भर्खरै :

शनिबारका दैनिक समाचारहरू पढ्दा

शनिबारका दैनिक समाचारहरू पढ्दा

शनिबारका पत्र–पत्रिकाहरूमा पाठकहरू समाचारभन्दा पनि लेख–रचना र टीका–टिप्पणीहरू हेर्ने गर्छन् र अध्ययन गर्ने गर्छन् । २६ कार्तिक २०७९ को अन्नपूर्ण पोष्टमा ‘साहित्य’ स्तम्भमा चन्द्र गुरुङको ‘कविताको नेपाल यात्रा’ शीर्षकको लेख हेर्न पाउँदा बडो आनन्द लाग्यो, अन्य पाठकहरूले पनि त्यसलाई मन पराएको थाहा पाएँ । विभिन्न दार्शनिक र लेखक एवम् कविहरूको काव्यबारेका भनाइ र टिप्पणीहरूले पनि पाठकहरूलाई आकर्षित गरेको देखिन्छ ।
डा.प्रेमसिंह बस्न्यातको ‘सेनाको सङ्घर्ष’ स्तम्भमा ‘नेपालमा छाताधारी फौज’ ले नेपाली सेनाको एक सानो झल्को जानकारी दियो ।
‘कभर स्टोरी’ मा ‘चुनावी एजेन्डा बनेन सामाजिक कुरीति’, ‘सामाजिक विभेद र कुसंस्कार अन्त्य गर्नुपर्दैन, नेताज्यू ?’ शीर्षकले संसदीय र प्रदेश निर्वाचनका उम्मेदवार र नेताहरूलाई मात्र होइन प्रम शेरबहादुर देउवा, पूर्व प्रमहरू माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड र बाबुराम भट्टराईलाई नै यो प्रश्नले लक्षित गरेको पाठकहरूले सम्झे । छाउपडीबारे पहाडी नेताहरूलाई लक्षित गरेको प्रश्न बुझिन्छ भने बोक्सी, दहेज, नरबलि र बालबलि एवम् जातीय विभेदबारे तराईका राजनैतिक दल, नेता र बारम्बार मन्त्रीको पदमा जाने ‘मधेसी’ नेताहरूप्रति नै सङ्केत गरिएको प्रश्न पाठकहरूले सम्झेका होलान् ।… देख्नेलाई लाज !
‘नागरिक’ दैनिकको ‘कथा’ मा भुवन मास्के ‘मुस्कान’ को ‘सृष्टिचक्र’ मा भाउजू पात्रको सशक्त अभिव्यक्तिले नेपाली सभ्य समाजको पोल खोल्छ– ‘म मरेको वर्ष दिन हुन नपाउँदै तपाईँको दोस्रो बिहेको कुरा चलिसक्छ । सबैले बिस्तारै मलाई बिर्सनेछन् । मात्र मेरी छोरीले मलाई जीवनभर सम्झिनेछिन् …. ।’ मर्मस्पर्शी यस भनाइले नेपाली समाजको एउटा अँध्यारो पक्षलाई प्रतिनिधित्व गर्छ । ‘मलाई थाहा नदिइकन सासूआमा सिकिस्त हुनुभएको मौका पारी श्रीमान्का सबै जायजेथा आमाजूहरू मिली सासूआमाबाट आ–आफ्नै नाममा लेखाइसक्नुभएको रहेछ । मेरा लागि केही नराखे पनि यो नाबालक टुहुरीको मुख त हेनुपर्ने नि ।’
सम्भवतः सम्पत्तिको त्यो कहालीलाग्दो स्वार्थीपना पुँजीवादी समाजमा व्यापक हुन्छ भने समाजवादी समाजमा त्यो समस्या ‘मलिन’ हुँदै जान्छ । यसबारे नेपाली समाज अझै जानकार छैन, समयले सबैलाई जानकार बनाउनेछ ।’
‘राजधानी’ दैनिकले ‘कतार विश्वकपका ‘रङ्गशाला’ शीर्षकमा ती रङ्गशालाहरूको परिचय छाप्यो । केही रङ्गशालाहरू खेलपछि आधा सामान विकासशील देशहरूलाई दिने र केही रङ्गशालाहरू भत्काउने जानकारीले अनावश्यक त्यत्रो खर्च किन गरेको होला’ भन्ने जिज्ञासा पाठकहरूमा उब्जिनु स्वाभाविक हो ।
तर, ती कत्तारे रङ्गशालाको हल्लाले नेपाली ठेकेदारहरूको मनमा पनि पैसा कमाउने दाउ देखे र शासक दलका ठेकेदारहरूले आफ्ना मन्त्री र सम्भावित संसद्का उम्मेदवारहरूलाई उक्साएर जिल्ला–जिल्लामा उर्वराभूमि र खानेपानीको स्रोत र वन जङ्गलसमेत मासेर देशलाई बरबाद पार्ने भष्मासुरे प्रभाव परेको व्यापक चर्चाको विषय हो ।
नेपालीहरू नक्कल गर्नमात्र सिपालु होइनन् पैसा पाएपछि अरू देशको पिछलग्गू बन्न पनि त्यत्तिकै तत्पर देखिन्छन् । भारतमा अग्लाअग्ला घरहरू बनाएको देखेर ती भारतीय कम्पनीहरूसँग नेपाली दलालहरूमार्फत ‘स्मार्ट सिटी’ बनाउने भन्दै दनादन अग्ला घरहरू सार्वजनिक भूमि र खोला–नालासमेत मिचेर अपार्टमेन्टहरू बनाइए । भारतमा त्यस्ता केही घरहरू भत्काइएका छन् र नेपालमा सहकारी संस्थाको अरबौँ रकम बेइमानी गरेर त्यस्ता घरहरू बनाइएका छन्, सरकार मौन रह्यो किनभने ती भ्रष्टाचारीहरू शासक दलकै कार्यकर्ता, नेता र कारोबारी सावित भए । ती पार्टीहरू र त्यसका नेताहरू ‘समाजवादी’ र ‘कम्युनिस्ट’ नभई फटाहा, ठग र पुँजीपति सावित भए भन्ने जनतामा व्यापक चर्चा छ ।
२५ कार्तिकको शुक्रबारे ‘नेपाल समाचारपत्र’ को समाचारको एउटा शीर्षक छ– ‘श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !’ भन्ने । त्यस्तै, शनिबार २६ कार्तिक २०७९ को ‘नयाँ पत्रिका’ को एउटा समाचारको शीर्षक छ– ‘खाडीको विमान नचढ्दै ‘बिक्री’ भइसक्छन् नेपाली महिला ।’ यी समाचारहरूले शासक दलहरूका दुई ‘गठबन्धन’ का नेता र प्रधानमन्त्रीहरूकै टाउकामा घनले हानेको अनुभव पाठकहरूले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *