भर्खरै :

वि.स.२०७९ सालका केही दृश्य र कारण

वि.स.२०७९ सालका केही दृश्य र कारण

काठमाडौँ, ३० चैत । ‘विद्यार्थी अभाव झेल्दै विश्वविद्यालयहरू’ को समाचारले भन्छ, “केयूमा चिकित्सा शिक्षामा पनि कोटाभन्दा कम विद्यार्थी” । ‘काठमाडौँ विश्वविद्यालयमा समग्रमा करिब २२ प्रतिशत कोटा रिक्त छन् । चिकित्सा शिक्षामा एमबीबीएस, बीडीएसलगायतका केही कार्यक्रम बाहेकका अधिकांश कार्यक्रममा तोकिएको कोटाअनुसार उत्तीर्ण भएका छैनन् ।’ (नयाँ पत्रिका, २८ चैत २०७९)
यसका कारणबारे केयू वा अन्य ‘निजी विश्वविद्यालय’ हरू स्थापनाको मुख्य उद्देश्य शिक्षा प्रचार र देशको निम्ति योग्य बौद्धिक श्रमशक्ति उत्पादन गर्ने नभई पैसा कमाउने र सकेसम्म भारतीय विद्यार्थीहरू बढी ल्याई नाफा कमाउने, विदेशी विश्वविद्यालय र कम्पनीहरूलाई गोर्खा भर्तीजस्तै ‘ब्रेन डेन’ (प्रतिभा पलायन) गर्नु हो ।
देशभक्तिको हिसाबले ‘निजी विश्वविद्यालय’ मा केही व्यक्तिको सोच पूर्णरूपले विदेशी पुँजीकै सेवा गर्नु हो । सरकार र गैरसरकारी बुद्धिजीवीहरूमा बुझेर वा नबुझेर बहुराष्ट्रिय कम्पनीहरूकै सेवा गर्ने प्रवृत्तिको विकास हुनु नेपाल र नेपाली जनताको निम्ति दुर्भाग्य हो । यो एक स्वाभाविक प्रक्रिया होइन जसरी गोर्खाभर्तीको निम्ति काम गर्ने गल्लावालहरू आफै कारक नभई तिनीहरू अरू माथिल्ला वर्गबाटै चलाइएका हुन्छन् ।

एकै व्यक्ति धेरै समितिको मुख्य हुँदा
‘एकै व्यक्ति चार उपभोक्ता समितिको अध्यक्ष’, यो समाचार हो, ‘जनकपुर विकास परिषद्मा अनियमितता ।’ ‘परिषद्मा भएका अनियमितताबारे यसअघि नै एक मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा पछिल्ला वर्षका अनियमिततामाथि पनि छानबिन जारी’ भएको बताइएको छ । (नयाँ पत्रिका, २८ चैत २०७९)
केही बुद्धिजीवीहरू देशका तलदेखिमाथिसम्मका सरकारी पदहरूमा होऊन वा गैरसरकारी संस्थाहरूमा, ‘खसआर्यको बाहुल्यता’ भएकै कारणले देश लथालिङ्ग र भताभुङ्ग भएको मान्छन् । सत्य त्यही हो भने ‘जनकपुर विकास परिषद्’ को अध्यक्षमा शीतल साह र चार ओटा उपभोक्ता समितिका अध्यक्ष विजय चौधरी हुन् । यी दुवै ‘खस आर्य’ मा पर्दैनन् ।
यसबाट प्रस्ट छ – भ्रष्टाचार, शोषण, अनियमिततामा जात होइन पुँजीवादी प्रवृत्ति मुख्य हो । भवन राम्रो हुँदैमा संस्थाका सञ्चालकहरू राम्रा हुँदैनन् ।
कतैकतै एक दुई जना व्यक्ति वा समूहका व्यक्तिहरू नै धेरै सहकारी संस्थाका हर्ताकर्ता छन् । यहाँ संस्थाको नाम र नियमभन्दा पनि त्यसमा काम गर्ने सञ्चालकहरूको नियत र उद्देश्यमाथि नै ध्यान दिनु आवश्यक हुन्छ ।
एक दुई जना राम्रो भएर मात्रै पुग्दैन, बरु तिनीहरूले खुलेर नियत र खराब उद्देश्य राखेर काम गरिरहेका व्यक्तिहरूको विरोध र सबैलाई सचेत पार्नु आवश्यक छ ।

नेपाली काङ्ग्रेसकोबारे
नेपाली काङ्ग्रेसकै केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले अहिलेको संसद्को अस्थिरता र अकर्मण्यताबारे भने, ‘अपरिपक्व राजनीति ।’ (अन्नपूर्ण, २९ चैत २०७९)
संसद् र सरकारमा अहिले नेपाली काङ्ग्रेसकै हालीमुहाली छ । नेपाली काङ्ग्रेस नै अहिले संसद्मा ठूलो राजनैतिक दल हो । तर, आश्चर्य छ, सरकारमा रहने, सरकारलाई समर्थन गर्ने दल कसरी ‘प्रतिपक्ष’ हुन्छ ? संसदीय व्यवस्था र प्रजातन्त्रको चलिआएको बन्दोबस्तलाई नेपाली काङ्ग्रेस किन अस्वीकार गर्छ ? के नबुझेर होला त ?
त्यसकारण, को प्रजातन्त्रवादी, गणतन्त्रवादी वा साम्यवादी मुखले भनेर हुन्न बरु कामले देखाउँछ ।
काङ्ग्रेस किचलोले सरकार अपूर्ण
‘प्रधानमन्त्रीको जिम्मामा ६ मन्त्रालय’ उपशीर्षकमा भन्छ – एमालेसहित सात दलीय गठबन्धन भत्काउन एकजुट बनेका काङ्ग्रेस नेताहरू मन्त्रालय भागबन्डामा आपसमै नमिल्दा मन्त्री परिषद्ले पूर्णता पाउन नसकेको हो । (नागरिक दैनिक, २९ चैत २०७९)
माया ममता हराएको काङ्ग्रेस
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले दाङ जिल्लाको काङ्ग्रेस सम्मेलनमा, ‘पार्टीभित्र आन्तरिक’, ‘माया प्रेम’ हराउँदै गएको बताए । ‘बोलीसमेत बाराबारकै स्थिति छ’, ‘पदीय मोह’ ले यो गलत प्रवृत्ति पार्टीभित्र मौलाउँदै गएको हो ।’ (नागरिक दैनिक, २९ चैत्र २०७९)
संसद्मा सबभन्दा ठूलो दलकै स्थिति यस्तो छ भने देशको के हाल होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *