भर्खरै :

जोन बोल्टन र अमेरिकी राजनीति

जोन बोल्टन र अमेरिकी राजनीति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले २०१९ सेप्टेम्बर १० मा राष्ट्रिय सुरक्षा परिषद्बाट राजीनामा दिए । सो पदमा २०१८ अप्रिल ९ देखि उनी सो पदमा कार्यरत थिए । पदमा रहने इच्छा हुँदाहुँदै पनि आफ्नो स्वाभिमानमा ठेस लागेपछि उनले राजीनामा दिए । यसपछि उनी आफ्नो कार्यकालको अनुभवमा आधारित पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ लेख्न बसे । पुस्तक लेखिसकेपछि ह्वाइट हाउस प्रशासनले उनको पुस्तकमाथि काँटछाँट गर्न थाल्यो । उनले त्यसमा उल्लेख विदेशी नेता र कूटनीतिज्ञहरूसँगको वार्ताबाट उद्दरण चिन्हहरू हटाउनुप¥यो । संवेदनशील जानकारीहरूलाई ‘हुनसक्छ’, ‘मलाई लाग्छ’ वा ‘सायद’ जस्ता शब्दले छोप्न लगाइयो । यसबाट आजित भएर बोल्टनले कुनै बेला अमेरिकी विदेशमन्त्री कोलिन पावेलले आफ्नो आत्मसंस्मरणलाई नजचाएको, त्यस्तै अमेरिकी विदेशमन्त्री जेम्स बेकरले आफ्नो ‘आत्मसंस्मरण जचाउनु गल्ती थियो’ भनेको सम्झे । यद्यपि, बोल्टनले आफ्नो पुस्तकमा पाठकले थाहा पाउनुपर्ने सबैथोक पाउने दाबी गरेका छन् ।
बोल्टनको आत्मसंस्मरणबारे धेरै टीकाटिप्पणी भएका छन् । जस्तो, डोनाल्ड ट्रम्पले नै सो पुस्तकलाई ‘रोक्ने र छाप्न नदिने’ बताए । कतिले बोल्टनले आत्मप्रशंसामा धेरै पाना खेर फालेको बताए । जानकारहरूले बोल्टनको पुस्तकमा केही तथ्य नमिल्ने बताएका छन् । कसैले बोल्टनको युद्धउन्माद पुस्तकभरि पोखिएको कोणबाट पनि पुस्तकको विश्लेषण गरेका छन् । जेहोस्, यस पुस्तकबाट हामी बोल्टन, अमेरिकी प्रशासन र अमेरिकी राजनीति वा विदेशनीतिबारे धेरै कुरा थाहा पाउँछौँ । यहाँ हामी सङ्क्षेपमा यिनै विषयको सेरोफेरोमा रहेर चर्चा गर्नेछौँ ।

बोल्टन को हुन् ?
सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका जोन बोल्टन सुरुदेखि नै रिपब्लिकन पार्टीका समर्थक हुन् । केही समय उनले सेनामा बिताएका थिए । पेशाले उनी वकिल र राजनीतिक विश्लेषक हुन् । ट्रम्प प्रशासनमा आउनुअघि पनि अमेरिकी प्रशासनबाट टाढा थिएनन् । उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । विचारका दृष्टिले बोल्टनलाई नवरुढीवादी मानिन्छन् । अर्थात्, उनी अमेरिकी समाजको सबैभन्दा कट्टर दक्षिणपन्थी जमातका प्रतिनिधि हुन् ।
जोन बोल्टन अर्थशास्त्रमा एडम स्मिथ, सामाजिक क्षेत्रमा एडमन्ड बुर्के र राजनीतिमा ह्यारी एस. ट्रयुमेनका विदेशमन्त्री डीन एचिसन र सीआईएका निर्मातामध्ये एक जोन फोस्टर डलेसबाट अत्यन्त प्रभावित थिए । उनी बेलाबेला हेनरी किसिन्जर र जर्ज बुशको सल्लाह पनि लिने गर्छन् । उनका अभिरुचिहरूबाट उनको व्यक्तित्व स्पष्ट हुन्छ । उनी कठोर विदेशनीतिका पक्षपाती हुन् । उनी कसैलाई नगन्ने, संरा अमेरिका र गोरो जातिलाई महत्व सर्वोपरी देख्ने अमेरिकी वर्चस्व वा प्रभुत्वका रक्षक हुन् । यस अर्थमा उनलाई केही पर्यवेक्षकहरू युद्धपिपासुको संज्ञा दिन्छन् । उनको आत्मसंस्मरणबाट ती पर्यवेक्षकहरू गलत नरहेको पुष्टि हुन्छ ।

अमेरिकी प्रशासन
बोल्टनले आफ्नो पोल मात्र खोलेका छैनन् । अमेरिकी प्रशासन र डोनाल्ड ट्रम्पलाई उनले अनेक कोणबाट चिनाएका छन् । उनको पुस्तक पढ्दा थाहा हुन्छ – ‘ह्वाइट हाउस भनेकै एउटाको घाँटी रेटेर अर्को स्थापित हुने ठाउँ हो । त्यहाँ व्यक्तिगत तानातानको जालो छ । हल्ला र अफवाहहरूले ह्वाइट हाउसलाई सधैँ छोप्छ । कुरौटे र चाकडीबाजहरूको कमी छैन । अन्योल, अराजकता र ढिलासुस्ती अमेरिकी कर्मचारीतन्त्रको विशेषता हो ।’ केही नेपालीहरू अमेरिकी ‘विधिको शासन’ बारे प्रशंसा गरेर कहिल्यै थाक्दैनन् । उनीहरूले बोल्टनको पुस्तक पढेर आफ्नो भ्रमको उपचार गर्न आवश्यक छ ।
बोल्टनको पुस्तकमा अमेरिकी प्रशासन चिनाउने धेरै सन्दर्भ छन् । अमेरिकी प्रशासनका अधिकांश उच्च अधिकारीहरू कुनै न कुनै बहुराष्ट्रिय कम्पनी, बैङ्क वा सेनामा लामो समय काम गरेका व्यक्तिहरू हुन्छन् । जस्तो, डोनाल्ड ट्रम्पका अर्थमन्त्री स्टिभेन मनुचिन १७ वर्षसम्म गोल्डमेन साख बैङ्कका कर्मचारी थिए । त्यस्तै विदेशमन्त्री रेक्स टिलरसन पेशाले इन्जिनियर थिए र उनले एक्जोनमोबिलमा ४० वर्ष काम गरेका थिए । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनलाई विदेशमन्त्री बनाउन अमेरिकाका ठूलाठूला धनाढ्यहरू लागिपरेका थिए । धनाढ्य गेट्स परिवारले टिलसरसनको सिफारिस गरेको बोल्टनले पुस्तकमा उल्लेख गरेका छन् । त्यस्तै ट्रम्पका रक्षामन्त्री जिम म्याटिस पूर्वजनरल थिए । राष्ट्रपति ट्रम्पजस्तै सीआईए प्रमुख माइक पोम्पेओ व्यापारी थिए । ट्रम्पका सहयोगी मिक मुल्भानी र रुडी जुलियानी पेशाले वकिल थिए र व्यापारिक घरानाका लागि काम गर्थे । त्यस्तै उनका अन्य सहयोगीहरू तन्का र कुश्नर ट्रम्पका क्रमशः छोरी र ज्वाइँमात्र थिएनन् । उनीहरू व्यापारी थिए । ट्रम्पका अर्का उच्च अधिकारीहरू केली र डनफोर्ड सेनाबाट आएका थिए । त्यसैगरी, जोन बोल्टनले बोइङ कम्पनीमा काम गरेका कर्मचारीहरूलाई आफ्ना सहयोगी बनाएका थिए । संरा अमेरिकालाई ठूला बहुराष्ट्रिय कम्पनी र कर्पोरेट घरानाहरूले चलाउँछन् भन्ने कुरा निराधार होइन । अमेरिकी प्रशासनको बनोटले यही देखाउँछ ।
अमेरिकी प्रशासनको ‘विधिको शासन’ निक्की हेली र बोल्टन आफ्नै कार्यशैलीले प्रकाश पार्छ । निक्की हेली राष्ट्रसङ्घका लागि अमेरिकी दूत थिइन् । उनले ट्रम्पलाई रिझाएकी थिइन् । त्यसैले उनले मनपर्दी गरेको बोल्टनले लेखेका छन् । कहिले त राष्ट्रसङ्घमा हेलीले बोलेको कुरा नै अमेरिकी विदेशनीति बन्छ । क्रिमियाको घटनामा निक्की हेलीले राष्ट्रसङ्घमा रुसको कडा निन्दा गरिन् । उनको बोली नै अमेरिकी नीति बन्यो । (खासमा रुसलाई शत्रु देखाएर सहानुभूति बटुल्न र चुनाव जित्न युक्रेनी राष्ट्रपति पोरोशेन्कोले रुसी भूभागमा युक्रेनी पानीजहाज पठाएका थिए र रुसले हमला ग¥यो भन्ने हल्ला पिटेका थिए ।) बोल्टनको कार्यशैली पनि उस्तै छ । उनी ट्रम्पलाई प्रभावित गर्न गुप्तचरी कक्षामा लग्ने चाँजो मिलाउँछन् । उनी ट्रम्पलाई विभिन्न जानकारीबाट वञ्चित राख्छन् । सकेसम्म विदेशी नेताहरूसँग भेट्न दिन्नन् । राष्ट्रपति ट्रम्पको अनुमति नै नलिई रुसलाई चिढाउन सैन्य विमानमा बसेर पूर्वी युरोपको भ्रमणमा निस्किन्छन् ।
बोल्टन आफै पनि प्रशासनिक खुट्टा तानातानबाट पर बसेनन् । उनलाई केही कर्मचारीहरूले आफ्नो प्रतिष्पर्धी ठान्थे । बोल्टन पहिले पनि काम गरेको हुनाले आफूलाई माथि देखाउन खोज्थे । माइक पोम्पेओले उनलाई आँखी देखे । कामको जस लिन पोम्पेओले अफगानीहरूसँग चलिरहेको वार्ता गुप्त राखे । बोल्टनलाई ती वार्ताका कागजपत्र पनि देखाइएन । अर्कोतिर बोल्टन आफै निक्की हेली, ट्रम्पका सहयोगीहरू केली–कुश्नर, रोबिला रक्षामन्त्री म्याटिस र अर्थमन्त्री मनुचिनको अगाडि दबिरहे अथवा उनले उनीहरूलाई आँखाको कसिङ्गर मानिरहे ।

राष्ट्रपति ट्रम्पको स्वाभाव
बोल्टनको पुस्तकले अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि चिनाउँछ । पुस्तकमा एक ठाउँ लेखिएको छ, ‘अमेरिकी राजनीतिमा कुनै पनि विचार निष्कलङ्क हुन्न ।’ ट्रम्पको ‘अमेरिकालाई पुनः महान् बनाउँछु’ भन्ने नाराभित्र धेरै ‘कलङ्कहरू’ भेटिन्छन् । ट्रम्पका धेरै अधिकारीहरूले पछि गएर ‘ट्रम्प अमेरिकी राष्ट्रपति हुन योग्य थिएनन्’ भनेका छन् । तैपनि उनले कसरी चुनाव जिते ? यसले अमेरिकी समाज र राजनीतिमाथि नै ठूलो प्रश्नचिन्ह खडा गर्छ । विद्वान मार्टिन ज्याक्सले पश्चिमा राजनीतिमा वाककला र भद्रभलाद्मी हुनु नै राजनीतिज्ञ बन्ने योग्यता हो भनेका छन् । ट्रम्प कुरौटे वा बोलक्कड थिए भन्ने तथ्यबारे बोल्टनले धेरै उदाहरण पेश गरेका छन् । ट्रम्प अरूका कुरा सुन्नेभन्दा पनि आफ्नै फतफत सुनाउन तत्पर रहन्थे । उनलाई नै चुनेबाट अमेरिकी जनताको राजनीतिक चेतना कति छिपछिपे अथवा जनतालाई राजनीतिबाट कति टाढा राखिएको छ भन्ने कुरा स्पष्ट हुन्छ । मार्टिन ज्याक्स सही भन्छन्, ‘पश्चिमी राजनीतिमा वास्तविक जनसहभागिता हुन्न ।’
ट्रम्पको अर्को विशेषता उनको जथाभावी ट्वीट गर्ने बानी हो । उनी ट्वीट गरेर लोकप्रियता आर्जन गर्न चाहन्थे । अरूलाई ‘नभन्नू’ भनेका कुरा आफै ट्वीटमार्फत सार्वजनिक गर्थे । जस्तो, अमेरिकाले इरानमाथि हमला गर्ने तयारी गरेको थियो वा तालिबान नेताहरूलाई क्याम्प डेभिडमा आफूले भेट्ने योजना थियो भनेर ट्रम्प आफैले रहस्योद्घाटन गरेका थिए । उनले ट्वीटमार्फत अन्य देशमाथि नाकाबन्दी लगाएको घोषणा गर्थे । अमेरिकी राष्ट्रपतिले जे गर्दा पनि हुन्छ भन्ने भावनाले उनलाई नराम्ररी गाँजेको थियो । जोन बोल्टन आफै पनि यही विचारका व्यक्ति थिए । विश्वयुद्धमा मारिएका व्यक्तिहरूको सम्मानमा पेरिसमा हुने कार्यक्रममा ट्रम्प सामेल भएनन् । यो बोल्टनहरूकै निर्णय थियो । अमेरिकी राष्ट्रपतिको सुरक्षाको लागि त्यसो गरेको उनले लेखेका छन् । तर, सो कार्यक्रममा अन्य देशका धेरै राष्ट्रप्रमुखहरू सहभागी भएका थिए । यस्तो तर्क गर्नेहरूलाई बोल्टनले अन्य देशका राष्ट्रप्रमुखहरूसँग ‘संसारकै शक्तिशाली राष्ट्रप्रमुख’ को तुलना हुनसक्दैन भनेका थिए ।
ट्रम्प लोकप्रियता कमाउन पुँजीवादी संसारमा ‘विवादास्पद’ बनाइएका व्यक्तित्वहरूलाई भेट्न मरिहत्ते गर्थे । जस्तो उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रजग कोरियाका अध्यक्ष किम जङ उन, इरानी र तालिबानी नेताहरू, मादुरो आदिसँग भेट्न धेरै प्रयास गरे । यो सस्तो लोकप्रियता कमाउने बाटो थियो । यी भेटवार्तामा ट्रम्पको कुनै स्पष्ट नीति हुन्नथ्यो । त्यसैले दुईचोटि भेटेर पनि प्रजग कोरियाली नेतृत्वसँगको वार्ता प्रक्रियाबाट केही हात लागेन । समय र श्रम मात्र खेर गयो ।
युरोपेली युनियनका नेताहरू, दक्षिण कोरियाली र जापानी नेतृत्व अमेरिकाको अगाडि लाचार र अपमानित हुने गरेको बोल्टनको पुस्तकबाट थाहा हुन्छ । राष्ट्रपति ट्रम्प उनीहरूलाई हेप्थे, बेलाबेला हप्कीदप्की गर्थे र कहिले सुम्सुम्याउँथे । जस्तो, उनले जर्मनीको हुर्मत लिन कुनै कसर बाँकी राखेनन् । तर, आफ्नो अभिभावक पनि जर्मन भएको भन्दै एँगेला मर्केललाई उनले माया गरेजस्तो पनि गर्थे । नाटो महासचिव स्तोल्टेनबर्गले समेत अमेरिकालाई अन्नदाताको रूपमा हेरेको र अमेरिकाको चाकडी गरेको पुस्तकबाट थाहा हुन्छ । अमेरिकाको अन्न खाएकै हुनाले उसका ‘मित्र देशहरू’ समेत प्रताडित गरेको बोल्टनको पुस्तकबाट थाहा हुन्छ । अमेरिकी दादागिरी वास्तविकता हो भन्नेमा दुईमत नराख्दा हुन्छ ।
सारमा बोल्टनको पुस्तकले डोनाल्ड ट्रम्पलाई बोलक्कड, बोलीमा शिष्टता नभएको, सस्तो लोकप्रियताको भोको, झोँक्की, अडान नभएको र ‘देशलाई भन्दा आफ्नो स्वार्थलाई माथि राख्ने’ व्यक्ति ठह¥याएको छ । यी विशेषतामा डोनाल्ड ट्रम्प बोल्टनभन्दा त्यति माथि छैनन् । जस्तो, इरानमाथि हमला गर्ने बनिबनाउ योजना ट्रम्पले ‘एक सनक’ मै तोड्दा बोल्टन अति रिसाएका थिए । लाग्छ, बोल्टनको हातमा सत्ताको लगाम हुन्थ्यो भने उनले सिरिया, इरान, प्रजग कोरिया र भेनेजुयलामा हमला गर्न कुनै कसर बाँकी राख्थेनन् । ट्रम्पले इरान र प्रजग कोरियाली हतियार परीक्षण र हमलाको प्रतिवाद नगरेकोमा उनी सधैँ रुष्ट भए । उनी आफ्ना विरोधी देशहरूमा जताततै आणविक, जैविक र रासायनिक बमको थुप्रो देख्थे । उनी प्रजग कोरियाले इरानलाई ती हतियारहरू बेचिरहेको देख्थे । पर्यवेक्षकहरूले उनका यी दाबीहरू निराधार भएको पुष्टि गरेका छन् । उनी इराक युद्धका पक्षधर थिए । इराकमा ‘जैविक हतियार’ थियो भन्ने कोलिन पावेलको झूटो दाबी गरेर इराक युद्धको सुत्रपात गरेजस्तै बोल्टन केही गर्न चाहन्थे । ट्रम्प बाधक बनेकोमा उनले धेरै आक्रोश पोखेका छन् । बोल्टन सिरिया, इरान र प्रजग कोरियामा ‘जैविक र रासायनिक हतियार’ भए–नभएको जाँचबुझ गर्न चाहन्थे ।

अमेरिकी विदेशनीति
एक अमेरिकी पूर्व सांसदले भनेका थिए, “संसार जञ्जाल हो, यसलाई तह लगाउन हामी मात्र सक्छौँ ।” अमेरिकी विदेशनीति यही दृष्टिकोणमा आधारित छ । डोनाल्ड ट्रम्पको कार्यकाल पनि यो दृष्टिकोणबाट अलग छैन । संसारकै धनी र शक्तिशाली मुलुक हुनुको नाताले संरा अमेरिका त्यत्तिकै जिम्मेवार बन्नुपर्ने थियो । तर, व्यवहारमा त्यो देखिन्न । अमेरिका र अन्य देशलाई हेर्ने दृष्टिकोणमा बोल्टन, ट्रम्पलगायत अमेरिकी नेता, उच्च अधिकारीहरूमा एउटा समानता छ । उनीहरू अन्य देशलाई देशै मान्दैनन् । सबैलाई आफ्नो स्वार्थ सिद्ध गर्ने साधन ठान्छन् । अरूलाई र आफूलाई हेर्ने उनीहरूको अलगअलग चस्मा छ ।
बोल्टन कुनै बेला राष्ट्रसङ्घका लागि अमेरिकी दूत थिए । त्यसबेला उनले राष्ट्रसङ्घको मानव अधिकार परिषद्बाट अमेरिका बाहिरिनुपर्ने पक्षमा बोलेका थिए । अमेरिकालाई अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्डहरूबाट बाहिर राख्नुपर्छ भन्नेमा उनी दृढ थिए । जब कि उनले नै प्रजग कोरिया, चीन, इरान, भेनेजुयलाजस्ता देशहरूमा मानव अधिकार नभएको सगर्व लेख्छन् । सँगसँगै उनी अमेरिकी साम्राज्यवादको खुट्टा चाट्ने बोल्शोनारोजस्ता फासीवादी शासकहरूलाई काखी च्याप्छन् । ह्वाँ ग्वाइडोजस्ता आफ्नै देशमाथि आगो सल्काउने देशद्रोहीहरू उनका मित्र हुन्छन् । आफ्नै देशका फरक जातिका जनता मार्ने युक्रेनका नवनाजी जेलेन्स्कीलाई बोल्टन प्रभावशाली देख्छन् र प्रशंसा गर्छन् । सनककै भरमा सही बोल्टनभन्दा डोनाल्ड ट्रम्प ‘नरम’ देखिन्छन् । अमेरिकाले अफगानी भूमि खोसेको हुनाले तालीबानीहरू रिसाउनु जायज हो भन्ने ट्रम्पको भनाइ थियो । बोल्टनभन्दा उनी उति भिन्न पनि छैनन्, मात्राको तलमाथि मात्र हो । जस्तो, उदारवादी पत्रकार जमाल खसोगीका हत्यारा साउदी युवराज मोहम्मद बिन सुल्तानसँग ट्रम्प हात मिलाउँछन् । उसलाई हतियार बेच्छन् ।
अमेरिकी दोहोरो चरित्र सार्वभौमिकताको परिभाषामा प्रतिबिम्बित हुन्छ । रुसले युक्रेनको भाग क्रिमिया कब्जा गरेको, त्यहाँ युक्रेनी जहाज जाँदा कारबाही गरेको र युक्रेनको सार्वभौमिकता मिचेको बोल्टनको आरोप छ । त्यस्तै रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा साइबर हमलामार्फत धाँधली गराएर अमेरिकी सार्वभौमिकता मिचेको बोल्टनको अर्को आरोप छ । जब कि उनी आफै इरानी सेनाको महत्वपूर्ण हाँगा कुद्स सेनालाई ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ को सूचीमा राख्नुपर्ने माग राख्छन् । त्यस्तै इरानलाई ‘विश्व आतङ्कवादको केन्द्रीय बैङ्क’ भन्छन् । ट्रम्पले प्रजग कोरियालाई ‘राज्यप्रायोजित आतङ्कवाद’ को सूचीमा राखे । खासमा पदमा बहाल हुनुअघि नै बोल्टनले कोरियामाथि हमला गर्न ट्रम्पलाई सुझाव दिएका थिए । चीनलाई फकाएर उत्तर कोरियामा सत्ता परिवर्तन गर्न सकिने वा दक्षिण कोरियाको नेतृत्वमा कोरिया पुनः एकीकरण गर्न सकिने उनको विचार थियो । इरानमा सत्ता परिवर्तन गर्नुपर्नेमा बोल्टन र इजरायली नेता बेन्जामिन नेतान्याहुको मिलेमतो हुन्छ । त्यस्तै, ट्रम्पले इजरायलको नयाँ राजधानी ‘जेरुसलम’ लाई मान्यता दिए । यी घटनाहरूबाट संरा अमेरिकाले आफ्ना आफू र आफ्ना आउरेबाउरे देशहरूलाई मात्र सार्वभौम मान्दै आएको पुष्टि हुन्छ । आफूलाई असहयोग गर्नेहरूलाई ऊ सार्वभौम मान्दैन । बरु तिनको सार्वभौमिकतालाई अपमानित गर्छ र त्यहाँ सत्ता परिवर्तन गर्ने सपना देख्छ ।

शक्तिसँगै जिम्मेवारी आउँछ भन्ने सामान्य सिद्धान्त छ । ट्रम्पको शासनकालमा यस्तो कुनै छनक देखिन्न । अमेरिकाले आफ्नो शक्तिलाई विश्वको कल्याणमा लगाउनुपर्ने हो । मानव जातिको रक्षाको निम्ति अभिभावकको भूमिका खेल्नुपर्ने हो । तर, पेरिस सम्झौताबाट हात झिकेर अमेरिकाको मन कति सानो छ भन्ने कुरा उजागर भयो । ट्रम्प मात्र होइन, बोल्टन आफै पनि प्रकृति दोहनको पक्षमा थिए । ट्रम्पको कार्यकालमा अमेरिका प्राकृतिक ग्यास र इन्धनको उत्पादनमा धेरै अघि बढ्यो । अमेरिकी धनाढ्यहरू अमेरिकी प्राकृतिक ग्यासलाई ‘स्वतन्त्रता ग्यास’ भन्दै छन् । पृथ्वीमा थप प्राकृतिक विपत्ति ल्याएर अमेरिकालाई ‘एक नम्बर’ बनाउने ट्रम्पको सोच थियो । यसकारण आफ्नो ग्यास नकिनेकोमा ट्रम्पले पटकपटक युरोपेली युनियनका देशहरूलाई ‘विश्वासघाती’ भनिरहे । यसको साटो फेर्न उनले ती देशहरूलाई सैन्य खर्च बढाउन दबाब दिए । नर्ड स्ट्रीम पाइपलाइन हुँदै सस्तो रुसी इन्धन लिएको हुँदा उनले जर्मनीलाई ‘सर्पलाई दूध खुवाइरहेको’ आरोप लगाए । अमेरिकी दबाबकै कारण दक्षिण कोरिया अमेरिकाबाट महँगो इन्धन किन्न बाध्य भयो । दक्षिण कोरिया अमेरिकी साम्राज्यवाद वा एकाधिकार पुँजीको दास भएको बोल्टनको पुस्तकबाट थाहा हुन्छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनलाई ट्रम्पले मात्र होइन, बोल्टनले पनि मान्छे गन्दैनन् ।
ट्रम्पले भने, “म अरूको होइन, आफ्नो देश बनाउन चाहन्छु ।” यसमा पनि शक्तिशाली अमेरिकाको कपटी मन झल्किन्छ । यो कपट कहिलेकाहीँ हाँस्यास्पद समेत देखिन्छ । बोल्टनको पुस्तकमा यसका दुई उदाहरण छन् । पहिलो उनी जापानी प्रधानमन्त्री सिन्जो आबेसँग अमेरिकी कृषि उत्पादन किनिदिन आग्रह गर्छन् । त्यस्तै उनी चिनियाँ राष्ट्रपति सी चिन फिङसमक्ष अमेरिकी खाद्यान्न किनिदिन अनुनय गर्छन् । चीनले रुचि नदेखाएपछि त्यसको बदलामा ट्रम्पले चिनियाँ सामानमाथि भन्सार कर बढाउनमा कुनै कञ्जुस्याइँ गर्दैनन् । उनी भन्छन्, “चीन मलाई हराउन चाहन्छ ।” चुनावमा किसानहरूको मत पाउन उनले त्यो आग्रह गरेका थिए । ट्रम्पले एउटा हातले प्रजग कोरियासँग हात मिलाउँछन् । अर्को हातले ऊमाथि नाकाबन्दी थप चर्काउने आदेशपत्रमा हस्ताक्षर गर्छन् ।
संरा अमेरिका र उसका पश्चिमी ‘मित्र देशहरू’ सधैँ आफ्ना विरोधीहरूलाई अन्तर्राष्ट्रिय कानुन पालन नगर्ने भनी बद्नाम गर्न खोज्छन् । बोल्टनको पुस्तकमा अमेरिका र उसका सहयोगीहरूले नै अन्तर्राष्ट्रिय कानुन मिचेका धेरै उदाहरण पढ्न पाइन्छ । जस्तो, अमेरिका पेरिस सम्झौताबाट बाहिरियो । उसले मानव उद्दारका सामग्री पठाउने नाममा भेनेजुयलामा घुसपैठ गर्न खोज्यो । इरानसँग राष्ट्रपति बाराक ओबामाको पालामा भएको आणविक सन्धिबाट बाहिरियो । त्यसैगरी रुससँग रोनाल्ड रेगनको पालामा भएको आइएनएफ सन्धिबाट पनि एकतर्फी रूपमा बाहिरियो । साम्राज्यवादी विश्व ‘खुला अर्थनीति’ को राग अलापेर थाक्दैन । तर व्यवहारमा उनीहरू दोहोरो चरित्र देखाउँछन् । आफूलाई नाफा भएसम्म खुला अर्थनीति भन्ने, नाफा नभए खेलको नियमै फेर्ने उसको रवैया बोल्टनले प्रस्ट्याएका छन् । डोनाल्ड ट्रम्पको चीनलक्षित व्यापार युद्ध अमेरिकी दोहोरो चरित्रको प्रदर्शन थियो ।

बोल्टनले नबुझेको अमेरिका र ट्रम्प
अर्थविद्हरू अमेरिका र पश्चिमा विश्व सन् २००८ मा आएको आर्थिक मन्दीबाट बाहिरिन नसकेको बताउँछन् । यो मन्दी वर्तमान शताब्दीको मध्यसम्म जारी रहने केही अर्थशास्त्रीको अनुमान छ । कोभिड–१९ को महामारी र लकडाउनको सन्दर्भमा विश्व अर्थतन्त्र अझ पिछडिएको सजिलै अनुमान गर्न सकिन्छ । बोल्टनले आफ्नो पुस्तकमा छुटाएको वा लुकाएको विषय अमेरिकाको तत्कालीन अवस्था हो ।
ट्रम्पको कार्यकालसम्म आइपुग्दा अमेरिको आर्थिक गति खस्किसकेको थियो । त्यो बुझेर नै उनले ट्रम्पले संरा अमेरिकालाई ‘पुनः महान्’ बनाउने विषय उठाएका थिए । चाहेर पनि अमेरिका पहिलेजस्तो आक्रामक हुने स्थितिमा थिएन । त्यसैले ठूलाठूला कुरा गरे पनि अगाडि बढ्ने बाटो बन्द थियो । यस्तो परिवेशमा अमेरिकाले आफ्नो स्थिति अनुसारको राष्ट्रपति पायो । डोनाल्ड ट्रम्पले सीमामा कडाउ गर्ने, अवैध आप्रवासीहरू हटाउने र विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने चुनावी नारा दिएर राष्ट्रपति बनेका थिए । सिमाना कडा गर्ने मुद्दा जातिवादी भएको आरोप लाग्ने गरेको छ । यद्यपि, एक अमेरिकी नागरिकका लागि यी नाराहरू गम्भीर थिए । ट्रम्पले निर्वाचन जित्नुको अर्को कारण लोकरिझ्याइँ अर्को कारण थियो । ट्रम्प सरदर अमेरिकीझैँ थिए । उनी ‘अमेरिकी सपना’ का सच्चा सन्तान थिए । उनी बोलक्कड थिए, सस्तो लोकप्रियतामा विश्वास गर्थे, गोरो छालाको फोस्रो धाक लगाउँथे, जलवायु परिवर्तनलाई झूटो भन्थे र धनी थिए । उनी अमेरिकी मूलधारको संस्कृतिका सच्चा वारिस थिए ।
संसारभरि छरिएका अमेरिकाका ८०० भन्दा बढी सैन्य अखडाबारे गहिरो जानकारी राख्ने न्यूयोर्कका डेभिड भाइनले एउटा हिसाब निकालेका छन् । अमेरिकाका सैन्य अखडाहरू निर्माण र मर्मतसम्भार गर्न मात्रै अमेरिकाले वर्षको ५० अर्ब डलरभन्दा बढी रकम खर्च गर्दै आएको छ । त्यसमा सैनिक र अधिकारीहरूलाई दिइने वार्षिक ८० अर्ब डलरभन्दा बढी रकम थप्ने हो भने झन् ठूलो लगत निस्किन्छ । यति रकम खर्च गरेको भए अमेरिकामा कोभिडले ८ लाखभन्दा बढी मान्छेको मृत्यु हुने थिएन । अमेरिकी जनता अमेरिकाको सैन्य खर्चबाट आजित छन् । त्यसैले ट्रम्पले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने नारा दिए । तर, त्यो उनको लोकरिझ्याइँमात्र पुष्टि भयो । उनले त्यो नीति लागू गर्न सकेनन् । अथवा, बोल्टनजस्ता कर्मचारीहरूको अड्चन पार गर्न सकेनन् ।
ट्रम्प घरजग्गा कारोबारी थिए । त्यसैले उनले राजनीतिलाई व्यापारीले जस्तै हेरे । व्यापारिक शिष्टता जङ्गली हुन्छ । उनको अशिष्टता उनको पेशाको उपज हो र सायद अमेरिकी संस्कृतिको परिणाम हो । यही अशिष्टताको सहारामा ट्रम्पले आफ्नो कार्यकाल चलाए । राजनीतिक सुझबुझ उनको विशेषता थिएन । त्यसैले उनीबाट न रिपब्लिकन पार्टीको परम्परागत राजनीति धानियो न उनले जनतालाई दिएको वचन पूरा गर्न सके । उनको बोली र व्यवहारमा एकरूपता देखिएन ।
ट्रम्पप्रतिको बोल्टनको रोष र आक्रोश रिपब्लिकन पार्टीको परम्परागत राजनीति नधानिएकोमा हो । ट्रम्पले ओबामा केयरको नीति फिर्ता लिए । उनले अमेरिकालाई पेरिस सम्झौताबाट निकाले । इरान र रुससँग भएका सन्धिसम्झौताबाट बाहिर निकाले । तर, उनले जनतालाई सेना फिर्ता ल्याउने वचन पनि दिएका थिए । त्यसमा उनले आधा मनले जोड पनि दिए । त्यो त्यति प्रभावकारी रहेन । पछिपछि उनले सेना झिकाउने विषयलाई विदेशी नेता र अर्थतन्त्रलाई धम्की दिन र कर्मचारीहरूलाई घुर्की लगाउन साधनको रूपमा प्रयोग गरेको बोल्टनको आत्मसंस्मरणमा देखिन्छ ।
बोल्टन रक्षामन्त्री म्याटिस र अर्थमन्त्री मनुचिनलाई सम्झौतावादी देखाउँछन् । अमेरिकी अर्थतन्त्रको हविगत हेर्दा सम्झौता बोल्टनको बाध्यता देखापर्छ । बोल्टनले ट्रम्पको यो बाध्यता बुझ्न सकेनन् र एउटा दुधे बालकले चकलेट मागेजस्तै कठोर प्रतिवाद वा युद्धको माग गरिरहे । उनले ट्रम्प चुनावी राजनीतिमा लागेको आरोप लगाए । चुनाव–केन्द्रित राजनीतिमा लाग्नु ट्रम्पको मात्र होइन समग्र पश्चिमा नेता, राजनीति र पुँजीवादी व्यवस्थाको दोष हो भनेर विश्लेषकहरू बताउँछन् । ट्रम्पले दोस्रो कार्यकालको लागि हुने निर्वाचनलाई हेरेर कतिपय नीति ल्याएका थिए । सिरिया र अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णय पुनः राष्ट्रपति निर्वाचित हुने लालसाले गरिएको थियो । त्यस्तै युरोप, मध्यपूर्व र पूर्वी एसियामा हुने अमेरिकी सैन्य खर्च कटौती गरेर ट्रम्प अमेरिकामा लगानी गर्ने पक्षमा थिए । त्यो पनि चुनावलाई हेरेर गरिएको प्रतीत हुन्छ । पेरिस सम्झौताबाट बाहिरिने निर्णयसमेत पैसा जोगाउने खेल देखिन्छ । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने निर्णयमा पनि ट्रम्पको लोकरिझ्याइँ नै प्रकट भएको थियो । तर, त्यसको लागि अर्थमन्त्रालयले बजेट छुट्याउन सकेन ।
अर्थमन्त्री मनुचिन आफै चेपुवामा थिए । ट्रम्प प्रशासनमा अमेरिकाको आर्थिक अधोगतिको चाप सम्भवतः मनुचिनले सबैभन्दा बढी देखेका थिए । त्यसैले उनले बोल्टनको युद्ध हुँकारको प्रतिवाद गरिरहे । इरान विवादको बेला मनुचिनले बोल्टनलाई इरान चिढिए अमेरिकी मुद्राको अवमूल्यन हुने खतरा देखाएका थिए । अर्थमन्त्रीले विदेशनीति तय गरेकोमा बोल्टनले केटाकेटी औडाहा प्रकट गरे । मनुचिन र बोल्टनबिचको विवादले वर्तमान अमेरिकाको आर्थिक, सामाजिक र राजनीतिक अन्तर्विरोध झल्काउँछ । बोल्टनको अर्को विवाद भ्लादिमिर पुटिनसँग थियो । इरानको विषयमा छलफल हुँदा बोल्टनले इरानमाथि थप नाकाबन्दी चर्काउने कुरा गर्छन् । पुटिनले नाकाबन्दी चर्काउँदै जनता आफ्नै सरकारको वरपर गोलबन्द हुने गरेको यथार्थ बताउँछन् । बोल्टनले उनको कुरा सुनेको नसुन्यै गर्छन् र नाकाबन्दी चर्काए जनता आफ्नै शासकको खिलाफमा उभिने मनगढन्ते तर्क गर्छन् । अमेरिकी नाकाबन्दीको लामो इतिहासले पुटिनको निष्कर्ष पुष्टि गर्दै आएको छ । यसबाट पनि बोल्टनको छिपछिपेपन छर्लङ्ग हुन्छ । यसमानेमा डोनाल्ड ट्रम्प पनि बोल्टनभन्दा फरक देखिन्नन् ।

निष्कर्ष
अमेरिकी दबाबमा नेपाली शासकहरूले भर्खरै ‘एमसीसी’ सम्झौता गरेका छन् । यसको काम पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डोनाल्ड ट्रम्पकै कार्यकालमा सुरु गरेका थिए । यसलाई अमेरिकी ‘निःस्वार्थ सहयोग’ को रूपमा स्वागत गर्नुपर्ने नेपालका धेरै लेखक, बुद्धिजीवी र पत्रकार तथा राजनीतिक दलका नेताकार्यकर्ताले प्रशंसा गरे । बोल्टनको पुस्तकले अमेरिकाले बिनास्वार्थ कसैलाई सहयोग गर्दैैन भन्ने स्पष्ट बताउँछ । अमेरिकी सपनाको झिलिमिली र रापतापको खुब तारिफ हुने गरेको छ । संरा अमेरिकाले दक्षिण कोरिया, जापान र नाटो देशहरूलाई सनासोले झैँ कस्न खोजेबाट अमेरिकी ‘सदाचार’ र ‘जीवनशैली’ को कुरूप पक्ष उदाङ्गो हुन्छ ।
अमेरिकी राष्ट्रपति र तिनका सल्लाहकारहरूको वर्चस्ववादी र आत्मकेन्द्रित सोच विश्वका लागि हानिकारक छ । अमेरिकाका रुढीवादी नेताहरू र उग्रवादीहरूमा धेरै फरक छैन । उनीहरू सर्वसाधारण र आर्थिकरूपमा कमजोर देशहरूलाई देशै ठान्दैनन् । राजनीतिलाई उनीहरू केटाकेटी खेल ठान्छन्, लोकप्रियता कमाउने, टेलिभिजनमा छाउने विषय मान्छन् । देश, जनता, विश्व वा मानव जातिको समग्र कल्याण उनीहरूको सोच र कल्पनाबाहिरको कुरा हो । शान्ति उनीहरूको जप्ने साधनमात्र हो । शान्तिको जपतपभित्र युद्ध लुकेको हुन्छ । बाहिर ट्रम्प प्रजग कोरियासँग ‘शान्तिवार्ता’ को कुरा गर्छन्, भित्रबाट नाकाबन्दी चर्काएर त्यहाँका जनताको घाँटी थिच्छन् । फेरि मिडियासामु कोरियाली जनताप्रति ‘सद्भावना’ का आँसु चुहाउँछन् । बोल्टन र ट्रम्पजस्तै व्यक्तिहरूतिर देखाउँदै कुनै बेला क्युबाली क्रान्तिनायक फिडेल क्यास्ट्रोले भन्नुभएको थियो, ‘साम्राज्यवादीहरूले अर्काको घाँटी थिच्नुसम्म थिच्छन् र तिमीहरूले सास फेरेको मिलेन पनि भन्छन् ।’
अर्कोतिर अमेरिकी शासकहरू मुहम्मद बिन सुल्तान र बोल्शोनारोजस्ता क्रुर तानाशाह, आफ्नो घर जलाएर आगो ताप्ने ग्वाइडोजस्ता देशद्रोही र अमेरिकी हतियार किनिदिने जेलेन्स्कीजस्ता पात्रहरूको रक्षा गर्छन् । यी पात्रहरू युद्धका वास्तविक कारण हुन् । देशदेशबिच फाटो ल्याउने, छिमेकीहरूबिच झगडा लगाउने, ‘सहयोग’ दिएर आफ्नो सामरिक दूनो सोझ्याउनु अमेरिकी शासक र तिनका सल्लाहकारहरूको परिचय हो । ट्रम्प नेतान्याहुले इरानमाथि हमला गरे मैले साथ दिनेछु भन्छन् । कुनै देशमा आगो लगाउन नपाए, कतै हमला गर्न नपाए अमेरिकी शासकहरू बोल्टनझैँ बौलाउन पुग्छन् । ‘सनसनीपूर्ण समाचार’ अमेरिकी कर्पोरेट मिडियालाई मात्र होइन, त्यहाँका शासकहरूलाई पनि चाहिन्छ । जस्तो कुनै बेला ट्रम्पका सहयोगी जुलियानीले ‘मिडियामा मेरो चर्चा नभएको धेरै महिना भयो’ भन्दै खसखस पोखेका थिए । बाँकी दुनियाँको पीरव्यथासँग अमेरिकी शासकहरूलाई सरोकार छैन । यस्तो सरोकार, सद्भाव र सहयोगको आस गर्नु नेपाली शासक वर्गको दुर्भाग्य हुनेछ । त्यसले नेपाली जनताको बिचल्लीसिवाय केही ल्याउनेछैन । बेलैमा सोचेको राम्रो !
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *