भर्खरै :

सीआईएले ब्राजिलमा किन ‘मैदान विद्रोह’ गर्न खोज्यो

सीआईएले ब्राजिलमा किन ‘मैदान विद्रोह’ गर्न खोज्यो

संरा अमेरिकाका एक पूर्वगुप्तचर अधिकारीले गत जनवरी ८ मा ब्रासिलियामा युक्रेनको मैदान भद्रगोलको नक्कल गरेको पुष्टि गरेका छन् । यसलाई उनले सीआईएको अर्को अपरेसन भनेका छन् । यसलाई उनले हालै इरानमा गर्न खाजेको रङ्गीन क्रान्तिसँग पनि तुलना गरेका छन् ।
आइतबार दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका कथित समर्थकहरूले ब्राजिली संसद्, सर्वोच्च अदालत र राष्ट्रपति भवन घेराउ गरे । उनीहरूले सुरक्षा तगाराहरू नाघे, भवनका छतछतमा चढे, झ्यालहरू फोरे, सार्वजनिक सम्पत्ति नष्ट गरे । उनीहरूले बहुमूल्य चित्रकलालाई पनि बाँकी राखेनन् । उनीहरूले सत्ता परिवर्तन गर्न सैन्य विद्रोहको माग गरे । यो माग राख्दै गर्दा उनीहरूले नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो ‘लुला’ दा सिल्भालाई तारो बनाएका थिए ।
अमेरिकी स्रोतअनुसार ब्राजिलले भूराजनीतिक आवश्यकता हेरेर ब्रिक्स देशहरू रूस, भारत र चीनसँग पुनः हात नमिलाओस् भनेर नै कारबाही मञ्चन गरिएको थियो । तर, कारबाहीको तयारी नपुगेको वा हतारमा गुप्त कारबाही गरिएको स्पष्ट छ ।
यसबाट सीआईएका योजनाकारहरूले जोल्टन पोज्सारजस्ता रणनीतिज्ञहरूका रचना पढ्छन् भन्ने पुष्टि हुन्छ । गत डिसेम्बर २७ मा उनले एउटा लेख छपाएका थिए । पोज्सारले लेखे, “बहुध्रुवीय विश्व जी–७ का देशहरूले बनाइरहेका छैनन्, बरू ‘पूर्वेली जी–७’ देशहरूले बनाउँदै छ, ब्रिक्सका नेताहरूले बनाउँदै छन् । वास्तवमा त्यो ‘जी–५’ हो, तन्काउन सकिने हुनाले ‘जी–७’ भनेको हुँ ।” उनले अल्जेरिया, अर्जेन्टिना र इरानले पनि ब्रिक्समा संलग्न हुन आवेदन दिएको उल्लेख गरे । यसलाई ‘ब्रिक्स+’ भन्न सकिने उनले बताए । किनभने, साउदी अरब, टर्की, इजिप्ट, अफगानिस्तान र इन्डोनेसियाले पनि ब्रिक्समा रूचि देखाएका छन् ।
एक संरा अमेरिकी स्रोतले इरानमा सीआईएले गराउन खोजेको रङ्गीन विद्रोहको सडक प्रदर्शनहरूसँग ब्राजिलको मैदान विद्रोहको तुलना गर्दै लेख्छ ः ‘ब्राजिल र इरानका यी सीआईए कारबाहीहरू सन् २००२ मा भेनेजुयलामा गरेको कारबाहीसँग ठ्याक्कै मेल खान्छन् । यस्तै कारबाहीअन्तर्गत् ह्युगो चाभेजलाई केही दिनका लागि भए पनि हुलदङ्गाबाट हटाइएको थियो । त्यो एकदम सफल कारबाही थियो ।’

‘पूर्वेली जी–७’ देशहरूमा पसौँ
जुनसुकै पार्टीमा भए पनि अमेरिकी नवरूढीवादीहरूले सीआईएको दिमागमा ‘पूर्वेली जी–७’ वा भविष्यमा विस्तारित हुने ‘ब्रिक्स+’ चाँडै अमेरिकी डलरको चौघेराबाट बाहिरिने विचार घुसाएका छन् ।
हिजोआज अमेरिकी राष्ट्रपति पदका लागि नवरूढीवादी जोन बोल्टनले चुनाव लड्ने हल्ला छ । नयाँ बहुध्रुवीय संरचनाहरू बन्दै गरेको सन्दर्भमा उनले टर्कीलाई नेटोबाट निस्काशन गर्नुपर्ने विचार राख्दै छन् ।
रूसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र उनका नयाँ चिनियाँ समकक्षी छीन काङले हालै ‘बिआरआई’ (बेन्ट एन्ड रोड इनिसियटिभ) र ‘ईईयू’ (युरेसियन इकोनमिक युनियन) लाई गाभ्ने घोषणा गरेका छन् । यसको अर्थ २१ औँ शताब्दीको सबैभन्दा ठूलो व्यापार–संयोजन–विकास आयोजना वा नयाँ चिनियाँ रेशम मार्ग अब झन् पेचिलो बनेको छ र विस्तार हुँदै छ ।
यसबाट अमेरिकी डलरलाई विस्थापित गर्ने नयाँ अन्तर्राष्ट्रिय व्यापारिक मुद्रा लागू गर्ने नयाँ मञ्च तयार हुनेछ । यसको काम अनेक चरणमा अघि बढिसकेको छ । ब्रिक्स देशहरूबिच आन्तरिक विवाद भए पनि यस विषयमा छलफल गर्न चीन र ‘ईईयू’ बिच छुट्टै छलफल समूह गठन भएको छ । त्यसबाट जे निचोड आउँछ, त्यसलाई ‘बीआरआई–ईईयू’ का साझेदार देश र ‘ब्रिक्स+’ देशहरू सामु राखिनेछ ।
ब्राजिली सत्ताको बागडोर लुलाको हातमा आएको छ । राष्ट्रपतिमा उनको यो तेस्रो कार्यकाल हो । यो शताब्दीको प्रथम दशकमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति हु जिन्ताओसँगै लुला पनि ब्रिक्सको भूमिका बढाउनुपर्ने विचारका पक्षपाती थिए । यसमानेमा उनी ब्रिक्सका योजनाकार थिए र आ–आफ्नै मुद्रामा व्यापार गर्नुपर्ने विचारका पक्षधर थिए ।
पोज्सरले व्याख्या गरेअनुसार ब्रिक्स ‘पूर्वेली नयाँ जी–७’ हो र यो अमेरिकी नवरूढीवादी र नवउदारवादी दुवैको लागि ठूलो अभिशाप हो ।
रूस र चीनको रणनीतिक साझेदारीले विशाल युरेसियाबाट संरा अमेरिकालाई बिस्तारै लघार्दै छ ।
युक्रेन अब पीँध नभएको ‘ब्ल्याक होल’ बन्न पुगेको छ । युक्रेनमा नेटो अपमानित भइसकेको छ । यसको तुलनामा अफगानिस्तान बरू स्वर्ग थियो । निर्धो युरोपेली युनियनलाई वासिङटनले उद्योगविहीन हुन बाध्य पा¥यो र आफ्नो अचाक्ली महँगो प्राकृतिक ग्यास किन्न भन्यो । मानौँ अमेरिकी साम्राज्यले लुटपाट गर्ने अर्को बाटो नै पाएन ।
भू–अर्थनीतिको कोणबाट हेर्दा अमेरिकी दबदबा रहेको ‘पश्चिमी गोलार्ध’ मा भेनेजुयलाको विशाल तेल र ऊर्जा क्षेत्र मुख्य तारो बन्ने देखिन्छ । यसको लागि प्रमुख भूराजनीतिक खेलाडी ब्राजिल नै हो ।
अमेरिकाका नवरूढीवादीहरूले ल्याटिन अमेरिकामा चीन र रूसको व्यापारिक विस्तार र राजनीतिक प्रभाव रोक्न न्वारानदेखिको बल लगाउने निश्चित छ । तमाम अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताका अवधारणाहरूलाई एकातिर राखेर वासिङटनले ल्याटिन अमेरिकालाई ‘हाम्रो करेसाबारी’ भन्दै आएको छ । नाजीवादको स्वस्तिक छाप भिरिरहेका यहुदीहरूलाई काखी च्याप्नेगरी नवउदारवाद ‘समावेशी’ भइरहेको बेला मुनरो नीति औषधि चपाउँदै फर्केर आएको छ ।

‘बितण्डाको रणनीति’ को आन्द्राभुँडी
ब्राजिलको मैदान विद्रोहका सङ्केतहरू भेट्न सकिन्छ । जस्तो, फोर्ट गोर्डनस्थित अमेरिकी सेनाको साइबर कमान्डमा सीआईएले ब्राजिलभरि तैनाथ गरेका सयौँ सामग्रीहरूबारे कुनै आशङ्का छैन । यी सामग्री गएको राष्ट्रपति निवार्चनअघि नै ती स्थानमा राखिएका थिए । ‘वितण्डाको रणनीति’ लागू गर्न यी सामग्री त्यहाँ पु¥याइएको थियो ।
सन् २०२२ को बिचतिरबाट फोर्ट गोर्डनमा सीआईएको खासखुस सुन्न थालिएको थियो । त्यहाँ ‘लुलाले धाँधली गरेर मात्र चुनाव जित्न सक्छन्’ भन्ने भाष्य प्रचारप्रसार गर्ने तय भएको थियो ।
ब्राजिली निर्वाचन प्रक्रियालाई नै काम नलाग्ने ठह¥याउनु सीआईएको प्रमुख योजना थियो । यो पूर्वयोजना अहिले छताछुल्ल भएको छ । पराजित बोल्सोनारो ब्राजिलबाट भागेर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मार्गलोगो दरबारमा शरणागत हुन खोजे । ट्रम्पको सहयोगी स्टीभ बानोनको सल्लाहमा बोल्सोनारो ब्राजिलबाट भागेका हुन् । उनी राष्ट्रपति लुलाको शपथग्रहणमा पनि अनुपस्थित रहे । खासमा ढिलोचाँडो सजाय पाउने त्रासले उनले पहिल्यै खुट्टा तानेका हुन् । अहिले उनी मार्गलोगोमा नभई ओर्लान्डोमा छन् ।
मैदान विद्रोहको रोटी बासी भइसकेको छ । त्यसमाथि जनवरी ८ मा ब्राजिलको राजधानी ब्रासिलियामा जे भयो त्यसले वासिङटनमा २०२१ जनवरी ६ मा भएको घटनाको झल्को दिन्छ । यसलाई मानिसहरूले बोल्सोनारो–ट्रम्प साँठगाँठको रूपमा सम्झेका छन् ।
ब्रासिलियामा जनवरी ८ मा भएको घटनाको केटाकेटी पाराबाट सीआईएका योजनाकारहरू आफ्नै षड्यन्त्रमा फँसेको देखाउँछ । पोज्सारको रिपोर्टबाट नै यो प्रयास हाँस्यास्पद हुने देखिएको थियो । उनको रिपोर्ट पढ्नेहरूले यो परिणाम अनुमान गरिसकेका थिए ।
संरा अमेरिकी शासक वर्गको एउटा तप्का ‘ब्रिक्स+’ मा ब्राजिलको भूमिका खुम्च्याउनु भन्दा जसरी हुन्छ डोनाल्ड ट्रम्पबाट छुटकारा पाउनु महत्वपूर्ण हुने ठान्दै छ ।
जहाँसम्म ब्राजिली मैदान विद्रोहको कुरा छ, त्यो ग्याब्रियल गार्सिया मार्खेजको शब्दमा ‘घोषित विद्रोहको इतिहाससम्बन्धी पँधेरो गफ’ जस्तै थियो । सामाजिक सञ्जालमा छालझैँ बढेको हल्लाखल्ला देखेपछि राष्ट्रपति लुलाको वरपर बस्ने सुरक्षाकर्मीहरूले पूर्वाभास नगरेका होलान् भनी कल्पना गर्न सकिन्न । त्यसैले लौरो नचलाई नरम शैलीमा प्रस्तुत हुने योजना बनिसकेका हुनुपर्छ र नवउदारवादी बकबक गर्न दिने तयारी भएको हुनुपर्छ ।

यद्यपि, लुलाको सरकार भद्रगोल छ । मन्त्रीहरू आपसमा बाझाबाझ गर्ने खालका छन् । केही त अघिल्लो बोल्सोनारो सरकारमा पनि मन्त्री थिए । लुलाले यसलाई ‘राष्ट्रिय एकताको सरकार’ भनेका छन् । तर, यो टाटेपाटे सरकारजस्तो देखिन्छ ।
ब्राजिलका एक सम्मानित भौतिकशास्त्री नेटो भूभागहरूमा लामो समय काम गरेर ब्राजिल फर्केका छन् । उनले लुलाको मन्त्री मण्डलमा धेरै खेलाडी भएको र अनेक बेमेल र तानातान भएको बताएका छन् । उनको विचार अनुसार – लुलाको सरकारमा बोल्सोनारोका पक्षधर, नवउदारवादीहरू, जलवायु परिवर्तनको बृहत्तर समाधान खोज्ने (पुँजीवादी) हरू, पहिचानको राजनीति गर्नेहरू, धेरै सामाजिक र राजनीतिक सिकारूहरू छन् । यिनीहरू वासिङटनको साम्राज्यवादी स्वार्थभन्दा पर छैनन् ।

खोजीमा सीआईए प्रायोजित ‘योद्धाहरू
ब्राजिली सेना एउटा विकल्प हुनसक्छ । यिनीहरू विश्व वित्तीय पुँजीले चलाउने अमेरिकी नवरूढीवादी थिङ्क ट्याङ्कको सेवामा हाजिर छन् । जनता ठूलो सङ्ख्यामा प्रतिरोधमा उत्रिने देखेर सैन्य विद्रोह गर्न अप्ठ्यारो छ । त्यसैले कुनै ‘नरम उपाय’ अपनाउने सम्भावना छ । यसबाट ब्राजिलको अभिमानी र भ्रष्ट सेना आफ्नो समाजबाट कति टाढा बसेको छ भन्ने देखाउँछ ।
जुलाई ८ को घटनामा दोष दिने कोही नपाउनु चिन्ताको विषय भएको ब्राजिली भौतिकशास्त्रीले लेखेका छन् । कसैले पनि सो घटनाको जिम्मेवारी लिएको छैन । यसबाट लुलाले तिखा काँडा भएका समुद्री बोटबिरूवा र भोका सार्कहरूबिच कसरी एक्लै जहाज हाँक्दै छन् भन्ने स्पष्ट हुन्छ ।
सबै अध्यादेशहरू एक्लै ल्याउनुपर्ने विडम्बना र सरकारको कुनै बलियो अनुहार नहुनु, कोही उपयुक्त सरकारी पात्र नहुनुले अव्यवस्था र भद्रगोल नै दर्साउँछ । यसैबेला सीआईए प्रायोजित ‘योद्धाहरू’ ले एकचोटि फेरि सामाजिक सञ्जालमा खुलेआम ‘जनप्रदर्शन’ आयोजना गर्ने हल्ला गर्दै छन् ।
सीआईएको पुरानै कारबाही दोहोरिँदै छ । यसले ब्राजिललाई ध्वस्त पार्न कति सजिलो छ भन्ने देखाउँछ । जब कि ब्राजिल दक्षिणी गोलाद्र्धको एउटा अगुवा देश हो । सत्ता परिवर्तन वा रङ्गीन क्रान्तिको पुरानै खेल जारी छ । कजाखस्तानमा सन् २०२१ को सुरूतिर र केही महिनाअघि इरानमा यही खेल चलेको थियो ।
ब्राजिली सेनाको अभिमानी तप्काले आफूले राष्ट्रलाई नियन्त्रण गरेको विश्वास गरे पनि जनवरी ८ को जवाफमा लुलापक्षधर जनताले जोडतोडले सडक तताए सेनाले जवाफ पाउने थियो । यो सीआईएको कारबाही हो । त्यसैले पनि सो भेगमा रहेका उसका सैनिकहरूले पनि सुतुरमुर्गले जस्तै टाउको लुकाउने निश्चित छ ।
भविष्य अनिष्टकारी देखिन्छ । अमेरिकी शासकहरूले ब्रिक्समा चीनपछि सबैभन्दा बढी सम्भावना भएको ब्राजिललाई पूरै जोशजाँगरसित काममा लाग्न र रूस–चीन रणनीतिक साझेदारीमा भाग लिन दिनेछैनन् ।
अमेरिकाका नवरूढीवादी र नवउदारवादीहरूलाई भूराजनीतिक ब्वाँसा र स्यालहरू भने हुन्छ । ब्राजिल ‘पूर्वेली जी–५’ मा सहभागी भए उनीहरू झन् हिंस्रक बन्नेछन् । विश्वमा अमेरिकी डलरको एकछत्र साम्राज्यवादी नियन्त्रणको जालो तोड्न खोजे उनीहरू ब्राजिलमाथि खनिने निश्चित छ ।
अनुवादः सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *