भर्खरै :

देशमा समस्यै समस्या

देशमा समस्यै समस्या

सरकारले आफ्नो दल र दलका नेता, कार्यकर्ता तथा ठेकेदारलाई बाहेक जनताको विश्वास जित्ने गरी देश र जनताको पक्षमा कुनै पनि उल्लेखनीय काम गरेको छैन । मालपोत कार्यालय, गुठी संस्थानजस्ता कार्यालयमा घुस खाने, ढिलासुस्ती गर्ने काम छोडेको छैन । विकासको योजनामा कमिसनको खेल रोकेको छैन या हटेको छैन । महँगी बढेको बढेकै छ । भ्रष्टाचार, कमिसन, अनियमितता र कालाबजारी नियन्त्रण भएको छैन । हत्या–हिंसाका शृङ्खलाहरू घटेको छैन । बेपत्ता पार्ने, बालबालिका हराउने, मानव बेचबिखन गर्ने, महिला बेश्यालय पु¥याउने काम सरकारले रोक्न सकेको छैन । देशका युवा युवतीहरू विदेश जानेको सङ्ख्या बढिरहेको छ । आफ्नै देशका योग्य व्यक्तिहरूलाई रोजगारीको सुनिश्चितता दिन सकेको छैन । योग्यता र क्षमताको आधारमा जागिर पाउन मुस्किल छ । नातागोता, घुस र चाकडीको भरमा नियुक्ति हुन्छ । सरकारको पक्षपात र बेवास्ताले गर्दा युवाहरू विदेसिन बाध्य छन् ।
कार्यालयमा समयमा काम हुँदैन । काममा पक्षपात हुन्छ । उत्पादकले उत्पादित सामानको मूल्य पाउँदैन । उत्पादित सामान नबिकेर खेर जान्छ । देशका उद्योगहरू बन्द गरेर विदेशी उद्योग सञ्चालन गर्नेहरूलाई सरकारहरू बढावा दिन्छन् । उखु समयमा किन्दैन र बोटमै सुकाउने या घरमै सुकाउने काम चिनी मिलका मालिकहरू गर्छन् । देशका उद्योगहरू बन्द गर्ने र विदेशी सामान भित्याउने खेल विदेशी दलालहरूले गरिरहेका हुन्छन् । तर, सरकार र सत्तासीन दलका नेताहरूलाई वास्ता हुँदैन । रासायनिक मल समयमा पर्याप्त ल्याइँदैन । खानेपानी सेवा शुल्क लिइरहेको हुन्छ तर खानेपानी सेवा पु¥याइँदैन । खानेपानी सेवा नदिइकन सेवा शुल्क लिइरहे पनि सरकारलाई मतलब हुँदैन । सेवा शुल्क लिएपछि सोहीअनुसार सेवा दिनुपर्ने हो । तर, खानेपानी मन्त्री बोल्दैनन् ।
नेपालमा उत्पादित तरकारी नबिक्ने अनि भारतबाट ल्याइएको विषाक्त तरकारी बिक्ने यो देशको यथार्थ हो । विषाक्त तरकारी नेपालमा भित्रिरहेको खबर प्रकाशमा आए पनि त्यसको परीक्षण गर्ने या परीक्षण गरिसकेपछि मात्रै नेपालमा भित्याउने र खान सिफारिस गर्नुपर्ने काम सरकारले गरिरहेको छैन । नेपालमा आफ्नै स्रोत र साधनमा चलेको उद्योग बन्द हुन्छ । बन्द उद्योग खोल्नेतर्फ ध्यान गइँदैन । हरेक क्षेत्रमा दुई नम्बरीको धन्दा हुन्छ । जागिर खान, सरुवा बढुवा हुन घुस खुवाउनुपर्छ । पैसा दिएपछि मात्रै मत दिने मतदाताको सङ्ख्या पनि कम छैन । शासक र मन्त्रीहरू चरित्रको ख्याल गर्दैनन्, इमानदार हुँदैनन् । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउन उनीहरू लागिरहेका हुन्छन् । आफ्नो दायाँबायाँ गुण्डाहरू राखेका हुन्छन् । आयस्रोतमा चुहावत भएपछि देशले कसरी अर्थतन्त्र धान्छ ?
सत्तासीन र ठूला दलहरू असैद्धान्तिक गठबन्धन गर्छन्† ठूला दलका नेताहरू सैद्धान्तिक र वैचारिक बहस गर्दैनन् । युवाहरू वैदेशिक रोजगारीमा छन् । शासक र मन्त्रीहरू छलछामको राजनीति गर्छन्, भ्रम र झूटको खेती गर्छन् । आफ्नो भाषा, संस्कृति, धर्ममा वैदेशिक छाप परेको छ । पूर्वेली सभ्यतामा पच्छिमेली संस्कारले ढाक्न लागेको छ । कामको खोजीमा विदेश पुगेका युवाहरूको लास नेपालमा ल्याइँदै छ । घरखेत, गहना बेचेर, ऋण काढेर विदेश पसेका युवाहरूको लास भित्रिएपछि त्यो परिवारको कस्तो बिचल्ली होला ? यसरी समस्यै समस्याले घेरेको यो देशमा जनता सन्तुष्टि हुने ठाउँ नै छैन । के यो मुलुकको दुर्दशा होइन ? यस्तो समस्या हल गर्न सरकारको नेतृत्व गर्ने नेताहरू असल, इमानदार, सक्षम र देश र जनताप्रति जिम्मेवार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *