमान, सजन–दुर्जन आदिको छिनोफानो नगरेसम्म देशको हालत ठीक हुँदैन । गलत उम्मेदवारलाई पाखा लगाउने या हराउने काम निर्वाचनमै सम्भव छ । अतः जनताको भोट या अभिमत जित्नेलाई होइन, सरकारमा जानेलाई होइन । सही उम्मेदवार निर्वाचित भएन भने सरकारको नेतृत्व गरेरै के गर्ने ? संसद्मा विगतमा बहुमत जनताको पक्षमा सङ्घर्ष नगर्ने सांसदहरू बढी जिते । अनि उनीहरू कसरी देश र जनताको पक्षमा वकालत गर्छन् ?
कुन दलका उम्मेदवारलाई हराउने वा जिताउने भन्ने कुरा जनताकै हातमा छ । निर्वाचनमा जनताको मत अमूल्य हुन्छ । अमूल्य मतको सही उपयोग हुनुपर्छ । जनताले गलत दल र उम्मेदवार जिताएर पछि प्रायश्चित गर्ने होइन । हामीले समयमै सोच्नुपर्छ, समयमै सोचेर सही दल र उम्मेदवार चयन गर्नुपर्छ । शोषित–पीडित जनताको मत लिएर सामन्त, जमिनदार र पुँजीपति वर्गले फाइदा उठाइरहेका छन् । सर्वसाधारण जनताको मत लिएर उनीहरूमाथि नै शोषण गरिरहेकोतर्फ यो पटक निर्वाचनमा ध्यान दिनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *