भर्खरै :

चुनावमा सञ्चारमाध्यमको झेली खेल

चुनावमा सञ्चारमाध्यमको झेली खेल

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । यो लेख लेखुञ्जेल प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दोलखा क्षेत्र नं. २, बाजुरा र स्याङ्जाबाहेक सबै क्षेत्रका नतिजा प्रकाशित भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतगणना अन्तिम चरणमा पुगिसक्दा कुन दलबाट प्रतिनिधिसभा र प्रदेशसभामा के कति सदस्य पुग्ने हुन्, चित्र सफा हुँदै गएको छ । चुनावी नतिजा टुङ्गो लागेसँगै सत्ता साझेदारी र गठबन्धनको चर्चाले अखबारको नाभिस्थल ओगटिरहेको छ ।
यो लेखको मूल ध्येय भने सम्पन्न निर्वाचनमा ठूला भनिएका सञ्चारमाध्यमले खेलेका केही झेली खेलमाथिको चर्चा हो । अमेरिकी प्राध्यापक नोम चोम्स्की सञ्चारमाध्यमले मानिसको सोचाइलाई आकार दिन भूमिका खेल्ने तर्क गर्छन् । उनले त्यो प्रक्रियालाई ‘इन्जिनियरिङ अफ कन्सेन्ट’ अर्थात् ‘जनमतको बान्की कोर्ने काम’ भनेका छन् । सञ्चारमाध्यमले समाचार र विचार यसरी प्रस्तुत र प्रकाशन गर्छन्, मानौँ उनीहरूका समाचार नै संसारको अन्तिम सत्य हो । पाठकले सञ्चारमाध्यमका तिनै सामग्रीलाई सत्य ठानेर सम्बन्धित विषयमा आफ्नो धारणा बनाउँछन् । आफूसँग भएको यो शक्तिलाई सञ्चारमाध्यमले ‘सत्य’ सिर्जनाको कर्ममा लगाउँछन् । सञ्चारमाध्यमसँग भएको यो शक्तिलाई राजनीतिक नेतादेखि व्यापारीसम्मले नबुझ्ने कुरै भएन । त्यसकारण, उनीहरू सञ्चार उद्योगमा लगानी गरेर आफ्नो तर्कलाई नै सत्य बनाएर समाजमा बेच्ने गर्छन् अनि सत्ता र शक्तिमा आफ्नो हालीमुहाली चलाउँछन् ।
झन्डै यस्तै प्रक्रियालाई इटालीका माक्र्सवादी चिन्तक एन्टोनिओ ग्राम्स्कीले ‘हेजिमोनी’ अर्थात् प्रभुत्ववादको सिद्धान्तको रूपमा चर्चा गरेका छन् । उनको भनाइमा सञ्चारमाध्यमले कुनै पनि समाचार वा उत्पादनलाई यसरी पत्यारिलो बनाएर प्रचार गर्छन् कि पाठक र उपभोक्ता त्यसमा बिनासन्देह विश्वास गर्छन् । सर्वसाधारणले गर्ने त्यही विश्वास नै प्रभुत्ववादको स्रोत बन्छ । मानिसहरू सञ्चारमाध्यमलाई नै सत्यको प्रवक्ता ठान्छन् र बिनाप्रश्न उनीहरूले बोलेका र लेखेका कुरालाई नै सत्य ठान्छन् । फलतः ती सञ्चारमाध्यमका समाचारमाथि आलोचनात्मक चिन्तन र प्रश्न गर्ने बानी हराउँदै जान्छ । पुँजीवादी राजनीतिक प्रणाली र उत्पादन व्यवस्था त्यस्तै प्रश्न नउठाउने र नियोजित प्रचारमाथि विश्वासमा टिकेको हुन्छ ।
सञ्चारमाध्यमको यो शक्तिको सर्वाधिक प्रयोग पुँजीवादी राजनीतिक नेताहरूले चुनावको समयमा गर्छन् । त्यसो त पुँजीवादी दलका नेताहरू चुनावलाई प्रजातन्त्रको सर्वाेत्तम अभिव्यक्तिको रूपमा बखान गर्न कहिल्यै थाक्दैनन् । चुनाव जे जसरी होस्, चुनाव हुनु नै प्रजातन्त्र हुनु हो जस्तो गरी उनीहरू फलाक्दै हिँड्छन् । तर, प्रचारबाजीमार्फत उनीहरूले जनताको चुन्ने अधिकारलाई भने खुम्च्याउने काम पनि सँगै गर्छन् । सञ्चारमाध्यममाथि एकछत्र प्रभाव र नियन्त्रण जमाएका पुँजीवादी राजनीतिक दलहरूले चुनावको समयमा सीमित उम्मेदवारलाई मात्र नियोजित प्रचार गरेर बाँकीलाई ओझेलमा पार्छन् । आफ्नो स्वार्थअनुकूलका केही उम्मेदवारलाई प्रचारमा ल्याएर बाँकीलाई निषेध र निरोधको व्यवहार गर्छन् । अर्को शब्दमा उनीहरूले प्रजातन्त्र र वैचारिक स्वतन्त्रताको चर्को स्वरमा हल्ला गर्दै व्यवहारमा वैचारिक र राजनीतिक अधिकारलाई कुण्ठित पार्छन् ।
हरेक पुँजीवादी निर्वाचनमा जस्तै हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नेपालका ठूला भनिएका सञ्चारमाध्यमले ‘सत्य, तथ्य र तटस्थ’ को नारा लगाउँदै व्यवहारमा यस्तै झेली खेल खेले । उनीहरूले आफूलाई लगानी गरेका विचार, दल र उम्मेदवारको यसरी प्रचार गरे, मानौँ चुनावी मैदानमा अरू उम्मेदवार नै छैनन् ।
म आफू गत निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको उम्मेदवार थिएँ । उम्मेदवारी दर्तालगत्तै हामीले हाम्रो क्षेत्रका केही ठाउँको भ्रमण गरेका थियौँ । हामीले त्यत्तिबेला आफ्नो परिचय खुलाएका थिएनौँ । चोक, पाटी र चिया पसलमा गएर त्यहाँका सर्वसाधारणको मनस्थिति बुझ्ने प्रयास भएको थियो । हाम्रो प्रारम्भिक भ्रमणबाट नै त्यसअघि सो क्षेत्रबाट निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ एवम् ऊर्जामन्त्री पम्फा भुसाल निर्वाचनमा पराजित हुने सम्भावना प्रबल देखेका थियौँ । जनता माओवादी केन्द्रको पक्षमा मतदान गर्ने मनस्थितिमा थिएनन् । त्यसका दुई कारण थिए, पहिलो– जनतालाई सत्तारुढ दलको सिद्धान्तहीन चुनावी गठबन्धन मन परेको थिएन । मतदाता माओवादी केन्द्रमात्र होइन, काङ्ग्रेस र एमालेसहित तीनै दललाई मत दिने पक्षमा थिएनन् । दोस्रो– माओवादीको स्थानीय सङ्गठनभित्रको अन्तरविरोध वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि चर्किएको थियो । त्यो विवादले अझै निकास पाएको थिएन । त्यसकारण, भुसालको लागि चुनाव सजिलो नभएको महिना दिनअघि नै ललितपुर क्षेत्र नं ३ मा अनुभव गर्न सकिन्थ्यो । यस अतिरिक्त सम्भवतः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबारे सञ्चारमाध्यममा भएको प्रचारबाजीको कारण स्वतन्त्र उम्मेदवारलाई मत दिने सोचमा मतदाता थिए । माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको लागि प्रतिकूल त्यो अवस्थालाई एमालेका उम्मेदवार अमृत खड्काले उपयोग गर्न सक्ने आँकलन पनि गरिएको थियो । खड्का आफै धनाढ्य भएकाले पैसा खर्चेर पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना थियो । तथापि, जनताको मनस्थिति शासक दललाई मत नदिने बरु विकल्प खोज्ने थियो ।
त्यस्तो पृष्ठभूमिमा ‘कान्तिपुर’ दैनिकमा ललितपुर क्षेत्र नं ३ को चुनावी प्रतिस्पर्धाबारे एउटा समाचार प्रकाशित भयो । त्यो समाचारमा सो क्षेत्रमा मुख्यतः सत्तारुढ गठबन्धनका उम्मेदवार पम्फा भुसाल, एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीबीच प्रतिस्पर्धा रहेको उल्लेख थियो । समाचारमा तीनै जना उम्मेदवारको तस्बिर पनि छापिएको थियो । तर, सो क्षेत्रमा प्रतिस्पर्धामा रहेका अन्य कोही पनि उम्मेदवारको नाममात्र पनि उल्लेख गर्न समाचारदाताले आवश्यक ठानेनन् । अब हेर्नोस्, मतदाता गठबन्धन (काङ्ग्रेस, माओवादी, एस, राजमो, जसपा) वा एमालेका उम्मेदवारलाई मत नदिने मनस्थितिमा थिए । अर्को शब्दमा उनीहरू ती दलका उम्मेदवारबाहेक अरू विकल्पको खोजीमा थिए । उनीहरूको खोजीको उत्तर भने कान्तिपुरले आफ्नो समाचारमा दिएको थियो । प्रतिस्पर्धीको रूपमा तीन उम्मेदवारलाई मात्र प्रस्तुत गरेर अरूलाई निषेध गर्दै दलका उम्मेदवार मन नपरे तोसिमा कार्की नै छनोटको विकल्प हुने उत्तर कान्तिपुर दैनिकले दिइरहेको थियो । अर्थात्, सञ्चारमाध्यम आफैले सत्य स्थापना गर्ने काम गर्दै थियो । जबकि व्यावसायिक भनिएका सञ्चारमाध्यमको काम आफै सत्य स्थापना गर्दै हिँड्ने होइन, बरु सम्भावित सत्यको चर्चा परिचर्चामात्र गर्ने हो । कान्तिपुर दैनिकको त्यो समाचारको कारण कान्तिपुरलाई नै सत्यको प्रवक्ता ठान्ने मतदाताले मत दिने विकल्प भेटाए र सोअनुसार मतदान गरे ।
कान्तिपुर दैनिकले मात्र होइन, केही अन्य पत्रपत्रिका तथा अनलाइन र विशेषतः टेलिभिजन च्यानलहरूले पनि यस्तै भूमिका खेले । टेलिभिजन च्यानलहरूले सो क्षेत्रका जनतालाई मतदानको निम्ति उपयुक्त विकल्पको छनोटमा मद्दत गर्न चाहेका भए प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारका विचार र प्रस्तावको पनि चर्चा गर्ने डबली दिनुपथ्र्यो । तर, उनीहरूले लगातार कुनै न कुनै बहानामा एकाध उम्मेदवार, विशेषतः स्वतन्त्र पार्टीका उम्मेदवारलाई मात्र प्रचारमा लगे । फलतः अन्य प्रतिस्पर्धी ओझेलमा मात्र परेनन्, मतदाताले अरू उम्मेदवार पनि छन् भन्ने कुरा बिर्सने अवस्था बन्यो । सञ्चारमाध्यमले विशेषतः पम्फा भुसाल र तोसिमा कार्कीलाई मात्र प्रचारमा ल्याएको अनुभव भएपछि हुनुपर्छ, एमालेका धनाढ्य उम्मेदवार अमृत खड्काले आफ्नै क्षेत्रका दुई स्टार सञ्चारकर्मीहरू भुषण दाहाल र सुरजसिंह ठकुरीलाई हातमा लिएर आफ्नो अन्तर्वार्ता दिए । जब कि दाहालले सामान्यतः अमृत खड्काजस्ता खास क्षेत्र विशेषमा सीमित उम्मेदवारलाई आफ्नो ‘टक सो’ मा अन्तर्वार्ता लिने गरेका थिएनन् भने ठकुरीको ‘माई सो’ त राजनीतिक विषयमा कुरा हुने कार्यक्रम नै होइन । तथापि, चुनावमा यो तहमा ती प्रस्तोता प्रस्तुत हुनुको अभिप्रायः प्रस्ट छ, चोम्स्कीको जनमतलाई आफ्नो अनुकूलको आकार दिनु ।
तोसिमाविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीलाई सञ्चारमाध्यमले दिएको प्राथमिकता पनि उनको प्रचार र विजयको पूर्वाधार बन्यो । अन्य उम्मेदवार जनताको घर घर पुगेर पर्चा बाँड्दै गर्दा सबैजसो सञ्चारमाध्यमले तोसिमाविरुद्धको उजुरी र सर्वोच्च अदालतको मुद्दालाई विशेष प्राथमिकता दिएर ठाउँ दिँदा ललितपुर क्षेत्र नं ३ का सबैजसो मतदाताका हात हात र घर घरमा उनको प्रचार पुगिसकेको थियो ।
ललितपुर क्षेत्र नं ३ मा मैले नजिकबाट नियालेको हुनाले यसरी लेखेँ । तर, खासमा यो आम प्रवृत्ति हो जो अन्य क्षेत्रको सन्दर्भमा पनि उत्तिकै सही छ ।
सञ्चारमाध्यमको अर्को एउटा झेली खेलको पनि चर्चा गरौँ । नेपालका अधिकांश सञ्चारमाध्यमले धेरै अघिबाट नेपाल मजदुर किसान पार्टीको समाचार प्रकाशन गर्दा सदैव भक्तपुर जोड्ने गरेका छन् । भक्तपुरमा नेमकिपाको प्रभाव राम्रो भएकोले सामान्यतः नेमकिपाबारे समाचार लेख्दा भक्तपुरको चर्चालाई सकारात्मक कोणबाट पनि लिन सकिएला । तर, अधिकांश समाचारमा भने नेमकिपालाई भक्तपुरमा सीमित, भक्तपुरे पार्टी आदि विशेषण नै जोड्ने गरिएको छ । यस्ता समाचारको मनसाय भने दुषित लाग्छ । समाचार माध्यमका कुरालाई नै अन्तिम सत्य ठान्ने अथवा आफ्नो धारणा निर्माणमा सञ्चारमाध्यमका समाचारलाई नै आधार मान्ने मानिसहरूले यही
विशेषणको आधारमा नेमकिपालाई बुझ्ने गर्छन् । फलतः चुनावको समयमा अन्य जिल्लाका मतदाताले नेमकिपाको विचार र राजनीतिक योगदान र भूमिकालाई हेरेरभन्दा सञ्चारमाध्यमका यस्तै प्रस्तुतिलाई आधार मानेर निर्णय गर्ने गरेको पाइयो ।
नेमकिपा भक्तपुरको मात्र पार्टी हो वा होइन भन्ने विषयमा लामो छलफल गर्न सकिएला । तर, कुनै पार्टीलाई कुनै जिल्ला विशेषमा सीमित पारी प्रस्तुत गर्ने सञ्चारमाध्यमको कर्म नेमकिपाको विचार र उदाहरणीय कामको विस्तारमा अवरोध बनिरहेको छ । यस्ता पूर्वाग्रही प्रस्तुतिले सर्वसाधारणको धारणा निर्माणमा सञ्चारमाध्यमले भूमिका खेलिरहेको प्रस्ट देखिन्छ ।
यी दुवै प्रसङ्गमा चोम्स्कीको ‘इन्जिनियरिङ अफ कन्सेन्ट’ र ग्राम्स्कीको हेजिमोनीको सिद्धान्तले प्रचुर काम गरेका छन् । सञ्चारमाध्यमले एकातिर जनमतलाई आफूले चाहेको बान्की दिइरहेका छन् भने अर्कोतिर सर्वसाधारण सञ्चारमाध्यमका समाचारलाई नै अन्तिम सत्य ठानेर आफ्नो धारणा बनाइरहेका छन् र अनि निर्णय गरिरहेका छन् । यी दुवै अवस्थाले समाजलाई बोधो र स्थुल बनाउँछ । मानिसका विवेक र चेतनाभन्दा केही धनाढ्यको लगानीले चलेका केही सञ्चारमाध्यमका चलाख र पढेलेखेका सम्पादकको तर्जुमाअनुसार समाज र राजनीति अघि बढ्नेछ । चुनावमा मतपेटिकामा मत त जनताले खसाल्छन् । तर, कसको चिह्नमा मत हाल्ने कुराको निधो भने ती नै सम्पादक र प्रकाशकहरूले गर्छन् । प्रजातन्त्रलाई शब्दतः भन्दा जनताको मतबाट चल्ने व्यवस्था भनिन्छ । तर, जनताको मतको निर्णय भने तिनै सम्पादक र सञ्चार उद्यमीले गर्छन् । अर्को शब्दमा भन्दा प्रजातन्त्रको नियति उनीहरूको कलमले कोर्छ । जनता उनकै पछि पछि लाग्ने, उनका सूचनाका पछि टाउको हल्लाउने पथिकमात्र हुन्छन् । जनता हेर्दा शक्तिशाली देखिए पनि व्यवहारमा निरीह हुन्छन् । छोटोमा भन्दा त्यस्तो व्यवस्थामा खास लोकतन्त्र हुर्कँदैन । बरु अल्पतन्त्र बन्न पुग्छ जहाँ केही धनाढ्यको हाँकधाँक र सानसौकत चल्छ ।
कसैको नाफा र निहित स्वार्थको निम्ति खोलिएका सञ्चारमाध्यमले व्यापक श्रमिक जनताको आवाज बोल्दैन । त्यो वर्गको हितका आवाज उनीहरूका पृष्ठमा अट्दैनन् । बरु उनीहरू त्यस्ता विचार र आवाजलाई सकेसम्म दबाउने वा ओझेल पार्ने प्रयास गर्छन् । त्यसै कारण हिजोआज संसारभरका प्रगतिशील र परिवर्तनका पक्षधर अभियन्ताहरूले वैकल्पिक सञ्चारमाध्यमको खोजी गर्न थालेका छन् । उनीहरूले नयाँ सञ्चारमाध्यम (सामाजिक सञ्जालदेखि अन्य विद्युतीय माध्यम) को भरपुर प्रयोगदेखि न्यूनतम लगानीमा जनतासम्म सूचना र विचार पु¥याउन सकिने सञ्चारमाध्यमको प्रयोग गरिरहेका छन् । त्यस्ता वैकल्पिक सञ्चारमाध्यमहरू कसैको नाफाको लागि चल्दैनन् । त्यसकारण, तिनको लगानी न्यून हुन्छ । तर, तिनले जनताका मुद्दाको सही तरिकाबाट पैरवी गरिरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *