भर्खरै :

युरोपेलीहरू युक्रेन युद्धले भन्दा महँगीले मर्ने

युरोपेलीहरू युक्रेन युद्धले भन्दा महँगीले मर्ने

युक्रेन युद्धले भन्दा त्यसबाट उत्पन्न आर्थिक प्रतिबन्धले युरोपलाई धेरै नोक्सान पु¥याउने निश्चित छ । ‘द इकोनोमिस्ट’ ले हालै गरेको अध्ययनअनुसार इन्धनको मूल्य बढ्नाले युरोपमा आउँदो हिउँदमा थप मानिसहरू मर्नेछन् । मर्नेहरूको सङ्ख्या युक्रेन युद्धका मृतकको सङ्ख्याभन्दा ठूलो हुने अध्ययनले देखाएको छ ।
युद्धअघि युरोपेली युनियनको जम्मा ग्यास उपभोगमध्ये ४० आपूर्ति रुसबाट हुन्थ्यो । युद्धले गर्दा रुसमाथिको ग्यासको निर्भरता घटाउन युक्रेन र पोल्यान्डले रुसबाट पश्चिम युरोपमा ग्यास लाने केही पाइपलाइन बन्द गरिदिए । रुसलाई रूबलमा ग्यासको मूल्य तिर्न आनाकानी गरेका फिनल्यान्ड, बुल्गेरिया र पोल्यान्डले रुससँग सम्बन्ध तोडे । साथमा नोर्ड स्ट्रीम–१ पाइपलाइनलाई पूर्ण क्षमतामा चलाउन मर्मतसम्भार गर्नुपर्ने थियो । त्यो पनि हुनसकेन ।
ग्यास आपूर्तिमा ठूलो कटौती भएको छ । अन्य देशबाट ल्याएर अब त्यो अभाव पूर्ति गर्न सकिन्न । मागअनुसार पूर्ति नहुनाले युरोपमा ग्यास र बिजुलीको मूल्य अकासिएको छ ।
यसपालिको शरद् याम मध्यम खालको हुनाले र युरोपको ग्यास भन्डारण गर्ने पूर्वाधारका कारण केही समयलाई गर्मी यामको तुलनामा बजार भाउ तल नै छ भन्नुपर्छ । (गर्मी याममा ग्यासको मूल्य चरमचुलीमा थियो ।) यति गर्दा पनि आज ग्यासको औसत मूल्य सन् २०००–१९ को तुलनामा अढाइ गुणा बढेको छ । बिजुलीको मूल्य दोब्बर भएको छ ।
हिउँद आउँदै छ । गर्मीमा भन्दा हिउँदमा जाडोका कारण मानिसहरू मर्ने गर्छन् । युरोप र संरा अमेरिकामा हिउँदमा मान्छे मर्ने दर औसतभन्दा २० प्रतिशत बढी छ ।
विगतमा ऊर्जाको भाउले मृत्यु दरमा उति असर गर्दैनथ्यो । किनभने, मूल्यमा उति घटबढ हुन्नथ्यो । तर, अहिले ऊर्जाको मूल्य धेरै नै बढेको छ । त्यसैले यसको असर बढी हुने अनुमान छ ।
यो असरको हिस्सा हालै ‘द इकोनोमिस्ट’ का अर्थशास्त्रीहरूले निकालेका छन् । ऊर्जाको मूल्यबाहेक पनि अन्य तीनवटा चीजले अतिरिक्त मृत्यु हुने देखिएको छ । तीमध्ये हिउँदको कठ्याङ्ग्रिँदो जाडो एक हो । दोस्रो, ‘फ्लु’ फैलिने मौसमका कारण अतिरिक्त मृत्यु हुने गरेको छ । (दोस्रो कारण पहिलो कारणमै निर्भर हुन्छ ।) तेस्रो, महँगी थेग्न सरकारले दिने क्षतिपूर्तिका कारण पनि मृत्यु हुने गरेको पाइन्छ ।
इन्धनको मूल्य बढ्दा मानिसहरूले तापको प्रशस्त प्रयोग गर्न पाउँदैनन् । उनीहरू जाडोमै बस्नुपर्ने हुन्छ । निम्न तापक्रमले मान्छेको मृत्यु हुन्छ । यही कुरा सरकारी क्षतिपूर्तिमा पनि लागू हुन्छ । यसपालि सरकारी क्षतिपूर्ति अपुग हुने देखिन्छ ।
‘द इकोनोमिस्ट’ पत्रिकाको ‘दृढ निष्कर्ष’ के छ भने जाडोको प्रभाव ‘ठूलो हुने साबित भएको छ’ र मृतकहरूको सङ्ख्याले युक्रेन ‘युद्धमा मारिएका सैनिकहरूको सङ्ख्यालाई पनि उछिन्नेछ’ ।
ऊर्जाको मूल्य वर्तमान स्थितिमा रह्यो भने पनि आउँदो हिउँदमा युरोपमा थप १ लाख ४७ जना मानिसहरू मर्नेछन् । ‘सामान्य’ मूल्यमा जति मानिस मर्दै आएका छन्, यो वर्ष त्यसमै १ लाख ४७ जना थपिने ‘द इकोनोमिस्ट’ को निष्कर्ष छ । विगत २० वर्षका हिउँदहरूको तुलनामा यसपालिको तापक्रम मध्यम खालको भए मृतक सङ्ख्या ७९ हजार हुनेछ । त्यस्तै सन् २००० को तुलनामा यसपालिको तापक्रम अझ घट्यो भने मृतक सङ्ख्या १ लाख ८५ हजार हुनेछ ।
युक्रेन युद्धमा दुवै पक्षतिर २५ देखि ३० हजारको सङ्ख्यामा सैनिकहरू मरेको र युक्रेनमा साढे ६ हजार सर्वसाधारण मरेको बताइन्छ । यी सङ्ख्या जोड्ने हो भने पनि त्यसले ‘द इकोनोमिस्ट’ ले निकालेको सङ्ख्यालाई उछिन्न सक्दैन ।
सो पत्रिकाका अनुसार असर देशअनुसार थोरै धेरै हुनेछ । इन्धनको मूल्य बढाउने देशहरूमा भने मृतक सङ्ख्यामा असर पर्नेछैन, बरू घट्ने नै छ । यो भनेको फ्रान्स, बेलायत, स्पेन र अस्ट्रियालगायत देशका जनतालाई महँगीले त्यति छुने छैन ।
सरकारी क्षतिपूर्ति न्यून रहेका इटली, इस्टोनिया र फिनल्यान्डजस्ता देशहरूमा मृतक सङ्ख्या ठूलो हुने पूर्वानुमान छ । ‘द इकोनोमिस्ट’ ले टिप्पणीकार बस्ने बेल्जियमबारे खुलेर केही लेखेको छैन । सरकारी क्षतिपूर्तिको हकमा बेल्जियम न धेरै, न थोरैको स्थितिमा छ ।
पछिको हेर्ने हो भने रुसविरोधी आर्थिक प्रतिबन्धले रुसी अर्थतन्त्रलाई निश्चय नै कमजोर पार्नेछ । तर, स्थिति त्यस्तो छैन । ऊर्जा निर्यातबाट हुने रुसको आम्दानी यो वर्ष पछिल्लो वर्षको तुलनामा तेस्रो उच्च हुनेछ ।
आर्थिक प्रतिबन्धले युरोपेली देशहरूले आफ्नै खुट्टामा बन्चरो हान्दै छन् । पछिल्लो तथ्याङ्कले अन्य प्रमुख युरोपेली देशहरूको तुलनामा रूसको आर्थिक चहलपहल उच्च रहेको देखाउँछ ।
ऊर्जाको उच्च मूल्यका कारण धेरै कम्पनीहरू बन्द गर्नुपर्ने वा सस्तो ऊर्जा भएका अन्य क्षेत्रतिर लाग्नुपर्ने अवस्था छ । ऊर्जाको भाउ बढ्नाले मुद्रास्फीति अचाक्ली छ । यसले गर्दा युरोपमा ठूलो आर्थिक मन्दी छाउने निश्चित प्रायः भइसकेको छ ।
आर्थिक आत्मघातसँगै युरोपमा मानवीय क्षति अति उच्च हुनेछ । यो रुसविरूद्ध आर्थिक प्रतिबन्ध लगाउने बुद्धि वा कुबुद्धिबारे गहिरो गरी सोच्नुपर्ने बेला हो ।
(लेखक बेल्जियमका अर्थशास्त्री र दार्शनिक हुन् । उनी उत्तरी–दक्षिणी गोलाद्र्धबिचको सम्बन्ध, ल्याटिन अमेरिका, क्युवा र चीनबारे लेख्ने गर्छन् । स्रोत : ग्लोबल रिसर्च ।
अनुवादः गुल्मेली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *