भर्खरै :

भक्तपुर अस्पतालमा प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना

भक्तपुर अस्पतालमा प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना

भक्तपुर, २१ फागुन । बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर अस्पतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना कार्यक्रमको आइतबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले बाग्मती प्रदेशका विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन बाग्मती सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीतिअगाडि सारेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारअन्तर्गतको भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल भक्तपुरका २ वटा विशिष्टकृत सामुदायिक अस्पतालको रूपमा रहेको बताउँदै बाग्मती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालहरूले उत्कृष्टता हासिल गरी अगाडि बढिरहेको अभिव्यक्ति दिनुभयो ।
मन्त्री श्रेष्ठले डाक्टर र चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुने र आत्मबल बढ्ने बताउँदै स्वास्थ्य नीति बनाएर व्यवस्थित ढङ्गले अगाडि बढ्न सके जस्तोसुकै विपद र महामारीमा सजिलै काम गर्न मद्दत पुग्ने बताउनुभयो ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सिङ्गो देशकै लागि गौरवको योजना भएको बताउँदै उहाँले प्रदेश सरकारले हाल २ शøयाको प्यालिएटिभ केयरको सेवा विस्तार गरेकोमा आगामी दिनमा प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्दै लाने लक्ष्य रहेको बताउनुभयो । चिकित्सकहरूले आफ्नो बढुवाको निम्ति मात्र विकट जिल्लाहरूमा जाने मानसिकता त्याग्न जरुरी रहेको उहाँले सो कार्यक्रममा बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बाग्मती प्रदेशकै नमुना र उत्कृष्ट अस्पताल घोषणाले धेरै गरिब जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको बताउनुभयो ।
अस्पतालको भवन ठूलो र भव्य हुँदैमा त्यहाँबाट प्रवाहित सेवा स्तरीय हुने कुरामा विश्वास गर्न नहुने बताउँदै प्रमुख प्रजापतिले अस्पताल व्यवस्थापन समिति, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण उपलब्धता नै अस्पताल विकासको प्रमुख आधार भएको बताउनुभयो ।
सामुदायिक अस्पतालहरू जनताको अस्पतालको रूपमा सञ्चालित हुनुपर्नेमा जोड दिँदै उहाँले स्वास्थ्य, शिक्षाजस्ता जनताका आधारभूत आवश्यकताहरूलाई व्यापारीकरण गर्न नहुने तर्क राख्नुभयो । नेपालले क्युवाको स्वास्थ्य व्यवस्थाबाट सिक्न जरुरी रहेको बताउँदै उहाँले सफल नेतृत्वले संस्थालाई सफलतातिर डो¥याउने कुराको ज्वलन्त उदाहरणको रूपमा भक्तपुर अस्पताल स्थापित भएको बताउनुभयो ।
उक्त कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सल्लाहकार डीपी ढकाल, भक्तपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतम, पत्रकार महासङ्घका सचिव सञ्जीव शुभचिन्तक, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमलगायत अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र अस्पतालमा सहयोगी भूमिका खेल्ने पत्रकारहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *