कम्युनिस्टहरूले समाजवादी प्रचार अभियान पो गर्नुपर्ने
- मंसिर २०, २०८०
कुनै पनि कम्युनिस्ट पार्टीले वर्गसङ्घर्षलाई विश्वास गर्छ । कम्युनिस्ट पार्टीले देश, काल र परिस्थितिअनुसार कानुनी तथा गैरकानुनी सङ्घर्ष गर्छ । तर, कुनै पार्टीले बन्दुक बोक्दैमा, सशस्त्र सङ्घर्ष गर्दैमा त्यो कम्युनिस्ट पार्टी हुन्छ भन्ने कुरा होइन । बन्दुक बोकेको भरमा माओवादी केन्द्रलाई कम्युनिस्ट पार्टी मान्दा नेकालाई पनि कम्युनिस्ट पार्टी भन्नुपर्ने हुन्छ । नेका पनि २००७ सालमा सशस्त्र सङ्घर्ष गरेर सत्तामा पुगेको थियो । सशस्त्र सङ्घर्षलाई नै कम्युनिस्ट र गैरकम्युनिस्टको आधार बनाउने हो भने पृथ्वीनारायण शाहले पनि बन्दुक उठाएका थिए, बन्दुक बोकेरै काठमाडौँ उपत्यका कब्जा गरेका थिए । के पृथ्वीनारायण शाह पनि कम्युनिस्ट हुन् र ?
कुनै राजनीतिक दल कम्युनिस्ट हो या होइन भन्ने आधार त्यो दलले बोकेको सिद्धान्त र विचार हुन्छ । सिद्धान्त र विचारअनुसार व्यवहारमा लागु गरेको छ कि छैन भन्ने आधारमा थाहा हुन्छ । त्यो दलले कुन वर्गको पक्ष लिएको छ, थाहा पाउनुपर्छ । सशस्त्र हतियार बोकेको दलले शोषक, सामन्त, जालीफटाहा, प्रतिक्रियावादी र पुँजीपतिहरूको पक्ष लिन्छ या सेवा गर्छ भने त्यो दल कहिल्यै कम्युनिस्ट हुनेछैन । सशस्त्र नबोकीकनै पनि कुनै राजनीतिक दलले कामदार वर्गको हितमा लड्छ भने त्यो कम्युनिस्ट पार्टी हुन्छ । अतः बन्दुक बोकेपछि त्यो कम्युनिस्ट पार्टी हुन्छ भन्ने कुरामा भ्रम पाल्नुहुँदैन । नेमकिपा कामदार वर्गको पक्षमा लड्छ, लडिरहेको छ । अतः नेमकिपा कम्युनिस्ट पार्टी हो । स्पष्ट छ, पुँजीवादी गणतन्त्रले पुँजीपति वर्गको सेवा गर्छ र समाजवादी गणतन्त्रले कामदार वर्गको सेवा गर्छ ।
समाजवादी व्यवस्था कामदार वर्गको राज्य व्यवस्था हो । पुँजीवादी बन्दोबस्तमा जुनसुकै पार्टीले नेतृत्व गरे पनि समाजवादी व्यवस्थाअनुसार काम गर्दैन, गर्न सक्दैन । विश्वमा साम्राज्यवाद र विस्तारवाद सक्रिय भएसम्म समाजवादी समाजको राज्य स्थापना गर्न कठिन हुन्छ या त्यति सजिलै स्थापना गर्न दिँदैन । तर, समाजवादी प्रचार अभियानलाई ती शक्तिहरूले रोक्न सक्दैनन् । समाजवादी व्यवस्थामा व्यक्तित्व विकासमा सबै नागरिकले समान अवसर या मौका पाउँछन् । योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको वितरणको सिद्धान्त लागु हुन्छ । समाजवादी व्यवस्था ल्याउन नेमकिपाको स्थापना भएको हो । संयुक्त राज्य अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको थिचोमिचोबाट देश र जनतालाई जोगाउन नेमकिपाले जनतालाई सचेत पार्ने काम जारी राखेको छ । देशका जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्न नसकेसम्म आमूल परिवर्तन सम्भव छैन । नेमकिपा यसै अभियानमा छ ।
अहिले जिल्ला जिल्लामा विभिन्न कार्यक्रममार्फत नेमकिपाको स्थापना दिवस मनाइरहेको छ । यो स्थापना दिवस पनि जनतालाई शिक्षित पार्ने समाजवादी आन्दोलनकै सिलसिला हो । आफूलाई कम्युनिस्ट भनिने दल र दलका नेताहरू सत्ता भागबन्डा गर्दै सिंहदरबारमा रमाइरहेको बेला नेमकिपाका नेता तथा कार्यकर्ताहरू जनताको घर आाँगनमा पुगी कम्युनिस्टको सिद्धान्त र विचार प्रचारमा जुटेका छन् । कम्युनिस्टको नाउँमा कम्युनिस्टको खोल ओढेर पुँजीवादी राजनीति गर्ने नक्कली कम्युनिस्टहरूको विचार र चरित्रबारे जनतालाई बुझाउने अवसर हो नेमकिपाको स्थापना दिवस ।
Leave a Reply