भर्खरै :

खोटो सिद्धान्त र विचारको भ्रम चिर्नुपर्छ

खोटो सिद्धान्त र विचारको भ्रम चिर्नुपर्छ

पुँजीवादी सरकारमा गएर रमाउनेहरू कम्युनिस्ट हुँदैनन् न उनीहरू सरकारमा गएर आमूल परिवर्तन नै हुन्छ । माक्र्सवादी दृष्टिकोणअनुसार दलको सिद्धान्त महत्वपूर्ण हुन्छ । क्रान्तिकारी सिद्धान्त नभइकन कुनै क्रान्तिकारी आन्दोलन सम्भव छैन भन्ने लेनिनको भनाइ हो । देशमा आमूल परिवर्तन गर्नु छ भने क्रान्तिकारी सिद्धान्त बोकेको क्रान्तिकारी पार्टी चाहिन्छ । सही सिद्धान्त बोकेर त्यसलाई व्यवहारमा लागु गरिँदैन भने त्यसले पथप्रदर्शन गर्दैन । त्यस्तो सिद्धान्त व्यर्थ हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वव्यापी सत्य हो । संसारमा अनेक सिद्धान्तहरू प्रचारमा आए । ती सिद्धान्तहरू कुन वर्गको पक्षमा छ ? हेर्नुपर्छ । सिद्धान्तलाई व्यवहारको कसीमा जाँच्नुपर्छ । व्यवहारको कसीमा जाँचेर त्यसभित्र रहेका गल्तीहरू सच्याइनुपर्छ । त्यसकारण, राजनीतिज्ञहरू व्यवहार नै सत्यको कसी हो भन्छन् । स्तालिनले भन्नुभएको थियो, “क्रान्तिकारी व्यवहारसित नगाँसिएको खण्डमा सिद्धान्त त्यसरी नै उद्देश्यहीन बन्छ जसरी क्रान्तिकारी सिद्धान्तद्वारा व्यवहारको बाटो आलोकित नभएमा व्यवहार अँध्यारोमा छामछामछुमछुम गरिरहन्छ ।”
संसारलाई बदल्ने काम सचेत र सङ्गठित जनताले गरेका थिए, गर्दै छन् । चिनियाँ नेता माओ त्सेतुङबाट हामीले सिकेको एउटा शिक्षा हो– व्यवहारबाट सत्य पत्ता लगाऊ, फेरि व्यवहारबाट सत्यको पारख गर र त्यसलाई विकसित गर । यो द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको मान्यता पनि हो । अतः पुँजीवादी व्यवस्थाको सरकारमा जाने कम्युनिस्टहरूलाई जनताले राम्ररी चिन्नुपर्छ । सरकारमा गएका ती कम्युनिस्टहरूको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । सिद्धान्ततः माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक मान्ने दलहरू कम्युनिस्ट हुन्छन् । तर, व्यवहारमा सरकारमा गएका कुनै पनि कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादलाई व्यवहारमा ल्याएनन्, ल्याउने चेष्टासम्म गरेनन् । बरु उल्टो माक्र्सवाद–लेनिनवादको सिद्धान्त मान्ने ती दलका नेताहरू वर्गसङ्घर्षको विरोध गर्छन्, अझ वर्गसङ्घर्ष गर्ने दल नै कम्युनिस्ट होइन भनी विरोध गर्छन् ।
वर्गीय समाजमा अन्तरविरोध हुन्छ । सर्वहारावर्ग र पुँजीपतिवर्गबिच अन्तरविरोध हुन्छ । जनता र सामन्तवर्गबिच मात्र होइन कम्युनिस्ट पार्टीभित्र पनि अन्तरविरोध हुन्छ । कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोधको समाधान आलोचना र आत्मालोचनाको तरिकाबाट गरिन्छ । यसकारण, नेमकिपाले अन्य कम्युनिस्ट पार्टीहरूको सैद्धान्तिक खोट देखाउँदै आएको हो, सिद्धान्त र व्यवहारसँग नमिलेको विचारको कमी कमजोरी औँल्याउँदै आएको हो । नेमकिपाले व्यक्तिहत्याको राजनीतिको मात्र होइन पुँजीपतिवर्गको पक्षपोषण गर्न पुँजीवादी सरकारमा पुग्ने कम्युनिस्टहरूलाई पनि खबरदारी गर्दै आएको हो । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा ल्याउने प्रयास गर्नुपर्ने हो, चाहे त्यो सरकारमा बस्दा होस् चाहे त्यो विपक्षमा बस्दा । तर, देशका कति कम्युनिस्ट भनिने दलहरू सरकारमा सामेल हुनु नै कम्युनिस्ट पार्टीको सफलता ठान्छन्; ठानिरहेका छन् । यो उनीहरूको खोटो विचार हो, यो उनीहरूको भ्रम हो । कम्युनिस्ट पार्टीभित्र देखिएका यस्ता खोट र भ्रमहरू अन्य सच्चा कम्युनिस्ट पार्टीले चिर्नुपर्छ, जनतामाझ उदाङ्ग्याउनुपर्छ । कम्युनिस्टहरूको काम जनतालाई सचेत र सङ्गठित पार्नुमात्र होइन, जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्छ र कम्युनिस्ट पार्टीभित्र देखिएका खोटो विचार र भ्रमहरू पनि चिर्नुपर्छ । नत्र जनतामा अन्योल छाउँछ र कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन पछि पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *