भर्खरै :

“सहकारी बैङ्क तथा वित्तीय संस्थाको रूपमा मात्र सञ्चालन हुनुहुँदैन”

“सहकारी बैङ्क तथा वित्तीय संस्थाको रूपमा मात्र सञ्चालन हुनुहुँदैन”

भक्तपुर, ९ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २८ औँ वार्षिक साधारणसभा (क्षेत्रगत) तीन छुट्टाछुट्टै क्षेत्रमा एउटै कार्यक्रम तालिकाअनुसार शनिबार सम्पन्न भयो ।
क्षे.नं. ३ र ४ को संयुक्त साधारणसभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दुःख पाइँन्छ भनेर राजनीतिबाट टाढा भागे सत्य र न्यायको पक्षमा कसले राजनीति गर्ने भनी प्रश्न गर्दै राजनीतिबाट टाढा भागेका केही व्यक्तिहरू कुलतमा लागेको बताउनुभयो ।
उहाँले नेपालका ठूला राजनीतिक दलले नयाँ पुस्तालाई राजनीतिप्रति विचलित पार्ने कार्य गर्दै आइरहेकोमा सचेत पार्दै ठूला र सत्तासीन राजनीतिक दलहरूमा भारतीय गुप्तचरहरू सक्रिय भइरहेको हुँदा जनता राजनीतिकरूपमा सचेत हुनुपर्छ भन्नुभयो ।
सत्तासीन दलहरूले पार्टीगत तथा व्यक्तिगत फाइदाका लागि नेपालका कलकारखानाहरू तथा आयोजनाहरू विदेशीलाई कौडीको भाउमा बिक्री वितरण गर्दै देशलाई भारत निर्भर बनाउन भारत लागिपरेकोले जनता सचेत हुनुपर्छ भन्नुभयो ।
मजदुर तथा सर्वहारा वर्गको लागि प्रजातान्त्रिक सरकारभन्दा कम्युनिस्ट सरकार राम्रो हुने उल्लेख गर्दैै उहाँले जनता एकजुट भएमा देश जोगाउन गा¥हो हुँदैन भन्नुभयो ।
सहकारी संस्थाहरू बैङ्क तथा वित्तीय संस्थाको रूपमा सञ्चालन हुँदै आएकोमा चिन्ता व्यक्त गर्दै अतिथि बिजुक्छेँले सहकारीले विभिन्न सीपमूलक तथा रोजगारीमूलक तालिममार्फत इमानदारीपूर्वक सेवा भावका साथ कार्य गर्न नयाँ पुस्ता तयार गर्नुपर्छ भन्नुभयो ।
क्षे.नं. १ र २ को संयुक्त साधारणसभाका प्रमुख अतिथि एवं सङ्घीय प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संसारका विभिन्न देशमा कोरोना महामारी फेरि बढेको समाचार आइरहेको हुँदा भिडभाड नगर्ने, दूरीमा बस्ने, साबुन–पानीले बरोबर हात धुने, स्वास्थ्य अनुशासनलाई पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्था अर्धसमाजवादी अवस्था र जनकम्युन समाजवाद हुँदै साम्यवादी व्यवस्थामा पुग्ने पाइला हो । यो विषय नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहितले लेख्नुभएको ‘चिनियाँ जनकम्युन’ पुस्तकमा उल्लेख छ ।”
पुँजीवाद केही व्यक्तिको हित हेर्ने बन्दोबस्त हो भने समाजवाद सबैको हित हेर्ने व्यवस्था हो । साम्यवादी व्यवस्थाका मानिसहरूको उच्च राजनीतिक स्तर हुनेछ, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले सहकारी संस्थाले रोजगारी सृजना हुने सीप, तालिम, आधारभूत विद्यालय, पुस्तकालय र ज्येष्ठ नागरिकको लागि आदर निकेतन सञ्चालन गरे सबै सदस्य र समाजको हित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताका अर्बौँ रूपियाँ बचत फिर्ता नगर्ने सहकारी संस्थाका सञ्चालकहरूलाई पुँजीवादी सरकारमा गएका कम्युनिस्ट नामका पार्टी, नेता र सांसदहरूले संरक्षण गरिरहेका छन् । ओरियन्टल र सिभिल सहकारी संस्थाबाट पीडितको समस्या सरकारसम्म पु¥याएँ । तर, सरकार थाहा नपाएको जस्तै बसिरहेको छ ।”
सांसद सुवालले भन्नुभयो, “सहकारी माफिया, बैङ्क माफिया, शेयर माफिया, मेडिकल माफियाहरूले सिंहदरबार कब्जा गरेसम्म नेपाली जनतालाई सुख हुनेछैन ।”
क्षे.नं. ५ र ६ को संयुक्त साधारणसभाका अतिथि एवं भनपा नगर प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले सहकारीको आफ्नै मूल्य, मान्यता र सिद्धान्तको आधारमा सबै सदस्यहरूको हितमा काम गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले संस्थाका सदस्यहरूलाई समय समयमा देशको राजनीतिक विषयवस्तुमा प्रशिक्षण सञ्चालन गरी आफ्ना सदस्यहरूको सांस्कृतिक स्तर उठाउने र सीपमूलक तालिमहरू सञ्चालन गरी देशलाई आत्मनिर्भर बनाउन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर आज देशको सफा नगर र शिक्षामा अगाडि बढेको नगरको रूपमा परिचित हुनुमा नगरपालिकामात्र नभई यहाँका राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता, विभिन्न सङ्घ संस्था, सहकारीहरूको पनि उत्तिकै योगदान रहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुरका जनताको एकताले भक्तपुर अरुको निम्ति नमुना बनेको धारणा राख्नुभयो ।
क्षे.नंं. ३ र ४ का साधारणसभाका अतिथि एवं बाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईंले पुँजीवादी व्यवस्थाले पछिल्लो ३३ वर्षमा राष्ट्र हितमा खासै कुनै सकारात्मक कार्य नगरेको र धनी र गरिबको बिचको खाडल झन् बढेको हुनाले अहिलेको प्रजातान्त्रिक व्यवस्था देशको अनुकूल छैन भन्नुभयो ।
उहाँले नेमकिपाले रासायनिक मल कारखाना खोल्नुपर्ने, बजारसम्म कृषकको पहुँच हुनुपर्ने जस्ता विषयमा निरन्तर ताकेता गर्दै आइरहँदा पनि सत्तासीन दलहरूको पद र सत्ताको राजनीतिले बजार मन्दीको अवस्थामा पुुगेको र त्यसको जिम्मेवारी तिनीहरूले लिनुपर्छ भन्नुभयो ।
हालैको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा ठूला दलहरूले निर्वाचन आयोगको आचारसंहिताको धज्जी उदाउँदै मतदाता प्रभावित गर्ने सभा, सम्मेलन, भोजभतेर तथा नगद र जिन्सी सामान वितरण गरेको बताउँदै उहाँले अहिले नेपालको बजार आयातमुखी रहेको र आयातमुखी देश परनिर्भर हुने भएकोले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आवश्यक कार्यहरू नेपाल सरकारले गर्नुपर्छ भन्नुभयो ।
क्षे.नं. १ र २ का अतिथि एवं बाग्मती प्रदेशसभा सासद सृजना सैंजुले ख्वप अस्पतालमार्फत सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको र भक्तपुरवासीका लागि भनपाले विभिन्न शैक्षिक संस्थाहरूमार्फत शैक्षिक क्षेत्रमा लगानी गरेको, सहकारीले पनि शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै समाजको विकासको लागि महिलालाई सक्रियरूपमा अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सहकारी समाजका सदस्य मिनबहादुर बाटाले समुदायमा आधारित सहकारीमा कारोबार गर्नु सुरक्षित हुने भन्दै स्थानीय व्यक्तिहरूबाट सञ्चालित सहकारी संस्थामा कारोबार गर्न अनुरोध गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरूले एकभन्दा बढी सहकारी संस्थाहरू मिलेर विशिष्ट कार्य गर्न सकिने सहकारी ऐनमा व्यवस्था भएअनुसार किसान र मजदुर वर्गको हितको लागि शीतभण्डार तथा रासायनिक मल कारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन समितिका संयोजक हिमालयश्वरलाल मूलले विश्व बजारमा आर्थिक मन्दीको प्रभाव देखिन थालेको र नेपालमा पनि बजारमा २० प्रतिशतभन्दा बढीले मागमा कमी आएको भन्दै मन्दीको प्रभावमा कमी ल्याउन सरकारले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ भन्नुभयो ।
क्षे.नं. ३ र ४ को सभापतित्व अध्यक्ष राजन लाखाजु, क्षे.नं. १ र २ को सभापतित्व उपाध्यक्ष विष्णुराम दुमरू र क्षे.नं. ५ र ६ को सभापतित्व सचिव रूद्रनारायण लाखाले गर्नुभएको सो सभामा सञ्चालक कृष्णगोविन्द लाखाजु, हरिरत्न गोर्खाली र व्यवस्थापक शिला गोसाईले स्वागत मन्तव्य, प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम कृष्णनारायण दुमरू, रामलक्ष्मी लवजु शिल्पकार र पञ्चरत्न सैंजु, आर्थिक प्रतिवेदन र अनुमानित बजेट कोषाध्यक्ष ईश्वरमान दुमरू, रामचन्द्र दुमरू र राजाराम दुवाल, लेखा सुपरिवेक्षण प्रतिवेदन समिति संयोजक रामप्रसाद लाखाजु, सचिव सुनिल राजचल र सदस्य हेरा ख्याजुले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विष्णुप्रसाद दुमरू, रमेश दुमरू र राधेश्याम सैंजुले पनि बोल्नुभएको थियो ।
सभाबाट रूद्रनारायण लाखाजुको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र रामप्रसाद लाखाजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *