भर्खरै :

“श्रमिक” पत्रिका वितरणमा कार्यकर्ता नै क्रियाशील

“श्रमिक” पत्रिका वितरणमा कार्यकर्ता नै क्रियाशील

(‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक देश र जनतामा समर्पित विचारप्रधान पत्रिका हो । यो सिद्धान्त र विचार बोकेको आस्थाको पत्रिका हो । श्रमजीवी वर्ग (बौद्धिक र शारीरिक श्रम गर्ने वर्ग) को प्रतिनिधित्व गर्ने यी पत्रिकाको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषितपीडित तथा उत्पीडित जनताको आन्दोलन र गतिविधिसम्बन्धी समाचार छापेर जनतालाई सुसूचित गर्नु हो । शोषणरहित समाज स्थापनाको निम्ति देशभक्त, अनुशासित, असल र सचेत नागरिक तयार गर्ने जनपक्षीय सामग्री पस्कनु पनि पत्रिकाको उद्देश्य हो । भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र विदेशी हस्तक्षेपको विरोध गरी देशभक्त नागरिक तयार गर्ने, देशी विदेशी सामन्तवाद, शोषक, प्रतिक्रियावादी, जालीफटाहा, भ्रष्टाचारी, कमिसनखोर आदिको विरोध गरी समाजवाद स्थापनाको लागि पूर्वाधार तयार गर्ने, जनतामा राजनीतिक, वैचारिक र सैद्धान्तिक चेतना जगाई सांस्कृतिक स्तर उठाउन पार्टी कार्यकर्ताहरूले पत्रिका वितरण गरिरहेका छन् । यसरी पत्रिका वितरण गर्ने एक राजनीतिक कार्यकर्ता हुन्– काठमाडौँ महानगरपालिका वडा नं २६, लैनचौर बस्ने ५० वर्षका सुरेन्द्र महर्जन । पार्टी र पत्रिका वितरणबारे केन्द्रित रहेर हाम्रा प्रतिनिधिले उहाँसँग गरेको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत छ । सं.)

. तपाईँ कहिलेदेखि नेमकिपामा आबद्ध हुनुभयो ?
– म २०७४ देखि नेमकिपामा आबद्ध भएँ । हाल म नेमकिपा काठमाडौँ महानगरपालिका समितिको अध्यक्ष भएर कार्यरत छु ।

. नेमकिपामा किन आबद्ध हुनुभयो ?
– म पहिले ज्यापु महागुठीमा आबद्ध थिएँ । मेरो बुबा पहिले किसान सङ्गठनमार्फत जनतालाई माक्र्सवादी शिक्षा दिनुहुन्थ्यो । आफूलाई ठूला भनिने कम्युनिस्ट पार्टीका नेताहरू राजासामु दाम चढाउने र पाउमोल्नेजस्ता काम गरेको देखेर मलाई चित्त दुख्यो । कम्युनिस्ट नेताहरूको यस्तो गलत कार्य देखेर म नेमकिपामा आबद्ध भएको हुँ ।

. नेमकिपाप्रति समर्पित भएर लाग्नुको कारण ?
– नेमकिपा देश र जनताप्रति समर्पित छ । नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्छ । नेमकिपा परिवर्तनको पक्षमा छ । मैले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने पार्टी रोजेको हुँ ।

. पार्टीमा लागेर के अनुभव गर्नुभयो ?
– देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्छ भन्ने लाग्यो । हरेक राजनीतिक कार्यकर्ताले पदको दायित्व निर्वाह गर्नुपर्छ । पार्टी सङ्गठनको विस्तारमा लाग्नुपर्छ । पार्टी सदस्यता लिनुअघि आफूले पार्टीको लागि कति योगदान गरेको छ, समीक्षा गर्नुपर्छ । पार्टी सदस्य भएर काम नगर्ने प्रवृत्ति सही होइन । मुख्य कुरा जसरी भए पनि पार्टी सदस्य बन्नु होइन । श्रमजीवी वर्गको हातमा सत्ता प्राप्त गर्न आमूल परिवर्तन चाहने पार्टी देशको लागि आवश्यक छ । नेमकिपा यस कार्यमा प्रतिबद्ध छ ।

. तपाईँले कहिलेदेखि पत्रिका वितरण गर्नुभयो ?
– कोरोनाको प्रकोपसँगै सरकारले लकडाउन गरेको समयदेखि मैले ‘मजदुर’ र ‘श्रमिक’ पत्रिका वितरण गरेँ । गएको प्रतिनिधिसभाको चुनाव अघिसम्म मजदुर पनि वितरण गर्थेँ । स्वास्थ्यले भ्याएसम्म पत्रिका निरन्तर वितरण गरिरहने छ ।

. अहिले कति पत्रिका वितरण हुन्छ ?
– पहिले नरमान महर्जनमार्फत पत्रिका वितरण हुन्थ्यो । सुरुका दिनमा मैले १५÷२० वटा पत्रिका वितरण गरेँ । अहिले ८० देखि १०० वटासम्म ‘श्रमिक’ वितरण भइरहेको छ ।

. पत्रिकाको अन्तरक्रियाबारे केही भन्नु छ कि ?
– साथीहरूको सल्लाहअनुसार ‘मजदुर’ र ‘श्रमिक’ पत्रिकाको बरोबर अन्तरक्रिया भइरहेको छ । पत्रिकाको अन्तरक्रियाले पढ्ने या पठन संस्कृतिको विकास हुन्छ । आफ्नो जिम्माअनुसार पत्रिका अध्ययन गर्दा र अध्ययन गरेको विषय साथीहरूसमक्ष बाँड्दा आफू र अरूलाई पनि प्रशिक्षित गर्ने अवसर मिल्छ । आफूलाई लागेको कुरा ढुक्कसँग भन्न सक्ने क्षमताको विकास हुन्छ । पत्रिका अध्ययन गरेर प्रभावित भएका केही व्यक्तिहरू पार्टीमा आबद्ध भएका छन् ।

. पत्रिका अध्ययन गर्ने बानी कहिलेदेखि बस्यो ?
– कोरोना कालमा रोग सर्ने हिसाबले भेला या गोष्ठी गरेर अन्तरक्रिया गर्न मिल्दैनथ्यो । ‘जुम’ मार्फत ‘मजदुर’ र ‘श्रमिक’ को अन्तरक्रिया गर्न थालेपछि पत्रिका पढ्ने बानी बस्यो ।

. पत्रिका वितरणको क्रममा ग्राहक या पाठकहरूको केही प्रतिक्रिया छ कि ?
– राजनीतिक चेतना भएका मानिसहरू पत्रिका पढ्न रुचाउँछन् । ग्राहकहरू देश विदेशको विषयमा जानकारी लिन पनि पत्रिका पढ्छन् । कहिलेकाहीँ पत्रिका समयमा नपुग्दा गुनासो गर्छन् । ग्राहकको आवश्यकताअनुसार नवीकरण गर्नु आवश्यक छ । कार्यकर्ताहरूको घर–घरमा पत्रिका पु¥याउन पाउँदा खुसी लाग्छ । पत्रिका अध्ययन नगर्नेहरूको पार्टीप्रति त्यति चासो देखिँदैन ।

. विद्यार्थी जीवनबारे केही बताइदिनुहुन्छ कि ?
– म अलि चञ्चले स्वभावको । स्कूले जीवन खासै चित्त बुझेको छैन । एक दिन कक्षामा ढिला पुग्दा शिक्षिकाले खुट्टामा पिट्दा दुखाइ सहन नसकेर विद्यालय जान छाडेँ । मेरो औपचारिक शिक्षा एसएलसी हो ।

. पत्रिकाको पैसा उठाउने काम भइरहेको छ कि छैन ?
– पैसा उठाउने काम भइरहेको छ । तर, पत्रिकाको सबै पैसा उठिरहेको छैन । उठाउने प्रयास भइरहेको छ । उठेको जति पैसा पठाइरहेको छु ।

. तपाईँ अरू कार्यमा पनि आबद्ध हुनुहुन्छ कि ?
– राजनीतिक गतिविधि र पत्रिका वितरणबाहेक साहित्यिक गतिविधिमा पनि लागेको छु । आवश्यकताअनुसार खेतीपाती, सिकर्मी र डकर्मी पेसामा पनि आबद्ध छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *