भर्खरै :

दक्षिण एसियामा देखिएको आर्थिक सङ्कट पाकिस्तानमा

  • माघ ९, २०७९
  • हिमालयश्वरलाल
  • विचार
दक्षिण एसियामा देखिएको आर्थिक सङ्कट पाकिस्तानमा

भूमण्डलीकरण, खुलापन, बजारअर्थतन्त्रको नाउँमा लादिएको पुँजीवादी अर्थतन्त्रले गरिब र धनीबिचको दूरी बढ्नुभन्दा कम हुनसकेन । आज विश्वमा देखिएको आर्थिक सङ्कट कोभिड–१९ महामारी र युक्रेनको लडाइँमात्र होइन मूलभूतरूपमा पुँजीवादी अर्थतन्त्रको परिणाम हो । देशमा रहेका मजदुर, किसान, मध्यम वर्गको मेहनत र परिश्रमबाट कमाएको पैसा ठूलाबडा धनाढ्य पुँजीवादी वर्गको खल्तीमा जम्मा हुँदै गयो र जनता गरिबीमा पिल्सिँदै गए । अन्ततः उनीहरूको साधारण जीवन जिउनसम्म पनि मुस्किल भयो ।
आज पाकिस्तानले ठूलो आर्थिक सङ्कटको सामना गर्दै छ । दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आकाश छोएको छ । यस वर्ष सन् २०२२ सम्मको अन्तसम्ममा २४.५ प्रतिशतले महँगो वृद्धि भएको छ । जनताले दैनिक प्रयोग गरिने पिठो महँगिएको छ । त्यो पनि बजारमा पाउन सकिरहेको छैन । दैनिक खाद्यान्न वितरण सरकारको हातमा नभएर कालाबजारियाहरूको हातमा पुगिसकेको छ । यो सरकारको नियन्त्रणबाट बाहिर गइसकेको छ । दूध, खानेतेललगायतको सामान पिठोको मूल्यसँगै निरन्तर वृद्धि हुँदै छ । जनता दैनिक सामान पाउन भौतारिरहेका छन् । सरकारले राति ८ बजेबाट बजार बन्द गर्न आदेश दिएको छ । राति बजार बन्द हुँदा बिजुली, इन्धनमा ठूलो कटौती हुँदा विदेशी मुद्राबाट सञ्चितिमा राहत मिल्नेछ भने बिजुलीदेखि अन्य इन्धन आयात कमी हुँदा विदेशी मुद्रामा खर्च कम हुनेछ । पाकिस्तानको आर्थिक अवस्था नाजुक हुँदै जानुमा यस वर्ष आएको ठूलो बाढी एक प्रमुख कारण हो । बाढीले ४० अरब डलरभन्दा बढी नोक्सान पु¥यायो । बाढीले ३ करोड जनसङ्ख्यालाई बाढीबाट क्षति पु¥यायो । यस्तो अवस्थामा पाकिस्तानमा विदेशी ऋण बढ्दै जाँदा ३५० अरब डलर पुगिसकेको छ । जबकि सन् १९१६ मा ३१३ अरब डलरमात्र थियो । विदेशी मुद्रा आम्दानीको क्षेत्र छालाजन्य उद्योगजस्ता अन्य उद्योगहरूबाट हुने रकम कम हुँदै जानुको कारण पर्यटकबाट आउने विदेशी मुद्रा कम हुँदा आज विदेशी मुद्राको सञ्चितिमा ठूलो कमी आएको देखिन्छ । यस महिनासम्म ५ अरब डलरमात्र भएको कुरा सार्वजनिक भइरहेको छ । पाकिस्तान कैयौँ वर्षदेखि सरकार अस्थिर र भ्रष्टाचारमा लिप्त छ । गत वर्षमात्रै रातारात न्यायालयबाट इमरान खानको सरकार अपदस्थ भयो । प्रधानमन्त्री सहनाजको नेतृत्वमा सरकार चल्दै छ । नयाँ वर्ष २०२३ सुरूको वर्ष पाकिस्तानको लागि सुखद रहेन । हरेक ठूला सहरमा जनताको विशाल प्रदर्शन हुँदै छ । सरकारले गहुँ, पिठोमा सहुलियत नदिएकोमा जनता विरोध गर्दै छन् । जनता खानापिनाको लागि आवश्यक खाद्यान्न वितरण गर्न माग गर्दै छन् ।
विश्वमा डलरको साम्राज्यले पनि पाकिस्तानलाई पिरोलिरहेको छ । पाकिस्तानी मुद्रा मूल्य घट्दै छ, डलरको भाउ वृद्धि हुँदै छ । सन् २०२२ को जनवरीमा १७३ को मुद्रा अवमूल्यन हुँदै डिसेम्बरको अन्तसम्ममा २२४ पुगिसकेको छ । यसले निर्यात हुने सबै सामानमा भाउ बढ्ने विदेशी ऋण ब्याजको भार पनि बढ्न जाने अवस्थाले सङ्कट झन् गहिरिँदै गएको छ । विशेषतः दैनिक सामान दूध, पिठो, गहुँ, मासु, चिनी खानेतेलमा २५ देखि ६५ प्रतिशतसम्म वृद्धि भएको छ । यो एक कहालिलाग्दो उदाहरण हो । सरकार महँगी नियन्त्रण गर्न असफल हुँदै छ ।
आज देश र जनताको पैसा अमेरिकी सिपाहीको रूपमा काम गरिरहेका पुँजीपतिहरूको बैङ्क चर्को ब्याज दरमा लगानी गर्ने अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैङ्कजस्ताको ऋण नै सङ्कटको प्रमुख कारण बनेको छ । श्रीलङ्का यसको उदाहरण हो । आफै बोक्सी आफै धामीजस्तै यी पुँजीपतिहरूको बैङ्कले गरिब मुलुकको पैसा सोहोरेर पुनः चर्को ब्याजदरमा ऋण दिएर सङ्कटको मोचन गर्ने उपाय तिनीहरू आफै दिँदै छन् । विदेशी मुद्राको अभाव ऋणमाथि ऋण थुपार्दै आर्थिक सङ्कटसँग जुझ्ने उपाय क्षणिक हो ।
वास्तवमा पुँजीवादी अर्थनीति अवलम्बन गर्ने देशमा सधैँ आइरहने आर्थिक मन्दी र सङ्कट कुनै नौलो होइन । बहुमत जनता गरिबीबाट बाँच्न बाध्य पारिने मुठीभर पुँजीपतिको स्वर्ग मानिने पुँजीवादी देशको नियति नै हो । रूसी अक्टोबर समाजवादी क्रान्ति सन् १९१७ पछि गृहयुद्धमा फसेको रूसमा सन् १९२३ मा आर्थिक मन्दी आएको थियो । तर, स्तालिनको नेतृत्वमा बनेको रूसी समाजवादी सङ्घीय गणतन्त्रले एक वर्षमै आर्थिक सङ्कटबाट मुक्त गरायो र देश समाजवादी दिशामा अघि बढ्यो । यस्तै विश्वमा आएको १९२९ को ठूलो आर्थिक सङ्कट रुसमा खासै प्रभाव परेन । किनभने, रूसी समाजवादी देश थियो । त्यहाँ कुनै विदेशी ऋणी, पुँजीपति, धनाढ्य व्यक्तिहरूको बजार, उद्योगधन्दामा स्वामित्व थिएन । देशको उत्पादन क्षेत्रबाट हुने आम्दानी सरकारकै हुन्थ्यो । यस अर्थमा रूसी अर्थतन्त्र आत्मनिर्भर अर्थतन्त्र थियो । यस कुराको मनन गर्ने होशियारी हामीमा हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *