अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
अमेरिकालगायत पश्चिमा देशहरूको एकाधिकार पुँजीवादमा आर्थिक सङ्कट सुरू हुन थालेको छ । यसले गर्दा विश्वमा आर्थिक सङ्कट वा मन्दी आउन सक्ने आकलन अर्थशास्त्रीहरूले गरेका छन् । यसको मूलभूत कारण कोरोनाले थिलथिलिएको अर्थतन्त्र सह्माल्न नपाउँदै रुस र युक्रेनबिचको १० महिना लामो युद्ध नै हो । सन् १९९० पछि विश्वमा रुसी महासङ्घको विघटन वा रुसी सङ्घीय राज्य टुक्रिएपछि विश्व दुई ध्रुवीयबाट एक ध्रुवीयमा परिणत भएको देखियो । सोभियत सङ्घको विघटनसँगै वार्सा प्याक्टको पनि विघटनपछि अमेरिकी नेतृत्वको सैनिक गठबन्धन नाटो विघटन गर्नुभन्दा पनि अमेरिकाले यसको विस्तार गर्न थाल्यो । तर, गत वर्ष अमेरिकाले अफगानिस्तान छोडेपछि भने विश्वमा अमेरिका एक ध्रुवीय महाशक्ति नरहको सङ्केत गर्यो । यसको अर्थ अमेरिका सामरिकरूपले मात्र होइन आर्थिकरूपमा पनि कमजोर हुँदै छ भने देखायो । तर, सोभियत रुस र अन्य समाजवादी देशहरूको विरुद्धका छद्म युद्धलाई अमेरिकाले नाटोलाई मोहडा बनाएर जारी राख्यो । यसको पछिल्लो उदाहरण युक्रेनको लडाइँ हो ।
युक्रेन युद्धको निहुँ बनाएर रुसमाथि नाटोको नाकाबन्दीले आज अमेरिकालगायत पश्चिमी मुलुकमा पेट्रोल, ग्यास, खाद्यान्नलगायत अरू वस्तुको बजारभाउ अकासिँदै छ । कच्चा तेल आयातको कमीले फ्रान्सका तेल प्रशोधन गर्ने धेरै उद्योग बन्द भइसकेका छन् । सडकमा तेलको लागि गाडीहरू घण्टौँ लाइन बस्नुपर्छ । रुसबाट निर्यात हुने खाद्यान्न, ग्यास, पेट्रोल सहजरूपमा आपूर्ति हुन सकेन । रुसमाथि निर्भर रहेर बाँच्नुपर्ने युरोपेली देशहरूमध्ये फ्रान्स पनि एक हो । रुसमाथि नाटोको नाकाबन्दीले धेरै समयपछि फ्रान्सले ठूलो महँगीको सामना गर्दै छ । फ्रान्समा हालसम्म महँगी ८ प्रतिशतले बढेको छ । तर, जनताको आयस्रोत बढ्न सकेको छैन । उद्योगका मजदुर–कर्मचारीहरू तलब बढाउन माग गर्दै छन् भने अर्कोतिर उद्योगहरू बन्द हुँदै छन् । यसले बेरोजगारी बढाउँछ । प्राप्त समाचारअनुसार, फ्रान्सेली जनताको दैनिकी चलाउन मुस्किल हँुदै छ । यसकारण, आज फ्रान्सेली जनता सरकारको विरोधमा दैनिक विशाल प्रदर्शन गर्दै छन् । फ्रान्सेली जनता आज सरकारको विरोधमात्र होइन नाटो र अमेरिकाको पनि विरोधमा प्रदर्शन गर्दै छन् । उनीहरू ‘युद्ध बन्द गर !’, ‘महँगी नियन्त्रण गर !’, ‘नाटो मुर्दावाद !’ जस्ता नारा लगाई नाटोबाट अलग्ग हुन आह्वान गर्दै छन् । फ्रान्सेली जनता अब अमेरिकालाई विश्व महाशक्तिको रूपमा स्वीकार गर्न तयार छैनन् ।
संरा अमेरिका नाटो राष्ट्रहरूलाई विश्वका अनेक देशको लडाइँमा फसाउँदै अमेरिकी हतियार बेच्दै छन् भन्ने कुरा नाटो सदस्य देशहरूले बुझ्न थालेका छन् । नाटो सदस्य राष्ट्रहरूले आफ्नो देशको कुल गार्हस्थ उत्पादनको दुई प्रतिशत रकम सुरक्षा शीर्षकअन्तर्गत छुट्याउनुपर्ने नीति रहेको छ । नाटो देशको रकमबाट अमेरिका हतियार बेच्दै छ भन्ने कुरा युक्रेन युद्धले पनि छर्लङ्ग पारेको छ । आज नाटोका धेरै देशहरूमध्ये जर्मनीको अर्थतन्त्र पनि ओरालो लाग्दै छ । जर्मनीमा पनि महँगीले सीमा नाघ्दै छ । रुसको पेट्रोल र ग्यासमा ६० प्रतिशत निर्भर रहँदै आएको देश जर्मनीमा इन्धन निर्यात बन्द हुँदा देशले ठूलो सङ्कटको सामना गर्दै छ । जनताको ठूलठूलो विरोध नभए पनि जनप्रदर्शन जर्मनीको प्रमुख सहरहरूमा फैलिँदै छन् ।
हाल जर्मनीले ग्यास र पेट्रोलको प्रयोगमा केही राहतको प्याकेज सरकारले घोषणा गरेको छ । तर, जर्मनीको यो नीतिलाई अन्य मुलुकले विरोध गरेका छन् । इन्धनमा सरकारले दिएको राहत प्याकेजले आर्थिक सङ्कट टार्न सक्ने अवस्था जर्मनीमा देखिएको छैन । किनकि, विश्वमा देखिन थालेको आर्थिक मन्दीबाट कुनै पनि पुँजीवादी देश मुक्त हुनसक्ने सम्भावना देखिएको छ । यो अवस्थाको सृजना रूस र युक्रेन युद्धको कारण नै प्रमुख रहेको कुरा जनताले बुझ्न थालेका छन् । त्यसकारण, जर्मनीले पनि नाटो र अमेरिकी नीतिको विरोध खुलेर गर्न थालिसकेको छ । अमेरिका विस्तारै एक्लो हुँदै जाने र नाटो टुक्रिने पनि सम्भावना देखिँदै छ । नाटोमा आबद्ध पूर्व सोभियत सङ्घका राज्यहरू रूस–युक्रेन लडाइँमा तटस्थ बसेका छन् । बेलारुस सुरुदेखि नै खुलेर रुसको पक्षमै थिए । नाटो सदस्य राष्ट्रमध्ये एक बलियो मुस्लिम देश टर्की नाटोको विपक्षमा उभिएको छ । युक्रेनलाई नाटोको सदस्यता दिनबाट रोक्ने देश टर्की नै थियो । रुसमाथि लगाएको नाकाबन्दीलाई असफल बनाउँदै युरोपमा खाद्यान्न आपूर्ति सहज बनाउने कार्यमा प्रमुख हात टर्कीकै थियो ।
अमेरिकाले रुसमाथि लगाएको नाकाबन्दीलाई अस्वीकार गर्दै जर्मनी, फ्रान्सलगायत युरोपका धेरै देशले रुसी इन्धन र खाद्यान्न खरिद गर्दै आएका छन् । तर, रुसबाट युरोपमा गइरहेको ग्यासको समुद्री भूमिगत पाइप लाइनमाथि बम विस्फोटबाट आपूर्ति हुन सकिरहेको छैन । यसले गर्दा आउन लागेको हिउँद जनताले कसरी सामना गर्ने हो हेर्न बाँकी नै छ । त्यसैले युक्रेनका अमेरिकी कठपुतली राष्ट्रपति हास्य कलाकार जेलेन्सीमाथि वार्तामार्फत युद्ध रोक्न दबाब बढ्दै छन् । तर, जेलेन्सीको हठीको कारण वार्ता सफल हुने सङ्केत छैन । रुस र युक्रेनको युद्धले गर्दा अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकी एकछत्र समाप्त भएको छ । अब विश्वमा तेस्रो मुलुकका जनताको आन्दोलन उठ्ने सम्भावना देखिएको छ । साथै अमेरिकी शक्तिको विपक्षमा रुस, चीन, प्रजग कोरिया, इरानलगायत शक्ति राष्ट्रहरू उभिन थालेका छन् । यसले अब कुनै पनि बहानामा संरा अमेरिकाले अफगानिस्तान, इराक, लिवियामा जस्तै अरू मुलुकमाथि हमला गर्न सक्ने स्थिति हुनेछैन । यो न्यायप्रेमी जनताको लागि सुखद पक्ष हो । २१ औँ शताब्दीमा समाजवादी आन्दोलनको युग हुनसक्ने अवस्था सृजना हुँदै छ ।
Leave a Reply